हाम्रो परम् हितैषी मित्रले हामीलाई बेलाबेलामा अड्को थापेर सताइरहन्छ । यसपाली फेरि नोटबन्दी गरेर हामीलाई थला पारेको छ । पहिले नाकाबन्दी त अहिले नोटबन्दीको मार हामीले मरिच चाम्रिए झैँ चाम्रिएर सहनु परेको छ । गएको बर्स नाकाबन्दी लगाएर हामीलाई चुट्नुसम्म चुट्यो गुज्जर भैयाले । त्यो मारको पीडाबाट तङ्ग्रिन नपाउँदै यतिखेर नोटबन्दी गरेर गोर्खेलौरीले चुटेको छ ।
यति गर्दा पनि हामीले उसलाई परम् हितैषि मित्र मान्न र भन्न छोडेका छैनौँ । लम्पसार पर्न छोडेका छैनौँ । जय प्रभु ! भनेर भक्तिगान गाउन छोडेका छैनौँ । उसको चाकडी गर्न छोडेका छैनौँ । यति गर्दा पनि उसले भने हामीलाई मित्र कहिल्यै मानेन । भनेन । जहिल्यै पनि उसले हामीलाई कौडीको मूल्य भन्दा सस्तो भाउको रैती ठान्यो र त्यस्तै व्यवहार गरिरह्यो ।
गएको महिनाको अन्तिम साता त्यहि मित्र मण्डलका मुखिया गुज्जर भैयाले आफ्ना देशबासीका नाममा सम्वोधन गरे । सम्वोधनसँगै एक हजार पाँचसयको हनुमन्ते गदाले हिर्काएर सबैलाई थला पारे । उनले हिर्काएको चोटबाट देश विदेशका बडेबडे महाजन बानियाँहरूको टाउको रन्थनिएर तीन सय साठी डिग्री फन्को मा¥यो । चोटबाट थलिएर कसैले तत्क्षण प्राणपखेरु उडाएर ‘यमलोक’ तिरको यात्रमा पाइला चाले ।
कोही मर्माहन्त हुनेगरी थला परे । कोही मूर्छा परे । कोही अर्धबेहोस भएर बर्बराउन थाले । कसैले बाँच्ने चोरदूलो खोज्न थाले । गुप्त ब्यापारबाट आर्जेको धन बेकामे भएपछि मर्नु न बौलाउनुको स्थिति पैदा भयो । गुप्तब्यापारीहरूलाई ठोकेर ठिक पार्छु भन्दा सर्वसाधारण मनुवाहरू पनि चामलमा घुन पिसिएझैँ पिसिनु परेको छ । यसले सबैलाई रुवावासी बनाएको छ । यो उनकै मण्डलीको कुरा भयो ।
यता हाम्रो सदरभित्र पनि गुज्जर भैयाको हिर्काइले धेरैलाई थला पारेको छ । गएको बर्स पनि यहिबेला हाम्रो सदरमा नाकाबन्दी लगाएर हाम्रो सदरभित्रका मनुवाहरूलाई रुवाउनसम्म रुवाएका थिए । अहिले फेरि यहिबेला नोटबन्दी लगाएर फेरि पनि उसैगरी रुवाएका छन् । गुप्तब्यापार गरेर कालो धन थुपार्नेलाई मात्र चोट परे त हामी सर्वसाधारण मनुवाहरूलाई लुतो न चिलाई हुँदो हो तर त्यो एकहजार पाँच सयको हनुमन्ते गदाले त हाम्रो सदरका मनुवाहरूको नुन पानी पनि रोकिएर ठाडै सुकाउने पो भयो त गाँठे ।
मञ्जनदेखि साबुनसम्मका दैनन्दिनका प्रयोजनीय समान त उतैबाट आउँथ्यो नै तर गोलभेँडादेखि आलुसम्म पनि फलाउन नसक्ने हाम्रो कृषिप्रधान मुलुकमा अब कुहेका आलु, फर्सी र गोलभेँडा पनि गुज्जर भैयाको हनुमन्ते गदाको हिर्काइमा परेर नोटबन्दीको शिकार भए । किड्नी र फोक्सो सडाउने कारबाइडको झोलमा चोवेका केरा पनि नोटबन्दीले गर्दा आउन बन्द भएका छन् । यसले हामी खेतीपाती गर्न छोडेर रेमिट्यन्स ढुकेर बसेका सोझासिधा मनुवाहरूलाई इस् खा भनेर लोप्पा खुवाइदिएको छ ।
