संविधान संशोधन विरुद्धको जनलहर र क्रान्तिकारीहरुको भूमिका

संविधान संशोधन विरुद्धको जनलहर र क्रान्तिकारीहरुको भूमिका

pratikसरकारले हालसालै मात्रै संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरुद्धमा देशैभरि व्यापक जनलहर देखिएको छ । मुख्यत विपक्षी एमाले लगायतका अन्य केही राजनैतिक दलहरुले प्रदेश नं ५ का केही पहाडी जिल्लाहरु प्रदेश नं ४ मा गाभ्ने गरी ल्याइएको ७ बुँदे संशोधन प्रस्तावको विरुद्धमा खुलरै विरोध गरेका छन् । मुलुकका केही स्थानमा सामान्य जनताहरुसमेत स्वतस्फूर्त ढंगले आन्दोलनमा सहभागी भएका छन् । कतिपय ठाउँमा झडपसमेत भएको छ भने कतिपय ठाउँहरुमा विरोधहरु शान्तिपूर्ण ढंगले नै चलेका छन् । त्यस्तै वुटवलमा अनिश्चतकालीन बन्दको आह्वान भएको छ भने तौलिहवा वजारका मुख्य मुख्य स्थानमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

उपर्युक्त स्थितीका कारण नेपालको वर्तमान राजनैतिक अवस्था एकदम संकटपूर्ण अवस्थामा पुगेको छ । यो संविधान संशोधन विरुद्धको आन्दोलन र संघर्ष कहाँ पुगेर कुन रुपमा परिणत हुने हो भन्ने ठोस यकिन कसैले गर्न सक्ने स्थिती छैन । तर जे होस, यो संघर्षले आम जनतामा आफ्नो हक हित प्राप्तिको निम्ति आँफै संघर्षमा उत्रनु सिवाय अर्को विकल्प छैन भन्ने मनस्थितिलाई दह्रोसँग मलजल गरिरहेको छ ।

हामीसँगको इतिहासले के भन्छ भने नेपालमा चलिरहने स्वतस्फूर्त साना तिना संघर्षहरुलाई कुनै न कुनै राजनैतिक दलले आफ्नो अनुकुलमा आफ्नो दलीय स्वार्थपूर्तिका लागि प्रयोग गर्दै आएका छन् । हामी नेपाली जनता कुनै राजनैतिक दल विशेषको दलीय स्वार्थपूर्तिका लागि आन्दोलनमा सहभागी हुनुको साटो देशमा रहिआएको मुख्य समस्याको समाधान तर्फ सम्पूर्ण देशभक्त र राष्टवादी शक्तिहरुलाई गोलबन्द गर्दै आन्दोलनलाई डोर्याउन सफल भयौं भने मुलुकमा आम जनताले खोजेजस्तो परिवर्तन अवश्य हुनेछ ।

अहिले देशव्यापी बल्दै गएको संविधान संशोधनको विरोधको आगोले मात्र नेपालमा विद्यमान समस्याहरुलाई समाधान गर्न सक्छ त के यो संविधान संशोधनको विरोधले मात्र देशमा आमूल परिवर्तन आउँछ ? के यो आन्दोलनले नै नेपालको अर्ध सामन्ती र अर्धऔपनिवेशिक अवस्थाका कारण उत्पन्न हुने समस्याहरुलाई सम्बोधन गर्न सक्छ ? यस्ता आन्दोलनले केही राजनैतिक दल विशेषकोे आंशिक स्वार्थ पूर्ति गराउन सक्ला तर देशमा विद्यमान हरेक समस्याको सम्बोधन गर्न सक्दैन । देशलाई अर्धसामन्ती र अर्धऔपनिवेशिक उत्पीडनबाट मुक्त गराउन सक्दैन । यो यथार्थ हो ।

यहाँनेर, क्रान्तिकारीहरुले बुझ्नु पर्ने कुरा के हो भने, आन्दोलन जस्तोसुकै होस, त्यसलाई सही विचारमार्फत सही नेतृत्व गर्न सकियो भने जुनसुकै आन्दोलन पनि राष्टिय मुक्ति आन्दोलनमा गएर परिणत हुन समय लाग्दनै । वर्तमान अवस्थामा, संविधान संशोधन विरुद्धको आवाज देशैभरी आगो झै दन्किएको छ, यही आन्दोलनलाई क्रान्तिकारीहरुले आफ्नो विचारमार्फत आफ्नो नेतृत्वमा ल्याउन सक्यो भने त्यो आन्दोलनले एउटा गति पैदा गर्छ र त्यही संघर्ष वर्गीय मुक्ति संघर्षमा परिणत हुन पुग्छ । यस्तै संघर्ष र आन्दोलन सच्चा क्रान्तिकारीहरुको नेतृत्वमा गयो भने मात्र देशमा विद्यमान समस्या, उत्पीडनबाट मुक्ति हुने बाटो खुल्नेछ अनि मात्र जनताले परिवर्तनको सास फेर्न पाउने छन् ।

