पृष्ठभूमि
साहित्य र राजनीति भिन्न पाटा बताउँदै साहित्यमा राजनीतिक गन्ध देखिनसहने साहित्यकारले विशुद्ध साहित्यका नाममा समाजको लामो कालखण्डमा विभिन्न प्रकारका भ्रमजाल पैदा गर्दै आएको पाइन्छ । तथापि, समाज रूपान्तरणका क्रममा देखिएका विभिन्न कालखण्डमा उदाएका स्रष्टाले सिर्जना गर्ने साहित्यमा आफ्नो वर्ग र सत्ताको पहरेदारी गरेको पाइन्छ ।
जसरी समाजलाई बुझ्ने र बुझाउने आमदृष्टिकोणमा भिन्न विचार वा दृष्टिकोण रहेको छ त्यसरी नै साहित्यलाई बुझ्ने र बुझाउने एवं परिभाषित गर्ने सवालमा पनि पृथक् सोचाइ रहेको पाइन्छ । लामो समयदेखि समाजमा रहेको वर्गसंघर्षले निर्माण गरेको विचार, मूल्य–मान्यता, राजनीति र आस्थालाई साहित्यमार्फत वर्गीय पक्षधरता व्यक्त गर्न पुग्दा देखिने विचार वा दृष्टिकोणमा साहित्यकारमा विविधता देखिन पुग्छ । जो स्वाभाविकै हो । यहाँ जनसाहित्य भनेको के हो ? जनसाहित्यको सिर्जना किन आवश्यक छ ? जनसाहित्यकारले कसरी इतिहास बोध गर्नुपर्छ ? जनसाहित्यले समाज रूपान्तरणका लागि कसरी महत्वपूर्ण योगदान दिन सक्छ भन्नेबारे सामान्य चर्चा गर्ने जमर्काे गरिएको छ ।
जनसाहित्य
सामान्य बुझाइमा जनताका लागि लेखिने साहित्य नै जनसाहित्य हो । जनता को हुन् ? प्रश्न जटिल र विशाल छ । जनतालाई बुझ्ने दृष्टिकोणमा विविधता रहेको पाइन्छ । एकथरी भन्ने गर्छन्, सम्बन्धित देशको भूभागमा रहने सबै नागरिक जनता हुन् । सतहीमा हेर्दा यो कथन सत्यजस्तै देखिए पनि यो भनाइ पूर्ण सत्य भने होइन । थोरै मानिसले धर्म, संस्कार, संस्कृति समेतलाई राज्यसत्ताको आड लिएर विभिन्न भ्रमजाल फैलाउँदै बहुसंख्यक जनतालाई विविध शोषण गरेका हुन्छन् ।
धेरैले धेरैलाई कथित मानवताको नाममा भ्रमजाल पैदा गर्दै शोषण गर्ने प्रारुप तयार पार्ने हँुदा जनताभित्र सबै जनता समेटिन सक्दैनन् । थोरै टाठाबाठा राज्यसंयन्त्रमा तर मार्ने र तिनकै दलालबाहेक श्रमजीवी बहुसंख्यक जनता नै वास्तविक जनतामा पर्छन् । तिनीहरूको जीवनसंघर्ष, त्याग बलिदान र मुक्तिका लागि संगठित हुन प्रेरणा दिने साहित्य नै जनसाहित्य बन्न पुग्छ ।
ऐतिहासिक वर्गसंघर्षरूपी यात्रालाई सचेतपूर्ण रूपले चिर्दै बुर्जुवा सुधारवादीहरूका काला एवं कुटिल कर्तुतलाई जनतासामु नंग्याउँदै वास्तविकता बोध गराउन बहुसंख्यक जनताको पक्षमा लेखिने साहित्यलाई जनसाहित्य भनिन्छ । जनसाहित्यमा बहुसंख्यक श्रमजीवी, गरिब किसान, मजदुर, श्रम–पसिना बगाउने भूमिहीन किसान र तिनका पक्षधरको मुक्तिका लागि हुने वर्गीय द्वन्द्व र वर्गीय संघर्षको परिणाम बहुसंख्यक जनताको मुक्ति र उनीहरूको वर्ग सत्ताको स्थापना गर्न ऊर्जा प्राप्त हुनसक्ने तागत वा क्षमता लुकेको साहित्य नै जनसाहित्य हो ।
जनसाहित्य सिर्जनाको उद्देश्य
