काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की पदमुक्त भएका छन् । सर्वोच्च अदालतले अख्तियार प्रमुख कार्कीलाई पदमुक्त गर्ने फैसला सुनाएको हो ।

न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको संयुक्त इजलासले आइतबार अख्तियार प्रमुखमा नियुक्तिका लागि लोकमान सिंह कार्कीको योग्यता नपुगेको ठहर गर्दै उनलाई पदमुक्त गर्ने फैसला सुनाएको हो । 

आदेशमा भनिएको छ, प्रचलित नेपालको अन्तरिम संविधानको धारा ११९ को उपधारा ५ को देहाय (ग) र (ङ) बमोजिम योग्यता नभएको व्यक्ति लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्त पदमा नियुक्त गर्ने गरी भएको सवैधानिक परिषद्को निर्णय, सो सिफारिस बमोजित राष्ट्रपतिबाट गरिएको नियुक्ति र प्रधानन्यायाधीशबाट कार्कीलाई गराइएको प्रमुख आयुक्त पदको सपथ लगायत निजलाई नियुक्त गर्दाका सन्दर्भमा भएका काम कारबाहीहरु उत्प्रेषणको आदेशद्धारा बदर हुने ठहर्छ ।’

यसैगरी सर्वोच्च अदालतले अर्को व्यक्तिलाई अख्तियार प्रमुखमा नियुक्त गर्ने बाटो पनि खुला गरिदिएको छ । सर्वोच्चले अब योग्यता पुगेकालाई अख्तियार प्रमुखमा नियुक्त गर्न संवैधानिक परिषद् र राष्ट्रपति कार्यालयको नाममा परमादेशको आदेश दिएको हो । 

यसैगरी सर्वोच्च अदालतको म्याद तामेलीमा अवरोध गरेको अभियोगमा भने कार्कीले सफाई पाएका छन् । अवरोधमा कार्की स्वयम्को उपस्थिति नदेखिएको भन्दै उनलाई सफाई दिएको हो । 

कार्कीलाई अख्तियार प्रमुखबाट हटाउनका लागि व्यवस्थापिका संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएर प्रक्रिया अघि बढेको थियो । कार्कीलाई पदबाट हटाउन एमाले र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर गरी महाअभियोगको प्रस्ताव संसदमा पेश गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर