काठमाडौं । अघिल्लो सरकारले गरेको सम्झौता कार्यान्वयनमा केन्द्रीत हुने गरि प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा निस्कन लागेका छन् ।
वान् बेल्ट–वान् रोड (ओबीओआर), केरुङ–काठमाडौं रेलमार्ग लगायत केही बुँदा थपेर पूर्ववर्ती सरकारले गरेको सम्झौता कार्यान्वयनलाई भ्रमणको मुख्य एजेन्डा बनाइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
त्यसबाहेक रसुवागढी–केरुङ नाका पूर्ण क्षमतामा सञ्चालन, तातोपानी नाका पुनः सञ्चालन, मुस्ताङको केरला नाका नियमित सञ्चालनलगायतका विषय पनि प्रधानमन्त्रीको भ्रमणमा एजेन्डाका रूपमा राख्ने तयारी छ ।
भ्रमणमा निस्कनुअघि दाहाल सत्ता साझेदार र विपक्षी दलका शीर्ष नेताहरूसँग पनि थप परामर्श गर्ने तयारीमा छन् ।
सोमबार मात्रै प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीबीच भएको छलफलमा पनि चीन भ्रमणको विषयमा छलफल भएको थियो । भेटमा ओलीले पनि आफ्नो पालामा भएको सम्झौता कार्यान्वयनलाई अघि बढाउन दाहालसँग आग्रह गरेका छन् ।
चैत १० गतेबाट प्रधानमन्त्री दाहाल ५ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दैछन् । चीनको हाइनान प्रान्तमा आयोजना हुन लागेको ‘एसियाका लागि बोआओ सम्मेलन’मा भाग लिएर प्रधानमन्त्री दाहाल चैत १३ मा बेइजिङ जाने कार्यक्रम छ ।
प्रधानमन्त्री कार्यालयकाअनुसार बेइजिङमा रहदा राष्ट्रपति सी जिनपिङ, समकक्षी लि खछ्याङलगायत उच्च पदस्थ अधिकारीसँग भेटवार्ता हुनेछ । तत्कालीन प्रधानमन्त्री ओलीको चैत ७ देखि १७ गतेसम्म भएको साताव्यापी चीन भ्रमणमा दुई देशबीच ऐतिहासिक १५ बँुदे सम्झौता भएको थियो ।
इन्धन खरिद सम्झौता, पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन र भण्डारण निर्माण तथा यससम्बन्धी ट्रेडमार्क दर्ता, नेपाललाई चिनियाँ बन्दरगाहसम्म पहुँच दिने, खुल्ला व्यापार, पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण, हिल्सा सुक्खा बन्दरगाह निर्माण, सोलार प्लान्ट जडान, सहुलियत ऋण, स्वतन्त्र व्यापार सम्झौता, बैंकिङ रेगुलेसन, चिनियाँ बैंकले नेपालमा खाता खोल्ने लगायत १५ बुँदे सम्झौता भएको थियो ।