अध्यक्ष माओत्सेतुङ्ले चीनका ११ ओटा प्रान्तहरुमा चलाएको ‘लङ्मार्च’ को समयावधि अक्टोबर सन् १९३४ देखि अक्टोबर सन् १९३५ सम्म १ वर्षको थियो । त्यो ‘लङ्मार्च’, ‘लम्बे अभियान’, ‘लामो अभियान’ तीनवटा भाषामा यसरी बोलिन्थ्यो । माओले त्यो अभियान प्रारम्भ गर्दा त्यसमा २० जना मात्र टिम सदस्य थिए र माओ त्यसका कमिश्नर (कमाण्डर) थिए । यो अभियान फुचेन प्रान्तको छाङतिङबाट सुरु भएर शेन्सी प्रान्तमा पुगेर समाप्त भएको थियो । यसले फुचेन, च्याङसी, क्वाङतुङ, हुनान, क्वाङसी, क्वेन्चवो, युन्नान, शिखाङ, स्छवान, कान्सु र शेन्सी गरी ११ ओटा प्रान्तको दर्जनौँ गाउँ/क्षेत्रहरुमा अभियान पुर्याएको थियो । यस अभियानमा माआबाहेक चु तेह, चाङकोथावो, ल्यूपो–छङ आदि वरिष्ठ नेताहरुको नेतृत्व रहेको थियो तर छङले पार्टी र ‘लङ्मार्च’लाई धोका दिएको थियो ।
यो लम्बे अभियानको उद्देश्य जापानी आक्रमणकारी, पुँजीवादको खच्चड च्याङकाइसेक, ‘वामपन्थी’ अवसरवादी र थरिथरिका प्रतिकृयावादीहरुद्वारा पार्टी र क्रान्तिलाई जोगाउनु थियो । त्यो ‘लङ्मार्च’द्वारा ठूल्ठुला र साना तर अति महत्वपूर्ण काम र कार्वाहीहरु सम्पन्न गरिएका थिए । ती काम र कार्वाहीहरु साहू, सामन्त, शोषक, युद्धसरदार आदिको विरुद्ध लक्षित थिए र किसान, श्रमजीवी, दलित, जनजाति आदि शोषक वर्गको कल्याण र मुक्ति त्यसको उद्देश्य । यस्तो छोटो लङमार्च माओले सन् १९६६ सेप्टेम्बरमा पनि चलाएका थिए ।
‘लङ्मार्च’ले प्रथमतः छाङतिङ कब्जा गरी स्थानीय शोषकलाई लखेटी तिनीहरुको जमिन गरिवहरुलाई वितरण ग¥यो । रुइचिनमा पछि यसले च्याङसी प्रान्तका चियान मुक्त ग¥यो । रुइचिनमा मजदुर, किसान, जनवादी, (केन्द्रीय) सरकार गठन ग¥यो । जसको अध्यक्ष माओ भए, कमिशनर पदबाट पदोन्नति भएर । ‘लङ्मार्च’ले त्यसपछि फुचेन प्रान्त मुक्त गर्यो । ‘लङ्मार्च’ले आफ्नो बाटो र कार्यनीतिभित्र परेका स्थानीय निरङ्कुश शासकलाई सत्ताच्यूत गर्ने र जमिन्दारहरुका जग्गा गरिवलाई बाँड्ने क्रान्तिकारी काम गर्दै गयो ।
माओको केन्द्रीय कमाण्डमा ३०००० लालसेनाहरु थिए । माओको कार्यकारी टीम र लाल सेना सिङगो ‘लङ्मार्च’ थियो । त्यो कावोपिनमा पुगेपछि शत्रुसेनाले आकाशबाट सैनिक जहाज भुइँमा ओरालेर लालसेनालाई घेरा हाल्यो । लाल सेना तिनलाई पराजित गरेर अघि बढ्यो । लालसेना वीतु देखि अगाडिको कुफी तथा शिनथ्येन कब्जा गर्दै त्यहाँ स्थित नूनखानी कब्जा गर्नपुग्यो । सेना ठाउँठाउँका शत्रुका नाकाबन्दी र अवरोधहरुलाई तोड्दै क्वाङ्सी र हुनान नजिक पुगी वीरतापूर्वक विशाल र बलवान शाङ नदी तर्यो । जापानी आक्रमणकारी र च्याङकाइसेकका सेना वर्षाबाट किसानका घर वाली र तिनका ज्यान ध्वस्त गर्थे एकातिर भने अर्कोतिर लालसेना किसानका बाधा र विपत्तिहरुमा राहत र सान्त्वना पुर्याउंदै अगाडि बढ्थे ।
