उत्तर कोरिया यतिबेला पुनः चर्चामा छ । तथ्यलाई आधार मान्ने हो भने अहिले पनि उत्तर कोरिया र दक्षिण कोरियाबीच युद्धको अवस्था नै छ । किनकी यी दुई देशबीच हालसम्म युद्धविराम नै भएको छैन । कोरियाली प्रायद्वीपमा सन् १८९४ देखि नै जापानी साम्राज्यको दबदबा सुरु भएको थियो । सन् १९०४–१९०५ को रुस जापानयुद्ध पश्चात कोरियाली प्रायद्वीप जापानकै संरक्षित क्षेत्रजस्तो बन्यो ।
सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धपछि कोरिया उत्तर कोरिया र दक्षिण कोरियाको रुपमा विभाजित बन्न पुग्यो । उत्तर कोरिया रुस र चीनको चाहानाअनुसारको कम्युनिष्ट देश बन्यो भने दक्षिण कोरिया अमेरिका र उसका मित्रराष्ट्रको चाहानाअनुसार एक पुँजीवादी देश बन्यो । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघका पर्यवेक्षणमा सन् १९४८ मा भएको निर्वाचनमा भाग लिन अस्वीकार ग¥यो । जसको परिणामस्वरुप कोरियामा दुई वटा सरकार गठन भए र उत्तर दक्षिण कोरियाले कोरियाली प्रायद्वीपको सिंगो क्षेत्रमा आफ्नो सम्प्रभुताको दाबी गरे । परिणामस्वरुप सन् १९५० देखि १९५३ सम्म कोरियाली प्रायद्वीपमा युद्ध भयो ।
सन् १९५३ मा कोरियाली प्रायद्वीपमा युद्ध त अन्त्य भयो तर दुवै देशले स्थायी शान्ति सम्झौतामा हस्ताक्षर गरेनन् । दुवै देशले सन् १९९१ मा राष्ट्रसंघबाट मान्यता पाए । २६ मे २००९ मा उत्तर कोरियाले एकतर्फी रुपमा युद्धविराम फिर्ता लिएको घोषणा ग¥यो । कोरिया युद्ध पाँच वर्षअघि बनेको संयुक्त राष्ट्रसंघबाट विधिवत अनुमति पाएको पहिलो युद्ध थियो । यसमा करिब ३५ लाखको मृत्यु भएको अनुमान छ । तत्कालीन सोभियत संघ र चीनको समर्थनमा उत्तर कोरियाली सेनाले सन् १९५० मा दक्षिण कोरियामाथि धावा बोल्दा त्यसबेला सुरक्षा परिषदको स्थायी सदस्यको सिट (जुन स्थानमा आज चीन छ) मा उसको प्रमुख विरोधी राष्ट्र ताइवान थियो । (ताइवानलाई हटाएर २५ अक्टोबर १९७१ मा चीनलाई सो स्थान प्रदान गरिएको हो ।) चीन र रुसबीच त्यसबेला राम्रो मिलाप थियो र चीनसँग एकजुटता देखाउनका लागि पनि रुसले सुरक्षा परिषदको बैठक बहिस्कार गरिरहेको थियो । सोही कारण उसले अमेरिकी प्रस्तावलाई फेल बनाउनका लागि भिटो प्रयोग गर्न सकेन ।
तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रम्यानले यसको भरपुर लाभ उठाए र कोरियाली युद्धका क्रममा कोरियाली प्रायद्वीपमा राष्ट्रसंघको झण्डा हल्लाएर आफ्ना सैनिक पठाउने अधिकार पायो । राष्ट्रसंघको सेनामा सबैभन्दा बढी अमेरिकी सैनिक नै थिए । अमेरिकी सेनाका कमान्डर जनरल डगलस म्याकआर्थरले उत्तर कोरिया र उसलाई साथ दिइरहको सेनालाई पछि फर्काउन सफल भए । तर, जसरी संयुक्त राष्ट्रसंघको सेना चीनको सीमा क्षेत्रमा पुग्यो, तब चीनलाई युद्धमा होमिनु बाध्यता बन्यो ।
