ढल प्रशोधन गरेर पिउन योग्य पानी उत्पादन गरेको त दुनियाभरलाई नै थाहा छ तर अमेरिकाको क्यालिफोर्नियास्थित एक कम्पनीले ढल प्रशोधनको एउटा अभूतपूर्व उदाहरण पेश गरेको छ ।
क्यालिफोर्नियाको सानडियागो शहरमा स्थानीय प्रशासनद्वारा ढल प्रशोधन कार्यक्रम चलाइएको छ । स्थानीय प्रशासनको यही कार्यक्रमलाई साथ दिँदै एउटा कम्पनीले चाहीँ ढलबाट प्रशोधन गरिएको पानीबाटै बियर उत्पादन गरेको छ ।
ढलको पानीबाट बियर ? सुन्दा अलिक अनौठो लाग्छ । तर मानिसहरुलाई ढलप्रशोधित पानीको शुद्धताको विषयमा जनचेतना अभिवृद्धि गर्नका लागि स्टोन ब्रुअरी नामक कम्पनीले ढलको पानीबाट बियर उत्पादन गरेको हो ।
कम्पनीले गत बिहीबार फुल सर्कल पेल एल बियर उत्पादन गरी केही उत्सुक उपभोक्तालाई चाख्न दिएको छ, परीक्षणको रुपमा । मानिसहरुले यसलाई ट्वाइलेट टू ट्याप अर्थात् शौचालयदेखि धारासम्मको नाम दिएका छन् ।
व्यवसायिक रुपमा बजारमा नआउँदै मानिसहरुबीच जबरजस्त लोकप्रिय बनिरहेको छ यो बियर । सुरुको दिनमै बियर चाख्नेहरुले आफ्नै ट्वाइलेटबाट बगेको फोहोर पानीबाट बनेको बियर निर्धक्क पिए र चियर्स गरे ।
उक्त बियरको स्वाद बिछट्टै स्वादिलो रहेको उनीहरुले बताएका छन् । हाल परीक्षणको रुपमा मात्र उत्पादन गरिएको यो बियर छिटै नै बजारमा उपलब्ध गराइने कम्पनीको भनाई छ ।
नगर प्रशासनका अनुसार सन् २०२१ सम्ममा शहरको एक तिहाइ जल आपूर्ति ढल प्रशोधन प्रणालीको माध्यमबाट गरिनेछ । यसो गर्न सकिएमा फोहोर पानी समुद्रमा फ्याँक्नुपर्ने आवश्यकता पनि हुनेछैन ।
एजेन्सी