प्रारम्भ
यतिबेला नेपाली क्रान्तिको विषय निकै गम्भीर र संवेदनशील बन्न पुगेको छ । नेपाली धर्तीमा मालेमावादको प्रयोग अवरुद्ध भएसँगै विसर्जित हुन पुगेको क्रान्तिको परियोजना यतिबेला दर्दनाक घाउँ बनेर चह¥याइरहेको छ । जनयुद्धको आँधीमय दशकद्वारा अंकुरित आशा, अभिलासा र सपनाहरु आज भयानक निराशाको हुन्डरीभित्र मुर्झाउन विवश छन् । यसले क्रान्तिकारी आशावाद र क्रान्तिप्रतिको विश्वास जगाउने कुरामा ठूलो चुनौती थपिदिएको छ । जनयुद्धको नेतृत्व गरेको पार्टी छिन्नभिन्न हुनु, पार्टीको मूल नेतृत्व सहितको ठूलो हिस्सा वैचारिक साँस्कृतिक रुपले भ्रष्ट हुँदै अन्ततः वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवादमा पतन हुनु र बचेखुचेका इमान्दार क्रान्तिकारीहरुले समयमा नै पहलकदमी लिएर आफूलाई सहि विकल्पको रुपमा स्थापित गर्न नसक्नुले आज यो समस्या जटिल बन्न पुगेको हो ।
राष्ट्र र जनताको स्वर्णिम भविश्यको आधार क्रान्तिको विजय नै हो । दुनियाँमा यो भन्दा अर्को कुनै उत्तम विकल्प नै छैन । क्रान्तिको पराजय कति पीडादायी हुँदो रहेछ भन्ने कुरा हामीले आफ्नै जीवनमा भोगिरहेका छौं । त्यसैले क्रान्तिको तयारीको काममा एकनिष्ठ ढंगले होमिनु र क्रान्तिकारी आशावाद जगाउँदै सम्पूर्ण क्रान्तिकारीहरुलाई केन्द्रीकरण गर्नुको विकल्प छैन । यसो नगरी हामी अघि बढ्न सक्दैनौं । यतिबेला हाम्रो पार्टीले क्रान्तिको तयारी सम्बन्धी कामका सम्पूर्ण शाखाहरुलाई सुव्यवस्थित गर्दै अघि बढ्ने भनेको छ । तर अपेक्षित गति आउन सकेको छैन । त्यसैले नयाँ ढंगको पार्टी निर्माणमा विशेष जोड दिन हाम्रो निमित्त अपरिहार्य आवश्यकता भइसकेको तथ्यतिर ध्यान दिन जरुरी छ । यो नै हाम्रो निमित्त सही प्रस्थानविन्दु हुनसक्दछ ।
नयाँ ढंगको पार्टी निर्माण भनेको के हो ? यसका आधारहरु के हुन सक्छन् ? हाम्रो सन्दर्भमा यो किन आवश्यक छ ? यस सम्बन्धी छलफलका निम्ति विषयको उठान गर्नु यो आलेखको उद्देश्य रहेको छ ।
नयाँ ढंगको पार्टी निर्माण किन ?