स्वयमसेवी बताउँदै चीनका लाखौं सैनिकका पछि राष्ट्रसंघ नाम गरेको अमेरिकी सैनिक पुच्छर लुकाएर भाग्न बाध्य भयो । त्यसबेला म्याकआर्थरले चीनमाथि परमाणु बम खसाल्ने अनुमति मागेका थिए । तर राष्ट्रपति ट्रम्यानले त्यो हिम्मत गर्न सकेनन् । यदी त्यसो गरेको भए सो युद्धले अर्कै मोड लिनपनि सक्दथ्यो । ट्रम्यानपछि आइजनहावर राष्ट्रपति बने र उनले युद्धविरामको घोषणा गरे । २७ जुलाई १९५३ मा दुवै कोरियाको सीमामा रहेको एक स्थान पानमुन्जोममा युद्धविराम सम्झौता भयो र लडाई रोकियो । तर, आजसम्म पनि कोरियाली प्रायद्वीपमा औपचारिक रुपमा यसद्धको अन्त्य भएको छैन ।
युद्धविरामको समयसम्म ४० हजार राष्ट्रसंघीय सैनिक मारिसकेका थिए । त्यसमा ९० प्रतिशत अमेरिकी सैनिक थिए । उत्तर कोरिया र उसका सहयोगी देशतर्फपनि ठूलो क्षति भएको थियो । मारिने गैरसैनिक नागरिकको संख्यामात्रै २० लाख थियो । आज पनि अमेरिकी सैनिक दक्षिण कोरियामा रहेका छन् । उत्तर कोरियाले कुनै समयमा आकस्मिक रुपमा उत्तर कोरियाले आक्रमण गर्न नसकोस भन्ने नै अमेरिकी अभिप्राय हो । उता, उत्तर कोरियाले पनि आंशिक भोकमरी, ठूलो आर्थिक कठिनाईका बाबजुद पनि १२ लाखभन्दा बढी सैनिक पालिरहेको छ । यसको अर्थ अमेरिका र उसकापिछलग्गु देशले कुनैपनि समयमा जुनसुकै आरोप लगाएर आक्रमण गरेमा प्रतिरोध गर्नु नै हो ।
उत्तर कोरिया र दक्षिण कोरियाबीचमा २४० किलोमिटर लामो र चार किलोमिटर चौडाई भएको एक विसैनिक क्षेत्रको सीमाना रहेको छ । तर, उत्तर कोरियाले अहिले पनि त्यसलाई मानेको छैन र समय समयमा दुई देशका सेनाबीच भिडन्त हुने गर्दछ । दुवै देशको सीमाना सामान्य नागरिकका लागि सधैं बन्द हुन्छ । कुनै पत्रडाक सेवा र टेलिफोन सेवा समेत छैन । दुवै देशका लाखौं परिवार झण्डै साढे ६ दशकदेखि छुट्टिएका छन् । कुनै समयमा अमेरिकी साम्राज्यवादको दबदबाकाबीच विभाजित पूर्वी जमनी र पश्चिम जर्मनीबीच एकीकरण भयो तर दुई कोरियाबीचको एकीकरण प्रायः असम्भव देखिन्छ । क्षेत्रफलका हिसाबले उत्तर कोरिया दक्षिण कोरियाभन्दा ठूलो रहेको छ । आर्थिक सम्पन्नताको हिसाबले उत्तरले धेरै प्रगति गर्न सकेको छैन । तर उत्तर कोरियाले संसारमा आफ्नो बेग्लै अस्तित्व स्थापित गर्न सफल भएको छ ।
उत्तरको आणविक यात्रा
उत्तर कोरियाले ९ सेप्टेम्बर २०१६ मा आफ्नो पाँचौ र अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परमाणु परीक्षण गरेपछि पश्चिमा राष्ट्रहरु उत्तर कोरियाप्रति रुष्ट बनेका छन् । उत्तर कोरियाले गरेको परमाणु परीक्षण भूहलचलपछि मात्रै पत्ता लागेको थियो । यसवर्षमा मात्रै उत्तर कोरियाले दुई वटा परमाणु र २० वटा भन्दा बढी क्षेप्यास्त्र र स्याटेलाईट समेत परीक्षण गरिसकेको छ । यसको परमाणु परीक्षणको यात्रा सन् २००६ बा सुरु भएको हो ।
