२ कात्तिक, २०७३ । कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले नेपाललाई हिन्दू राज्य बनाउनु पर्छ भनेर दिएको अभिव्यक्तिको सार्वजनिक चर्चा सेलाउन नपाउँदै कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद फरमुल्लाह मन्सुरले संविधान संशोधन गरेर मधेसी, मुस्लिम र थारुलाई अधिकार नदिए देश टुक्र्याउने चेतावानी दिएका छन् ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले ९० प्रतिशतले जारी गरेको संविधान १० प्रतिशतले मान्दिन भन्दैमा बिना औचित्य संशोधन हुँदैन भनेकोतर्फ संकेत गर्दै यस्तो चेतावानी दिएका हुन् ।
संविधानको कार्यान्वयन रटान लगाइरहेका ठूला पार्टीहरुका लागि तिनै पार्टीका नेताहरु चुनौती बनेर खडा हुन थालेका छन् । धर्मनिरपेक्षताको पक्षमा पार्टीकै संस्थागत निर्णका बर्खिलापमा पार्टीकै महामन्त्री देखिएपछि कांग्रेसप्रति आम जनताले शंकाको दृष्टिले हेर्न थालेका छन् भने केन्द्रीय सदस्य मन्सुरको देश टुक्र्याउने चेतावानीले संविधानको कार्यान्वयन निकै चुनौतीपूर्ण रहेको देखिन्छ ।
कांग्रेस महामन्त्री कोइराला र केन्द्रीय सदस्य मन्सुर दुवैको लोली दिल्लीको बोलसँग मिल्न पुग्नुले नेपालको राजनीतिमा अर्को खेल सुरु भएको सहजै बुझ्न सकिन्छ । अब दिल्लीले कांग्रेसलाई उचालेर माकेलाई अर्थात् प्रचण्डलाई पछार्ने खेल सुरु गर्न थालेको आभाष यी भनाइहरुले दिएको बुझ्न सकिन्छ । अब दिल्लीका लागि प्रचण्डको उपयोगिता सकिएको छ । प्रचण्डलाई फुक्र्याएर दिल्लीका शासकहरुले जे जति लिनु थियो, त्यो लिइसके । अब दिल्लीले कांग्रेस, एमाले, दरबारिया शक्ति र मधेशवादीहरुको अर्को गठबन्धनतिर कदम बढाएको पछिल्ला केही घटनाक्रमहरुले संकेत गरेका छन् ।