सन् १९०५ को विद्रोह असफलतामा टुंगिएपछि रुसमा लेनिनको कम्युनिष्ट पार्टी एक किसिमले छिन्नभिन्न नै भयो । त्यसअघि नै पार्टीमा देखा परेको दक्षिणपन्थी अवसरवादी प्रवृत्ति, उक्त घटनापछि जबरजस्त हाबी हुन पुग्यो । पार्टीको ढाँचा, चरित्र र आन्दोलनको स्वरुपमा समेत अन्तर्विरोध केन्द्रित हुन पुग्यो । पार्टीलाई क्रान्तिकारी चरित्र गुम्न दिएर संशोधनवादी ढर्रामा जान दिने वा क्रान्तिकारी गुणतत्वसहितको पार्टी निर्माण गर्ने भन्ने चुनौती लेनिनको सामु आयो । त्यही सन्दर्भमा लेनिनले नयाँ ढंगको पार्टीको अवधाराणा विकास गरेका हुन् । लेनिनको पार्टी निर्माणसम्बन्धी प्रस्तावना आज पनि दुनियाभरिका कम्युनिष्ट क्रान्तिकारीका लागि मार्गनिर्देशक बनेर रहेको छ । यो हाम्रो निमित्त अन्तर्राष्ट्रिय अनुभवको विषय मात्र होइन, इतिहासको गम्भीर शिक्षा समेत हो ।
हाम्रो सन्दर्भमा जनयुद्धको विधिवत विसर्जनको दशक प्रतिक्रान्तिको दशक हो । तर यो प्रतिक्रान्तिको वैचारिक साँस्कृतिक विजारोपण महान जनयुद्धको छलांगमय दशकमै भइसकेको थियो । जनवादी केन्द्रीयताको सहि अभ्यासको अभाव, नेतृत्व केन्द्रीकरणका नाममा संस्थागत हुन पुगेको अन्धभक्ति र चाकडीवाद, वैचारिक प्राधिकारका नाममा संस्थागत हुन पुगेको स्वेच्छाचारिता र नेतृत्वको सुरक्षाका नाममा नेतृत्वपंक्तिलाई वर्गसंघर्षको भट्टीबाट अलग्याउनेजस्ता कमजोरीको जगबाट नै प्रतिक्रान्ति जन्मिएको हो । पार्टीको यही गलत नीतिमा अभ्यस्त ठूलो हिस्सा भ्रष्ट हुन पुग्यो । भौतिक रुपले ठूलाठूला लडाईंका मोर्चामा विजय हासिल गरेका कमाण्डरहरु समेत वैचारिक साँस्कृतिक धरातल कमजोर हुनु र पार्टीको गलत नीतिमा अभ्यस्त हुनुकै परिणाम आफैंभित्र ढल्न पुगे । क्रान्तिकारीहरुले देखिने गरी प्रतिक्रान्ति महसुस गर्ने बेलासम्म पहल लिन निकै ढिला भइसकेको थियो । हाम्रो आन्दोलनले बेहोरेको क्षति यसैको उपज हो । यस अर्थमा अबको क्रान्तिको तयारी प्रतिक्रान्तिको शिक्षासहितको तयारी हुन जरुरी छ । यसको अभ्यास पार्टी निर्माणकै तहबाट हुन जरुरी छ ।
जनयुद्ध लडेको एउटा तप्का पूर्ण रुपमा भ्रष्ट भइसक्यो, उसको उर्जा पनि नष्ट भइसक्यो, क्रान्तिप्रतिको उसको आशा र विश्वास पनि मरिसक्यो भन्ने प्रष्ट भइसक्यो । अर्को एउटा तप्का, जसले क्रान्तिमा धेरै गुमायो र आज पनि क्रान्तिकै पक्षमा छ, क्रान्तिको घाउ र प्रतिक्रान्तिको पीडा पचाउन अभिसप्त छ । तर यसले क्रान्तिको भरोसिलो शक्तिको रुपमा हामीलाई विश्वास गर्न सकेको छैन । अर्को अर्थमा भन्ने हो भने क्रान्तिप्रतिको, जनताप्रतिको धोखा र गद्दारीको जवाफ दिने नैतिक दायित्व पूरा गर्ने ठाउँमा हामी उभिएका छौं । त्यो हैसियत राख्नेगरी पार्टी निर्माणमा गम्भीर बन्नै पर्दछ । ताकि फेरिपनि नेपाली जनताले क्रान्तिप्रतिको धोखा र गद्दारीको पुनरावृत्ति बेहोर्नुपर्ने छैन भन्ने कुरामा आशावादी बनाउन सकियोस् । नयाँ ढंगको पार्टी निर्माणको औचित्य यहिंनेर छ ।