इच्छुक र उमेर पुगेका स्थानीय युवकहरुलाई लालसेनामा भर्ती गरिन्थ्यो । तर सबै इच्छुक युवाहरुले भर्ती हुन नपाई निराश हुनपरेपनि एकदिन लालसेनामा भर्ना हुनेछु भनेर मनमनै प्रतिज्ञा गर्थे । लालसेना ‘सुनौलो वालुवा भएको नदी’मा पुग्यो । त्यो नदीको नाम चीन शा–च्याङ हो र त्यस वरपरको उपत्यका प्राकृतिक रुपले सुन्दर छ । त्यस नदी पार गर्न ३ दिन ३ रात लाग्यो । त्यहाँबाट सेना शिखाङको भ्यनिङ भन्ने ठाउँमा पुग्यो । त्यहाँ ठूलै तातु नदी थियो । त्यो नदी पार गर्न स्थानीय पार्टीले प्रत्येक सेनालाई १४ दिनको रासन, बाँसको १–१ लठ्ठी, ७–७ मिटर लामो डोरी दियो । सेना त्यो शिखाङ भन्ने ठाउँमा पुग्दा त्यस गाउँका मानिसहरुले माओ र लालसेनाहरुलाई उपहार दिएर र नाचगान गरेर भव्य स्वागत गरे ।
यो लालसेनाको समूह समय परस्थिति अनुसार बाँडिएर अलग–अलग क्षेत्रमा जान्थ्यो, अलग–अलग कमाण्डरको नेतृत्वमा, र कुनै ठाउँमा पुनः मिसिन्थ्यो । ‘लङ्मार्च’ तातु नदी किनारको आनसुछाङ पुग्दा जनताले उनीहरुलाई लुतिङ तरेर जाने बाटो बताइदिए । बाटो सर्टकट भए पनि त्यो झाडीदार, घाँसे र निर्जन ठाउँ थियो । बाटो यस्तो झाडिदार र उबडखाबड भएको बेला टीममा भएका इन्जिनियर र ज्यामीहरुले झाडी काट्ने, ढिस्का खन्ने र खाल्टा–खुल्टी पुर्ने काम गरेर सजिलो बनाउथे ।
अभियान दलका चङशेक, हाङ, च्येछिङ, ज्वाङ, छन छाङ– फङ, हु वाङपावोे, चुङ फु छाङ, लाको–øवी, चङ शेन–ची, चङ श्येन– च, चुङ यङ हो आदि कम्युनिष्ट पार्टी स्थायी समितिका सदस्य थिए, जसमा गार्ड कमाण्डर मेडिकल अर्दली, भान्छे आदि थिए । छन छाङफङ अध्यक्ष माओका अङ्गरक्षक थिए ।
लालसेनाको फौज मोसिमेन पुग्यो । तातू नदी तरेर ह्वालिङ फिङ एक रात बसी श्वेचिती प्रस्थान ग¥यो । त्यहाँ पुुग्दा दुश्मन–सेनाले लालसेनाका थाप्लामाथि बम वर्षा गरे । धेरै सिपाही घाइते भए । घाइतेलाई काखमा लिएर माओले सान्त्वना दिए । स्वास्थ्यकर्मीले तिनको उपचार गरे । हु सख्त घाइते भएकाले स्वास्थ्यकर्मीले उनलाई बचाउन सकेनन् । उनलाई त्यहीं समाधिस्थ गरेर श्रद्धाञ्जली दिई टीम अगाडि बढ्यो ।
