श्रद्धेय विश्वविद्यालयका बाजे !
म पूर्वी नेपालको कृष्णगर्तबाट तपाईंलाई सम्झँदै छु । यसलाई के लहड चलेछ नभन्नु होला । मेरा कुरा चानचुने पनि नठान्नु होला । जब मैले होस समालेँ, त्यसै दिनदेखि म एक काममा जुटेको छु । सफलताको छेउछाउ पनि पुगेको छैन । त्यसैले मनका गन्थन तपाईंकहाँ ओछ्याउँदै छु । मैले सारालाई हेरिसकेँ ।
साराको मनभित्र एकएक गरी पसिसकेँ । अलिक त कुरो खरो छ । साँच्चै दह्रो पनि छ । र, धेरै मध्येमा तपाईं नै बाँकी एक हुनुहुन्छ । हेर्नुस्, अब सारा हटिसकेँ । छट्ने पनि छँटी सके । मात्र तपाईं रहनु भएको छ । झिनो आश अझै ज्युँदै छ । यस नाथेको कुरो चाहिँ के रहेछ भन्नुहोला । धेरै शब्द नखर्ची भन्दै छु । कृपया, यसलाई सकारात्मक ठान्नुहोला । जस्तो भए पनि एक पटक गम्भीर भइदिनुहोला । यो मेरो अनुरोध मात्रै होइन । चुनौती मिश्रित तपाईंको एक परीक्षा पनि हो । मैले खोजेको कुरो हो–
छाडेर काम सारा, एक काम रोजी रैछु
यो देशमा म एउटा मानिस खोजी रैछु ।
श्रद्धेय विश्वविद्यालयका बाजे ! समरयात्राका यात्रीहरू कहिल्यै थाक्दैनन् । गन्तव्य यात्रामा नपुगी विश्राम लिँदैनन् । कसैको ललिपपमा भुलेर अलमल गर्दैनन् । जनकल्याण र राष्ट्रिय स्वाभिमानलाई शिरमा राखेर अविरल यात्रा गरिरहन्छन् । भोक र तीर्खाले, झरी र बादलले, लोभ र मोहले, धाक र धम्कीले उनीहरूलाई गाल्न र ढाल्न सक्दैन । उनीहरूको शरीर नै स्पातले बनेको हुन्छ । उनीहरूको खुशी नै स्वाधीनता र स्वाभिमानमा लुकेको हुन्छ । तर दुर्भाग्य ! म त यहाँ विश्राम देखिरहेछु । म त यहाँ द्धिविधाको अन्तद्र्वन्द्वमा फँसिरहेको भोगिरहेछु । कछुवाचाले गतिमा यात्रा थाल्दा सगरमाथा परपर सर्छ भनिरहेछु ।
श्रद्धेय बाजे ! मैले यी शब्द जोडिरहँदा सूर्यलाई बत्ती देखाएझैं लागेको छ । के गर्ने ! मनको छटपटी लुकाउन नसक्ने अवस्थामा पुगेको छु । नभनूँ भन्नै पर्ने ! भनूँ भन्नै नसकिने ! तैपनि म कुरो नलुकाई लेख्दै छु । सानो मगजका साना कुरा एकोहोरो सुनाउँदै छु । र, खबरदारी गर्दै छु– सानो भनेर पर नपन्छाउनुहोला । किनकि सलाईको काँटी पनि सानै हुन्छ र हात्तीको टाउको माथि बसेको माउते पनि तुलनामा सानै हुन्छ ।
कुरा बुझ्नु भएको छ, हजुर ! तपाईंको नेतृत्वमा नयाँ अभियान सुरुआत हुनुपर्छ । अहिले म त कुनाकाप्चाबाट झिनो स्वर बढ्दै गइरहेको सुनिरहेको छ । यत्तिखेर देशलाई उपचारको खाँचो छ । यत्तिखेर दबेका आवाजहरूलाई मलजल गर्नुछ । अहिलेका रक्षक भनाउँदा र जनप्रतिनिधि कहलाउँदाहरूको संस्कारमा रूपान्तरण गर्नुछ । यी सबै बेथिति निर्मूलको अचुक अस्त्रसहितको बुटी तपाईंसँग भएको मैले थाहा पाएको छु । त्यसैले त कथा–व्यथा सुनाउँदै छु । नत्र सुन्नुस् त–
अर्को नयाँ अभियान सुरु हुँदै छ
सहिदका सपना साकार बन्दैै छ ।
अब श्रद्धेय बाजे ! बूढो भएँ भन्न पाउनुहुन्न । सुस्ताउन थाल्नुभएन । त्यत्रो वर्ष समरयात्रामा सरिक भएर हिाडिसकियो भन्न मिल्दैन । विश्वास र भरोसाको धरोहर निर्माण गरेर मन जिती सकेपछि चाहिँ पछि फर्कनु भएन । आफूले मात्र स्वच्छ छवीको इतिहास खडा गरेर भएन । यो वरपरको गन्धे संस्कारलाई भित्तामा नपु¥याई छाड्नु भएन । अब पनि अर्को जोखिम नमोली हामी कहिल्यै अघि बढ्न सक्दैनौँ । हामीलाई इतिहासले नसरापी छाड्दैन । ताता गोली निलेका ज्ञात–अज्ञात सहिदको आँसुले नपोली छाड्दैन । यही र यस्तै यथास्थितिवादी रवैया अबलम्बन गर्दै जाने हो भने भविष्यका पिँढीले यस पुस्तालाई कालोसूचीमा नराखी छाड्दैन । हैन, विश्वास भएन कि कसो ! अब समरयात्राका यात्रुबन्धुहरू स्वरमा स्वर थपिरहेका छन् । उठ्न र जाग्न भनिरहेछन् । यही जागृतिको मैदानमा हजुर खरोसाथ खडा हुनुप¥यो । र, भनिदिनु पर्यो–
उठ उठ उठ… जुट जुट जुट…
उठ साथी हो, उठ संगी हो ।
यो शासन फेक्न सकिन्छ
यो जीवन फेर्न सकिन्छ ।
यो शासन फेर्नलाई उठ
यो जीवन हेर्नलाई उठ ।
किन हामी अझै उठ्नुपर्यो ! किन हामी फेरि जाग्नुप¥यो ! दश–दश वर्ष उठेर जगाउँदा जगाउँदै पनि पुनः कति जगाउनु प¥यो भन्ने तर्कना आउला । त्यही भएर त यत्ति बोल्ने र समझ बढाउने होस र हिम्मत आएको हो । त्यसैले त सोच र समझ केही फराकिलो भएको हो । उठेर मात्र नहुँदो रहेछ, जागेर मात्र नहुँदो रहेछ । लाग्ने र लगाउने नेतृत्व चाहिँदो रहेछ । समरयात्रीहरूको स्वर सुन्दै हुनुहुन्छ ?–
हामीले वास खोजेको यहाँ बास छैन
हामीले गाँस खोजेको यहाँ गाँस छैन ।
यहाँ शोषण छ, शोषण फाल्न उठ
यहाँ दमन छ, दमन फाल्न उठ ।
त्यसैले हजुर ! एक पटक हामीलाई छाता ओडाइ दिनुपर्यो । हामी कति दिन जूनतारा देखिने छाप्रामा रुझ्ने र कति दिन प्रचण्ड तापमा बेस्कन सेकिने ! अब कसमा आशा र भरोसाको पोको बिसाउने ! सर्वत्र अन्यौलता छ । हेर्नुस्, बरू झट्टै भनिदिनुस्–
उठ भाइ, उठ ! उठ बहिनी उठ
सङ्घर्ष गर्नलाई उठ,
नयाँ दिन फेर्नलाई उठ ।
हामीले शान्ति चाहेको, यहाँ शान्ति छैन
हामीले मुक्ति चाहेको, यहाँ मुक्ति छैन ।
यहाँ विभेद छ, विभेद तोड्न उठ
यहाँ लुट छ, यो लुट रोक्न उठ ।
उठ गाउँ, उठ ! उठ सहर उठ
सङ्घर्ष गर्नलाई उठ,
यो शासन फेर्नलाई उठ ।
विश्वविद्यालयका गुरुजी ! एकै क्षण तपाईंलाई मधेस घुमाउँदै छु । मधेसको हालत सुनाउँदै छु । मुलुकको मूल समस्याको गुफाभित्र पसाउँदै छु । यत्तिखेर मधेस बोल्दै छ । खबरदारी गर्दै छ । र, चुनौती समेत थप्दै छ । ऊ भन्दै छ–
१. फौजी कार्यदिशा नै वर्तमानको एकसूत्रीय आवाज हो । कार्यान्वयमा तत्कालै जुट्न जरुरी छ ।
२. सर्वमान्य मापदण्ड अपनाएर नेतृत्व तहमा उकाल्न जरुरी छ । दर्जनौं स्यालजमातभन्दा एउटै सिंह जमात काफी छ ।
३. नेतृत्वहरु निर्माणमा गुटवाद, नतावाद, कृपावाद, जातिवाद, चाकरी–चाप्लुसी प्रवृत्ति सख्त निषेध हुनुपर्छ ।
४. ऐतिहासिक भूमिका, योगदान, निष्ठावान, प्रतिबद्ध, प्रतिभावान र इमान्दारिताजस्ता पक्ष सोपान उक्लने मापदण्ड हुनुपर्छ ।
५. उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गको सवालमा उदार दृष्टिकोण लिइनुपर्दछ ।
६. नेतृत्व निर्माण मूलतः वर्गीय आधारमा हुनुपर्छ, क्षेत्रीय र जातीय आधारमा होइन ।
७. असक्षम र गैरसर्वहारा चिन्तन र प्रवृत्ति पुरस्कृत हुने अनि इमान्दार र वर्गप्रति निष्ठावानले पलायन÷दास हुने अवस्था हट्नुपर्छ ।
८. क्रान्तिप्रति प्रतिबद्ध र अनुभवी नेतृत्वले मधेस र पहाडलाई जोड्ने अवस्था आउनुपर्छ ।
९. आवश्यकताको नाममा स्वार्थी मान्छेलाई उच्च तहको सम्मानमा पुर्याउने प्रवृत्ति हट्नु पर्दछ ।
श्रद्धेय बाजे ! यसो कुरा बुझ्दा यो मधेसको आवाज मधेसको मात्र हैन । यो त पूरै नेपालको आवाज हो । घैलामैला फोहोरले यहाँ कमाएको नाम समेत गुमाइरहेको अवस्था छ । जो कोही पनि आलोचनाको सिकार भइरहेको स्थिति छ । अतः कृपया भनिदिनुस्–
उठ जाग मेची–काली, जाग मधेस–हिमाल
पराईको मनपरीमा दुख्यो हाम्रो नेपाल ।
ढल्दै न है गल्दै न यो नेपाली मन
हार्दैन, मर्दैन हाम्रो आफ्नै पन ।
छातीमाथि हात राखेर भन्ने हो भने मधेस पहिलेदेखि अहिलेसम्म नै मरिरहेछ । हर्दम त्रासमा मात्रै बाँचिरहेछ । यहाँ त अजिंगरको प्रकोप छ । दिनैलाई रात ठान्ने अवस्था छ । तपाईंको पाइलो यहाँ आइपुग्यो भने सुन्नु हुने छ–
छल गरेर, बल गरेर हाम्रो पिलर सार्यो
मध्यराती मौका छोपी आफ्नै झण्डा गाड्यो ।
चिथोरियो, निचोरियो, देशभक्त यो मन
मातृभूमि बचाउन गरौँ नयाँ काम ।
मैले विश्वास राखेको छु– तपाईंको मन पनि पोल्ने छ । तपाईंको शरीरमा पनि खुन उम्लने छ । आक्रोशको चरमोत्कर्षमा तपाईं पनि पुग्नुहुनेछ । र, तपाईं स्वयम् भन्न थाल्नुहुनेछ–
विस्तारवादी वैरीलाई सीमा पारि तारौँ
राष्ट्रघाती दलाललाई धूलोपिठो पारौँ ।
एकैचोटी लडौँ भन्छ, यो नेपाली मन
नेपाल आमा बचाउन गरौँ नयाँ काम ।
श्रद्धेय विश्वविद्यालयका बाजे ! अहिलेसम्मको खातामा तपाईं हाम्रो बाजे मात्र हुनुहुन्न । धेरैका राजनैतिक गुरु र सबैका आदर्शका महापुरुष मात्रै पनि हुनुहुन्न । तपाईं त सत्य र निष्ठाका अवतार हुनुहुन्छ । यसो भन्न पाउँदा मन ढक्क फुल्छ । सदाबहाररूपमा बसन्त फक्रिरहेको महसुस हुन्छ । कम्तिमा एउटा योग्य सारथीको नाम लिँदा त गर्व हुन्छ । अहिलेसम्म आशा र भरोसा राख्न सकिने अवस्था छ । मेरो यही बुझाइले पनि मलाई शब्द जोड्न प्रेरित गरिरहेछन् । मलाई अरू कुरा सुन्नु छैन । तपाईंको मुखबाट म यत्ति सुन्न खोज्दै छु–
हामी बाटो बनाउँछौँ, तपाईं औजार दिनुहोस्
हामी बाटो देखाउँछौँ, तपाईं सिँढी दिनुहोस् ।
हामी गाउने छौँ, गोरेटोका गीत
हामी लाउने छौँ, भञ्ज्याङसँग प्रित ।
समरयात्रुहरू समेत यात्रारत् छँदा नै भद्रगोल देखेर चुप लाग्दैनन् । घरविना रातको चिसो प्रहर कष्टले जितिरहेकाहरूलाई उकास्ने कुरा गर्छन् । हिम्मत नभएकाहरूलाई ऊर्जा सञ्चार गर्छन् । बेहोसीमा जिउनेहरूलाई होस्को ओखती पियाउँछन् । हातेमालो गर्दै गरेको काममा भार कसैको हुन्न । एकमा एक थप्दै जाँदा अनेक हुन्छ । त्यसैमा एक देख्न र भेट्न सक्नुपर्छ । जसले भञ्ज्याङसँग, माटोसँग, श्रमसँग, कलमसँग र भूमिसँग नै प्रित लगाउँछन्, तिनले सप्तकोशी उँभो फर्काउन पनि सक्छन् । तिनीहरू पनि भन्ने छन्–
हामी ढुङ्गा फोर्दछौँ, तपाईं ढुङ्गा बोक्नुहोस्
हामी घर बनाउँछौँ, तपाईं माटो मुच्छनुहोस् ।
हामी गाउने छौँ, खेतालाका गीत
हामी लाउने छौँ, माटोसँग प्रित ।
सट्टामा ती निमुखाहरू पनि हौसिने छन् । हर्षले मख्ख र खुशीले गद्गद हुने छन् । विश्वास र भरोसाको चमत्कार महसुस गर्ने छन् । तिनले समरयात्रामा दाहिने हात दिने छन् । तपाईंसँग काठ माग्ने छन् । हलो बनाउने छन् । जोसका साथ बाँझो फोड्ने छन् । र, तपाईंलाई बिऊ छर्न लगाउने छन् । गर्वका साथ उनीहरूको ओठ खुल्ने छ–
