काठमाडौं । भारतको सिलगुडीमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नै नेपालको भेट भारतसँग हुने भएको छ ।
यसअघि लगातार तीनवटा संस्करणमा फाइनलमा भिडेका नेपाल र भारतबीच यसपटक सेमिफाइनलमा नै भिडन्त हुन लागेको हो । भारत महिला साफ फुटबलको तीन पटकको च्याम्पियन हो भने नेपाल तीनै पटकको उपविजेता हो ।
शनिबार समूह बीको अन्तिम खेलमा आयोजक भारतलाई बंगलादेशले गोलरहित बराबरीमा रोकेपछि गोल अन्तरका आधारमा भारत समूह उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो ।
समूह बीमा अफगानिस्तानलाई भारतले ५–१ ले हराएको थियो भने बंगलादेशले ६–० ले हराएको थियो । समूह एमा रहेको नेपालले भने भुटानविरुद्ध ८–० को, माल्दिभ्सविरुद्ध ९–० को र श्रीलंकाविरुद्ध १–० को जित निकालेको थियो ।
यस पटकको साफ च्याम्पियनसिपमा फाइनल प्रवेशका लागि हुने अर्को सेमिफाइनलमा समूह ए को उपविजेता माल्दिभ्स र समूह बी को विजेता बंगलादेश भिड्नेछन् । यो खेलमा जसले जित हात पारेपनि साफ महिला फुटबलको फाइनल खेल्ने तेस्रो टिम हुनेछ ।