
काठमाडौं । कपन, मिलनचोकका साहसी युवा क्लवमा आवद्ध युवाहरुलाई नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले बुधबार पार्टी प्रवेश गराए । ‘क्रान्तिकारी युवाहरुको सम्मान तथा पार्टी प्रवेश कार्यक्रम”मा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका अध्यक्ष किरणले साहसी क्लवका दश जना युवाहरुलाई अबीर लगाएर पार्टी प्रवेश गराउँदै भने, ‘हाम्रा सपनाहरु ज्युँका त्युँ छन् । नयाँ जनवादी राज्यसत्ता स्थापना गर्नको लागि क्रान्तिकारी पंक्तिलाई संगठित गरेर अगाडि बढ्नुपर्छ । हामीसँग संगठन निर्माण, सेना निर्माण गरेर लड्ने अनुभव हासिल गरेका छौं ।’
क्रान्तिकारी युवा लिग, नेपाल नवाः राज्य समन्वय समितिले आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष किरणले प्रतिक्रियावादी दलाल राज्यसत्तालाई पल्टाउनका लागि क्रान्तिकारी युवा शक्तिको खाँचो रहेको बताए ।
कार्यक्रममा साहसी क्लवका युवाहरु विजय वाइवा, साजन श्रेष्ठ, श्याम लामा, प्रविण रामदाम, मञ्जु लामा, रविना श्रेष्ठ, सुनिल परियार, दावा लामा, नरेश चौधरी, सरोज लामालगायत क्रान्तिकारी माओवादीमा प्रवेश गरेका थिए ।
क्रान्तिकारी युवा नेता अमीर महर्जनले अध्यक्षता गरेको उक्त कार्यक्रमको संचालन बसन्त बोगटीले गरेको थियो भने स्वागत हरिकृष्ण गजुरेलले गरेका थिए । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का सचिवालय सदस्य तथा नेवा राज्य संयोजक दिनेश शर्मा, विष्णु खड्का, कुमार बोगटी, विजय वाइवा, साजन श्रेष्ठ, श्याम लामा र क्रान्तिकारी युवा लिगका केन्द्रीय सदस्य किरण अतिथिको रुपमा उपस्थित रहेका थिए । पार्टी प्रवेश गर्ने युवाहरुको तर्फबाट साहसी क्लवका अध्यक्ष समेत रहेका विजय वाइवाले प्रतिबद्धता मन्तव्य राखेका थिए ।