नयाँ ढंगको पार्टी निर्माणका सर्तहरु
एकातिर जनयुद्धको ठूलो हिस्साभित्र देखापरेको थकान र अर्कोतिर आजको नयाँ पुस्ता राजनीतिबाट पूर्णतः विमुख रहेको यो जटिल अवस्थामा क्रान्तिकारी पार्टी निर्माणको विषय आफैंमा चुनौतिपूर्ण कार्यभार हो । यो कार्यभार पूरा गर्ने दायित्व पनि हामीले नै पूरा गर्नुछ । यो स्थितिमा पार्टी निर्माण कसरी गरिनेछ भन्ने कुराले धेरै अर्थ राख्नेछ । नयाँ ढंगको पार्टीले मात्र अब क्रान्तिको नेतृत्व गर्न सक्दछ । त्यस्तो पार्टी निर्माणका शर्तहरु निम्न अनुसार हुन सक्दछन् ः
१.कार्यदिशाको समृद्धिकरण
वास्तवममा तत्कालीन एमाओवादीबाट सम्बन्ध विच्छेद गरी पार्टी पुनर्गठन गरिएसँगै ठोस कार्यदिशा निर्माण गर्नुपर्दथ्यो, हुन सकेन । आजसम्म पनि पार्टी जीवनका कार्ययोजनामा त्यो अभिव्यक्त हुन सकेको छैन । वास्तममा कार्यदिशा निर्माण अहम सवाल हो । क्रान्तिकारी पार्टी निर्माणको पहिलो सर्त नै यही हो । कार्यदिशाको आधारमा पार्टी निर्माण हुने हो । कार्यदिशामाथि अलमल भयो भने संगठनमा भद्रगोल र गति हीनता पैदा हुन्छ । कार्यदिशा भनेको लक्ष्य भेदनको सुस्पष्ट मार्गचित्र हो । त्यसैको आधारमा कार्ययोजना र कार्यक्रमहरु निर्मित हुने गर्दछन् । त्यसले नै पार्टीमा गति पैदा गर्दछ । त्यसकारण कार्यदिशा हामीसँग जे छ, त्यसलाई समृद्ध गर्ने भनिएको छ । बिना अलमल यो पूरा गर्न जरुरी छ ।
जनयुद्धको दशकको उत्तराद्र्ध र खासगरी पछिल्लो दशकमा हाम्रो आन्दोलन कतिपय मामलामा उत्तर–माक्र्सवादी दिग्भ्रममा अलमलिदै आएको छ । वर्गको मुद्दा गौण बन्नु र पहिचानको मुद्दा हाबी हुन पुग्नु, हाम्रो भूराजनीतिक संवेदनशीलतालाई ख्यालै नगरी संघीयताको आयातित रुचीको पछि दगुर्नु र त्यसैलाई उपलब्धिको रुपमा महिमामण्डन गर्नु, अझ जातजातिको नाममा संघीय संरचनाको पूर्पक्ष गर्नुजस्ता विषयहरु हाम्रो निमित्त अनावश्यक मात्रै होइनन्, प्रत्युत्पादक समेत हुने कुरामा ध्यान जान जरुरी छ । यसलाई सच्याउँनै पर्दछ । स्मरणीय छ, विगतमा हामीले उठाएको एजेण्डा जातीय स्वशासनको मुद्दा हो, संघीयता होइन । संघीयता र स्वशासन एउटै कुरा होइन भन्ने स्पष्ट पार्न जरुरी छ ।
२. महान सर्वहारा सांस्कृतिक क्रान्तिलाई प्रस्थानविन्दु बनाउने