हामी हलो बनाउँछौँ, तपाईं काठ दिनुहोस्
हामी बाँझो फोर्दछौँ, तपाईं बिऊ छर्नुहोस् ।
हामी गाउने छौँ, हली दाइका गीत
हामी लाउने छौँ, श्रमसँग प्रित ।
श्रद्धेय बाजे ! कुरा त अनौठो छ । तर, व्यवहारिक पनि उत्तिकै छ । तपाईं जनविश्वविद्यालयलाई व्युँताउनुस् । विश्वविद्यालय नै सुत्यो भने, त्यसका गुरुहरू नै निदाए भने जनताले पढ्न पाउँदैनन् । ज्ञान र जानकारीको भोक, भोकमै रहन्छ । तृप्ति पार्न नसके निराशा जन्मिन सक्छ वा आक्रोसको आगो सल्कन खोज्छ । अनि त, के हुन्छ, अनुमान बाहिर हुन्छ । फेरि, विश्वविद्यालय पढ्नबाट वञ्चित पार्ने अधिकार तपाईंहरूजस्ता खरा र दह्रा गुरुहरूलाई छँदै छैन । हामी ठाउँ दिन पनि तयार छौँ । हामी पढ्न आउन पनि समय दिन्छौँ । तपाईंहरूले पठाएको पाठ अब त बिर्सिसक्यौँ । समय बदलिएझैं सोच, समझ बदलिने खालको नयाँ ज्ञान दिनुस् । पुरानो पाठ्यक्रमलाई राम्ररी परिमार्जन गर्नुस् । नेपालीपनको संस्करण निकाल्नुस् । मधेसले बोलेझैं प्रतिबद्ध र स्वच्छ छवी तथा कुसल गुरुहरू छनोट गर्नुस् । असल गुरुले असल परिणामका लागि असल मात्र काम गर्दछन् । तपाईं विश्वविद्यालयको प्रमुख भएका नाताले हामीले अधिकार जमाएका हौँ । यत्ति आँट गरेर यत्ति भरोसा राखेका हौँ । अतः हामीलाई छिट्टै भनिदिनुस्–
हामी स्कूल बनाउँछौँ, तपाईं ठाउँ दिनुहोस्
हामी पढ्न सिकाउँछौँ, तपाईं पढ्न आउनुहोस् ।
हामी गाउने छौँ, विद्यार्थीका गीत
हामी लाउने छौँ, कलमसँग प्रित ।
हामी यहीं मर्ने छौँ, तपाईं यहीं मर्नुछ
सबै यहीं जन्मियौँ, यहीं केही गर्नुछ ।
हामी गाइरहन्छौँ, यही भूमिको गीत
हामी लाइरहन्छौँँ, यहीं भूमिमा प्रित ।
श्रद्धेय बाजे ! भन्नेहरू भन्दै गर्छन् । काग कराउँदै गर्छ, पिना सुक्दै जान्छ । गन्तव्य देखेको र बुझेको मान्छे अघि बढ्दै जान्छ । झ्यासझुस, पातपतिङ्गर बढारिँदै जान्छन् वा खरानी हुँदै जान्छन् । त्यसको चिन्ता गर्नुहुँदैन । असल नियतले काम गर्दै जाँदा अनुयायीहरू थपिँदै जान्छन् । चोखो मन भएका सहायक सारथीहरू बन्दै बन्छन् । कलुषित मन हुनेहरू क्रमशः बढारिँदै जान्छन् । क्रान्ति सफल नहुने कुरामा धमास दिनेहरूलाई, योद्धाहरूको जीत हुँदैहुँदैन भनेर निरुत्साहित पार्नेहरूलाई तु. को तु. भनिदिनुस्–
कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन
कसले भन्छ योद्धाहरूको जीत हुँदैन !