त्यस पछाडि वीर जनसेना च्याचिनको हिमाच्छादित पर्वत चढ्न थाल्यो । हिउँ, असिना र हुरी एकैचोटी ओइरियो । कोही हिउँको जमोटमा चिप्लिएर लडे, कोही हिउँमा गोडा गढेर बाटो बाहिरको हिमराशमा लडे, अझ ओरालो लाग्दा कति यात्रु बारम्बार चिप्लिएर लडे । कमजोरहरुलाई साथीले उठाइदिए । बाटो बनाउंदै अघि–अघि हिडेका सिपाहीलाई माओले चर्को स्वरमा भने– ‘हिउँ नखानुहोला, मुख सुख्छ, मुख बन्द गरेर नाकले मात्र सास फेर्नुहोला, साथमा भएदेखि नून, खुर्सानी, अदुवा, लसुन खानुहोला, विश्राम गर्दै हिँड्नुहोला ।’
माओका अङ्गरक्षक फङलाई लेक लागेर पुल्टुङ्ग हिउँमा सुते, बेहोस भए । माओले उनलाई मसार–मुसुर गरे । स्वास्थकर्मीले प्राथमिक उपचार गरे । एकै छिन पछि ब्यूँझिए । आफूसंगै माओलाई देखेर उनी मुस्कुराए ।
तल समथरमा पुगेपछि आराम गरेर खाने कुरा खाए र नजिकै सानो पहाड उक्लिए । त्यो पहाड ओर्लिनेवित्तिकै घाँसे मैदान आयो । क्रान्तिकारी यात्रीहरु थाकेकाले विस्तारै हिँडे र पहाडको फेदी आउनेवित्तिकै त्यसको ओढारमा बास बसे । त्यस दिन सिमसिम पानी परेकोेले किरा–कमिलाले धेरै टोके, खूब दुःख पाए । लङ्मार्चको बाटोमा अग्ला शिखर, होचा–अग्ला पहाड, साना–ठूला नदी, उपत्यका आदि भू–धरातल आउँथे ।
अर्को दिन उनीहरु फराकिलो दलदलेमा कठिनताका साथ हिँडे । फङलाई फेरि हन्हन्ती औंलोको ज्वरो आयो । लालसेना त्यहाँ १ महिना बस्यो । त्यहाँ उनीहरुले क्रान्तिका धेरै कामहरु गरे । २÷४ दिन ज्वरो थामिएर फेरि फङलाई त्यसले समायो । माओले उसलाई आफ्नो झुलभित्र सुताए । फङले माओको हेरचाह नपाएको भए मर्ने थिएँ भने र उनको कृतज्ञता सम्झिएर रोए ।
माओ बाटोमा हिँड्दा रसिला र व्यङ्ग्यविनादी जोक र चुटकिला भनेर यात्रा टोलीका सदस्यहरुलाई मनोरञ्जना दिइरहन्थे ।
एक वेलाको कुरा हो, जङ्गलमा बास प¥यो । मान्छेले आगो बालेर भात पकाउन थाले । अरुले दाउरा र पानी ल्याए । रुखका चराचुरुङ्गीहरु अनौठो र डराएको स्वरमा कराए । त्यो वेला माओले भने– ‘चराहरु आगो देखेर यसरी अनौठो स्वरले कराएका हुन् । को–कोलाई थाहा छ यो कुरा ?’ धेरै जनाले टाउको हल्लाए मात्र तर चुँक्क बोलेनन् ।
उनीहरुले ठाउँ–ठाउँका बाटा र बासहरुमा लाललसेनाले कोमिङताङ–युद्धसरदारहरु सँग मात्र लड्न परेन अपितु च्याङकाइशेक, जापानी आक्रमणकारी र स्थानीय जमिन्दारका सेना तथा दलालहरुसँग पनि निर्मतापूर्वक लड्न पर्यो ।
अग्ला अग्ला शिखर चढ्दा, ओर्लिदा, लामालामा झोलुङ्गे पुल र जगाँर तर्दा, दलदलमा हिँड्दा, हिउँ हुरी र असिनामा पिटिदा, मुशलधारे पानीमा रुझ्दा, अटप्य वन र झाडी पार गर्दा, ओढारमा बास बस्दा, जंगली हिम्स्रक पशुसँग जम्काभेट हुँदा, भोक र थकाइले लखतरान हुँदा, विमारी पर्दा, शत्रु सेनाको आक्रमणमा परेर घाइते र मरण हुँदा लाल सिपाहीहरुले कति कष्ट र विपत्ति पाए, ती दुःख र वेदनाका दिनहरुमा तिनले आफ्ना परिवारजनहरुलाई पनि नसंझिएका थिएनन् तर क्रान्ति र मुक्तिको ध्याउन्नाले गर्दा पुरुषार्थी सिपाही र कम्युनिष्ट पार्टीका सदस्य र अधिकारीहरु कहिल्यै विव्हल र विचलित भएनन् ।
