rp-bhattarai-sकाठमाडौं । सुगर र प्रेसरबाट ग्रसित ४२ वर्षे हास्य कलाकार आरपी (रुद्रप्रसाद) भट्टराईको शुक्रबार निधन भएको छ । टेलिशृंखला, ‘तितो सत्य’मा ‘मेलो नाम लादालाम’ भन्दै लामो समय नेपाली दर्शकलाई हँसाएका आरपीको विराटनगरस्थित फुपूको घरमा निधन भएको हो । उनी चार दिनअघि मात्र गृहजिल्ला विराटनगर पुगेका थिए । मधुमारास्थित फुपूको घरमा पुगेका आरपी खाना खाएर सुतेका थिए । बिहान उनी मृत अवस्थामा भेटिएका थिए । उनको हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । आरपीको शुक्रबार राति परोपकार घाटमा अन्तिम संस्कार गरिएको छ । उनको अन्तिम संस्कारमा सहभागी हुन हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौला विराटनगर पुगेका थिए । आरपीले ‘६ एकान ६’, ‘छक्कापञ्जा’लगायतका थुप्रै फिल्ममा अभिनय गरेका छन् । उनकी श्रीमती सरू भट्टराई र दुई छोरा छन् । लामो समयदेखि राजधानीमा बस्दै आएका आरपी राष्ट्रिय नाचघरका कर्मचारी हुन् । उनले ‘५२ घुस्सा ५३ ठक्कर’मा अभिनय गरेर आफूलाई कला क्षेत्रमा होमेका थिए । ०६४ सालमा ‘तितो सत्य’मा अभिनय गरेपछि भने उनको चर्चा चुलिएको थियो । त्यसपछि उनले आफ्नो मुख्य कर्म नै अभिनयलाई बनाएका थिए । मोटो शरीरका आरपी गायक पनि हुन् । उनले हास्यरसयुक्त गीति एल्बम पनि बजारमा ल्याएका थिए

प्रतिक्रिया

सम्बन्धित खवर