एक–दुई हार हुन सक्छ, तर मुटु स्पात बन्छ
वीरहरूको मुटुभित्र संसार फेर्ने सहास हुन्छ ।
बाजे ! तपाईंले यत्ति भनिदिएपछि हेर्नुस् । के–के हुँदै जान्छ ! कसरी झुटको खेती लगाएर ताज पहिरिनेहरू उठ्नै नसक्ने गरी पक्षघातले पीडित हुन्छन् ! समरमैदानमा लामबद्ध भएकाहरूमा कस्तो अपत्यारिँदो उत्साहजनक चमत्कार देखिन थाल्छ ! यसलाई केवल कल्पना नठान्नुस् । पुनः–पुनः चिन्तन गर्नुस् । भ्रमको खेती गरिरहेको तमासा हेरेर बन्दै नबस्नुस् । किनभने क्रान्तिकारी जोसका साथ जनसागर उर्लिसक्यो । र, सारा भूमि थर्कने गरी भन्न थालिसक्यो–
आकाश गज्र्यो, धर्ती काप्यो, जनयुद्धको विगुल बज्यो
मसानघाटमा मुर्दा जाग्यो, चिस्यानबाट धुवाँ उड्यो ।
मेची उर्लियो, काली बिउँझियोे, हिमाल, तराई, पहाड उठ्यो ।
नेपाली जनयुद्धले भोका–नाङ्गा सारा उठ्यो ।
हेर्नुस् बाजे ! म तपाईंलाई पर्याप्त मलजल दिन सक्दै सक्दिनँ । इन्द्रका अगाडि स्वर्गको वयान गरेर सफल हुन पनि सकिन्न । पहिले पनि सपना नदेखेको होइन । अहिले त सपनाहरू झन् खरा र दह्रा भएर जागेका छन् । ती सपना साकार पार्ने अभियानमा हातेमालो गर्दै महाभारत जित्नुछ । हारको नाम लिनुछैन । बलिदानीको गाथा मोटो भए होस् । भोलिको पुस्ताको स्थान सुरक्षित हुने अवस्था नल्याई रोकिनु छैन ।
सहिदहरू बोलिरहेको, हाँसिरहेको
देखेँ मैले रातो अक्षरमा
गैरी गाउँको बजारमा, सहिद गेटैमा ।
हेर्नुस् बाजे ! दुई प्रेमिप्रेमिका जनयुद्ध मैदानमा प्रतिबद्धता जाहेर गरिरहेका छन् । उनीहरूलाई आफ्नो चिन्ता छैन । केवल आफूले प्रकट गरेको प्रतिवद्धता र हिँडेको समरयात्रा अपूरो र अधुरो होला कि भन्ने त्रास छ । त्यस्तै अपूरो समरयात्रालाई पूरा गर्ने दायित्व नेतृत्ववर्गमा हुनुप¥यो भन्ने अपेक्षा राख्नु मनासिव ठहर्ला । लौ त एक पटक सुनौँ त –
नारी– तिमी झन आगो बन्नु, लक्ष्य नपुग्दै म ढलेँछु भने
पुरुष– तिमी झन चट्टान बन्नू, बाजको पञ्जामा म परेँछु भने ।
नारी– संसार बदल्ने यो महान् यात्रा भुलेर घात गरेँछु भने
पुरुष– जनताको बीचमा खाएको कसम तोडेर म ज्युँदै म मरेँछु भने ।
तिमी झन सहासी बन्नु, सहिदको रगत सम्झेर अनि
नारी– तिमी झन भेल बन्नु लाखौँ चुनौती सहेर पनि
पुरुष– तिमी झन चट्टान बन्नू ।
इतिहासले भनिरहेछ– यात्रीहरूलाई क्षणिक कसैले रोक्यो । छेक्यो । र, आफ्नो पञ्जामा कैद गर्न खोज्यो । तर, ती यात्रीहरूको जीवन देश र जनताका लागि चढाइएको प्रसाद थियो । पवित्र थियो । त्यसैले कसैले रोकेर यात्रा रोकिएन । कसैले छेकेर छेकिएन । निरन्तर अघि बढ्दै गयो । तर, दुर्भाग्य सगरमाथा चढेर पनि चुलीलाई नचुमिकन फर्कियो । यस लज्जाजनक निर्णयलाई सुधार गर्ने अवसर आएको छ । खुट्टा दह्रो पारेर, कसिलो मुठ्ठी बनाएर अघि बढ्नुछ । सदियौंदेखि पछि परेका जनता र देशलाई अग्रगामी पथमा एकत्रित पार्नुछ । यात्रीका मनका कुरा सुनौं त–
समरका यात्रीहरू झुकेनन् जेलनेलमा
सुरुङ खनी, दिवाल फोडी निस्किए झरीमा ।
यहाँ कसैले केही गरिदिने छैन । क्रान्तिकारीहरू स्वयम् नै आफू बदलिएर संसार बदल्नुछ । मुक्तिका लागि, समुन्नतिका खातिर अघि बढ्नुछ । तीतोमा मीठो देख्न सक्नुछ । मीठोलाई बचाएर राख्नुछ । रूपान्तरणको अभियानलाई सफलतापूर्वक पूरा गर्नुछ । छाती ठूलो बनाएर देश र जनताका लागि एकै शीलतमुनि एकत्रित हुनुछ । आजको आवश्यकता यत्ति नै । एक्लै पूरा नहुने अभियान छ नै भने पनि अठोटका लागि धर्म नछाडी लागि पर्ने हो भने सफलता प्राप्त भएरै छाड्छ । मुक्तिकामीहरू भन्दै छन्–
संसारलाई बदल्नलाई पाइला आफैं चाल्नुछ
मुक्तिकामी बाटो राजेँ, सधैं अघि बढ्नुछ ।
निरन्तर–निरन्तर ठोस प्रतिबद्धताका साथ लागी पर्दा मात्र सफलता प्राप्त भएको इतिहास हाम्रा सामु छ । मन जित्ने काम गर्दै हिँड्नेका साथमा जनसागर ओइरिएको घटना हाम्रो सामु छ । त्यसैले त भन्दै छु–
बगेको नदी सुकेको कहाँ छ र
जनयुद्ध हाम्रो रुकेको कहाँ र !
