काठमाडौं । शीर्ष स्थानको चेल्सीले कीर्तिमानी लगातार ११ औं जित हासिल गरेको छ ।
शनिबारराति भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई १–० ले हराएको हो ।
चेल्सीको जितमा डिएगो कोष्टाले निर्णायक गोल गरे । जारी सिजनमा यो उनको १३ औं गोल हो । जितसँगै चेल्सीले शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ ।
शनिबार राती भएको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले वेष्ट ब्रोमलाई २–० ले हराएको छ । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन दुबै गोल ज्लाटन ईब्राहिमोभिचले गरे ।
शनिबार राती भएका अन्य खेलहरुमा मिडिल्सब्रोले स्वान्सी सिटीलाई ३–० ले हराँउदा वेष्ट ह्याम युनाईटेडले हल सिटीलाई तथा सण्डरल्याण्डले वाट्फोर्डलाई १–० ले हराएका छन् ।
स्टोक सिटी र लेष्टर सिटीले भने २–२ गोलको बराबरी खेलेका छन् । शनिबार रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १७ खेलबाट ४३ अंक जोडेको चेल्सी शीर्ष स्थानमा कायमै छ ।
एक खेल कम खेलेका लिभरपुल र आर्सनल समान ३४–३४ अंकका साथ क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् । आइतबार आर्सनल र म्यान्चेस्टर सिटी आमुनेसामुने हुँदैछन् ।