काठमाडौं . विभिन्न क्याम्पसमा विद्यार्थी संगठनले गरेको तालाबन्दी र आगजनीका कारण उत्पन्न भएको भय र त्रासकैबीच स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया अघि बढेको छ । त्रिभूवन विश्वविद्यालयले स्ववियु निर्वाचनका लागि तय गरेको कार्यतालिका अनुसार नै अघि बढ्न विद्यार्थी संगठन र विश्वविद्यालयबीच सहमति बनेपछि अब प्रक्रिया अघि बढ्ने भएको हो ।
शनिबार नै स्ववियु निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची रहेकोमा अधिकांश क्याम्पसमा विद्यार्थी संगठनबीचको तनाव, शक्ति र पैसाको दुरुपयोग गर्दै गरेको एकमुष्ट भर्नालगायतका विषयमा देखिएको विवादका कारण क्याम्पसका निर्वाचन कार्यालयहरुमा तालाबन्दी तथा कतिपय क्याम्पसमा आगजनी समेत भएको थियो ।
यद्यपि विद्यार्थी संगठन र विश्वविद्यालय प्रशासनबीच ताला फुटाएर पनि निर्वाचन प्रक्रियालाई अघि बढाउने सहमति भएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको हो । तर यो विषयलाई लिएर ठूला पार्टी निकट विद्यार्थी संगठनबीच परस्पर विरोधी धारणा सार्वजनिक भएपछि स्ववियु निर्वाचनलाई लिए्र थप आशंका उत्पन्न भएको छ ।
काँग्रेस निकट नेवि संघ, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बीच क्याम्पसहरुमा लागेको ताला फुटाएर भएपनि निर्वाचन प्रक्रिया अघि बढाउने सहमति भएको थियो । त्यसको मसी सुक्न नपाउँदै नेवि संघकै अर्को समूहसँगको मिलेमतोमा तरुण दलले सबै क्याम्पसमा ताला लगाउन र निर्वाचन विथोल्न निर्देशन दिएको छ ।
स्ववियु निर्वाचनको मुखमा नेवि संघमा रामचन्द्र पौडेल समूह र शेरबहादुर देउवा समूहबीचको असहमतिका कारण अधिकांश क्याम्पसमा ताला लागेको छ । नेवि संघका अध्यक्ष नैनसिंह महरले तालाबन्दीमा आफूहरुको संस्थागत संलग्नता नरहेको भन्दै ताला फुटाएर निर्वाचन गरिए आफूहरुले साथ दिने बताएका छन् ।
नेवि संघकै महासचिव कुन्दन काफ्लेको समूहले अलग्गै प्यानल निर्माण गरेको छ ।
पौडेल पक्षले २८ वर्षे उमेर हदको समेत विरोेध गर्दै २८ वर्षे लाग्दा पौडेल पक्षधर स्ववियुका धेरै आकांक्षी उम्मेदवार बन्नबाट बञ्चित भएकाले चुनावै हुन नदिने र अध्यक्ष नैनसिंह महरलाई पनि असफल बनाउने खेलमा लागेको आरोप छ । तालाबन्दी गराउन नेवि संघका पूर्व नेता तथा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत नै सक्रिय रहेको देउवा पक्षको आरोप छ ।
त्रिविले भने तालिका अनुसार फागुन १४ र १५ गतेका सबै कार्यक्रमहरु १५ र १६ गते विहान साँढे १० बजेसम्म सम्पन्न गर्न सबै क्याम्पसलाई परिपत्र गरेको थियो ।
शुरुदेखि नै अवरुद्ध भएका क्याम्पसमा भने सबै तालिका मिलाएर नयाँ निर्वाचन कार्यक्रम तय गर्नुपर्नेछ । उम्मेदवारी मनोनयनका दिन राजधानीका अधिकांश क्याम्पसमा विद्यार्थीले तालाबन्दी गरेपछि चुनाव प्रभावित भएको छ । त्यस्तै राजधानी बाहिरका पनि धेरै क्याम्पसमा ताला लागेको थियो ।
एकमुष्ठ र फर्जी भर्ना खारेज हुनुपर्छ :
सेवन्तराज भण्डारी, अध्यक्ष, ‘अखिल क्रान्तिकारी) मोहन वैद्य’
अखिल (क्रान्तिकारी) वैद्य किन स्ववियु चुनाव लड्दै छ ? छोटोमा भनिदिनुस् न ?
