कारागारबाट अदालतमा जाने लिष्टमा आज उसको नाम पनि परेको थियो । प्रायः मुद्दा फैसला नभएका पुर्पक्षका लागि जेलमा राखिएका बन्दीहरुलाई अदालतमा उपस्थित गराउने गरिन्छ । उ अदालत जाने भने पछि जहिले पनि खुसी हुन्थ्यो, किनभने सरकारले उसलाई आतंककारीको नेता भनी परिभाषित गरेको थियो । त्यसैकारण उसलाई जेल भित्रको सेलमा राखिन्थ्यो र कुनै बेला, खासगरी बाहिर क्रान्तिकारीहरुको गतिविधि बढेका बेलामा वा भारत वा अन्य कुनै देशको कुनै नेता कतै जेल तोडेर बाहिर निस्केको घटना घटेको जेल अधिकारीलाई सूचना आयो भने त्यो सेल दिउँसो पनि ताल्चा लगाएर बन्द गरिन्थ्यो र उसले चौबिसै घण्टा त्यही सेलमा बिताउनु पर्दथ्यो । उसलाई लाग्दथ्यो, ‘कमसेकम केही घण्टा भने पनि जेल भन्दा बाहिरको हावा त खान पाइन्छ । शहरका गतिविधि एक छिन भने पनि हेर्न पाइन्छ । वकिलहरुसँग कुराकानी गर्न पाइन्छ । साथीभाइहरुसँग कुराकानी गर्न नपाए पनि देख्न त पाइन्छ । त्यसैले कोर्टले एक एक हप्ताको तारिख दिए पनि हुन्थ्यो ।’ तर, आतंककारीहरुलाई छिटो छिटो बाहिर ननिकाल्ने नीतिलाई कोर्टले पनि ध्यान दिने गर्दथ्यो र प्रायः एक महिनामा मात्र कोर्टलैजाने आदेश हुन्थ्यो । सुरक्षाको कारण देखाएर एक महिनाको तारिखको दिन जेलमै अदालतको खाता ल्याएर सहिछाप गराउने प्रचलन पनि त्यत्तीकै प्रचलित थियो ।
सहायक जेलरले बोलाए पछि उ जेलको ठूलो गेट तिर लाग्यो । एउटा कर्मचारीले कोर्ट जानेहरुको नाम पढ्दै थियो । उसको नाम आए पछि उ जेलको सानो गेटबाट निस्कने बित्तिकै पाँच जना जति प्रहरीले उसका दुबै पाखुरामा समाते र एउटा हवल्दारले उसको हातमा हत्कडी लगायो र अर्को हत्कडी आफ्नो हातमा लगायो । इन्सपेक्टरले दुबै हत्कडीमा ताल्चा लगाएर चाबी आफ्नो खल्तीमा हाल्यो । विगत ३ वर्ष देखि हरेक महिना यही क्रम चलिरहने गरेकाले उसलाई कुनै अनौठो लागेन । तीन वटा प्रहरी भ्यान लस्करै उभिएका थिए । उसलाई बिचको भ्यानमा राखेर सबैजना प्रहरीहरु भित्र पसे । तीनै वटा गाडीहरु निरन्तर यही लहरमा कुदिरहेका थिए ।
विशाल जंगलका बिचको राजमार्गमा उसलाई लिएर हिँडेका गाडीहरु दगुरिरहेका थिए । यो यात्रा उसका लागि अनौठो जस्तो लागिरहेको थियो । उसले आज सम्म कहिल्यै थाहा नपाएका ठाउँबाट बेगमा गाडी दौडिरहँदा उसलाई भित्र भित्रै आशंका पनि भैरहेको थियो, ‘आखिर यिनीहरुले मलाई कता लैजाँदै छन् ?’ उसले राजमार्गको बगलमा गाडिएको सिमेण्टको पिलरलाई नियालेर हे¥यो । एउटा पिलरमा अँग्रेजीमा लेखिएको थियो, गुवाहाटी ४० कि मि । यसबाट उसले अडकल काट्यो कि उसलाई तिनीहरुले आसामको गुवाहाटी लैजाँदैछन् । किन त्यहाँ लैजाने होला त ? यस प्रश्नको सहज उत्तर निस्कन सकिरहेको थिएन । धेरैबेर घोरिएपछि उसले अनुमान ग¥यो, ‘सायद आसामको कुनै आतंकवादी भनिएको संगठनमा जोडेर झुठा मुद्दा तयार पार्नलाई होला ।’ उसले आफ्नो मन बलियो बनायो, ‘जे सुकै भए पनि सामना गर्नु बाहेक अर्को विकल्प नै के छ र ?’
