
आज माहान् जनयुद्ध दिवस । गक्षअनुसार जनयुद्धको नेतृत्व गरेका र बाहिर बसेर रमिता हेरेका गरी चार थान हेड मनुवाहरूले एकैसाथ गए राती सपना देखेछन् । सबैले जनयुद्धकै बारेमा सपना देखेछन् । सपना देख्ने मनुवा थिए, नेपाल मण्डलका कार्यकारी अर्थात् नेकपा माकेका महामहिम मिस्टर सुप्रिमो थान एक, नयाँ भने पनि पुरानै थोत्रो शक्तिका मुखिया गोर्खाली डाक्साव थान एक, माकेकै लाउके गोर्खाली काजीसाप थान एक र खु्रस्चेभका गाउँबाट गोबर सोहर्न भनी आफ्नै मुलुकाँ फर्केका चितौने क्लाउड थान एक । जम्मा थान चार । सपना देखेपछि विहानै उठेर आआफ्नै कुटीबाट एकार्कालाई कल हानेछन् । पैला सुप्रिमाले सरकारी कुटीबाटै डाक्साबलाई कल हान्दै आफूले सपना देखेको कुरा गरेछन् । उता डाक्सावले पनि जनयुद्धकै बारेमा सपना देखेको बताएछन् । डाक्सावले एकैसाथ सपना देखेको कुरा गर्दा सुप्रिमो निकै भावुक भएछन् । त्यसै बखत काजीसापले पनि सपना देखेको भन्दै सुप्रिमोलाई कल हानेर बताएछन् । उनको फोन बिसाउन नपाउँदै क्लाउडले पनि सुप्रिमोलाई फोन हान्दै गए राती जनयुद्धका बारेमा सपना देखेको कुरा बताएछन् । कस्तो जोग मिलेको ! हैन कस्तो अचम्म ! सबैले एकै रात एउटै समयमा जनयुद्धका बारेमा सपना देख्नु । सबै एकै ठाउँ जम्मा भएर सपनाका बारेमा समीक्षा गर्ने निधो गरेछन् । त्यसको चाँजोपाँजो मिलाउने जिम्मा काजीसापले लिए । उनले सबैलाई आफ्नै कुटी हात्तीवनमा बोलाए ।
सबै हात्तीवनतिर हानिए । उता काजीले पनि सपनामा देखेको अनिष्ट मन्साउन भन्दै आफ्नै जातीय संस्कृति अनुसारको दारूपानी र छोइला भटुरा तयार पारेर नेताहरूलाई कुरेर बसे । हस्याङफस्याङ गर्दै काजीनिवास हात्तीवनमा तीन थान लाउकेहरू एकैसाथ पुगे । जाँदाजाँदै अर्को जोग प¥यो, एकै साथ तीनै थान मिस्टरहरू पुग्नु । सपनाले यहाँ पनि पछ्याएको अनुभव गरे उनीहरूले । सबै एउटै ¥याङ र ड्याङका भएकाले कसैले कसैलाई पहिला सलाम नगरी एकैसाथ हात मिलाए । काजीसाव (उनको नाउँ क्लाउडले झाँक्री राखेको हुनाले अब उप्रान्त उनलाई झाँक्री भनिने छ । किनकि त्यसको एउटा छोटो कथा छ । घैँटो नफुट्दै एकपटक सिसिको बैठकमा बैठक सञ्चालन गर्दै क्लाउडले भनेछन् ‘हाम्रो पाइटीमा तीन थान उपाध्यक्ष हुनुहुन्छ, एउटा वैद्य, अर्का डाक्टर र तेस्रा झाँक्री’ यसरी तहाँउप्रान्त उनको नाउँ पाइटीमा झाँक्री रहन गयो ।)ले सबैलाई बैठक हलमा लगे । सबै थपाथप एकेक वटा सोफामा बसे । फागुनको महिना भए पनि बिहान चिसो भएकाले पहिला कफी पिउने भन्दै झाँक्रीले आफ्ना सुसारेलाई कफी ल्याउन अडर गरे । तुरुन्त कफी आयो । सबैले कफीको चुस्की पनि एकैसाथ लिन थाले ।