विगत लामो समयदेखि हामीले विद्यार्थीका हक, हितका ठोस विषयवस्तु सम्मिलित मुद्दाहरु उठाउँदै आइरहेका छौं । पहिले राज्यमा तानाशाह थियो अहिले विद्यार्थी संघ, संगठनमा तानाशाह मौलाइरहेछ । विद्यार्थीबाट उठाएको फिसबाट मोजमस्ती गर्ने र भ्रष्टाचार गर्ने परिपाटीको विकास भएको छ । यसमा संसदवादी पार्टीहरु र तिनीहरु निकटका विद्यार्थी संगठनहरु चुर्लुम्म डुबेका छन् । हामीले उठाउँदै आएका मुद्दाहरु कार्यान्वयन हुन सकेनन् । काँग्रेस, एमाले र माओवादी केन्द्र निकटका विद्यार्थी संघ–संगठनले लगाएको सिन्डिकेटको मारमा सबै मसिना संगठन परे । त्यसले विद्यार्थीको भाग्य र भविष्य उन्नतितर्फ नभई अवनतितर्फ गइरहेको छ । यस्तो अवस्थामा हामी यो देशको जिम्मेवार राजनीतिक दल निकट जिम्मेवार विद्यार्थी संगठन हुनका नाताले चुपचाप हेरेर बसिरहन सक्दैनौं । त्यस कारण विद्यार्थीका हक अधिकारलाई स्थापित गर्ने, उनीहरुको राजनीतिक चेतनाको विका िगर्ने÷गराउने र सामाजिक आन्दोलनमा पनि अग्रपंक्तिमा उभिन सक्ने नागरिक बनाउने दिशामा काम गर्न पनि हामी स्ववियु निर्वाचनमा होमिएका छौं । हामीले स्ववियु निर्वाचन जितेको अवस्थामा या हारेको अवस्थामा पनि विद्यार्थी आन्दोलनभित्र मौलाउँदै गएको विकृति, विसंगति, कुसंस्कारको अन्त्यका लागि निरन्तर संघर्ष गर्छौं ।
अरु विद्यार्थी संगठन भन्दा तपाईंहरु कुन अर्थमा फरक र श्रेष्ठ हुनु हुन्छ?
अरु संगठन विज्ञप्ति निकाल्ने कर्मकाण्डी विधिमा सीमित भए । विद्यार्थी आन्दोलनको जुन प्रतिपक्षीय चरित्र हो, उनीहरुले त्यसलाई गुमाइसकेका छन् । अहिले केही विद्यार्थी संगठनका नेताहरु कुन नेता र मन्त्रीको पीए बन्न पाइन्छ र आर्थिक लाभ हासिल गर्न पाइन्छ भनेर ज्यान छाडेरै लागेका छन् । हामी त्यो भन्दा फरक छौं र विद्यार्थी आन्दोलनलाई आम विद्यार्थीको साझा र सरकार र राजनीतिक दलहरुलाई समेत खबरदारी गरिहने प्रतिपक्षी भूमिकालाई स्थापित गर्न सफल भएका छौं ।
त्यति मात्रै होइन यो देशको भविष्यका कर्णधार युवा विद्यार्थीको नेतृत्वदायी विद्यार्थी संगठन हुनुको नाताले पनि हामी यो देशको राष्ट्रियताका लागि निरन्तर संघर्ष गर्दै आइरहेका छौं । हामीले राष्ट्रियताको विषयलाई लिएर भारत र चीनबीच व्यापारिक हबका रुपमा विकास गर्ने सम्झौता भएको नेपालको लिपुलेक पुगेर राष्ट्रिय झण्डा फहरायौं भने राष्ट्रसंघका महासचिवलाई ज्ञापनपत्र समेत बुझायौं । नेपालभित्र भारतीय राष्ट्रिय गान, संस्कृति पढाइ हुने विद्यालयलाई सम्बन्धन दिनुहुन्न भनेर शिक्षा मन्त्रालय तथा शिक्षा विभागमा ज्ञापन पत्र बुझायौं । नेपालको संस्कृति बिगार्ने खालका पाठ्यक्रम पठनपाठन, नामाकरण र उच्छृंखल शैक्षिक क्रियाकलाप नगर्न संस्थागत तथा निजी विद्यालयहरु डीएभी, चेल्सी, लिभरपुल, मोर्डन इन्डिएन, वासिड़्टन, पेन्टागन लगायतलाई सचेत गराउने काम हामीले नै गरेका हौं । अहिलेसम्म हामीले हाम्रा सारा गतिविधिलाई आम विद्यार्थीको हकहित र अधिकारको रक्षा, समस्याहरु समाधानलगायतमा केन्द्रित गरेका छौं र विद्यार्थी आन्दोलनको आफ्नै चरित्रलाई गुम्न दिएका छैनौं । त्यसकारण पनि हामी डलरवादी, भत्तावादी र सरकारी देखावटी चरित्रको आन्दोलन हुनबाट बचाएका छौं । यस अर्थमा पनि हामी अरु विद्यार्थी संगठन भन्दा फरक मात्रै छौं र आम विद्यार्थीको उज्वल भविष्य पनि यही आन्दोलनभित्र छ ।
तपाईहरुको चुनाब जित्ने आधार र रणनीति के छ ?