श्रद्धेय बाजे ! निश्चय नै गणतन्त्र नेपालका मालिक भयौं । सदियौंदेखि तर्साउने भूतलाई पाखा लगायौं । तर, भनेजस्तो भएको छैन । खोजेजस्तो मिलेको छैन । एक थरिको निरंकुशतालाई भित्तामा पु¥याए पनि अर्को थरी अझ सशक्त तवरले उठेको छ । संविधान बनाउने नाममा कुनै ठोस आधारविना ब्रह्मलुटको नाटक मञ्चन भएको छ । यी सारा दृष्य टुलुटुलु हेरिबस्नुभन्दा जीवन हत्केलामा लिएरै भए पनि पुरातनवादी सोच र समझ विरुद्ध क्रान्ति छेड्नु सयौँ गुणा उत्तम ठहरिएको छ । सुन्नुस् त–
त्रिशुलीको किनारमा बालुवा चाल्नेहरु,
सोलुमा भारी बोकी बालबच्चा पाल्नेहरू !
अझै नै निरङ्कुस ढल्या छैन, जनताको शासन त चल्या छैन है ।
अन्तिममा म के भन्न चाहन्छु भने बाजे ! नाटक मञ्चन जति गरे पनि प्रतिफल स्वरूप नेपाली जनताले ऋणको भारी बोक्नुपर्छ नै । जनताको मूल कानुन ओझलको ओझल पर्ने निश्चित छ । यी पदका भोका र पैसाका लागि सरम छाडाहरूलाई सडकमा नाङ्गेझार तुल्याउने एक शक्ति भएको नाताले प्रतिबद्ध भई लागिपर्नुस् । तपाईंको नेतृत्वमा नेपाली जनताको विजय निश्चित छ । दुई, चार सपुत गुमाउनै परे गुमाऔं तर यथास्थितिमा मुलुकलाई अल्झाएर विश्वमा कलङ्कित नागरिक नकहलिऔं । भारतको कलुषित विचारको भण्डाफोर गरौं । बरू एक छाक खाएर दुई छाक भौकै भएर बसौं । तर, मुलुकलाई बेच्न नदिऔं । गद्दारहरूको गद्दारीपनका विरुद्ध निरन्तर युद्ध गरिरहौं । अबको युद्ध सामन्ती सोच र समझ विरुद्ध हुनेछ । पद र पैसामा ढलिमली गर्नेहरू र जनतालाई थाङ्नामा सुताउनेहरूको कालो कर्तुत पर्दाफास गर्नका लागि हुनेछ । भ्रष्टचारी र जनघाती कार्यका लागि आजीवन श्रमदानमा रहने दण्ड दिलाउने कामका लागि हुनेछ । अब भने श्रद्धेय बाजे ! लाल अभिवादन सहित पत्रान्त गर्दछु । धन्यवाद !
nandalalacharya@gmail.com