एकैछिन पछि तीनैवटा गाडीको काफिला राजमार्ग छाडेर सहायक मार्ग तिर लाग्यो जुन पक्की सडक नै थियो । उ फेरि अल्मलियो, ‘अब कता लैजाने हुन् ।’ झण्डै आधा घण्टा पछि गाडीहरु एउटा सानो शहर भित्र प्रवेश गरे । साइनबोर्ड हेरेर उसले थाहा पायो कि यो पश्चिम बंगालकै कुनै सानो शहर थियो । त्यसको १० मिनेट पछि सबै गाडीहरु एक साथ रोकिए । तीनवटै गाडीका पुलिस बाहिर निस्के र उसलाई वीचमा पारे । अनि एउटा पक्का घरमा लिएर गए । त्यसपछि हतकडी खोलेर तिनीहरुले उसलाई मजिष्ट्रेट कोर्टको अपराधीलाई उभ्याउने कठघरामा उभ्याए । मजिष्ट्रेटले उसको नाम सोधे । अनि उनले भने, ‘तिमीलाई यहाँको चौकी कब्जा गर्ने मुख्य योजनाकार र नेतृत्वकर्ताको आरोपमा राष्ट्र विप्लव मुद्दा दायर भएको छ र तिमीलाई त्यसै मुद्दामा यहाँ उपस्थिति गराइएको हो ।’ उनले वारदात भएको मितिलाई उदृत गर्दै त्यो मितिमा ‘तिमी कहाँ थियौ ?’ भन्ने प्रश्न गरे । उसले सहज जवाफ दियो, ‘यसै देशको तामिलनाडु राज्यको चेन्नाई सेण्ट्रल जेलमा । ’ उसले जज्लाई प्रश्न ग¥यो, ‘के हजारौं किलो मिटर टाढाको जेल भित्रको सेलमा राखिएको बन्दीले यहाँ आएर वारदात ग¥यो भन्ने तपाईलाई विश्वास लाग्छ ?’ एकछिन जज् नाजवाव भए र त्यसपछि भने, ‘यो त तिमीले वहश गर्दा भन्ने विषय हो । अहिलेलाई तिमीलाई पुर्पक्षका लागि थुनामा पठाइन्छ ।’ यस्तै मुद्दा यसैगरी उसलाई न्यू जलपाईगुडी मजिष्ट्रेट कोर्टले पनि लगाएको थियो । भारतीय कानूनमा यो मुद्दामा जन्म कैद र फाँसी सम्मको सजायको व्यवस्था छ ।
उसले आज भन्दा तीन वर्ष अघि उ तामिलनाडु राज्यको राजधानी चेन्नईमा गिरफ्तार भए पछि पुलिस् इन्स्पेक्टरले बयान लिएको घटना र यस प्रकारका थुप्रै घटनाहरु उसको मन मस्तिष्कमा सिनेमाको रिल जस्तै निरन्तर चलिरहेका थिए । चेन्नई एअरपोर्ट थानाको पुलिस इन्स्पेक्टरले प्रश्न गरेको थियो, ‘लौ भन, तिमीले भारतको माओवादी पार्टीको कुन नेतालाई भेटेर आएका हौ ?’ उसले सहज जवाफ दिएको थियो, ‘म सिधै यहाँ आएको हुँ, कुनै नेतालाई म चिन्दिन र भेट पनि गरेको छैन ।’ इन्स्पेक्टरले रिसाएर राता आँखा पार्दै भनेको थियो, ‘तिमीले भेटेको प्रमाण हामी सँग छ । साँचो कुरा बोल्छौ भने तिमी सँग सहज बयान लिइने छ, भनेनौ भने हामी कठोर रुपमा प्रस्तुत हुने छौं ।’ उसले भनेको थियो, ‘मैले जे भनेको छु, त्यो नै साँचो कुरा हो ।’ त्यसपछि इन्स्पेक्टर झन् रिसले आगो हुँदै भनेको थियो, ‘यसले सजिलै साँचो कुरा भन्ला जस्तो छैन, मर्मत गर्नै पर्ने भयो केटा हो । केही गरी मरिहालेछ भने समुद्रमा फाली दिउँला ।’ बयान लिँदा लिँदै इन्स्पेक्टरलाई फोन आयो । उसले तामिल भाषामा केही कुरा ग¥यो । त्यसको एकैछिन पछि अर्को इन्सपेक्टर आइपुग्यो । ती दुबै जनाले अर्को कोठामा एकछिन कुरा गरे । त्यस पछि दुबै जना उसको बयान लिन थालेका थिए । नयाँ आउने इन्स्पेक्टरले भनेको थियो, ‘यसलाई म लिएर जान्छु, छत्तीसगढको दन्तेवाडा क्याम्पमा लगेर बयान लिए पछि यसले सबै कुरा उकेल्छ, उकेलेन भने जान्छ परलोक । मरेछ भने जंगलमा लगेर फालि दिउँला ।’ बयान लिँदा दिइएको यातनाका कारण चोट लागेको उसको एउटा आँखा अझै ठीक भएको थिएन र बेला बेलामा उपचारका लागि उ आँखा अस्पताल धाउनु परिरहेको थियो ।