सन्नाटा चिर्दै मिस्टर सुप्रिमोले आफूले देखेको सपना बताउन थाले । ‘हेर्नुस् साथी हो, मैले आजको सपनामा म त उतै रोल्पा घोरनेटीतिर बसेको हुन्चु अरे । डाक्सावलाई कारवाही गरिएको हुन्च । उहँलाई भेटगर्न भन्दै बोलाएको हुन्चु । मिसेज यमीसहित डाक्साव आउनुभा’हुन्च । एकाएक ठूलो जुलुस जनयुद्ध जिन्दावाद, जनयुद्ध जारी छ, हामी मरेका छैनौ, तिमीहरू हाम्रा नेता हैनौ, धोकेवाज र गद्दारहरू मूर्दावाद भन्दै नारा लगाएर हामी भा’ठाउँ आयो । त्यो जुलुसमा देशैभरका सहिदहरू, घाइते र अपाङ्गहरू, विदेशतिर हानिएका युवाहरू र खाते बानाइएर हुत्याइएका भुँइवाला लडाकाहरू थिए । बाहिर जुलुसले नारा घन्काइरह्यो भित्र चार जना प्रतिनिधि आए । डाक्साव र म थियौँ । तिनीहरूले हाम्लाई तपाइँहरूले गद्दारी गर्नुभो, नेताहरूको वर्ग उठ्यो कार्यकर्तालाई रैती बनाउनुभो, जनवाद आयो भनेर दुश्मनहरूसँग घाँटी जोडेर आफ्नो स्वार्थ पूरा गर्नुभो, पार्टी फुटाउनुभो, विस्तारवादको दलाली गर्नुभो, असमान सन्धीलाई स्वीकारेर पच्चीसबुँदे गर्नुभो, पिएलएका कमाण्डर, जिल्ला हाँकेका नेताहरू सबै दलाल, तस्कर, ठेकेदार बनाउनुभो, पार्टीमा बुर्जुवा वर्ग भरेर इमान्दारलाई पाखा लगाउनुभो, यस्ता धोकेवाजलाई हामी तेसै छोड्नेवाला छैनौँ । तपाइँले जति गद्दारी गरेर विस्तारवाद र साम्राज्यवादको चाकडी गरेपनि तपाइँलाई अन्तिममा झुण्ड्याउँचन् बुभ्mनुभो भन्दै धम्क्याएर हिँडे । मलाई त ऐठन परेछ र निकै आत्तिँदै झल्याँस्स ब्युझँदा म त सरकारी ओछ्यानमा मस्तसँग सुतेको पो रहेचु । यस्तो सपना पो देखियो त भन्दै कुम हल्लाएर आँखा रसिला पार्दै फ्अ् हुँहुँहुँ गर्दै मुसुमुसु हाँसे ।’
त्यसपछि डाक्सावले आपूmले देखेको सपना भन्न थाले । ‘मैले त आज सपनामा उतै कुरेलीमा थुनिएर बसेको हुन्चु अरे । त्यतिबेला यस्तो कल्पना गरेको हुन्चु– प्रम भएर बालुवाटार बसेर जमुसेलाई कसरी विघटन गर्ने भनेर सोचिराखेको हुन्चु । मलाई त युद्धमा पनि जमुसेलाई त्यति ठिक लाग्दैनथ्यो । करकापले मात्रै मानेको थिएँ । अनि समायोजन गरेर विघटन गरेको, भारत गएर विप्पा गरेर जुवा खेलेको, एयरपोर्ट पनि उतै बुझाउन यमिले दवाव दिएको, कम्निस सम्निस छोडेर फकिर भएर उद्योगी व्यापारी, उच्च घरानीयाँ, हिरो हिरोनी, रिटायर भएका उच्चतहका व्युरोक्र्याटहरू बटुलेर नयाँ अभियान चलाएको हुन्चु अरे । त्यत्तिकैमा सहिद, घाइते, बेपत्ता, तल्लो कोटीका कार्यकर्ता विदेशिएका लडाकाहरू आएर घेरा हालेर तपाइँ गद्दार, धोकेवाज, जनुयुद्ध भाँड्न घुसेको बुर्जुवा भनेर हकारेका हुन्चन् । मलाई त कस्तो ऐठन परेको हुन्च । यमिले अई जितबिरे केको ठसठस् गरेछस्, टिमी बौलाउँछस् कि केहो, किन बरबराको ट, भनेर धक्याएर उठाइन् । म झसङ्ङ भएँ ।’