वास्तममा प्रतिक्रान्तिलाई रोक्ने सशक्त औजार भनेको निरन्तर क्रान्ति हो । निरन्तर क्रान्तिले नै दृष्टिकोणको प्रश्नलाई समाधान गर्दछ । यसको निमित्त पार्टीपंक्तिभित्र सर्वहारावर्गीय मूल्य, आचरण र दृष्टिकोण विकास गराउन र नेता कार्यकर्ताको मुल्यांकनको मापदण्डको रुपमा समेत यसलाई स्थापित गर्न जरुरी छ । त्यसैगरी वैचारिक सैद्धान्तिक रुपले जनसमूहलाई प्रशिक्षित गर्ने र जनसमूहको निगरानीमा पार्टी रहने विधिको विकास गर्न जरुरी छ । यो नै महान सर्वहारा साँस्कृतिक क्रान्तिको दृष्टिविन्दु हो । पार्टी निर्माणको प्रस्थानविन्दु यसलाई नबनाई नयाँ ढंगको पार्टी निर्माण सम्भव छैन । यो नै प्रतिक्रान्तिको शिक्षासहितको पार्टी निर्माणको आधार हो ।
जसरी भौतिक जगतमा कुनैपनि वस्तु र परिघटना स्थिर रहँदैनन्, त्यसरी नै मानवीय चेतना पनि स्थिर रहन संम्भव हुँदैन । यो पनि निरन्तर गतिमा नै हुन्छ । निरन्तर क्रान्तिको सिद्धान्त पनि यहि गतिको विज्ञानमा आधारित छ । क्रान्तिकारी बन्ने कुरा एकचोटी बनेर टुंगिने विषय होइन । निरन्तर बन्दै जाने कुरा हो । जहाँनेर यो प्रक्रिया अवरुद्ध हुन्छ, प्रतिक्रान्तिको बिजारोपण त्यहिनेर हुन्छ । त्यसैले पार्टी जीवनमा नेता कार्यकर्ताको मुल्यांकनको मापदण्डको पहिलो आधार यो बन्न जरुरी छ । को कति नयाँ र को कति पुरानो भन्ने कुराले सर्वहारा वर्गीय आन्दोलनमा खासै महत्व राख्दैन, मूल कुरा दृष्टिकोण निर्माण र त्यसको आधारमा उसले पु¥याएको योगदान नै हो । यस सन्दर्भमा विचारमा स्वच्छता, आचारमा शुद्धता, दृष्टिकोणमा स्पष्टता, क्षमतामा प्रभावकारिता, काममा लगनशीलता र आर्थिक जीवनमा मितव्ययिता र प्रभावकारितालाई विशेष रुपले प्रोत्साहित गरेर लैजान जरुरी छ ।
३. श्रम सम्बन्ध, आर्थिक उत्पादन र आन्तरिक व्यवस्थापन
हाम्रो आन्दोलनमा यो निकै गम्भीर तर उपेक्षित विषय हो । एउटा क्रान्तिकारीको श्रम सँगको सम्बन्ध र त्यसप्रतिको दृष्टिकोण के हुने ? आर्थिक उत्पादनसँग पार्टी र क्रान्तिको कामलाई कसरी जोड्ने ? पार्टी सञ्चालन र कार्यकर्ता व्यवस्थापनको चन्दामुखी स्रोतको सट्टा उत्पादनमुखी स्रोतको विकास कसरी गर्ने ? यी र यस्ता कैयन प्रश्नहरु छन्, जसलाई हामीले नयाँ शिराबाट उत्तरित गर्नुछ ।
पहिलो कुरा, पार्टीको क्रान्तिकारी चरित्रलाई बरकरार राख्ने विधिको रुपमा पार्टी जीवनलाई श्रम र उत्पादनसँग अभिन्न रुपले जोड्न जरुरी छ । यो विषय पनि पार्टी कामको एउटा महत्वपूर्ण शाखा हो । विगतमा हामीले अभ्यास गरेको जनकम्युनको एउटा अनुभव हामीसँग छ । अब पार्टीको उपल्लो तहबाटै त्यस्तो अभ्यासको सचेत प्रयासमा प्रवेश गर्नुपर्दछ । त्यस्ता उत्पादनमुखी परियोजनाहरु विभिन्न स्वरुपमा निर्माण हुन सक्दछन् । त्यस्ता उत्पादन क्याम्पहरु एकातिर श्रमशिविर केन्द्रको रुपमा विकसित हुदै जाने र अर्कोतिर हजारौं बेरोजगार युवाहरुका लागि भर्तिकेन्द्रको माध्यम पनि बन्दै जाने हुन्छ । जसले युवाहरुलाई रोजगार र विचार दुवै प्रदान गर्न सक्छ । अहिलेको नयाँ पुस्ता, जसले राजनीतिप्रति पूर्णतया अरुची राख्दछ र रोजगारीको खोजिमा छटपटिदै विदेश पलायनको बाध्यात्मक बाटो रोज्न पुग्छ, लाई पार्टीमा भर्ति गर्ने उपयुक्त माध्यम यहि नै हुन सक्छ । हाम्रो कार्यदिशाले माग गरेको विद्रोहका केन्द्रहरु निर्माण गर्ने एउटा विधि यो पनि हुन सक्दछ ।