‘लङमार्च’ चिनियाँ कम्युनिष्ट पार्टी तथा लालसेनाले चीनका किसान र श्रमिकहरुको मुक्ति र कल्याणको निम्ति जापान, कोमिन्ताङ, च्याङकाइशेक, स्थानीय युद्धसरदार, जमिनदार र शोषक आदि सबै शत्रुहरुको आक्रमणको विरुद्ध चलाइएको महाक्रान्ति थियो र यो १९४९ को चिनियाँ जनवादी क्रान्तिको मेरुदण्ड थियो । यो सर्वहारा वर्गको सर्वथा नौलो पहिलो सशस्त्र संघर्ष थियो । कम्युनिष्ट पार्टीले निर्माण गर्दैरहेका आधार क्षेत्रहरुलाई विनाश गरेर क्रान्तिको हत्या गर्न उद्दत च्याङकाइशेक र कोमिङताङविरुद्धको यो निष्ठुर सुनामी थियो ।
माओको कमाण्डिङ्मा केन्द्रीय नेतृत्व र लालसेनाले १ वर्षसम्म यो लङ्मार्च चलाएर, नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैदेशिक साम्राज्यवादको आक्रमणलाई पराजित मात्र गरेन, देशीय प्रतिक्रियावादी र सामन्तवादी उत्पीडिकहरुलाई समेत निस्तेज पारेर चीनलाई स्वाधीन, सम्पन्न र सभ्य बनाउनुको साथै चिनियाँ जनतालाई दास र पशु जीवनबाट मुक्त पार्ने काम गरियो ।
यो लङमार्चलाई सफल बनाउन भोक, दुर्वलता, र विमारका कठिन अवस्थाहरुमा पनि माओ राति ११ बजेसम्म दस्तावेज लेख्ने, पढ्ने, चिठी लेख्ने, पुस्तक पढ्ने, अरुबाट रिपोर्टिङ सुन्ने, दिनभरिको कार्य मूल्याङकन गर्ने, पछिका कार्य–योजना बनाउने आदि कामकुरा पार्टीको स्थानीय र केन्द्रीय पदाधिकारी र सदस्यहरुसँग मिलेर सम्पन्न गर्थे ।
माओको स्वास्थ्य गतिलो थिएन । विमारी पर्दा उनी डाक्टर उपलब्ध भए पनि स्वास्थ्यकर्मीद्वारा उपचार लिन्थे र डाक्टरलाई लालसेनाको उपचारार्थ पठाउँथे । पौष्टिक र स्वस्थकर खाना खान पाउंदैनथे, बासी भात पनि खाने गर्थे । कति दिन सुख्खा खाना खाएर गुजारा गरे । उनी मासु, खुसार्नी, भुटेको भटमास र चाम्रे मन पराउँथे, अझ चाम्रे खान पाए प्रफुल्ल भएर हाँस्थे । उनको पानी राख्ने थर्मस पुरानो थियो । कतिपल्ट अङ्गरक्षकले ‘नयाँ ल्याउँछु’ भन्दा पनि माओले अस्वीकार गरे । सैनिक पोशाकसहित उनका ३ जोर कपडा थिए । पत्लुङ च्यातिएको हुन्थ्यो । सातखल्तीवाला एउटा झोला थियो । एउटा भाँचिएको छाता थियो । प्रायः च्यातिएका जुत्ता लगाउँथे । तन्ना र कम्मल १–१ मात्र हुन्थे ।
माओका अर्दली र अङ्गरक्षकहरुले राम्रो खाना खानुहोस्, राम्रो लुगा लगाउनुहोस्, तिनको व्यवस्था हामी गंर्छौ भन्दा माओ हाँसेर भन्ने गर्थे– ‘सामान्य जनताले जे खान्छन्, जस्तो लगाउँछन् त्यस्तै गर्नुपर्छ ।’
