चैत्र २, २०७३ । आगामी मार्च २५ देखि बंगलादेशमा हुन लागेको इमर्जिङ टिम्स कपमा केही सिनियर खेलाडीलाई रेस्ट दिने भएको छ । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका यू–२३ टिम तथा नेपालसहित अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलीले बंगलादेशमा प्रतिस्पर्धा गर्नेछन् ।
नियमीत कप्तान पारस खड्काले अस्वस्थताका कारण यसअघि नै नखेल्ने भइसकेका छन् । नेपाली टिम स्रोतका अनुसार भेट्रान स्पिनरद्वय शक्ति गौचन र वसन्त रेग्मीलाई पनि आराम दिइने छ । तीव्र बलर सोमपाल कामी पनि बंगलादेश भ्रमणमा जाने छैनन् ।
युवा स्पिनरद्वय भुवन कार्की र सुसन भारीसहित मध्यम गतिका बलर दिपेश श्रेष्ठ, विकेटकिपररब्याट्सम्यान आसिफ शेखसहितका नयाँ अनुहार राखिने भएको छ । केन्यासँग विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेलेको नेपाली टोलीमा १४ खेलाडी थिए ।
इमर्जिङ कपमा १५ खेलाडी राख्न पाउने भएकाले थप एक खेलाडी बंगलादेश जाने नेपाली टोलीमा हुने छन् । नेपालले इमर्जिङ कपका लागि मंगलबार अन्तिम नामावली आयोजक एसियाली क्रिकेट परिषद्मा पठाएको बताइएको छ । २–३ दिनको विश्रामपछि बंगलादेश जाने १५ खेलाडी र ४ वैकल्पिक खेलाडीबीच प्रशिक्षण सुरु हुनेछ ।