माथि उल्लेख गरिएअनुरूप समाजको एउटा ठूलो वर्ग राज्यबाट उपेक्षित छ । राज्यका विभिन्न निकायबाट जनताकै नाममा सीमित वर्गले बहुसंख्यक जनताको शोषण गरेको पाइन्छ । समाजमा आएको परिवर्तनसँगै परम्परागत शोषणका रूप फेरिने गर्छन् । जसरी समाज र जनतालाई बुझ्ने दृष्टिकोणमा विविधता आउँछ त्यसरी नै साहित्य लेखनमा वा सिर्जनामा पनि जीवन, जगत् वा विश्व ब्रह्माण्ड तथा परिवर्तन गर्दै समुन्नत बनाउने कुरामा आएको विचार वा दृष्टिकोणलाई जनताका पक्षधरले साहित्यमार्फत सिर्जनात्मक भनाइ व्यक्त गर्दा सुन्दर भावना पैदा हुन पुग्छ ।
जुन सिर्जनाले लामो समयदेखिको शोषण, उत्पीडनको वास्तविकताको बोध मात्र हुँदैन, त्यसको उन्मुक्ति समेतको पथप्रदर्शन गर्न पुग्छ । मानिसलाई धर्मको नाममा संस्कृति वा प्रथा परम्पराको नाममा कसरी लामो कालखण्डमा विभिन्न भ्रमजाल सिर्जना गर्दै एउटा विशाल जनसंख्यालाई गुलामी गर्न बाध्य पारिनुका पृष्ठभूमिमा रहेका तमाम अवैज्ञानिक पद्धति र परम्परागत राज्यशक्तिले कसरी नागरिकलाई अन्धकारमा राखेर उनीहरूको नाममा उनीहरूलाई नै ठगिरहेको छ त्यसको यथार्थता मात्र जानकारी दिने होइन, आपूmमाथिका अन्याय शोषणको उन्मुक्तिका लागि वास्तविकताको बोध गराउनु जनसाहित्यको उद्देश्य रहेको पाइन्छ ।
जनसाहित्यले इतिहास बोध
राजनीति जनताका लागि जनताले नै गर्ने हो । विश्व इतिहासको रंगमञ्चमा वर्तमानसम्म आइपुग्दा थुप्रै प्रयोग भइसकेका छन् । साम्राजवादी शक्तिसम्पन्न राज्य तथा विश्वका उत्पीडनमा बाँचेका राज्यभित्रका अन्तरविरोध प्रशस्त मात्रामा जीवित रहेकै छन् । साम्राज्यवादी, विस्तारवादी राज्यले विश्वलाई आफ्नो अनुयायी बनाउन वा आफ्नो पक्षको प्रभुत्व स्वीकार गर्न बाध्य पारिँदै विश्वका विभिन्न देशमा आ–आफ्ना पक्षका समर्थकका झुण्ड निर्माण गरिरहेका छन् ।
यसै बीचमा पनि विश्वका शोषित, पीडित जनताको मुक्तिका लागि विभिन्न स्थान, देशमा भएका मुक्ति युद्धमा जनताको विजयका लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमै सहयोग र समर्थन भइरहेको पाइन्छ । यसरी वर्ग कित्ता विभाजित वर्तमानमा साहित्य पनि वर्गीय हुने कुरामा निर्विकल्प छ । वर्गीय मुक्तिका लागि आफ्नो जीवन उत्सर्ग गर्ने एउटा त्यागी संघर्षरत वर्गलाई आफ्ना राष्ट्रिय र अन्तर्राष्ट्रि«य ख्वामितहरूबाट परिचालित वर्गले विभिन्न कालखण्डमा दिग्भ्रमित पार्ने कार्य गरिरहेको हुन्छ ।
वर्तमानसम्मको वर्गसंघर्षको इतिहासलाई सही दिशामा बढ्न नदिन दक्षिणपन्थी, सुधारवादी नवसंशोधनवादीले विभिन्न तर्क–कुतर्क दिँदै समाजमा दिग्भ्रमित पारिरहन्छन् । यस्तो अवस्थामा जनसाहित्यकारले दृढसंकल्पित हँुदै इतिहासको बोध हुन नसकेर, नजानेर वा नबुझेर जनसाहित्यको नाममा घुमाइ–फिराइ जनताको विपक्षमा आफ्ना सिर्जनामार्फत जनतालाई झुक्याइरहेको पाइन्छ ।
