
२ कात्तिक, २०७३ । भारतको उडिशा राज्यको राजधानी भुवनेश्वरको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तिमा २३ जनाको मृत्यु भएकोे खबर छ ।
इन्स्टिच्युट अफ मेडिकल साइन्सेज एण्ड एसयूएम अस्पतालको डायलिसिस वार्डबाट सुरु भएको आगलागीले आइसीयू वार्डलाई प्रभावित पारेपछि विरामीहरलाई बाहिर निकालिएको थियो ।
विरामीमध्ये १४ जनालाई सरकारी अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । घाइते ३२ विरामीलाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ । बिरामीका आफन्त घाइते बिरामीको खोजीमा अस्पतालहरु चाहारी रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।
आगलागी नियन्त्रणमा लिन सातवटा दमकलको प्रयोग गरिएको थियो । उडिसाका मुख्यमन्त्री नवीन पटनायकले खुर्दा जिल्लाका कलेक्टरसँग घटनाबारे जानकारी लिएका छन् ।
मुख्यमन्त्री क्यापिटल अस्पतालमा भर्ती भएका बिरामीको अवस्था वुझन गएका थिए । र, उनले घटनाको जाँच गर्न आदेश दिए । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दे घटनामा शोक व्यक्त गरेका छन् ।