दोस्रो, क्रान्तिकारी आन्दोलनको विकासका लागि हजारौं लाखौ पेशेवर क्रान्तिकारीहरुको उत्पादन अनिवार्य शर्त हो । यस सम्बन्धी विगतको हाम्रो अनुभव त्यति प्रीतिकर छैन । हामीले लाखौं नेता कार्यकर्ता उत्पादन त ग¥यौं तर श्रम र उत्पादनसँग अभिन्न रुपले जोड्ने काममा हामी चुक्यौं । त्योभन्दा पनि बढी आर्थिक पारदर्शितामा चुक्यौं । लेखा प्रणाली अपनाउन सकेनौं, पार्टीमा जो जति माथिल्लो तहमा छ, त्यसले त्यति नै बढी स्रोत साधनहरु कब्जामा लिने र आफूखुसी परिचालन गर्ने अवस्था रह्यो । यो स्थितिले पार्टीमा दुईवटा वर्ग जन्माइदियो । अब विगतबाट पाठ सिक्न जरुरी छ । हजारौं लाखौ पेशेवर क्रान्तिकारीहरुलाई पार्टी काम र उत्पादन कार्य सँगसँगै जोडेर आत्मनिर्भर बनाउँदै क्रान्तिमा निरन्तर समर्पित भइरहने आधार प्रदान गर्नुपर्दछ । त्यसैगरी पार्टीको नेतृत्वपंक्तिका लागि श्रमशिविरमा सहभागितालाई सुनिश्चित गर्नु अनिवार्य छ । खासखास अवस्थामा पार्टी र क्रान्तिका निमित्त आर्थिक सहयोग संकलनका कार्यक्रम सञ्चालन गर्नुपर्दछ । त्यो पारदर्शी र आन्तरिक लेखा प्रणालीको नियन्त्रणमा हुन जरुरी छ । तर चन्दामुखी मानसिकतालाई पूर्णतया निरुत्साहित गर्नै पर्दछ ।
तेस्रो, आज पार्टीको आन्तरिक व्यवस्थापनलाई नयाँ ढंगले सोच्नुपर्ने भएको छ । नेता कार्यकर्ताको आर्थिक व्यवस्थापनको समस्या निकै गम्भीर छ । आर्थिक व्यवस्थापन सम्बन्धी हामीले गरेको विगतको अभ्यासबाट पाठ सिक्दै नयाँ विधिको विकास गर्न जरुरी छ । विगतको जस्तो एकातिर नेता कार्यकर्तालाई पूर्णतया पार्टीआश्रित बनाउने र अर्कोतिर श्रम र उत्पादनबाट कटाएर आ–आफ्नै तहका शासकमा बदल्ने गल्ती अब दोहो¥याउनु हुन्न । पार्टीमा पूर्णकालीन र अंशकालीन दुवै किसिमका क्रान्तिकारीको उचित व्यवस्थापन गर्दै पेशेवर क्रान्तिकारीको रुपमा विकास गर्न विशेष जोड दिनुपर्दछ । पार्टीको चरित्र कस्तो बनाउने भन्ने कुरा यो व्यवस्थापकीय पक्षसँग अभिन्न रुपले जोडिएको छ ।
४. निरन्तर मुल्यांकन र युवा भर्तीमा जोड
युवा उर्जाशील शक्ति हो । सुन्दर जीवनका रुमानी सपना र आकांक्षाहरुले उसलाई जोखिम उठाउन प्रेरित गर्दछन् । यही जोखिम उठाउन सक्ने युवा उर्जालाई क्रान्तिकारी पार्टीले ठीक ढंगले पहिचान र संगठित गरेर नै क्रान्तिको विजयलाई सुनिश्चित गर्दछ । यो शक्ति क्रान्तिको मेरुदण्ड नै हो । हामीकहाँ एकातिर उर्जाशील युवाहरुको अभाव त छँदैछ, अर्कोतिर नयाँ पुस्तालाई भर्ती गर्ने र भएकालाई उचित जिम्मेवारी दिएर नेतृत्वमा विकास गराउने सोचको अभावका कारण यो अवस्था आएको हो ।