वर्तमानमा नेपालको सन्दर्भमा पनि वर्गसंघर्षमा रत्तिभर विश्वास नगर्ने सुधारवादी, नवसंशोधनवादीले आफूलाई जनसाहित्यकारको नाममा प्रस्तुत गरे पनि उनीहरूले अन्टसन्टको उदाहरण दिँदै वर्गसंघर्ष, बल प्रयोगको सिद्धान्त, सर्वहारा वर्गको अधिनायकत्व स्विकार्न यो या त्यो बहानामा हिचकिचाउँछन् । अतः समयको बोध, जनताको उन्मुक्ति, शोषणविहीन समाजको परिकल्पना त्यो साहित्यकारले मात्र कलम चलाउन सक्छ जसले इतिहासको वास्तविक बोध गर्दै वर्ग दुस्मनको पहिचान गर्दै वास्तविक जनताका लागि साहित्य सिर्जना गर्न सकोस् ।
जनसाहित्यले समाज रूपान्तरण
समाज निर्माणको लामो शृंखलामा पछि परेको मानव समुदाय राज्यका विविध सुविधाबाट वञ्चित हुनको कारण र वर्तमानसम्म पनि पूर्ण मानवको स्थान प्राप्त हुन नसक्नु खेदपूर्ण नियति हो । मानव पूर्ण मानवमै जिउन नसक्नुको तीतोसत्यलाई वैज्ञानिक पद्धतिले विश्लेषण गर्दा मात्र धर्म, संस्कार, जीवन र जगत्लाई हेर्ने दृष्टिकोण राज्यको शासन प्रणाली, समाज रूपान्तरणका अवयवहरूको चिरफार गर्न सकिने भएको हँुदा जनसाहित्यले नवीन विचार प्रवाह गर्न सक्षम हुँदै समाजलाई रूपान्तरण गर्न मद्दत गर्दछ ।
जुन साहित्यले वास्तविक यथार्थको जानकारी दिँदै जनताका सुख–दुःखमा साथ दिँदै जनतालाई वर्गीय माया प्रेमको भावना पैदा गर्दै वर्गीय मुक्तिका लागि संगठित हुन प्रेरणा दिन्छ त्यस्तो साहित्यको सिर्जनाले समाज रूपान्तरण गर्न सहयोग गर्छ । जुन साहित्यले सामाजिक कर्तव्यको बोध गर्र्दै ल्याएको परिवर्तन बहुसंख्यक जनताको हितमा हुन्छ, त्यस्तो सिर्जना समाज रूपान्तरणका लागि प्रेरणा बन्न पुग्छ । राष्ट्रिय स्वाधीनता र वर्ग मुक्तिका लागि हुने वर्गसंघर्षलाई तोडमोड गरी शिथिल पार्ने वा ढाकछोप गर्ने जस्ता कार्यलाई भण्डाफोर गर्दै जनताको मुक्तिका लागि प्रतिबद्ध कुशल स्रष्टाले जनसाहित्यमार्फत समाज रूपान्तरण गर्न सक्छ ।
उपसंहार
जनताको पक्षमा लेखिने साहित्य नै जनसाहित्य हो । अन्य क्षेत्रजस्तै साहित्यमा पनि विभिन्न दृष्टिकोण पाइन्छ । साहित्य मनोरञ्जनका लागि, आनन्दका लागि हुनुपर्छ र राजनीतिदेखि टाढा रहनुपर्छ । साहित्यमा राजनीति गन्ध कदापि आउनु हँुदैन । साहित्य र राजनीतिक पाटा पृथक् भएका जस्ता विभिन्न तर्क–वितर्क नभएका होइनन् ।
समाज निर्माणको लामो कालखण्डमा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण नै समाज बुझ्ने÷बुझाउने वैज्ञानिक दर्शन मान्नेहरूले जनतालाई जागरुक बनाउन यथार्थवादी दृष्टिकोणअनुरूप समाजको सत्य–तथ्य बाहिर ल्याउने मात्र होइन, समाज परिवर्तनको संवाहकको भूमिका जनसाहित्यले निर्वााह गर्न सक्छ । जनताका लेखकहरूले जनतालाई मुक्तिका लागि अग्रसर बनाउन प्रेरणा दिने साहित्य नै जनसाहित्य हो । जनताका साहित्यकारले समय बोध गर्दै श्रमजीवी वर्गको वास्तविकता थाहा पाउँदैनन् र विविधखाले शोषण अन्त्य गर्नका लागि जनसाहित्य सबैको साहित्य बन्न सक्छ ।