बयान लिँदा रातको ११ बजिसकेको थियो । उसले सोचेको थियो ‘अब त केही घण्टा आराम गर्न पाइएला ।’ तर सई ले ‘कोर्ट जान तुरुन्तै तयार भै हाल ।’ भन्ने आदेश जारी गरेको थियो । नेपालमा अदालत प्रायः राति खुल्ने गरेको उसलाई थाहा थिएन । उसले सोच्यो, ‘यो मध्य रातमा पनि कुनै कोर्ट खुल्छ र ? पक्का कुनै षड्यन्त्र गर्दैछन् ।’ उसलाई तीन वटा मध्येको बिचको भ्यानमा राखेर गाडीको त्यो काफिला दौडिरहेको थियो । गाडी मरिना बीच हुँदै समुद्रको छेउको बाटोबाट अघि बढ्दै थियो । उसले बयानका दौरानमा ‘तँलाई समुद्रमा फालि दिन पनि सक्छौं’ भनेको सम्भm्यो । इन्स्पेक्टरले गाडी रोक्ने इशारा ग¥यो । उसको जिउ सिरिंङ्ग ग¥यो । सायद अब जीवनको अन्तिम समय आएको हो कि भन्ने ठान्यो । उसले आफ्नो मन बलियो बनाउन विश्व कम्युनिष्ट आन्दोलनका महान् नेताहरुलाई सम्झियो, कहिल्यै नझुकेर जीवन बलिदान गर्ने सहिदहरुलाई सम्झ्यो । पान चपाउँदै इन्स्पेक्टर गाडी भित्र पस्यो । समुद्रको बाटो सकिएर तीनैवटा गाडी शहर तिर लागे । बल्ल उ ढुक्क भएको थियो । मजिष्ट्रेटको क्वार्टरमा पुग्दा रातको साँढे १२ बजेको थियो । क्वार्टरमा केवल मानिस घुरेको आवाज मात्र आइरहेको थियो । इन्स्पेक्टरले धेरै पटक बेल बजायो, तर ढोका खुलेन । लगभग आधा घण्टा पछि गञ्जी र लुङ्गी लगाएको मानिस आँखा मिच्दै बाहिर निस्कियो । उनी नै उसको भाग्यको फैसला गर्ने जज् थिए । बयान हेर्ने वा उ सँग केही सोध्ने त कुरै छाडौं बन्दीको अनुहार तिर पनि उनले हेरेनन् । बरण्डामा राखिएको एउटा कुर्सीमा बसेर एउटा कागजमा उनले तोक लगाए । तोकमा लेखिएको थियो, ‘आतंककारी भएको आशंका छ । कडा सुरक्षाका बिचमा कारागारमा राख्ने ।’ जेल भित्रको यातनापूर्ण जीवनको सुरुवात् यो आदेश सँगै भएको रहेछ भन्ने कुरा उसले जेलमा पुगिसकेपछि थाहा पाएको थियो ।
मध्यरातमा निद्रा बिग्रिएकोमा जेलरको रिसको पारो चढेको थियो । उसले इन्स्पेक्टर सँग आक्रोश पोख्यो, ‘यस्ता बन्दीलाई आधारातमा लिएर आउने हो, दिउँसै ल्याउनु पर्दैन इन्स्पेक्टर साहेब ?’ इन्स्पेक्टर आफैं थकाई र निद्राले चूर भएको थियो, उसले जेलरको भनाईलाई असहज रुपमा लिँदै भन्यो, ‘हामीले पनि नबुझेको होइन, नभ्याएर न हो, नत्र यो मध्य रातमा अनिदो भएर दौड धुप गर्न हामीलाई पो के रहर थियो र ?’ इन्स्पेक्टरले खाकीको युनिफर्मको पकेटबाट दुई प्रति कागज निकालेर जेलरलाई दियो । जेलरले एक प्रतिमा सही गरी दियो र एक प्रति आफूले राख्यो ।
