एमाले, राजमो, नेमकिपा र माले लगायतका नौदलेहरूले शुक्रबार राजधानीमा आफ्नो शक्तिको तुजुक देखाए । नौदले भनिए पनि त्यो खासमा एमालेको एकलदलीय शक्तिको तुजुक थियो । अरू दल त एमालेको फेरो समाएर बैतरणी तरेका मात्र हुन् । जे होस् उनीहरूले काङ्ग्रेमाके (काङ्ग्रेस + माओवादी केन्द्र)को सरकारलाई तुजुक देखाएरै छाडे ।
दुईलाखे तुजुकको हवाला दिए पनि सरकारी सुरक्षाकवचले त्यसलाई पचास साठी हजारको तुजुक भनेर होच्यायो । सायद आफ्नो मालिक रिझाउन पनि त्यसो भने होला । जे होस् आफ्ना दुइपैसे देखि चवन्नीसम्मका कारिन्दाहरूलाई हाँजिर गरायो एमालेले । झारामा नगए खारा तिराउने उर्दी जारी गरेर कारिन्दाहरू मैदानमा ओराल्यो । सरकारको नुनपानी खाएका सरकारी कारिन्दादेखि जल, जमिन, जंगल, जडिबुटी, सहकारी, शिक्षा र स्वास्थ्य क्षेत्र ओगटेर निर्माण गरिएका एनजिओ आइएनजिओको ढडिया थापेर डलर डकार्नेहरू पनि हातहातमा सूर्यको झण्डा समाएर जुलुसमा ओइरिए । यसपटक एमालेले अरू आठदलेहरूलाई समेत आफ्नो पुच्छर समाउन लगाएर लता¥यो ।
सरकारले संसदमा संविधान संसोधनको कुटिरो खोल्ने धाक धक्कु लगाएपछि तुजुक देखाउने दलहरू सन्किएका हुन् । विशालसभा नाम दिइएको त्यो शक्तिको तुजुकमा मुख्य वक्ता पनि एमालेकै उखानप्रसाद थिए । शेयरको पन्चानब्बे प्रतिशत लगानी एमालेको भएपछि सभाको शेर पनि उसैको हुने कुरा त जानेमानेकै कुरा भयो । आखिरमा एमालेले चुनावी रन्को देखायो ।
शक्तिको तुजुक देखाउनु पर्ने कारणमा संसदमा पेस गरिने भनिएको संविधान संसोधनको विषय भएता पनि खास मक्सद सरकारका विरुद्ध परिलक्षित थियो । गुज्जर भैयाको आर्शिवाद थापेर आपूmलाई घोक्रेठ्याक लगाएर सरकारबाट निकाला गरेपछि उखानप्रसादलाई हुनसम्मको रिस त उठेकै थियो । के निहुँ पाउँ र कनिका बुकाउँ भएर छटपटिएको एमालेलाई सरकारलाई तुजुक देखाउने राम्रो मसला संविधान संसोधन बन्यो ।
संसोधनको विरोध पनि नागरिकता प्रकरण र भाषाको विषयमा चाहिँ नगर्ने रे, पाँच नम्बर प्रदेशबाट लुम्विनीलाई टुक्राउने मुद्दामा मात्र गर्ने रे । कस्तो गजबको कुरा । शक्तिको तुजुकमा उखानप्रसाद कुर्लिए ‘सरकारले अखण्ड लुम्विनीलाई टुक्राएर राष्ट्रियतामा गम्भीर खेलबाड गरेको छ । यो कुरा हामी जस्ता घोर राष्ट्रवादीहरूलाई किमार्थ मान्य छैन ।’ उनले विगतको कुरा स्मरण गराउँदै भने ‘मेरै पहलमा एमाले समेतले माहाकाली नदी छिमेकी मित्रराष्ट्रलाई चढाएकै हो, उसले सीमामा अतिक्रमण गरिरहँदा पनि हामी चुप लागेर बसेकै छौँ ।
