नेपालले गलत भनेलगत्तै संयुक्त सैन्य तालिमको सहमति भएको चीनको खुलासा

नेपालले गलत भनेलगत्तै संयुक्त सैन्य तालिमको सहमति भएको चीनको खुलासा

काठमाडौं । नेपाल र चीनबीच सैन्य क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यले आगामी वर्ष संयुक्त सैन्य तालिम हुने भएको छ । 

उत्तरी छिमेकी मुलुक चीनले नेपालसँग निकट भविष्यमा संयुक्त सैन्य तालिम हुन लागेको जानकारी गराएको हो । चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच पहिलोपटक संयुक्त सैन्य तालिम हुन लागेको हो । 

सैन्य तालिमका सम्बन्धमा दुई देशका उच्च राजनीतिक तहबाट सहमति भइसकेको बताइएको छ । यसअघि नेपालले दुई दिनअघिमात्रै चीनसँग संयुक्त सैन्य तालिमको सहमति नभएको दाबी गरेको थियो । 

त्यसको भोलिपल्टै चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा सन् २०१७ मा नेपाल र चीनबीच संयुक्त सैन्य तालिमबारे वार्ता भएको बताए । तर उनले सैन्य तालिम हुने मिति भने खुलाएनन् । 

पत्रकार सम्मेलनका क्रममा प्रवक्ता युजुनले भने, ‘सैन्य तालिमको यकिन मिति उपयुक्त समयमा घोषणा गरिनेछ ।’ चीन र नेपालबीच सैन्य क्षेत्रमा हालैका वर्षमा विभिन्न स्वरूपमा सम्पर्क भइरहेको पनि उनले खुलासा गरे । 

एक साताअघि नेपाल आएको चिनियाँ एक सैन्य टोलीले संयुक्त सैन्य तालिमबारे प्रारम्भिक स्तरमा नेपाली सेनासँग छलफल गरेको थियो ।