एजेन्सी । अमेरिकी राष्ट्रपतिका लागि आगामी नोभेम्बर ८ मा हुने निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनबीच आरोप प्रत्यारोप चलेको छ ।
पहिलो टेलिभिजन बहसमा दुई प्रतिस्पर्धी ट्रम्प र हिलारीबीच रोजगारीको सिर्जना र आतंकवाद नियन्त्रणलगायतका विषयमा बहस भएको छ ।
बहसका क्रममा व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएका क्लिन्टन र ट्रम्पले एक अर्कालाई राष्ट्रपतिका लागि अयोग्य भएको आरोप लगाए ।
ट्रम्पले अमेरिकी राष्ट्रपति बन्नका लागि हिलारीको स्वभाव राम्रो नभएको र अन्य हिसाबले पनि अमेरिकालाई नेतृत्व प्रदान गर्न योग्य नभएको दाबी गरे भने हिलारीले ट्रम्पले राज्यलाई कर छली गरेको आरोप लगाइन् ।
बहसमा ट्रम्पले हिलारी क्लिन्टनसँग रोजगारी अभिवृद्धिको कुनै योजना नरहेको आरोप लगाए । जवाफमा हिलारीले लगानीलाई बढाउने र कम्तीमा पनि १ करोडलाई नयाँ रोजगारी सिर्जना गर्ने दाबी गरिन् ।
ट्रम्पले भने आफूले राज्यलाई कर तिरेको र त्यसका सबै प्रमाणहरू सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दै हिलारीले सर्बरबाट हटाएका ३० हजारभन्दा बढी इमेलको छानविन हुनुपर्ने बताए ।