indra-rautमिडियाको व्यावसायिकताको विश्वभरि पाठ सिकाउने अमेरिकी मिडियाले अमेरिकी राष्ट्रपतिको चुनावमा एउटा लज्जित चित्र पेश गरे– ‘मिडिया वायसनेस’को । एउटा अध्ययन अनुसार ९१ प्रतिशत अमेरिकी मिडियाहरुले डोनाल्ड ट्रम्पका विरुद्धमा प्रचारवाजी गरेका थिए । अमेरिकी राष्ट्रपति चुनावी परिणामले के देखायो भने सचेत जनताको अगाडि ‘मिडिया सत्ता’ पनि नटिक्ने रहेछ । अमेरिकाका शक्तिशाली मिडियाहरुले झुठको प्रचार गरिरहेका थिए तर जनताले अमेरिकी मिडिया र पत्रकारहरुलाई नै कुरी कुरी गरिरहेका थिए ।

दुनियाँको शक्तिशाली मुलुक । विश्वभरको ध्यान केन्द्रित थियो अमेरिकी राष्ट्रपतिको चुनावमा । मिडियामा भएको प्रचारबाजीलाई आधार मान्दै संसारभरिका विश्लेषकहरुले हिलारी क्लिन्टनले जित्ने आँकलन र विश्लेषण गरेका थिए । सबै अनुमान, निष्कर्ष र विश्लेषणलाई मिथ्या सावित गरिदियो चुनावी परिणामले । यसको साझो अर्थ हो– अमेरिकी मिडियाहरुको प्रचारबाजी र विश्लेषणका आधारमा सबैले धारणा बनाएका थिए । अमेरिकी मिडियाको झुठो प्रचारको परिणाम नै थियो– अनपेक्षित लाग्नु चुनावी परिणाम । संसारलाई गुमराहमा राख्न सफल अमेरिकी मिडियाले अमेरिकी जनतालाई चाहिं प्रभावित तुल्याउन सकेको देखिएन । र, मिडिया टाइकुनहरु पराजित हुन पुगे ।

अमेरिका साम्राज्यवादी मुलुक हो । राष्ट्रपति फेरिदैमा उसको साम्राज्यवादी नीति फेरिने होइन । केही जोडकोणको अन्तर पर्नु स्वभाविक हो । युद्धको व्यापारमा आफ्नो जीवन देख्ने अमेरिकी साम्राज्यवादले फेरि पनि व्यापार युद्धकै गर्छ । आफ्ना प्रतिस्पर्धीका विरुद्ध जे गर्दै आएको हो, त्यही गर्छ, अझ प्रखर रुपमा गर्न सक्छ । आप्रवासी, महिला र मुस्लिमका विरुद्धमा ट्रम्प चुनावी मैदानमा जसरी शासन सत्तामा पुगेपछि प्रस्तुत हुन सक्नेछैनन् । अमेरिकी थिंक ट्यांक, व्यूरोक्रेसी, शासनप्रणालीका धेरै घेरा उनले तोड्न सक्दैनन् । तर अन्तरसाम्राज्यवादी अन्तरविरोध चर्किन सक्ने भने देखिन्छ । तर, यहाँ चर्चा गर्न खोजिएको विषय हो– अमेरिकी मिडियाको ‘वायसनेस’ ।

“अमेरिकी चुनावी मैदानमा एकातर्फ डोनाल्ड ट्रम्प उभिएका थिए भने अर्कोतर्फ हिलारीलाई ‘इण्डोर्स’ गरेका अमेरिकाका शक्तिशाली १ सय ५० भन्दा बढी मिडिया हाउसहरु ।” ज्योति देवकोटाले सेतोपाटीमा लेखेका छन्, “इण्डोर्स गरेपछि जिताउनै पर्ने नैतिक वाध्यताभित्र बाँधिएका मिडियाहरु कुनै पनि हालतमा क्लिन्टन कमजोर रहेको ‘प्रोजेक्सन’ गर्न चाहँदैनथे ।”

अमेरिका स्थित मिडिया रिसर्च सेन्टरले अध्ययन गरे अनुसार अमेरिकाका ९१ प्रतिशत मिडियाहरुले ट्रपको विरुद्धमा प्रचारबाजी गरेका थिए । अध्ययनले भनेको छ, ट्रम्पका विवादित भनाइहरुलाई त्यहाँका मिडियाहरुले ४ सय ४० मिनेटसम्म प्रचार गरेका थिए भने हिलारीको त्यस्तै प्रकारका विवादित भनाइ १ सय ८५ मिनेट सम्म मात्र प्रशारण गरिएका थिए । महिलाको विषयमा दिएको ट्रम्पको विवादित भनाइलाई त्यहाँका मिडियाले १०२ मिनेटसम्म प्रशारण गरेका थिए भने हिलारीको इमेल स्क्याण्डलको ५३ मिनेट प्रशारण गरेका थिए । द सेन्टर फर पब्लिक इन्टिग्रिटीले भनेको छ– मिडियाको ९६ प्रतिशत सहयोग हिलारीको पक्षमा थियो । विकिलिक्सले सार्वजनिक गरे अनुसार ६५एमएसएम रिपोर्टरहरु हिलारी क्लिन्टनको सल्लाहकार थिए । उनीहरुले हिलारीका चुनावी अभियानका प्रमुख जोन पोडेस्टा र चुनावी रणनीतिकार जोयल बेन्नेसनसँग बसेर चुनावी प्रोपोगाण्डाको योजना बनाउने गर्दथे ।

