ifd

काठमाडौं । अध्यक्ष इन्द्र राउतको नेतृत्वमा गएको क्रान्तिकारी पत्रकार महासंघको एक टोलीले नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टसँगको भेटमा आफूहरुलाई निषेध गरेर जान खोजे क्रान्तिकारी पत्रकार महासंघलाई वैकल्पिक महासंघ बनाएर अघि बढ्ने चेतावानी दिएकाे छ । महासंघका अध्यक्ष विष्टलाई पाँचबुँदे ‘ध्यानाकर्षण पत्र’ बुझाउँदै अध्यक्ष राउतले यस्तो चेतावानी दिएका हुन् ।

शुक्रबार भएको उक्त भेटमा क्रान्तिकारी पत्रकार महासंघका महासचिव केशरमणि कटुवालले ध्यानाकर्षण पत्र वाचन गरेर सुनाएका थिए भने उपाध्यक्ष नारायण पंगेनीले गैरपत्रकारहरुको सदस्यता खारेजी गर्न र नेपाल पत्रकार महासंघलाई सक्कली श्रमजीवि पत्रकारहरुको साझा संगठन बनाउनुपर्नेमा जोड दिएका थिए ।

महासंघका सचिवालय सदस्यद्वय दामोदर खनाल र रनसुर महतराको समेत उपस्थिति रहेको सो भेटमा अध्यक्ष विष्टले क्रान्तिकारी पत्रकार महासंघले उठाएका विषयवस्तुप्रति गम्भीर रुपमा ध्यानाकर्षण भएको भन्दै कमी कमजोरी सच्याउँदै महासंघलाई श्रमजीवि पत्रकारहरुको साझा (छाता) संगठन बनाएर लैजान लागिपर्ने आश्वासन दिएका थिए । भेटमा महासंघका कोषाध्यक्ष सूर्यमणि गौतमको पनि उपस्थिति रहेको थियो । क्रान्तिकारी पत्रकार महासंघले नेपाल पत्रकार महासंघलाई बुझाएको ध्यानाकर्षण पत्रको पूर्ण पाठ यस्तो छ ः

‘श्री अध्यक्ष ज्यू
नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालय, संचारग्राम, तिलगंगा, काठमाडौं ।

विषय ः ध्यानाकर्षण पत्र ।

अध्यक्ष ज्यू,
‘क्रान्तिकारी पत्रकार महासंघ’ श्रमजीवि पत्रकारहरुको नेतृत्वदायी संगठन हो । स्थापनाकालदेखि नै यस महासंघले श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन, पे्रस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी, सम्पादकीय स्वतन्त्रता, लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण, साना लगानीका तथा जनपक्षीय मिडियाहरुको संरक्षण र संवद्र्धन, श्रमजीवि पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेण्टी, मिडियामा वैदेशिक र अपारदर्शी लगानीलाई निषेध, मिडियाका कन्टेन्टको समावेशिकरण, निष्पक्ष, मर्यादित, जिम्मेवार र जवाफदेहीपूर्ण पत्रकारितालगायतको पक्षमा खह«ोरुपमा वकालत गर्दै आएको छ ।

indra

हाम्रो महासंघ ‘नेपाल पत्रकार महासंघ’लाई छाता संगठन मान्दछ । हाम्रो संगठनले उठाएका उल्लेखित विषय पनि नेपाल पत्रकार महासंघले पनि आफ्नो कार्यसूचिमा राखोस् र त्यसको प्रभावकारी कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरोस् । हामी गम्भीर रुपले ध्यानाकर्षण गराउन चाहन्छौं । यसका अतिरिक्त निम्न विषयहरुमा हामीले विशेष ध्यानाकर्षण गराउन आवश्यक ठानेका छौं ।

१. हाम्रो संगठनलाई नेपाल पत्रकार महासंघको नेतृत्वले वेवास्ता गर्दै आएको छ र प्रायः निर्णय प्रक्रिया, विविध सरोकार राख्ने कार्यक्रममा हाम्रो संगठनलाई सहभागी गराएको छैन । हाम्रो संगठनप्रतिको निषेधकारी व्यवहार सच्याइयोस् र नेपाल पत्रकार महासंघलाई साँच्चैको छाता संगठनको भूमिकामा स्थापित गरियोस् ।

२. नेपाल पत्रकार महासंघका हरेक निर्णय प्रक्रियामा तीन ठूला राजनीतिक पार्टीहरु नेपाली कांग्रेस सम्बद्ध प्रेस युनियन, नेकपा (एमाले)सम्बद्ध प्रेस चौतारी र नेकपा (माओवादी केन्द्र) सम्बद्ध प्रेस सेन्टरको ‘सिन्डिकेट’ लादिएको छ । हाम्रो संगठन यसको कडा शब्दमा विरोध गर्दछ । नेपाल पत्रकार महासंघलाई तीन ठूला संगठनका कार्यकर्ताहरुको भर्तिकेन्द्र र पेवा नबनाइयोस् । जोडदार माग गर्दछ ।

३. नेपाल पत्रकार महासंघको आवधिक चुनाव नजिकिदैछ । महासंघले शुद्धीकरण अभियान चलाओस् । गैरपत्रकार, निष्क्रिय पत्रकार, उद्योगी, व्यापारी, कर्मचारी, राजनीतिक पार्टीका नेता कार्यकर्ताहरु (जो प्रत्यक्षरुपले पत्रकारिता पेशामा संलग्न छैनन्)लगायतको सदस्यता खारेज गरियोस् । र, नेपाल पत्रकार महासंलाई सक्कली (क्रियाशिल) पत्रकारहरुको साझा संगठन बनाइयोस् ।

४. देशैभरबाट धेरै क्रियाशिल र योग्यता पुगेका पत्रकारहरु नेपाल पत्रकार महासंघको सदस्यता लिनबाट बञ्चित भएका छन् । आफ्नो अनुकूलतामा नयाँ सदस्यताको लागि आवेदन खुल्ला गर्ने र बन्द गर्ने नगरियोस् । आस्थाको आधारमा भेदभाव र बाधा अड्चन खडा नगरियोस् ।

५. महासंघको आसन्न चुनावमा गरिने अमर्यादित गतिविधि र अपारदर्शी चलखेललाई निषेध गरियोस् । पेशागत हिसाबले अमर्यादित ठानिने ‘जाँड रक्सी’को प्रयोगलाई प्रतिबन्ध लगाइयोस् ।

अन्तमा, हाम्रो संगठनले उठाएका उल्लेखित विषयहरु सम्बोधन नगरिने, हामीप्रतिको अपमानपूर्ण र निषेधकारी व्यवहारलाई नसच्याइने हो र सहकार्यको ढोका बन्द गरिने हो भने क्रान्तिकारी पत्रकार महासंघ वैकल्पिक महासंघको रुपमा अगाडि बढ्न बाध्य हुने पनि यसै ध्यानाकर्षण पत्रमार्फत् अवगत गराउन चाहन्छौं ।’

                                                                                                                                                                         इन्द्र राउत
                                                                                                                                                                           अध्यक्ष                                  

प्रतिक्रिया

सम्बन्धित खवर