माओ जनतासँग मालसामान सित्तैमा लिदैनथे । उनलाई चढ्न भनी घोडा दिइएमा गाह्रोमानी लिन्थे र बीचबाटोबाटै फर्काइदिन्थे । अर्दली र अङ्गरक्षकहरुलाई विरामी हुँदा आफ्नो ओछ्यानमा सुताउँथे, तिनलाई घरविदा दिन्थे । तिनीहरु उदास देखिएमा के भयो भनेर सोध्थे । माया गरेर धाप मार्थे, मुसार्थे । त्यसो भएर होला फङले दुनियामा माओभन्दा मेरो असल मान्छे अर्को छैन भनेका थिए ।
माओ लङमार्चमा हिंडदा जनतामा अभूतपूर्व आत्मिक र उदात्त सहायोग पाए । उनले हार्दिक स्वागत मात्र पाएनन्, भारी बोक्ने भरिया, सुत्नको लागि ढोकाको पलेटा, जाडोमा तातो पानी, चढ्नको लागि घोडा, पुराना तर लगाउन हुने कपडा सबै पाए । उनले लालसेनामा भर्ती हुन उमेर पुगेका युवाहरु पनि पाए । हे जातिको बसोबास क्षेत्रमा पुग्दा उनले लाल सेनाको अपार स्वागत पाए तर माओको भान्छाका कुकरले कोदोको परिकार बनाएर खान नजान्दा तिनले खसीको मासु खाएरै गुजारा गरे ।
माओको टीम लङमार्चको क्रममा ११ औ प्रान्त शेन्सी पुग्दा केन्द्रीय लालसेना र माओको टीमको भव्य स्वागत गरियो । उक्त्त स्वागतमा चाउएनलाई सहित अन्य वरिष्ठ नेताहरु सामेल थिए । शेन्सीका जनताले पनि हर्षध्वनीका साथ लालसेनालाई हार्दिक स्वागत गरे । शेन्सी पुगेपछि लालसेनाले १ सालभरिको थकाइ मेट्यो । लालसेना, जनता, अध्यक्ष माओ, उनको टीम वीचको पारस्परिक प्रेम र त्याग ‘भरि गाग्रीको पानी छचल्किए झै छचल्किएको’ थियो र त्यहाँबाट खसेको पानीले चीन देशको माटो निथ्रुक्क भिजेको थियो ।
मैले माओ त्सेतुङलाई आधा शताब्दी अगाडिदेखि पढ्दै आएता पनि उनको सर्वहारा जीवन शैली र उनको हृदयमा अन्तर्निहित प्रेमलाई पूर्णतः बुझ्न सकेको थिइनँ । अरुसित मेरो जस्तो अनुभव छ कि छैन, प्रष्ट भन्न नसके पनि अनुमान लगाउन भने सक्छु ।
यसो अवलोकन गर्दा माओसरहको सर्वहारा जीवनशैली भएका कमरेड वा कम्युनिष्ट पाउँदिन तर उनको चिन्तन र व्यवहारका कुनै–कुनै लक्षणहरु भएका कम्युनिष्ट भने पाउँछु तर कम्युनिष्ट पार्टीका नेताहरु न ‘सरह’का पाउँछु न ‘लक्षण’हरु भएका । माओवादी कम्युनिष्ट पार्टी र त्यसका नेताहरुमा माओका सर्वहारा जीवनशैली चिन्तन र व्यवहार किन प्रादुर्भाव भएन ? माओवादी बनेर तिनीहरु किन अमाओवादी पार्टी र नेता बन्छन् ? तिनलाई आफू र आफ्नो पार्टीलाई माओवादी भनाउने अख्तियार कहाँबाट मिल्यो ? कुन वेलासम्म तिनले आफू र आफ्नो पार्टीलाई माओवादी भनिरहने छन् ? तिनीहरु आफू माओको जीवनशैली, चिन्तन र व्यवहार विमुख भएर पनि माओवादी हुँ भनेर कहिलेसम्म भ्रम दिइरहन सक्छन् ? यो खडेरी कहिलेसम्म ?