कोरियाली प्रायद्वीपमा युद्धको अन्त्य भएपनि वर्षाैदेखि जारी वादविवाद र छलफल तथा अन्तर्राष्ट्रिय स्तरमा देखिएको शक्ति संघर्षकै क्रममा उत्तर कोरियाले ९ अक्टुबर २००६ मा राष्ट्रिय दिवस पारेर उत्तर कोरियाले पहिलो परमाणु परीक्षण गरेको थियो । उत्तर कोरियाले देशको पूर्वेात्तर पहाडी इलाका पुङ्गेरीमा सो परीक्षण गरेको थियो । धेरै कम शक्तिशाली सो परमाणु परीक्षणलाई उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरतालाई कायम राख्न गरिएको बताएको थियो ।
उत्तर कोरियाको दोस्रो परमाणु परीक्षण पहिलोभन्दा ठूलो थियो । करिब २.८ किलोटनको उर्जा निकालेको यो परीक्षणबाट उसको विस्फोटक शक्ति र प्रविधिमा अझ ठूलो मात्रामा वृद्धि भयो । त्यस बेलामा अन्तराष्ट्रिय स्तरमा परमाणु परीक्षण त भयो तर कुन खालको थियो भन्नेबारे पश्चिमा शक्तिहरुले पनि पत्ता पाएनन् । पश्चिमा शक्तिले उत्तर कोरियाको परमाणु परीक्षणलाई नियन्त्रण गर्न खोजेपनि सफल हुन सकेनन् । त्यसबेला उत्तरु कोरियाका नेता किम जोंग इलले आफ्नो परमाणु क्षमतालाई सही प्रमाणित गर्ने कोशिस गरेका थिए ।
उत्तर कोरियाले १२ फरवरी सन् २०१३ मा आफ्नो तेस्रो परमाणु परीक्षण ग¥यो, जसका कारण असामान्य हलचल नै पैदा भएको थियो । उत्तर कोरियाले त्यसलाई हल्का परमाणु उपकरणको परीक्षणमात्रै भएको बतायो । उत्तर कोरियाले युरेनियमको प्रयोग गरेको थुप्रै अड्कलबाजीहरु सार्वजनिक भए । तर त्यसको पुष्टि अहिलेसम्म पनि हुन सकेको छैन ।
उत्तर कोरियाले गत ६ जनवरी २०१६ मा आफ्नो चौथो परमाणु परीक्षण ग¥यो । पुंगेरीको आसपासमा ठूलो भूकम्प नै पैदा गरको यो परीक्षणलाई उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण सफल भएको घोषणा ग¥यो । हाइड्रोजन बम परमाणु बमभन्दा पनि शक्तिशाली हुन्छ । सो बमको परीक्षणपछि उत्तर कोरियामाथि राष्ट्रसंघ सुरक्षा परिषद र अमेरिकाले प्रतिबन्ध नै लगाएका छन् । जसले उसको व्यापारिक क्षेत्रमा समेत नराम्रो असर गरेको छ । तर त्यसलाई बेवास्ता गर्दै उत्तर कोरियाले ९ सेप्टेम्बर २०१६ मा पाँचौ परमाणु परीक्षण गरेको छ । उत्तर कोरियाको यो परमाणु परीक्षणबाट ५.३ रेक्टरस्केलको भूकम्प नै गयो । यो उत्तर कोरियाले गरेको सबैभन्दा शक्तिशाली परीक्षण पनि हो । यो परीक्षणपछि उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा पुनः उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने र कडा रबैया अपनाउनुपर्ने आवाज उठेको छ । यो परीक्षण पछि उत्तर कोरियाले आफूलाई ‘वैध’ परमाणु सम्पन्न मुलुकको सूचीमा राख्नुपर्ने बताउँदै आएको छ । तर, अमेरिका र राष्ट्रसंघ सुरक्षा परिषद उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने पक्षमा छन् ।
सैन्य शक्ति कति छ उत्तर कोरियाको ?