उसलाई जेलरले छुट्टै कोठामा लग्यो र आदेशात्मक तरिकाले भन्यो, ‘तिमी सँग भएको पैसा, सूनको गहना, घडी आदि केही छ भने जम्मा गर । तिम्रो सर्ट, पाइण्ट खोल हामी बडी सर्च गर्छौं ।’ उसलाई अनौठो लाग्यो । पञ्चायती शासनको बेलामा उ नेपालको जेलमा लामो समय सम्म बसेको थियो । त्यहाँ घडी बाँध्न, आफ्नो आवश्यकताका लागि पैसा राख्न, किनमेल गर्न पाइन्थ्यो । यहाँ त अलिअलि भएको पैसा पनि यहीँ डिपोजिट गर्नु पर्ने, समय हेर्नका लागि आफ्नो घडी पनि हेर्न पनि नपाइँने ? लोकतन्त्र भन्छन् यहाँ त झन् त्यती स्वतन्त्रता पनि छैन ? उसलाई चित्त बुझेन । उसले प्रतिवाद गर्न खोज्यो, ‘समय हेर्न घडी पनि बाँध्न नपाइने ? किनमेल गर्ने पैसा पनि राख्न नपाइने ? के हाम्रा सबै आवश्यक सामान तपाईंले उपलव्ध गराउनु हुन्छ ?’ राता आँखा फुकालेर हेर्दै आदेशात्मक शैलीमा जेलरले भन्यो, ‘मैले जे भन्छु त्यही गर यो वहश गर्ने ठाउँ होइन, कुरा बुझ्यौ ?’ उसले जेल गार्डको हवल्दारलाई आदेश ग¥यो । उसले तामिल भाषाको त्यो पूरै आदेशलाई त बुझ्न सकेन, केवल ‘टेरोरिष्ट’ भन्ने शब्द मात्र बुझ्यो ।
हवल्दारले उसलाई त्यो विशाल जेलको कुनाको एउटा कोठातिर लिएर गयो । ताल्चा खोल्यो । अँध्यारो कोठा थियो । त्यसै भित्र हुलेर ताल्चा लगाएर हवल्दार हिँड्यो । उसले लामो समयको यातना पश्चात् आज राति त आराम गर्न पाइन्छ कि भन्ने आशा गरेको थियो । आतंककारीलाई राख्ने यो कोठा फोहोरले उग्रिगन्ध गन्हाइरहेको थियो । भोका लामखुट्टे मानिसको गन्ध आउने बित्तिकै एकै पटक हजारौंको संख्यामा आक्रमण गर्न आए । धपाएर साध्य नलाग्ने भए पछि उ चुपलागेर लामखुट्टेलाई रगत चुस्न दिइरहेको थियो । उसले पाखुरामा मसा¥यो, हातभरी आफ्नै रगत ! उसलाई लाग्यो आज रातभरीमा उसको रगत यी भोका लामखुट्टेको हुलले खाइसक्ने छन् । उसलाई तिर्खा लाग्यो,… झन् बढ्दै गयो । तर त्यहाँ पानी पाउने सम्भावना थिएन । उसलाई पिसावले च्याप्यो । तलबाट पेट फुल्दै आयो । उसलाई छट्पटी भयो, तर त्यहाँ उसको पीडा सुनिदिने कोही थिएन । कति बेला उज्यालो होला भनेर उसले बेचैनीका साथ प्रतिक्षा गरिरह्यो । ढोका खुल्दा उसको घाँटी, ओठ, मुख, नाक सबै सुकिसकेका थिए । हत्त न पत्त उसले धारामा गएर पानी खायो । एउटा कैदीले इशारा ग¥यो ‘यो पानी खानु हुँदैन, झाडा पखाला लागेर मरिन्छ ।’ फर्केर कोठामा आयो तै सुत्न सकिन्छ कि भन्ने आशा गरेर । त्यो कोठाको यत्र तत्र रगतका टाटा थिए । त्यो देखे पछि झन् उ तर्सियो र बाहिर निस्कियो ।