माओवादी बनेर संसदवादको दलदलमा घाँटीघाँटीसम्म गढेर, माओवादी भनेर सशस्त्र सङघर्षका कुरा दस्तावेजमा मात्र लेखेर, माओवादी भनेर जनयुद्ध जस्ता दुईचारओटा कब्जा, बन्द र चन्दाका ‘ढडिया’ थापेर, माओवादी भनेर आक्कलझुक्कल मिडियामा आई आत्मवञ्चना देखाएर सच्चा माओवादी भइने हो र !
दलदलमा गढ्ने र गढिहाले, भीरको डिलैमा जाने गाईलाई रामराम भन्न सकिन्छ, आँफू भीरमा झुण्डिएर काँध थाप्न सकिन्न तर दलदलको टाढै उभिनेहरुले ‘चिनिया लङमार्च’ गरेर ‘नयाँ जनवादको ब्याड’ बनाउन नसके पनि ‘नेपाली लङमार्च’ गरेर ‘नयाँ जनवादको बीउ राख्ने ब्याडे गरो’ जोत्न त सकिन्छ नि !
नेपाली हुनान, शेन्शी र क्वाङतुङ प्रान्तहरुका गरिब, जनजाति, दलित आदि किसान र श्रमिकहरुका घरदैलोमा उर्जाशील र उत्साही नेपाली युवा–युवातीहरुलाई पठाई तिनमा व्याप्त विपन्नता, रोग, अशिक्षा, अज्ञानता, न्यूनीकरण गर्न सकिन्न ? तिनीहरुलाई उठ्न र फुक्न, हाँस्न र नाँच्न नदिने, आफूहरु मात्र हाँस्ने र नाँच्ने र तिनका भागहरु खोसी खाने, तिनका सीप र पसिना खाने ‘ब्लटिनपेपरहरु’ लाई च्यात्न सकिन्न ? तिनलाई उद्यम र काम सिकाएर तिनकै गोडामा उभ्याउन सकिन्न ? यस्तो नेपाली लङमार्च चलाएर नयाँ जनवादको जग हालन सकिन्न ? माओले आफ्नो टीमका अङ्गरक्षक, अर्दली, भान्छे, स्वास्थ्यकमीर्, लालसेना, श्रमिक तथा किसान आदि सबैलाई र यी सबैले माओलाई गरेको उदात्त र निर्मल प्रेमजस्तो प्रेम गर्न सकिन्न ? यो पारस्परिक प्रेमको निम्ति उनीहरुले जस्तो ‘कृतज्ञता’ आदानप्रदान गर्न सकिन्न ?
यो उच्च र उदात्त प्रेम र कृतज्ञताको चुम्बकले विदेशी तातो र चिसो भूमिमा पसिना बहाउन विवश उमेरदार र उर्जावान युवा–युवातीहरुलाई तानी नेपाली लङमार्चमा ल्याएर नयाँ जनवादको शिलान्यास गर्न सकिन्न ? नेताहरुले आफूलाई बदलेर आँट र योजना गर,े जनताहरुले पुर्याउनेछन् ।