यो काम कल्ले सम्पन्न गर्छ ? भनेर प्रश्न गरियो । ‘म सम्पन्न गर्छु ।’ मैले उत्तर दिएँ । त्यो गर्नै पर्ने खालको काम हो र मैले पूरा गर्न सक्छु भन्नेमा म विश्वस्त थिएँ । त्यहाँ उपस्थितहरूको भेलाले त्यो कामको नेतृत्व मलाई नै दिने निर्णय ग¥यो । एउटा गहन जिम्मेवारी आफ्नो काँधमा आइपुगेकामा म खुसी भएँ । मलाई समाजले पत्यायो । त्यहाँ आफूले प्राप्त गरेको जिम्मेवारीको विषयमा एउटा संक्षिप्त मन्तव्य नै दिएँ । मेरो मन्तव्य सुनेर पीडितहरू भावविभोर भए र आँखाबाट आँसु खसाले । त्यो काम सम्पन्न गर्ने वचनबद्धता जाहेर गरेर म त्यहाँबाट हिँडेँ ।
अर्को ठाउँमा पुग्दा अर्को भेला चलिरहेको थियो । त्यहाँ पनि एउटा महत्वपूर्ण काम सम्पन्न गर्न सक्ने इमान्दार मान्छेको खोजी भइरहेको थियो । विभिन्न मान्छेका नामहरू प्रस्तावित हुँदै थिए । निर्णय होला होला झैँ हुने र हुन नसक्ने भइरहेको थियो । चर्काचर्की बहस नै चल्न थाल्यो । दिन घर्कँदै गइरहेको थियो । मान्छेहरू आ–आफ्ना घर फर्कन हतारो गरिरहेका थिए । नेतृत्व चयन नगरीकन छाड्नु पनि हुँदैनथ्यो । यसै मेलोमा कुरैकुरामा होहल्लाका बीचमा लौ यसको नेतृत्व तपाईँले नै गर्नुस् भनेर प्रस्ताव मतिर तेस्र्याए । उपस्थित सबैले परर्र ताली बजाए । यसो विरोधको स्वर पनि कतैबाट उठेन । काम यो पनि कम महत्वपूर्ण थिएन । यत्रो ठूलो जिम्मेवारी पूरा गर्ने अवसर आइलागेकोमा मैले आफूलाई भाग्यमानी ठाने । अझ त्यत्रो विवादका बीचमा आफू सर्वसम्मत हुन पाएकोमा मेरो आत्मगौरवको भावना पनि बढेर आयो । आफूउपरको त्यो विश्वासलाई मैले कसरी इन्कार्न सक्थेँ र ! ‘हुन्छ ।’ भनिदिएँ ।
साँझ घरमा पुगेर विचार गरेँ— ओहो ! मैले त एकै साथ दुई ठूला ठूला जिम्मेवारी बोकेर पो आएँ त । अब जिम्मेवारीलाई कसरी पूरा गर्ने होला ? घोत्लिन थालेँ । मन आकासिँदै आकासिँदै कता हो कता पुग्योे । कतिबेला झल्याँस्स भएँ र यो उडुवा मनलाई यथार्थको धर्तीमा ओराल्ने प्रयत्न गरेँ । विस्तारै यो मन समेलिएर आयो—आखिर नेतृत्व लिने भनेको सम्बन्धित सबै मान्छेसित सल्लाह र सहयोग लिएर धैर्यपूर्वक इमान्दार भएर सक्रियतापूर्वक अगाडि बढ्ने काम त हो नि ! मैले विषयलाई सहजीकरण गरेँ । योजनाका खाका कोरेँ । गर्न पर्ने कामका विवरणहरू उतारेँ । त्यसको क्रम निर्धारण गरेँ । तत्तत् कामका निमित्त योग्य साथीहरूको छनोट पनि गरेँ । त्यहाँ म कुनै बदनियतले बोलेको थिइन । बिगार्ने उद्देश्यले मैले कुनै पनि काम जिम्मा लिएको छैन ।
हुन पनि ढङ्ग पु¥याएर काम गर्न जान्ने हो भने मान्छेले एकैसाथ ठूला ठूला कामहरू सम्पन्न गर्न सकेका उदाहरणहरू इतिहासमा पसी हेर्दा प्रसस्तै पाइन्छन् । सोचले खाम्छ कि खाम्दैन र ढङ्ग पुग्छ कि पुग्दैन भन्ने कुरा भिन्नै हो । त्यसो त धेरैतिर छरिएका कारणले प्रतिभासम्पन्न मान्छे पनि फ्यास न फुस भएर बिलाएका उदाहरण पनि नभेटिएका होइनन् ।
जेहोस् मैले काम सुरु गरेँ । टिमका साथीहरूले साथ दिएकै थिए । कामहरू राम्रैसित अगाडि बढेकै थिए । त्यही चार पाँच महिना पछि फेरि अर्को एउटा ठूलै थप जिम्मेवारी आइप¥यो । त्यो सम्पन्न गर्न पनि मैले नै पर्छ भन्ने लाग्यो । जिम्मेवारीबाट भाग्न हुँदैन भन्ने ठानेँ । विश्सासलाई जसरी पनि बोक्नु पर्ने अर्थ लगाएँ । अनि मैले सहर्ष पदभार ग्रहण गरेँ । एवंरीतले नयाँ नयाँ जिम्मेवारीहरू आइलाग्ने क्रम टुटेनन् । मैले त्यसलाई स्वीकार गर्ने क्रम पनि यथावत् चलि नै रह्यो ।
अब म एकैसाथ दसवटा संस्थाको नेता भएँ । काम गर्न त के, बैठकमा उपस्थित हुन समेत् गारो पर्न थाल्यो । कामहरू जतासुकै भद्रगोल भएर गए । जीवन बैठकमय बन्न पुग्यो । उपलब्धी देखाउने ठाउँ भने कतै बाँकी रहेन । अघि आदरले रोएकाहरू अब आजित भएर रुने स्थिति आयो । मेरो मनोदशाबाट सुल्झन विस्थापित भएर गयो र उल्झन आएर बसिरह्यो । चिन्ता बढ्यो, भोक र नीद घट्यो ।
जता ओरालो भेट्यो त्यता बगिहाल्ने पानीजस्तो तरल भावनाले मलाई आकारहीन प्राणीमा रूपान्तरित गरिदियो । छिनछिनमा बदलिन्छ मन । एउटै कुरामा अडिरहन गारो पर्छ । आफ्नो सामथ्र्य बिर्सेर बढी बोल्ने नेताजस्तै भएको छु म हिजोआज । कसैले पत्याउँदैनन् म बोलेको ! मेरो अनुपस्थितिमा मान्छेहरूले मेरो नाम फेरिदिएका छन् रे— हुन्छप्रसाद ।