चुनाब जित्नका लागि हाम्रा मुद्दाहरु नै काफी छन् । शिक्षामा वैदेशिकीकरण, दलालीकरण र माफियाकरणका विरुद्धमा बोल्ने एकमात्रै संगठन अखिल (क्रान्तिकारी) वैद्य हो । विद्यार्थीलाई सवारी यातायात तथा स्वास्थ्य परीक्षणमा पचास प्रतिशत छुट हुनुपर्छ भन्ने हाम्रो संगठनको माग रहँदै आएको छ । स्नातक तथा स्नातकोत्तर पढ्ने विद्यार्थीहरुलाई निश्चित समय काम गर्ने (पार्ट टाइम जब) अवसर प्रदान गरेमा उनीहरु नै राष्ट्रका दक्षजनशक्ति बन्न गई विदेश पलायन हुनबाट जोगिन्छन् । हाम्रो संगठनले विद्यार्थीको भाग्य र भविष्यको फैसला गर्ने साझा तथा समानुपातिक प्रतिनिधित्वको आधारमा चुनाव लड्दै छ । टुटफुट र विभाजनबाट बच्दै निखारिएको हाम्रो संगठन रक्षात्मक, प्रचारात्मक र क्रियात्मक तिनै ढंगले अघि बढिरहेछ । हामीले देशैभर एकैपटक चुनाव हुनुपर्छ । एकमुष्ठ र फर्जी भर्ना खारेज हुनुपर्छ लगायत मागहरु राखी छानविन समितिमा मुद्दा दायर गरेर प्रतिवेदन सार्बजनिक गर्न भनेका छौं । प्रतिवेदन सार्वजनिकसँगै हाम्रा मुद्दाहरु कार्यान्वयन हुँदा हाम्रो जीत हुन्छ । स्ववियु निर्वाचन हुने र यसलाई भ्रष्टाचारको अखडा बन्नबाट रोक्ने आधार पनि यही हो ।
अधिकांश क्याम्पसमा तालाबन्दी
त्रिभुवन विश्वविद्यालयका ६० आंगिक क्याम्पसमध्ये अधिकांशमा विद्यार्थी संगठनले ताला लगाएका छन् । केन्द्रीय क्याम्पस कीर्तिपुरमा नयाँ शक्ति विद्यार्थी युनियनले अन्तिम सेमेस्टरका विद्यार्थीले भर्ना पाउनुपर्ने माग गर्दै ताला लगाएका छन् ।
त्रिचन्द्र, आरआर, शंकरदेव, पब्लिक युथ, पशुपति बहुमुखी, पाटन संयुक्त क्याम्पसलगायतमा पनि मनोनयन दर्ता प्रभावित हुनेगरी ताला लगाइएको छ ।
त्यस्तै थापाथली इञ्जिनियरिङ क्याम्पस, महेन्द्ररत्न क्याम्पस ताहाचल, नेपाल कमर्श क्याम्पस मीनभवनमा पनि नेवि संघसहितका संगठनको तालाबन्दी छ । विप्लव निकट अखिल (क्रान्तिकारी) को र क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) ले पनि तालाबन्दी गरेको छ । पद्मकन्या क्याम्पस बागबजारमा अखिल (क्रान्तिकारी) प्रचण्डको तालाबन्दी छ ।
काठमाडौं उपत्यकाबाहिरका केही क्याम्पसमा भने मनोनयन दर्ता भएको छ । त्रिविले भने विद्यार्थी संगठनहरुले नै तालाबन्दी र आगजनी गरेपनि चुनाव रोक्ने पक्षमा नभएको जनाएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ले भयमुक्त वातावरणमा निर्वाचन हुने वातावरण निर्माण गर्न विश्वविद्यालयलाई आग्रह गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गरी क्रान्तिकारीले स्वबियु निर्वाचनका विषयमा समेत ३ ठूला पार्टी निकट विद्यार्थी संगठनको सिन्डिकेट लागु गरिएको, निर्वाचन प्रभावित पार्ने गरी शक्ति, पद र पैसाको दुरुपयोग गरी एकमुष्ट र फर्जी भर्ना गरिएको, निर्वाचनको वातावरण विथोलेको भन्दै त्यसलाई खारेज गरी निष्पक्ष रुपमा विद्यार्थीको अभिमत प्रकट हुने थलोका रुपमा स्ववियु निर्वाचन गराउन माग गरेको छ ।