काठमाडौं । श्रीलंकामा जारी एसीसी यु–१९ एसियाकप क्रिकेटको समूह चरणमा नेपालले सान्त्वना जित हात पारेको छ । आइतबार भएको समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले हराएको हो ।
मलेसियाले दिएको १५४ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा अनिल शाहले सर्वाधिक ३२, अभिनाश कर्णले २९, यपवन सर्राफले २८, दिपेन्द्रसिंह ऐरीले २२ र राहुल कुमार पौडेलले १२ रनको योगदान दिए ।
सुरुवातदेखि नै लगातार विकेट खसेपछि दबाबमा आएको नेपाली टोलीका मध्यक्रमका ब्याट्सम्यान र पछिल्लो क्रमका ब्याट्सम्यानले केही सम्हालिएर प्रदर्शन गरेपछि सान्त्वना जित निकाल्न सफल भएको हो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४४.४ ओभरमा सवै विकेट गुमाएर १५३ रन बनाएको थियो । मलेसियाका लागि विरदिपसिंहले सर्वाधिक ७५ रन जोडेका थिए ।
नेपालका लागि आदिल खानले ३ तथा सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट लिएका थिए ।