भाषालाई माया र जातिलाई सम्मान

भाषालाई माया र जातिलाई सम्मान

परिचय
हामी सबै नेपाली हौं र हामी सबैको देश हो नेपाल । नेपाल छ र नै नेपाली जातिको अस्तित्व छ । भाषाले जातिको अस्मितालाई प्रकट गर्छ भने जातिको जीवन्तता भाषामा सन्निहित हुन्छ । अतः भाषाको सम्मानजनक प्रयोग नै जातिको सम्मानजनक उपस्थिति भन्ने स्पष्ट हुन्छ ।

नेपालका जाति र भाषा

‘ग्रेटर नेपाल’ को नक्सा सुगौलीसन्धी पछि खुम्चिएर मेची र महाकालीका बिचको भू–भागमा सीमित भए पनि नेपालमा बोलिने भाषा र जाति चाहिं भौगोलिक सीमाङ्कनमा अट्न सकेन । ‘नेपाल’ देश विश्व मानचित्रमा सारै सानो देखिने भएतापनि यहाँ बस्ने जाति र उनीहरूले बोल्ने मातृभाषाको संख्या चाहिं दश दर्जन भन्दा बढी नै छ । नेपालमा जापानी अनुसन्धानकर्ता तोवाले सत्तरी ओटा र अमेरिकन अनुसन्धाता माइकल नुन्नले एकसय चालिस भातृभाषा भएको (पोखरेल, २०६५ःहार्दिक बधाइ) लगत एकातिर सारेका छन् भने २०६८ को जनगणनाले चाहिं १२३ मातृभाषा बोल्नेको तथ्याङ्क अगाडि ल्याएको छ । नेपालको जनगणनाको पछिल्लो तथ्याङ्कले यहाँ १२३ जातिको र भाषाभाषीको गौरवमय उपस्थिति छ भन्ने पुष्टि गर्दछ भने यी जाति र भाषाका बारेमा गरिएका शोध–खोजलाई सम्मानजनक व्यवहार गर्नु राष्ट्रकै दायित्व भित्रको कुरा हो ।

