अमेरिकी धम्कीका बाबजुद उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

अमेरिकी धम्कीका बाबजुद उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

एजेन्सी । अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा आएपछि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।

प्रमुख मित्रराष्ट्र जापानका प्रधानमन्त्री सिन्जो आबे अमेरिका भ्रमणमा रहेका बेला ट्रम्पले शनिबार मात्रै आयोजित एक पत्रकार सम्मेलनमा जापानलाई शतप्रतिशत पूर्ण सहयोग गर्न आश्वस्त पार्ने प्रयास गरेलगत्तै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको हो ।

स्थानीय समयअनुसार आइतबार बिहान ७ बजेर ५५ मा सो क्षेप्यास्त्र उत्तरी प्योङयाङको पश्चिमी प्रान्तमा रहेको बाङयोन सैनिक हवाई अखडाबाट सुदूरपूर्व जापानी समुद्र (सी अफ जापान) तर्फ प्रहार गरी परीक्षण सम्पन्न गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ ।

वायुमण्डलमा ५ सय किलोमिटर जति उडेर समुद्रमा झरेको सो क्षेप्यास्त्र के–कति क्षमताको र कुन शृंखला वा मोडेलको हो भन्नेबारेमा केही खुलेको छैन ।

अहिलेसम्म उत्तर कोरियाले अन्तर–महाद्विपीय ब्यालिस्टिक क्षेप्यास्त्र (इन्टर कन्टिनेन्टल ब्यालिस्टिक मिसाइल–आईसीबीएम) को सफल परीक्षण नगरेकाले आइतबार परीक्षण गरेको आईसीबीएम नै हो कि भन्ने अड्कलबाजी गरेका छन् ।

जापानी प्रधानमन्त्रीको अमेरिका भ्रमणकै मौकामा गरिएको यस परीक्षणको जापान तथा अमेरिका दुवैले आलोचना गरेका छन् ।

यसअघि दक्षिण कोरियाकाले उत्तर कोरियाको ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको जनाएको थियो । आफ्ना पिताको मृत्युपछि सत्ता सम्हालेका किम जोङ उनले आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

जापानी प्रधानमन्त्रीले यस परीक्षणलाई अस्वीकार्य कार्य भएको बताएका छन् । अधिकारीहरूले मिसाइलले जलसीमाको अतिक्रमण नगरेको जनाएका छन् ।

गत वर्ष मात्रै उत्तर कोरियाले दुईवटा परमाणुको सफल परीक्षण गरेको थियो भने केही क्षेप्यास्त्रसमेत परीक्षण गरेको थियो ।

उत्तर कोरियाको यो कदमले कोरियाली प्रायद्वीपमा तनाव उत्पन्न गराएको छ भने प्योङयाङले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको जनाउँदै आएको छ ।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएको छ । यस बैठकमा उत्तर कोरियाको मिसाइल परीक्षणबारे छलफल हुनेछ ।

गत जनवरीमा मात्रै उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश मिसाइल परीक्षणको नजिक रहेको बताएका थिए ।

गत साता मात्रै दक्षिण कोरियाको भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री जेम्स म्याट्रिसले उत्तर कोरियाले परमाणु हमलाको दुस्साहस गरे कडा जवाफ दिने चेतावनी दिएका थिए ।

गत वर्ष उत्तर कोरियाले परमाणु परीक्षण गर्दै अमेरिकामाथि परमाणु हमला गर्न सक्षम भएको दाबी गरेको थियो ।