दोस्रो विश्वयुद्धको अन्त्यका समयमा कोरियाको उत्तरी क्षेत्रमा रुसी सेना र दक्षिणी क्षेत्रमा अमेरिकी सेना थिए । दोस्रो विश्वयुद्धपछि जापानी साम्राज्यबाट मुक्ति पाएको कोरियामा अमेरिकी साम्राज्यलाई स्वीकार गर्ने कि नगर्ने भन्ने विषय मुख्य थियो । दक्षिण क्षेत्रले पश्चिमाको निगाहामा भएको निर्वाचनमार्फत सरकार बनायो उत्तर कोरियाले त्यसलाई अस्वीकार ग¥यो । त्यसपछि कोरियाली प्रायद्वीपमा सुरु भएको युद्धले नै उत्तर कोरियालाई आफ्नो आणविक शक्तिको विकास र सैन्य क्षमता अभिवृद्धिको बाध्यता आइप¥यो ।
हामीले इमान्दारितापूर्वक भन्ने हो भने उत्तर कोरियाले आफ्नो आणविक परीक्षणलाई निरन्तरता दिनुमा पश्चिमा शक्तिको अविस्वासी व्यवहार पनि हो । पश्चिमा शक्तिले आक्रमण गरेको अवस्थामा कि त आत्मसमर्पण गर्ने कि त त्यसको प्रतिरोध गर्ने नै हुन्छ । सोही अनुसार उत्तर कोरियाले आफूलाई दोस्रो विकल्पका लागि तयार बनाउँदै लगेको छ । आर्थिक क्षेत्रमा दक्षिण कोरिया शक्तिशाली भएपनि सैन्य क्षेत्रमा उत्तर कोरिया धेरै शक्तिशाली छ ।
उत्तर कोरियाले आफ्नो जीडीपीको करिब एक चौथाई सैन्य क्षेत्रमा खर्च गर्छ । अर्थात, उत्तरले सम्पूर्ण बजेटमा हरेक १० रुपैयाँमा २.५ देखि ३ रुपैयाँसम्म रक्षा क्षेत्रमा खर्च गरिरहेको छ । उत्तर कोरियाले जुनसुकै समयमा पनि युद्धको धम्की दिइरहेको हुन्छ । उससँग करिब ३ हजार ५ सय ट््यांक, करिब १२ लाख सेना र ४७ लाख रिजर्भ फोर्स रहेको छ । यो संसारकै पाँचौ ठूलो सक्रिय सुरक्षा फौज पनि हो ।
केही वर्षअघिको तथ्यांकअनुसार उत्तर कोरियासँग ११ हजार एयर डिफेन्स गन, १० हजार घातक मार हान्न सक्ने एयर मिसाइल र ४३ मिसाइल क्राफ्ट तथा १ सय टोरपेडो क्राफ्टसहित आधुनिक हतियार रहेको बताइन्थ्यो । पछिल्लो समयमा आणविक क्षेत्रमा हात हालेको उत्तर कोरियासँग कति घातक हतियार छन् भन्ने यकिन छैन । तर, उसले आफ्नो सैन्य क्षमतामा अत्याधिक रुपमा वृद्धि गरिरहेको छ । यसवर्ष मात्रै उत्तर कोरियाले २० वटा भन्दा बढी क्षेप्यास्त्र र २ वटा परमाणु परीक्षण सफलतापूर्वक गरिसकेको छ ।
उत्तरले किन दिइरहेको छ चेतावनी ?
उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई लिएरर अन्तराष्ट्रिय समुदायले गरेको सबै प्रकारको विरोधलाई बेवास्ता गर्दै आफ्ना कदम अघि बढाइरहेको छ । उसले आफ्नो परमाणु कार्यक्रम प्रतिरक्षाका लागि भएको र सम्प्रभुतामा खतरा उत्पन्न नभएसम्म ती हतियार प्रयोग नगर्ने पनि बताउँदै आएको छ । तर, उत्तरले आफूमाथि कुनै खतरा उत्पन्न भएमा त्यसलाई प्रतिरोध गर्ने शक्ति आफूसँग रहेको बताउँदै आएको छ । उत्तरले पाँचौ परमाणु परीक्षणपछि उत्तर कोरियाको सुरक्षा व्यवस्था थप मजबुत भएको बताएको छ ।
उसले कोरियाली प्रायद्वीपबारेका खराब समाचारहरु आइरहेको र यो सैनिक–राजनीतिक क्षेत्रमा पाँचौ परमाणु परीक्षण उत्तर कोरियामाथि चरणबद्ध रुपमा भइरहेका योजनालाई असफल पार्ने अस्त्रको रुपमा बुझेको छ । उत्तरले २६ अगस्टमा पनडुब्बी, सेप्टेम्बर ५ मा तीन वटा ब्यालेस्टिटक क्षेप्यास्त्र र ९ मा पाँचौ परमाणु परीक्षण गरेको हो । उत्तर कोरियासँग अझै यसप्रकारका अत्याधुनिक हतियार निर्माणका लागि ठूलो मात्रामा युरेनियम समेत सञ्चित रहेको सैन्यविज्ञको दाबी छ ।