यतिखेर हाम्रो सदरका ठूला महाजन, राजकाज चलाउने सनातनी विर्ता पाएका नेता नामका मनुवाहरू र दिब्य दस बर्स बनवास बसेर यस सदरभित्र महाभारत रचेर आएका जिमुवाल र उनलाई सुमेरु मानेर फनफनी घुम्ने गणेश प्रवृत्तिका गुप्त ब्यापारीहरू, नन्दी भृङ्गीहरूमा रुवावासी चलेको छ । गुज्जर भैयाका मण्डलमा पाखुरा बेचेर आएका दीनदुःखी मनुवाहरूले लिएर आएका नोट र निमुखाहरूलाई महङ्गीको भारी बोकाएर खैँचिएका नोटहरू यतिखेर बेकामे भएर उनीहरूका सेफहरूमा थन्किएका छन् ।
हाम्रो सदरका मुखियाहरूले गुज्जर भैयासँग बातचित मारेर नोटबन्दीको मारमा परेका आफ्ना मनुवाहरूको उद्धार गर्न सकेका छैनन् । यताको नोट छाप्ने हालहुकुम पाएको र ढिकुटी राख्ने अख्तियारी पाएको लाउके बैँकले पनि मनुवाहरूलाई परेको पीर मर्का टुलुटुलु हेरेर बसेको छ । उसले पनि आफूसँग भएको गान्धी चाचाका टाउका थुपारेर बसेको छ । यस्तो चालाले नोटबन्दीको फाइदा फेरि पनि तिनै अँध्यारा र गुप्त ब्यापारीहरूले अर्को तरिकाले लिन थालेका छन् । उनीहरूले सामानको मूल्य चर्काएर आफ्ना पाखुरा बेचेर बाँच्ने जोहो गरेका सोझासिधा मनुवाहरूबाट अशुलउपर गरिरहेका छन् ।
यतातर्फ राजकाज चलाउने जिमुवाल र मुखियाहरूले कुनै चासो र ध्यानसम्म दिएका छैनन् । सायद यसबाट उनीहरूलाई थोरबहुत कमिसन आउँदो हो । कमिसन आएपछि तैँ चुप मै चुप पो भएका हुन् कि । नत्र साल्ट ट्रेडिङले हामीसँग प्रसस्तै नुन छ भन्दाभन्दै नेपालगन्जका जनताले १९ रूपैयाँको नुनको पोकोलाई ८० रूपैया तिरेर किन्नु पर्थेन होला । पोहोर सालको नाकाबन्दीमा अँध्यारा र गुप्त ब्यापारी लुटेराहरूले प्रेट्रोल र डिजेलमा लाखौँ लाख रातारात कमाए । आयल निगमका डाइरेक्टरको लगानी भएको बिराट पम्पवालाले हाम्रा गरीब गुरुवाहरूबाट लुट्नसम्म लुटे । अहिले पनि नोटबन्दी गरेर गुज्जर भैयाले यस्तै लुटेराहरूलाई लुट्ने अवसर दिएका छन् ।
हाम्रो मण्डलीका मुखियाहरू लम्पसार परेर तिनै गुज्जर भैया र उनका दूतहरूको सेवाचाकडी गर्नमै व्यस्त छन् । र, आफूलाई लम्पसारवादीमा रुपान्तरण गरेका छन् । संविधान संसोधन गरेर तिनै गुज्जर भैयाका मण्डलीमा आफ्नो मण्डली मिलाईदिने नयाँ अवतारको लेन्डुपे बन्ने अभियानमा व्यस्त भएका छन् हाम्रा मुखिया । सँधै अर्काको निर्देशन लागू गर्ने नोकर बन्नु भन्दा मण्डल नै उतै बुझाएपछि हाइसन्चो भन्ने ठानेका छन् क्यारे । त्यहि भएर गुज्जरवालाहरूका सिता खाएर गीता गाउँदै आएका अङ्गीकृत लाउकेहरूलाई मुखिया बनाउने गरी संविधान वदल्ने चटारोमा हतारिएर लागिपरेका छन् । हाम्रा मण्डलका मुखियालाई आफू मरे कुत्तै राजा भन्ने लागेको छ ।
kailubraha73@gmail.com