अपर कर्णाली, कोशी ड्याम, अरूण तेस्रो, विप्पा र छिमेकीको दुतावासले हाम्रो मुलुकाँ उधुमपत्ताल मच्चाउँदा पनि हामीले स्वागतै गरेका छौँ । हाम्रो यो स्वामीभक्तीलाई हेपेर अहिले लुम्विनी टुक्राउने कुरा उताको आदेशमा गर्ने ? (तरररर तालि गड्कियो) हामीले प्रयोग नगरेर त्यत्तिकै बगेर उतै जाने नदीहरू हामीलाई काम छैन । हाम्रा युवा जति सबै विदेश गइसके, खेतबारी जोत्ने मान्छे कोही नभाबेला जमीन पनि छिमेकीले हडपे पनि हामीलाई खासै मतलब छैन । तर लुम्विनी टुकारेर हामीलाई पाँच नम्बर प्रदेशबाट मुख्मन्त्री बन्ने अवसर छुटाउने षड्यन्त्रलाई हामी घोर विरोध गर्छौं ।
लुम्विनी हाम्रो पार्टीको भागमा परेको होइन ? हिज १६ बुँदे सम्झौता गर्ने बेला काँग्रेस, एमाले, एमाओवादी र गच्छदारले आआफ्नो पार्टीका लागि मुख्यमन्त्री भाग लाएको होइन ? ऐले आएर खोलो तर्ने लौरो विर्सने गर्न यो सरकारलाई कस्ले दियो अधिकार ? जबसम्म लुम्विनीलाई अखण्ड राखेर संसोधन ल्याइँदैन तवसम्म हामीले सडक छोड्दैनौँ सदन चल्न पनि दिँदैनौ । (तरररर ताली बज्यो)’ उनले भाषण सकेपछि अर्का उखानबहादुरको बोल्ने पालो आयो ।
आफ्नो पार्टीका देशभरीका जन्मेदेखि माथि जान तयार भएका बूढाबूढीसम्मका रैति मिसाउँदा पनि यति मान्छे जमघट नहुने राजमोका लागि यो शक्तिको तुजुक मौकामा चौका प¥यो । अर्काले जम्मा परिदिएको भीडमा भाषण गर्न पाउनु उखानबहादुरहरूका लागि मामाको धन फुपूको श्राद्धे जस्तै हो । जन्मजात संघियताका विरोधी उखानबहादुरले मौकाम चौका हान्दै थर्काए ‘यो खाए खा नखाए घिच भनेर माओवादीले ल्याएको संघीयता ऐले उसैलाई घाँडो भओ छ । हाम्ले त पैले नै भन्या थिम् यो संघीयता नेपालाँ टिक्नै सक्दैन । ऐले यो संसोधन विधेयक आफ्ना मालिकलाई रिझाउना लागि ल्याइएको हो । त्यसैले हाम्ले यस्लाई मान्नु पर्ने कुनै दर्कार छैन । जात जात लडाएर शासन गर्ने तरिका फेल भैसको । अब यो विधेय फिर्ता ल्याएर पुरानै संविधान जारी गरे हुन्च ।’
एमालेले देखाएको तुजुकले सरकारमा खैलाबैला मच्चियो । सरकारको नेतृत्व गरेका सुप्रिमो बिलखवन्दमा परे । उनलाई अहिले निलनु न ओकल्नु भएको छ । विधेयक फिर्ता लिने हो भने नजिक नजिक आउन थलेका मधेशवादीहरू टाढिने र गुज्जर भैयाले उकासेर आफ्नो सरकारै ढल्ने हो कि भन्ने चिन्ता, फिर्ता नलिएर अगाडि बढाउने हो भने एमालेले सडक र सदन कब्जा गरेर पनि कुर्ची ढालिदिने खतरा । यसरी प्रधानमन्त्री अहिले अगाडि जाउँ तगारो पछाडि हटौँ भीरको अवस्थामा अड्किएका छन् ।
kailubraha73@gmail.com