अमेरिकाका शक्तिशाली मिडिया हाउसहरु एबिसी, सिबिएस, सिएनन, एमएसएनबिसि, द न्यूवर्क टाइम्स, वासिङटन पोष्ट, जुली पिस अफ एसोशियटेड प्रेसलगायत मिडियाहरुले हिलारीको चुनावी मोर्चा लडेका थिए । एक अध्ययनले भनेको छ अमेरिकी मिडियाहरुलाई चुनाव यति धेरै लागेको थियो कि उनीहरुले दिनको १४४० मिनेटमा ११९१ मिनेट चुनावी प्रचारमा खर्चिने गरेका थिए । बाँकी २४९ मिनेटमा मात्र अन्य समाचार र विज्ञापनले मिडियामा स्थान पाउथे ।
अमेरिकी मिडियाको यस्तो रवैयालाई लेखिका शर्ल एट्कीसनले भनेकी छन्, “यो अमेरिकी मिडियाको नैतिकता र बौद्धिकताको स्खलन हो ।”

यतिखेर ट्रम्पभन्दा बढी अमेरिकी मिडियाहरुको ‘ट्रेण्ड’को बारेमा बहस चलिरहेको छ । मिडियाको निष्पक्षता र व्यवसायिकतामाथि गम्भीर प्रश्न खडा भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पक्षधरताका विषयमा विमर्श चलिरहेका छन् । पुँजी, सत्ता र शक्तिले मिडियाको कन्टेन्ट निर्धारण गर्छ भन्ने मान्यतालाई अमेरिकीको राष्ट्रपतिको चुनावलमा त्यहाँको मिडियाले खेलेको भूमिकाले स्थापित गरेको छ ।

मिडियाको विश्वसनीयतालाई थप चुनौतीपूर्ण बनाइदिएको छ– अमेरिकी बिग मिडियाहरुको पत्रकारिता अभ्यासले । मिडियालाई बुझ्ने र विश्वास गर्ने सोचमा जबर्जस्त परिवर्तन ल्याइदिएका छन् ती मिडियाहरुले ।

वर्गीय समाजमा हरेक चिज वर्गीय हुन्छ । मिडिया पनि वर्गीय हुन्छ । अर्थात् मिडियाको पक्षधरता हुन्छ । मिडिया निष्पक्ष हुन सक्दैन । मिडियाको ‘कन्टेन्ट’ निर्धारण मिडिया मालिकले गर्छ । मिडियामा जुन वर्गले लगानी गरेको छ, त्यही वर्ग र विचारको ती मिडियाले पक्षधरता लिन्छ । प्रेस तथा अभव्यक्ति स्वतन्त्रताको स्थिति र चरित्र पनि सापेक्षिक हुन्छ । यो माक्र्सवादी मान्यता हो । यो नै सत्य हो ।

‘प्रोफेश्नल जर्नालिज्म’ तथा निष्पक्ष र स्वतन्त्र मिडियाको बारेमा नेपालमा पनि काफीहदसम्म बहस चलिरहेका छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रताका कुराहरु पनि त्यतिकै उठिरहेकै छन् । नेपालका विग मिडिया हाउसहरुमा मिडिया मालिकहरुले कन्टेन्टलाई निर्धारण गर्न खोज्दा यी विषयहरु बहसमा आएका छन् । भूमण्डलीकृत विश्व र सूचना प्रविधिको अभूतपूर्व विकासले अहिले मिडियाको ट्रेण्ड बुझ्न नेपाली जनसर्वसाधारणलाई पनि सजिलो भएको छ । सामाजिक संजालको प्रयोगले त अझ व्यापक र गतिशिल बनाइदिएको छ मान्छेहरुको जीवन र जीवनशैलीलाई । मिडियाको वर्गचरित्र र वर्ग पक्षधरता बुझ्नलाई संचारका अत्याधुनिक माध्यमहरुले सहज तुल्याइदिएको छ ।

मिडिया राष्ट्र र जनताको लागि हुुनुपर्दछ । आवाजविहीनहरुको आवाज बन्न सक्नुपर्दछ । मिडिया जगतमा यो सर्वमान्य मान्यता हो । यो मान्यतालाई जति साना र जनपक्षीय मिडियाहरुले आत्मसात् गरिरहेका हुन्छन् र छन्, त्यति नै विग मिडियाहरुले उलंघन गरिरहेका छन् । समाचार बायस बनेर प्रस्तुत भइरहेका हुन्छन् । यसर्थ, आम नागरिकले मिडियालाई बुझ्ने सवालमा मिडियाको पक्षधरतालाई पनि बुझ्नुपर्ने भएको छ । यो पक्षधरता थाहा पाएपछि मात्र मिडियामा आएका विषयवस्तुको विश्वसनीयता र वस्तुनिष्ठता पत्ता लाग्ने भो । ‘तरकारीवाली’को पछि लागेको ‘मेन स्ट्रिम’को नेपाली मिडियामाथि पनि प्रश्नहरु उठ्ने गरेका छन् । नेपाल पत्रकार महासंघ, प्रेस काउन्सीलले जारी गर्ने आचारसंहिताले जिम्मेवार बनाउन नसकेका मिडियाहरुलाई सचेत जनताले नै जिम्मेवार, नैतिक र बौद्धिक बनाउनुपर्ने स्थितिको विकास हुँदै गएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर