काठमाडौं । हृदयघातका कारण २२ सेप्टेम्बरमा चेन्नाईस्थित अपोलो अस्पतालमा भर्ना भएकी तामिलनाडुकी मुख्यमन्त्री जे जयललिताको गएराति ११ बजे निधन भएको छ । ६८ वर्षीया जयललिताको अन्तिम संस्कार मंगलबार साँझ मरीना किनारामा गरिने भारतीय मिडियाहरुले जनाएका छन् । उनलाई अन्तिम श्रद्धाञ्जली दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने कार्यक्रम रहेको जनाइएको छ ।
अस्पतालले उनको मृत्युको समाचार सार्वजनिक गरेलगत्तै अस्पताल परिसरमा रहेका उनका शुभचिन्तकहरुले हंगामा मच्चाएका थिए । हंगामापछि प्रहरीले लाठी चार्ज समेत गरेका थिए ।
उनको मृत्युको खबर सार्वजनिक भएपछि तामिलनाडुको सडकहरुमा उनका शुभचिन्तकहरुले ‘आमा अमर रहुन्’ भन्ने नारा लगाएका छन् । तमिलनाडुको सरकारले उनको निधनको शोकमा ८ डिसेम्बरदेखि ७ दिनसम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ । ७ दिनसम्म उक्त प्रान्तका सम्पूर्ण सरकारी कार्यालयहरुमा राष्ट्रिय झन्डा झुकाइने भएको छ ।
तामिलनाडुमा अत्यन्त लोकप्रिय नेतृ जयललिता चार पटक तामिलनाडुको मुख्यमन्त्री भएकी थिइन् । उनले १३० भन्दा धेरै दक्षिण भारतीय फिल्ममा समेत अभिनय गरेकी थिइन् ।