केही समय पछि उसलाई पखाला चल्यो । थामी सक्नु भएन । दुई घण्टा मै उ लखतरान भयो । उसको मुख, ओठ, जिभ्रो, छाती सबै सुके एकै साथ । उसलाई लाग्यो डिहाइड्रेसन भयो, अब के गर्ने होला । उसले त्यहाँ भएका कैदी बन्दी मध्ये कोही सहयोगी छ कि भन्ने खोज्ने प्रयास ग¥यो । एकजना युवा उमेरको बन्दी पत्रिका पढ्दै थियो । उसले आफ्ना समस्या छोटकरीमा राख्यो । त्यो युवकले उ प्रति सहानुभूति प्रकट गर्दै उसको अनुहार तिर हेरेर भन्यो, ‘ओ हो तपाईंलाई त डिहाइड्रेसन भए जस्तो छ, बस्नुस् यो एक लिटर पानी खाइहाल्नुस् ।’ उसले बाहिरबाट किनेर ल्याइएको ५० लिटरको क्यानबाट एक लिटरको बोतलमा खाने पानी खन्यायो र उसलाई खान दियो । त्यती पानी खाइसके पछि बल्ल उसको पोल्न थालेको पेट र छाती शित्तल भए जस्तो लाग्यो, उसको घाँटी, जिब्रो र ओठ, मुख रसिलो भएर आए जस्तो लाग्यो । उसले आज सम्म पनि त्यो बोतलको एक लिटर पानीले आफ्नो ज्यान बचाएको सम्झिरहेको छ र आज सम्म पनि उ पानीलाई अमृत जस्तो ठान्दछ । त्यो युवकले उसलाई ‘तपाईं यहीँ आराम गर्नुस् केही समय’ भनेर प्लाष्टिकको गुन्द्री ओछ्याइदियो । अनिदो, थकावट र डिहाइड्रेसनबाट लिथो लिथो भएको उ तुरुन्त मस्त निद्रामा प¥यो । उसलाई लाग्यो यो मानिस नै उसको भाग्य विधाता थियो ।
भोलिपल्ट त्यही युवकले उसको गिरफ्तारीको खवर ‘इण्डियन एक्सप्रेस’ राष्ट्रिय अँग्रेजी दैनिकमा छापिएको कुरा सुनायो । त्यसबाट उ अत्यन्त खुसी भयो । उसले मनमनै सोच्यो ‘सायद अब मलाई समुद्रमा फाल्न सक्दैनन् होला ।’ त्यसको एकछिन पछि सहायक जेलर आयो भेट्न । उसले सोध्यो, ‘कस्तो छ तपाईंको स्थिति ?’ उसको कन्सिरी तातेर आयो, उसले जवाफ दियो, ‘यदि तपाईंको सरकारले मार्नकै लागि यस जेलमा ल्याएको हो भने यही स्थितिमा मलाई राख्नुस् तपाईंहरुले धेरै दिन कुर्नु पर्दैन, बढीमा एक महिना कुरे तपाईहरुको इच्छा पूरा हुन्छ । यदि त्यसो होइन भने यहाँबाट मलाई बाँच्न सक्ने ठाउँमा राख्नुस् बाँच्न सम्म सक्ने सुविधा दिनुस् ।’ उसको आक्रोसित अनुहार हेरेर सहायक जेलरले भन्यो, ‘हामीले त अदालतको आदेशको पालना गर्नु पर्छ । अदालतले फष्टक्लासमा राखेर उच्च सम्मानको व्यवहार गर्नु भन्ने आदेश दिएको भए तपाईंलाई हामीले त्यही अनुसारको सुविधाजनक ठाउँमा राखेर सुविधा उपलव्ध गराउने थियौं । तर तपाईंलाई टेरोरिष्टका रुपमा व्यवहार गर्ने आदेश छ । त्यसैले तपाईं सुविधाको धेरै आशा नगर्नुस् । ठीक छ हामी सकेसम्म तपाईंलाई राम्रै व्यवस्था गर्छौं, धेरै चिन्ता नगर्नुस् ।’ करिब दुई घण्टा पछि जेलका दुुई जना सिपाही आएर उसलाई परको एउटा कोठामा लिएर गए । कोठा सफा थियो । अर्को एकजना बन्दी त्यहाँ बस्ने गरेको थियो । उसले त्यो बन्दी सँग परिचय ग¥यो । उसको नाम थियो ‘सुब्रमन्यम्’,पत्रकार । उसको तामिल भाषाको दैनिक पत्रिका राज्यभरीमा ६० हजार प्रति बिक्री हुन्थ्यो । त्यो पत्रिकाले सरकारमा भएको भ्रष्टाचारलाई उदांगो पार्ने काम गर्दथ्यो । मुख्य मन्त्रीले गरेको भ्रष्टाचार कै पर्दाफास गरेको कारणले उ करिव ७ महिना देखि आतंककारीको अभियोगमा जेल जीवन बिताइरहेको थियो । पत्रकार संगठनहरुको संघर्षको दबाबका कारण उ केही दिन मै तारिखमा छुट्ने सम्भावना बढेर गएको थियो । उसलाई लाग्यो ‘अब चाँडै मरिँदैन ।’