अब पालो आयो क्लाउडको । उनले पनि देखेको सपना भन्न थाले । ‘म त चुनवाङको बैठकमा हुन्चु अरे हुँम् । मलाई किन लिम्प्याओवादी भनेको ? के म लिम्प्याओवादी नै हुँ त ? हुँम् । म त्यत्रो देशमा इन्जिनियर पढ्न गा’को मान्छे गोबर सोहर्न भन्दै पाढाईसढाई गोली मारेर आएँ । मलाई ऐले आफ्नै नेताले पाइटी भित्रै कारबाही गर्ने हुँम् भनेर धुरुधुरु रोएँ । अब म अधक्क्ष सुप्रिमोमा विलय भएँ हुँम् । यस्ता सुप्रिमोलाई रेड स्यालुट छ भनेर भने । त्यैभ’र वैद्यको पछि लागेर पाइटी फोडेर गए पनि सुप्रिमोलाई विर्सनै नसकेर फेरि विलिन हुन आएँ । ब्यँुझँदा त लोडसेडिङ हटेकाले ‘विद्युत’ त आँखै अगाडि झलमल्ल भ’को रैच । खुसी लाग्यो हुँम् ।’
अन्त्यमा झाँक्रीले सपना बताए । ‘मैले यस्तो सपना देखेँ कि एमविसँग पार्टी एकता गरे पनि अलग्गै गुट चलाएको, जनयुद्ध सामाजिक फासिवादीतिर जानसक्छ भनेर भनेको, माओवादीलाई जसरी पनि शान्ति प्रकृयामा ल्याउनु पर्च भनेर सातदलमा कुरा उठाएको, माओवादीको कोटामा शेरचनलाई उपप्रधान मन्त्री बनाएर सरकारमा पठाएको, लखनऊ र घर्तीगाउँमा माओवादीसँग पैसा ल्याएर खर्च चलाको सपना पो देखेँ ।’
यसरी सबैले सपनाको वृत्तान्त कहेपछि एउटा निषकर्षमा पुगे । झाँक्रीले भने ‘हेर्नुस् साथीहरू डाक्सावले त कम्निस सिद्धान्त पनि त्याग्नुभो, पार्टीको नाम पनि नयाँ शक्ति राख्नुभो । तो ठिक छ । अब हाम्ले पनि चरित्र र कार्यदिशा अनुसारको नाम राखौँ । मेरो प्रस्ताव के छ भने नेपाल कम्युनिस्ट पार्टी माओवादीकेन्द्र लाई बदलेर नेपाल कमाउ पार्टी मारवाडीकेन्द्र राखौँ । त्यसो गर्दा रूप र सार पनि मिल्च । अब हाम्रो समाजवादतिर जाने कार्यदिशा भएकोले सबैले धन नकमाई तो पूरा हुँदैन । तेसो भएर कम्युनिस्टको ठाउँमा कमाउ राख्नु उचित हुन्च । तेसो हुँदा पार्टीमा लुतेलाम्रे, गरिब, र केही गर्न नसक्ने हुतिहाराहरूलाई भरेर हुँदैन तिनलाई रैती नै बनाउनु पर्च भोट तान्न काम लाग्चन । केन्द्रमा नवधनाड्य, र धनकमाएका मारवाडी तहकालाई राखौँ र माओवाद छोडेर मारवाडीकेन्द्र बनाऔँ । तेसो भएपछि डाक्साव पनि एकतामा फर्किनुहुन्च ।’ सबैले ठिक प्रस्ताव भनेर निकैबेर ताली बजाए । त्यसपछि सुप्रमोले अब जनयुद्ध दिवस होइन धनयुद्ध दिवस मनाउनु पर्च भनेर प्रस्ताव गरे । फेरि ताली बजाएर पास गरियो । र, त्यसको व्यवस्था मिलाउन झाँक्रीलाई गुज्जर भैयाको देशतिर कुरा मिलाउन पठाउने सहमति भयो ।
अन्त्यमा ककटेल मनाउन सबै जुटे । रेडलेवल ब्ल्याकलेवलका विर्का खोलिए । हुर्रे गर्दै जस्न मनाए । छोइला भटुरा चपाए । सुप्रिमोले आज जनयुद्ध सुरु गरेको दिन भएर त्यसको सम्झनाका लागि रोल्पाबाटै मगाएको कोदोको एकपानेको जर्किन खोले । सबैले तुनुक्क पारेर तुन्क्याउँदै एक स्वरमा नारा लगाए ‘धनयुद्ध दिवस जिन्दावाद’ ।
१ फागुन २०७३