चीनद्वारा विकास दरको अनुमानित लक्ष्य घटाएर ६.५ प्रतिशत कायम

चीनद्वारा विकास दरको अनुमानित लक्ष्य घटाएर ६.५ प्रतिशत कायम

एजेन्सी । संसारको दोस्रो ठूलो अर्थव्यवस्था भएको देश चीनले आफ्नो वार्षिक विकास दरको अनुमानित लक्ष्यमा कटौटी गरेको छ । चीनले चालू आर्थिक वर्षमा विकास लक्ष्यलाई ६.५ प्रतिशतमा कायम राखेको छ ।

विश्वको आर्थिक शक्ति राष्ट्रको एक नम्बरतिर उन्मुख हुँदै गएको चीनका प्रधानमन्त्री ली केकियाङले गत वर्षको ६.५ प्रतिशतदेखि ७ प्रतिशतको तुलनामा करिब ६.५ प्रतिशत रहने घोषणा गरेका छन् ।

नेसनल पिपुल्स कंग्रेस (एनपीसी) को वार्षिक सत्रलाई बेइजिङमा सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । २०१६ मा चीनले आर्थिक उन्नति गर्दै गर्दाको आर्थिक वृद्धिदरमा २६ वर्षयता सबैभन्दा कमी आएको थियो ।

सम्बोधनका क्रममा लीले भने, ‘चीनले बजारको माग पूर्ति गर्न कोइला र स्टिल उत्पादनलाई बढाउँदै अगाडि बढ्नेछ ।’

बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा आयोजना भइरहेको एनपीसीको वार्षिक अधिवेशनमा ३ हजारभन्दा बढीले भाग लिइरहेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको सल्लाहकार समितिको रुपमा रहेको एनपीसीको वर्षमा दुईवटा वार्षिक सत्रले चिनियाँ सरकारलाई राष्ट्रिय नीति बनाउन सहयोग गर्छ ।

उनले सम्बोधनका क्रममा राष्ट्रपति सी जिनपिङको प्रशंसा गर्दै सीको नेतृत्वमा चीन अगाडि बढिरहेको बताए । उनले देशका केही क्षेत्रमा कालोबजारी र कामचोरी प्रवृत्ति बढेको भन्दै त्यसलाई नियन्त्रण गर्दै अगाडि बढ्ने बताए ।

उनले राष्ट्रपति सीको नेतृत्वमा चीनले हरेक चुनौतीहरूलाई बहादुरीपूर्वक र चतुर्याइपूर्वक सामना गर्ने क्षमता राख्ने उल्लेख गरे ।

चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन नीति, व्यापार नीति र विनिमय दरको विषयमा प्रश्न उठाएकोे छ । प्रधानमन्त्री लीले आगामी वर्षमा अमेरिकाको भविष्य चुनौतीपूर्ण रहेको र संरक्षणवादको बढ्ते खतरा भएको बताए ।

यस वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको वार्षिक अधिवेशन अगाडि नै एनपीसीको वार्षिक सत्र सुरु भएको छ । यो सम्मेलनले राष्ट्रपति सी जिनपिङको कार्यकाल दोस्रोपटकलाई पारित गर्ने सम्भावना रहेको जनाइएको छ । यस्तै, पार्टीको शीर्ष नेतृत्वमा बदलावको घोषणासमेत गर्न सक्नेछ ।