भोलिपल्ट १० बजे तिर एकजना मानिस हातमा थुप्रै पर्चा लिएर हिँडिरहेको थियो र उसको नाम बोलाउँदै थियो । कसले किन बोलाएको भन्ने थाहा भएन । सुब्रमन्यम्ले भन्यो, ‘तपाईंलाई भेट्न कोही आएको छ, पर्चा लिएर आउनुस् भेट्नेको नाम म बताई दिउँला ।’ उसले मनमनै सोच्यो, ‘यती चाँडै थाहा भएर को आयो होला मलाई भेट्न ?’ तर उसको खुसीको भने सीमा थिएन । पर्चा हेरेर सुब्रमन्यम्ले ‘भेट्न आएको तपाईंकी श्रीमती अमृता’ भने पछि खुसीले उसलाई के गरौं र कसो गरौं जस्तो भयो । भूमिगत अवस्था, लामो समय भैसकेको थियो उनीहरुको भेटघाट नभएको । आज यस्तो आपतको बेला आफ्नी श्रीमतीलाई भेट्न पाउने भए पछि उ खुसी नहुने कुरै भएन । एक निमेषमै उ जेलको गेटमा पुग्यो । त्यहाँको एक घण्टाको पर्खाई उसलाई एक महिना जस्तो लागिरहेको थियो । उसले तारको जालीबाट यता चियाइरहेकी श्रीमतीलाई चिन्यो, हर्षका आँसु पुछ्दै उ यतापट्टीको तारको जालीमा उभियो । उसकी श्रीमतीले चिनी, उसको रुवाई थामिनसक्नु भयो । डाको छाडेर रोई । उ पनि मुख छोपेर रोयो ।
उसले श्रीमतीलाई सोध्यो, ‘तिमीले म गिरफ्तार भएर यहाँ छु भन्ने कसरी थाहा पायौ ?’
‘बीबीसीले भनेर ।’
‘अनि यती चाँडै कसरी यहाँ आई पुग्यौ त ?’
‘समाचार सुन्नेजति सबैले भन्न थाले, अब तिम्रो श्रीमान्को ज्यान जोगिन गाह्रो छ । मुख सम्म हेर्न पाउँछु कि भनेर …..राति नै प्लेनको टिकट….’ कुरा पु¥याउन सकिन….।
उसले श्रीमतीलाई ढाडस् दियो, ‘मेरो गिरफ्तारीका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा चर्चा चलिसकेको छ, अब मलाई केही गर्न सक्दैनन्, तिमी ढुक्क भएर बस ।’
उसकी श्रीमतीले खाने पानी मात्र होइन, उसलाई बाहिरबाट ताजा राजनीतिक समाचार पनि ल्याइरहेकी थिई । उनको साहश र सकृयता तामिलनाडुमा चर्चाको विषय बनेको थियो । एउटा लोकप्रिय तामिल म्यागाजिनमा ‘नेपाली गृहिणी महिलाबाट सिकौं’ भन्ने शीर्षकमा उनको फोटो सहित एउटा लामो लेख छापिएको थियो । त्यसमा भनिएको थियो, ‘तामिलनाडुका महिलाहरु आफू गृहिणी भएकोमा हीनतावोध गर्दछन् । एउटी नेपाली गृहिणी महिलाबाट उनीहरुले सिक्नु पर्दछ । अमृताका श्रीमान्लाई आफ्नो देशको सरकारले टाउकाको मूल्य तोकेको छ । उनी आतंककारीको अभियोगमा जेलमा छन् । अमृताले तामिल, अंग्रेजी भाषा जान्दिनन्, मुस्किलले हिन्दी बोल्दछिन् । तर उनले बस र बस स्टप कहिल्यै बिराउँदिनन्, ठिक समयमा श्रीमान्लाई भेट्न जेल पुग्छिन् । श्रीमान्लाई अदालत लैजाँदा सबै भन्दा पहिले उनी नै अदालतको गेटमा उभिइरहेकी देखिन्छन् । स्थानीय क्रान्तिकारी संगठनहरुले श्रीमान्को रिहाईको माग गर्दै लगाएको नारामा उनी सबै भन्दा अघि मुट्ठी कसेर नारा लगाइरहेकी हुन्छिन् । वकिलहरुको सल्लाह लिनका लागि पनि उनी सधैं पुगिरहेकी हुन्छिन् । श्रीमान्को रिहाइका लागि मद्रासमा गोष्ठीहरु भई