अहिलेको वर्तमान संविधान जनहितमा छैन । यसले गरीब, किसान, निमुखा र आम सर्वहारा वर्गको समस्या कदापि समाधान गर्दैन । तसर्थ यसलाई तत्काल खारेज गर्नुपर्छ भन्ने लगायतका केही मुद्दाहरु लिएर जनताका बीचबीचमा जाने हो भने संविधान संशोधन विरुद्धको आन्दोलन अन्ततः जनविरोधी संविधानकै विरुद्धमा परिणत हुनेछ । परिणामतः यही आन्दोलनमार्फत आम जनताले चाहेको जस्तो परिवर्तनमुखी संघीय जनगणतान्त्रिक संविधान लेखिनका निम्ति बाटो नखुल्ला भन्न सकिन्न । जनगणतान्त्रिक संविधान लेखियो भने मात्रै सदिर्यौं देखी उत्पीडनमा पर्दै आएका गरीब, निमुखा र सर्वहारा वर्गका समस्या समाधान हुन्छ ।

यति मात्रै होइन, अहिले नेपालमा राष्टियताको समस्या विकराल बन्दै गएको छ । अझ केही महिना अघि नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको २५ बुँदे जनघाती र राष्टियता विरोधी सहमतिले नेपालको राष्टियता गम्भीर संकटमा पारेको छ । नेपालको राष्टियतालाई विदेशी पोल्टामा थोपर्ने राष्टघाती कदमका विरुद्धमा आम जनता एकजुट भएर विरोध गर्नुको विकल्प छैन । अतः यही चलिरहेको संशोधन विरोधी स्वतस्फूर्त आन्दोलनलाई सफलतापूर्वक क्रान्तिकारीहरुले नेतृत्व गर्ने हो भने यो आन्दोलन राष्टियताको पक्षमा जाने छ र त्यो नेपालको सार्वभौमिकता रक्षा गर्ने संघर्षतर्फ उन्मुख हुनेछ ।

अहिले नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप सामान्य हुदै गएको छ, अझै भनौं नेपालका शासक वर्गले त्यो स्थिती निम्त्याउन गहन भूमिका खेल्दै आएका छन् । जसका कारण नेपालको सार्वभौमिकता र राष्टिय अखण्डता संकटमा परेको छ । उदाहरणको लागि संविधान संशोधनको प्रस्तावमा भारतले गरेको समर्थन । समग्र राजनैतिक परिवेशमा छिमेकी हुनुको नाताले अर्को मुलुकको बारेमा चासो राख्नु स्वाभाविक मानिन्छ, तर यो गरे ठिक यो नगरे वेठिक भन्ने किसिमको जुन भारतीय ठुल्दाई प्रवृत्ति छ, यसबारेमा सबै देशभक्त नेपालीहरुले गम्भीर भएर सोच्नु पर्ने अवस्था आएको छ । होइन भने भारतीय शासक वर्गले नेपालमाथि फेरी आर्थिक नाकावन्दी लगाउँछ र हामी भोकै बस्नुपर्छ भनेर सधै डर मानिमानि बस्नु पर्ने दिन पुनः आउने छ ।

अन्तमा, नेपालको वर्तमान राजनैतिक अवस्था हेर्ने हो भने मुलुकमा नयाँ परिवर्तनमुखी आन्दोलनको लागि वस्तुगत परिस्थिती अनुकुल बन्दै गइरहेको देखिन्छ । यही अनुकुल परिस्थितीमा सच्चा क्रान्तिकारीहरुले अहिले चलिरहेको आन्दोलनलाई सही विचार र नेतृत्व दिन मात्र सक्यो भने नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि मार्ग प्रशस्त हुने छ । नयँ जनवादी क्रान्ति सम्पन्न भएपछि मात्र नेपाली जनता हरेक शोषण उत्पीडनबाट मुक्त हुनेछन् । साथसाथै, वर्तमान संविधान खारेज गरी संघीय जनगणतान्त्रिक संविधान जारी गर्न सकेमात्र नेपालका पिछडिएको वर्ग र सधै उत्पीडी वर्गको समस्या समाधान हुने छ । संविधान संशोधन गरेर मात्र वा संशोधन प्रस्तावको विरोध गरेर मात्र समस्या समाधान हुदैन, बरु सम्पूर्ण देशभक्त र राष्टवादी शक्तिहरु एकजुट भई नेपाललाई नयाँ जनवादी क्रान्ति मार्फत परिवर्तनको दिसा तिर डोर्याउनु सकियो भने मात्र परिवर्तनको निम्ति बलिदानी दिने हजारौं शहीदहरुको अधूरो सपना पुरा हुनेछ ।