उत्तर कोरियाले सुरक्षा, गुप्तचरी र आतंकवादको बहानामा पार्क गेउन हेईले दक्षिण कोरियामा अत्याचारी शासन स्थापित गरेको भन्दै त्यसलाई ‘एक सत्य नरक’ भएको बताएको छ । उत्तरले पार्क गेउन हेईलाई आफ्नो प्रतिद्वन्द्वीलाई ठीक ढंगले बुझ्न र जंगली तरिकाले नकुद्न चेतावनी दिएको छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएको एक टिप्पणीमा भनिएको छ, ‘उत्तर कोरियाको सफल परमाणु बम परीक्षणका कारण जबरजस्त पैदा भएको राजनीतिक भूकम्पबाट भयवित पार्क गेउन हेईको शासन बौलाहा कुकुरको जस्तो लापरबाहीपूर्ण भएको छ । उत्तर कोरिया राजनीतिक र वैचारिक रुपमा मजबुत शक्ति हो । जो संसारकै परमाणुसहितको शक्तिशाली सैन्य शक्ति र एकजुट नागरिकहरुको सोच र उद्देश्य, नैतिकता र दायित्वको भावनामा आफ्ना नेताको पछि एकजुट भएको शक्ति हो ।’
उत्तर कोरियाले दक्षिण कोरियाली राष्ट्रपतिले एउटा राम्रो व्यापार सुरु गर्न पनि भनेको छ । यसले उत्तर कोरिया दक्षिणप्रति कति आक्रामक र उसका नीति कतातिर लक्षित छन् भन्ने संकेत गर्दछ । उत्तर कोरियाले अमेरिका र पश्चिमा देशको समेत आफ्ना नीतिले निन्द्रा नष्ट गरिदिएको छ ।
अन्त्यमा, उत्तर कोरियाका माथि उल्लेखित विषयवस्तुहरु केही उदाहरणीय संकेत मात्रै हुन् । उत्तर कोरिया आफैमा एउटा रहस्यको देश हो । यहाँका कतिपय आधिकारिक विषयवस्तुहरु बाहिर आउन लामो समय लाग्ने गर्दछ । त्यसकारण उसका आन्तरिक योजनाहरुलाई सहजै यो वा त्यो भनेर व्याख्या र परिभाषित गर्न कठिन छ । तर, कोरिया विभाजनको कारुणिक र फिल्मी कहानीदेखि कोरियाली प्रायद्वीपमा भएको शक्ति राष्ट्रको हस्तक्षेप र युद्धका क्रममा लाखौं कोरियाली मारिएपछि आफूलाई शक्ति सम्पन्न बनाउनुपर्ने उत्तर कोरियाली शासकवर्गमा चेतना घुसेको पाइन्छ । उत्तर कोरिया आणविक क्षेत्रमा प्रवेश गर्नुअघिको लामो समयमा चलेको शीतयुद्धको अवस्था र स्थायित्वका लागि गरेको संघर्ष कठीन छ ।
सन् १९७० देखि १९७६ सम्म उत्तर कोरियाको जीडीपी दक्षिणको भन्दा केही गुणा बढी थियो । त्यसपछि ओरालो लागेको कोरियाको अर्थव्यवस्था दरिलो बन्न सकेन । अर्थतन्त्रको ठूलो हिस्सा सुरक्षा क्षेत्रमा खर्च हुँदा झनै विकराल समस्या उत्पन्न हुन पुग्यो । सन् १९९५ देखि १९९९ सम्म लागेको भोकमरीका कारण मात्रै करिब १० लाख मानिसको मृत्यु भएको अनुमान छ । यो समस्याका बाबजुद आज उत्तर कोरिया एउटा चट्टानको रुपमा उभिएको छ । यो चट्टानलाई फुटाएर टुक्रा टुक्रा पार्ने या पगाल्ने मुख्य विषय यहीनेर छ । पश्चिमा शक्तिको एकोहोर रटानका कारण इराक र अफगानिस्तानमा ध्वंसको खरानी उडाइयो । तर, निर्माण अभियान देख्न पाइएन । त्यो दुर्दशाको पुनरावृत्ति नहोस । दोहोरो धम्कीको अस्त्रका रुपमा प्रयोग भएको आणविक शक्ति विनाशको बाटोतर्फ नभई विकासको बाटोमा फर्कियुन । शक्ति समस्या नभई समाधान पनि बन्न सक्नुपर्दछ ।