रहन्छन्, कुनै गोष्ठी उनले छुटाउँदिनन् । उनी भाषण गर्न त्यती रुचाउँदिनन् । तर नेपाली भाषाबाट तामिलमा उल्था गर्ने मानिस भएको कार्यक्रममा छोटो भाषण गर्छिन्, ‘तपाईहरुले मेरो श्रीमान्को जीवन रक्षा र रिहाईका लागि जुन संघर्ष गर्नु भएको छ यसलाई म सलाम् गर्न चाहन्छु र तपाईंहरु प्रति आभार व्यक्त गर्दछु । मेरो श्रीमान्लाई भारतको जेलमा बन्दी बनाएर नेपालको क्रान्तिलाई रोक्ने प्रतिक्रियावादीको सपना कहिल्यै पूरा हुने छैन । उहाँलाई दिएको यातनाको खबरले नेपाली क्रान्तिकारीहरु झन् आक्रोशित भएर युद्धको मैदानमा व्यक्त गरिरहेका छन् । नेपालको क्रान्ति सर्वहारा वर्गले नेतृत्व गरेको क्रान्ति हो, यो क्रान्ति भारतका सर्वहारा वर्गको पनि हो, विश्व सर्वहारा वर्गको पनि हो । विश्वका सर्वहारा मिलेर यो क्रान्तिलाई सफल पार्नु पर्छ । नेपाल र भारतका क्रान्तिकारीहरु वीचको एकता जिन्दावाद !’ एउटी गृहिणी महिलाले गरेको यो जोशीलो भाषणमा लामो समय सम्म ताली बजीरहन्छ । इत्यादि ।’
उ चढेको भ्यान ढक्क रोकिँदा उ झसंग भयो । गाडी जेलको मुख्य गेटमा आइपुगेको थियो ।
वर्षौं देखि आन्दोलनमा सँगैका सहयोद्धा र उसको पार्टीका शीर्ष पंक्तिका नेता र उसलाई केही महिनाको अन्तरालमा दुई भिन्न स्थानमा गिरफ्तार गरिएको थियो । यस विषयमा नेपाल र भारतमा समेत ठूलै चर्चा र बहश चलिरहेको थियो—यो केवल संयोग थियो वा षड्यन्त्र ? यो बहशको टुंगो लागेको थिएन । सरकारले दुबैजनामाथि एकै किसिमका झुठा मुद्दा लगाएको थियो । उनीहरुलाई एउटै किसिमका झुठा मुद्दा लगाएको हुनाले एउटै जेलमा राख्नु पर्ने अवस्था आयो । यसबाट आपसमा वैचारिक राजनीतिक छलफल र वहश गर्ने अवसर भने अवश्य उनीहरुलाई प्राप्त भएको थियो ।
जनक्रान्तिलाई समाप्त पार्ने षडयन्त्र विश्वव्यापीरुपमा चलिरहेको थियो । दश वर्षको क्रान्तिको नेतृत्व गर्ने नेतृत्व पंक्ति नै लड्खडाईरहेको थियो । वार्ता र सहमतिका कुराहरु व्यापकरुपमा चल्न थालेका थिए । आखिर उनीहरुलाई जेलमा राखेकै बेला नेतृत्व पंक्तिले शान्ति सम्झौता गरिसकेको थियो । हजारौंका वलिदानबाट स्थापित जन सरकार र जन अदालत विघटन गरिसकिएको थियो । जेलमा यी दई सहयोद्धाका बिचमा यिनै विषयमा व्यापक छलफल हुने गर्दथ्यो । क्रान्तिका महानायक भनिनेहरु माथिको वारेण्ट खारेज भैसकेको थियो । उनीहरु लामो भूमिगत अवस्थाबाट बाहिर निस्केर खुला भैसकेका थिए, आफ्नै देश भित्र । कतै क्रान्तिका महानायक भनिनेहरु खलनायकमा परिणत हुने त होइनन् ? भन्ने चर्चा यत्र तत्र चल्न थालेको थियो । देश भित्रका विभिन्न जेल र शिविरहरुमा राखिएका राजबन्दीहरु मुक्त भैसकेका थिए । छिमेकी मित्रराष्ट्रको सरकारले भने अर्कै राष्ट्रमा जनक्रान्ति गरेवापत थुनामा राखेका राजवन्दी माथि अझै मुद्दा माथि मुद्दा थपिरहेको थियो । आफूलाई संसारको सबै भन्दा ठूलो मध्येको एक लोकतन्त्र भन्न रुचाउने देशका नेताहरुले र उनीहरुले नेतृत्व गरेको सरकारले जुन व्यवहार देखाइरहेका थिए, त्यसको रहस्य बुझ्न धेरैलाई कठिन भैरहेको थियो ।