‘नेपालको अन्तिरिम संविधान २०६३’ ले नेपाल भित्र बोलिने सबै मातृभाषानै ‘राष्ट्रभाषा’ हो भनेर स्पष्ट किटान गरिएको छ । ‘छथरे लिम्बु’ भाषामा अध्ययन–अनुसन्धान गर्ने गोविन्द तुम्वाहाङ हुन् वा ‘धनकुटे तामाङ भाषा’ को अध्ययन गर्ने केदार पौडेल अथवा झाँगड भाषाको अध्ययनमा लागेका विश्वनाथ भण्डारी नै किन नहुन् उनीहरूका अध्ययन अनुसन्धान राष्ट्रकै लागि हुन् भनी गौरव गर्नैपर्छ । त्यस्तै टंक नेउपानेले आठपहरिया राई भाषामा नोवलकेमी राईले पुमा राई भाषामा, हर्ष बहादुर बुढा मगर र लोक बहादुर थापा मगरले मगर भाषामा, राजेन्द्र ‘विमल’, रामाबतार यादव, योगन्द्र प्रसाद यादव आदिले मैथिली भाषा र साहित्यमा , सुन्दरकृष्ण जोशी, रुद्रलक्ष्मी श्रेष्ठ, ओमकारेश्वर श्रेष्ठले नेपाल भाषामा, विश्वनाथ पाठकले अबधीमा, विश्वम्भर शर्माले भोजपुरीमा, खेम कोइराला ‘बन्धु’ हरिभक्त नेउपाने, घनश्याम न्यौपाने आदिले हिन्दी नेपालीको तुलनात्मक अध्ययन र मखना पुन कायस्थले मगर संस्कृतिमा अनि सीता भण्डारी पौडेलले उराँव संस्कृतिमा र प्रा. मेदिनीप्रसाद नेपालले थारु संस्कृतिमा गरेको अध्ययन अनुसन्धान राष्ट्रकै निधि हुन् जसको सम्मान र कदर गर्नाले नै राष्ट्र भाषाको र संस्कृतिको सम्मान हुन्छ । यो कुनै व्यक्ति विशेषको सम्मान नभएर समग्र भाषा संस्कृतिकै सम्मान हो । भाषालाई माया गर्नु भनेको नै सम्मान गर्नु भनेको हो । अनि जहाँ भाषाको माया प्रकट हुन्छ त्यहाँ जातिको सम्मान चुलीमा पुगेको बोध हुन्छ ।
हो, मलाई कुनै व्यक्ति मन नपर्न सक्छ । सबै मानिस सबैका प्रिय नहुन सक्छन् । कोही व्यक्ति कसैको लागि प्रिय लाग्लान् अनि सकैका लागि अप्रिय लाग्लान् । यो प्रिय लाग्नु र अप्रिय लाग्नु उसको छनौटमा निर्भर रहने कुरा हो । यो वैयक्तिक कुरा हो र नितान्त निजी कुरा हो । परन्तु आप्mना नीजि धारणाको तुष्टिका लागि राष्ट्रको धारणलाई नै कसैले जानेर वा नजानेर प्रभावित पार्नु भनेको राष्ट्र विखण्डनको बीजारोपण गर्नु हो । भाषा–विकास र विस्तारमा अध्ययन–अनुसन्धानमा यदाकदा गलत सूचना प्रवाहित भएका र भाषा निषेधको कुरा पनि चलेको देखिन्छ । परन्तु ती कुरा जसले जुन उद्देश्य लिएर गरेका भए पनि ती गलत नै हुन् र तिनको जताततै भण्डाफोर हुनुपर्छ । यदि भाषा–निषेधको गलत चिन्तनलाई बेलैमा रोक्न सकिएन र ‘उकेरा दिने’ काम गरियो भने त्यसले ‘राष्ट्रभाषा’ को समृद्धिलाई भष्म पार्छ भने राष्ट्रिय एकतालाई नै अन्ततः कमजोर पार्छ । यो देशमा १२३ भाषाले राष्ट्रभाषाको मान्यता पाएको सन्दर्भमा त ती सबैको उत्थान र उन्नयनमा राष्ट्रका नीति निर्माण तहमा रहेका व्यक्तिहरुले अझ चनाखो भई नीति नियममा सुधार गर्न उदार हुनैपर्छ । नत्र भने ‘यो गणतन्त्र’ ‘गाणतन्त्र’ मा परिणत हुन बेर लाग्ने छैन । यहाँ मुखले ‘रामराम’ र ‘बगलीमा छुरा’ धस्नेहरुको पनि उत्तिकै बिगबिकी रहेको छ । मातृभाषाको विकास र विस्तारमा छुरा चलाउनेहरुलाई बेलैमा चिनौं र उनीहरुका कालाकर्तुतलाई व्यवहारिक झापट दिन पछि नपरौं । यसो भएमा मात्र १२३ भाषाको उत्तिकै मर्यादा भएको र गरिएको ठान्न सकिन्छ । बेलैमा सबैले सचेत भया ।

निचोड

हामी नेपाली जाति, हाम्रो नेपाल–सबैको नेपाल हो । यो बोध यस देशका १२३ जातिले र भाषाभाषीले नै गर्नु प¥यो । यसो गर्नका लागि कसैले पनि हेपिएको, ठगिएको, थिचिएको–मिचिएको अपहेलितको अनुभूति हुनु भएन । सबै जातिले, सबै भाषाले–संस्कृतिले फक्रिने र फस्टाउने अवसर बरावरी रूपमा पाउनुप¥यो । अतः नेपालका १२३ भाषा र संस्कृतिको जगेर्ना गर्नु सबै नीति निर्माताहरूको परंकर्तव्य हो भने शैक्षिक जगत्मा क्रियाशील तपाईं हामी सबै तप्काका व्यक्तिहरुको पनि सबै भाषा–संस्कृतिको जगेर्ना गर्नु उत्तिकै दायित्व हैन र ?