सामान्यतया ‘एक’ मा ‘तीन’ को अवधाराणा अनुसार नै पार्टी बनाउने हो । तर ती ‘तीन’ मध्ये कुनै एकको अभाव खड्किएको विशिष्ट अवस्थामा त्यो विषय प्राथमिक महत्वको बन्न जान्छ । आज युवाहरुलाई पार्टीमा व्यापक रुपले भर्ती गर्नु तथा युवा नेतृत्वको विकासमा विशेष जोड दिनु प्राथमिक महत्वको विषय बनेको छ । अन्यथा बीउ जोगाउने काम त हुन सक्ला, क्रान्तिको नेतृत्व गर्न लायक पार्टी निर्माण सम्भव हुने छैन ।
पार्टीमा नेता कार्यकर्ताको उचित मुल्यांकनको प्रक्रिया पनि निरन्तर चलाईरहनुपर्दछ । यस सम्बन्धी विगतको हाम्रो अभ्यास प्रतिउत्पादक रहेको तथ्य जगजाहेर छ । विगतमा हामीले मुल्यांकनको प्रचलित मापदण्डलाई समेत तोडेर नेता विशेषको भजन कीर्तन र चाकडीलाई मुल्यांकनको आधार बनाउने गल्ती ग¥यौं । जसले गर्दा छट्टु र चाकडीबाजहरु अगाडि बढ्ने र इमान्दारहरु पछाडि पर्ने स्थिति बन्यो । नेताहरुले पूर्वसमूहको आधारमा, गुटको आधारमा, नातागोताको आधारमा या आफ्नो कोटरीमा भएको आधारमा टुप्पी समातेर माथि तान्ने होडबाजीले पार्टीलाई जहाँ पु¥याउनु थियो, त्यही पु¥यायो । आज यहाँसम्म आइपुग्दा पनि हामी यो रोगबाट मुक्त हुन सकेका छैनौं । यसलाई निर्ममतापूर्वक सच्याउन जरुरी छ ।
मूल्यांकन सम्बन्धी अर्को बुझाई के पनि देखिन्छ भने कसैको जन्ममितिको आधारमा, धेरै चप्पल फटाएको आधारमा वा पार्टी सदस्यता प्राप्त गरेको मितिको आधारमा मूल्यांकनको मापदण्ड खोज्ने । विषयको एउटा पाटो यो पनि होला तर यतिले मात्रै पुग्दैन । मुख्यकुरा दृष्टिकोण निर्माण, साँस्कृतिक रुपान्तरण र त्यसको आधारमा क्रान्तिप्रतिको उसको निरन्तर त्याग, समर्पण र योगदानको कुल योग नै हो । मूल्यांकन सम्बन्धी यो मापदण्डलाई सही ढंगले लागु गरेर मात्रै हामी सच्चा कम्युनिष्ट पार्टी निर्माण गर्न सक्नेछौं ।
अन्त्यमा, हामी यतिबेला विभिन्न गलत चिन्तन र प्रवृत्तिका विरुद्धको लामो अन्र्तसंघर्षमा विजय हासिल गर्दै र नेपालको माओवादी क्रान्तिकारी धारालाई सिध्याउनका लागि भइरहेको भयानक षड्यन्त्रबाट पार्टीलाई जोगाउँदै यहाँसम्म आइपुगेका छौं । अब पार्टी निर्माणसँगै क्रान्तिको तयारीको कामलाई समेत व्यवस्थित रुपले अघि बढाउने कष्टसाध्य प्रक्रियामा हामी प्रवेश गरेका छौं । खासगरी विचारधारात्मक कामले पार्टीको आसन्न राष्ट्रिय सम्मेलनमार्फत् एक हदसम्म पूर्णता प्राप्त गर्नेछ । यी विषयहरु त्यसै दिशामा सहयोगी सिद्ध हुनेछन् भन्ने विश्वास गरौं ।






