नेपालमा ‘लोकतन्त्रको स्थापना’, ’लोकतन्त्रको स्थायीत्व’को खूब चर्चा चल्ने गरेको थियो । त्यो लोकतन्त्रको मोडेल कस्तो हुने ? भन्ने प्रश्न पनि उठिरहेको थियो । विशेषतः लोकतन्त्रको वकालत गर्नेहरुले यही छिमेकी देशको मोडेललाई पछ्याउन खोजिरहेका थिए । शान्ति सम्झौताले क्रान्तिको मुख्य माग जनगणतन्त्रलाई छाडेर यही मोडेलको लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गरेको छ भन्ने चर्चा चलिरहेको थियो ।
जेलको गेट भित्र हुले पछि उसको हत्कडी पनि खोलिएको थियो । दिनभरी हत्कडी लगाएर अहिले खोल्दा उसलाई आफ्नो हात हलुको भए जस्तो लागिरहेको थियो । साँझ पर्न लागिसकेको थियो । उसलाई भोकले के खाउँ के खाउँ जस्तो भै रहेको थियो । तर जेलको खोर भित्र पस्ने घंटी बजिसकेको थियो । उ आफ्नै सेल भित्र पस्यो ।
लामो यात्राको कारण थकाई त लागेको थियो । भोक पनि सँग सँगै लागिरहेको थियो । सेल भित्र खाने कुरा केही थिएन । उसले निदाउने प्रयास ग¥यो, तर निदाउन सकेन । उसका मनमा कुरा खेल्न थाले । प्रायः जेलका वन्दीहरुलाई यही समस्या हुने गरेको पाइन्छ, मानसिक तनाव र निद्रा नलाग्ने समस्या । धेरै जना वन्दीहरु डिप्रेसनको शिकार हुने गर्दछन् ।
नचाहेर पनि उसको मनमा विविध विचार र सोचहरु आइनै रहेका थिए—यहाँ लोकतन्त्र वा लोकतान्त्रिक गणतन्त्र छ भनिन्छ । नभोग्नेका लागि त त्यो राम्रै होला भन्ने लाग्दो हो । तर के यो साँच्चै जनताका लागि चाहिने गणतन्त्र हो त ? हुँदै नभएका घटना सिर्जना गरेर राज्यले नै झुठा मुद्दा लगाउने यो कस्तो लोकतान्त्रिक गणतन्त्र ? एकपटक आरोपीलाई आफ्नो सफाई पेस गर्ने मौका पनि नदिइकन आतंककारी घोषित गरी यातना दिने कस्तो गणतन्त्र अनि स्वतन्त्र न्याय प्रणाली ? मुठीभर मानिसले आफ्नो स्वार्थका लागि लाखौंको उत्पीडन गर्न राज्यको प्रयोग गर्न पाइने, यो कस्तो लोकतान्त्रिक गणतन्त्र ?
उसले कम्युनिष्ट पार्टीहरुका विषयमा सोच्न थाल्यो—यस राज्यमा लामो समयदेखि कम्युनिष्ट पार्टीको शासन चलिरहेको भनिन्छ । तर यही सरकार कम्युनिष्टहरु प्रति यतिधेरै असहिष्णु किन ? के यो हँसिया हथौडाका बिरुद्ध हँसिया हथौडाको प्रयोग भएन र ? के यो रातो झण्डाका बिरुद्ध रातो झण्डाको प्रयोग भएन र ? आखिर हामीले नेपालमा जन गणतन्त्रको स्थापना गर्दा यिनीहरुलाई यत्रो टाउको दुखाई किन ? यस्तै यस्तै सोचाईका शृंखला उसको मस्तिष्कमा निरन्तर आइनै रहेका थिए । जेल सुरक्षा गार्डले रातीको ३ को घंटी हानिसकेको थियो ट्वाड्..ट्वाड्…ट्वाड.् । बिहान जेल गार्डले बाहिरको ताल्चा खोलेर ‘उठो, उठो..’ भनेर कराएको आवाजले उ ब्यँुझियो ।
गजुरेलकाे हालै सार्वजनिक झुल्कदाे घाम कथा संग्रहबाट