काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सचिवालय सदस्य तथा नेवा राज्य इन्चार्ज दिनेश शर्मा‘सागर’सहित क्रान्तिकारी माअाेवादीका दर्जनौं नेता कार्यकर्तालाई काठमाडौंको सुन्धराबाट प्रहरीले गिरफ्तार गरेको छ । बुधबार बागबजारबाट पक्राउ परेका पार्टीका नेताहरुको रिहाइका लागि घोषित संघर्षका कार्यक्रमअन्तर्गत आज विहान १० देखि ११ बजेका लागि चक्काजाम गर्न सडकमा निस्क्एिका क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तारमा पर्ने अन्य नेताहरुमा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठ, केन्द्रीय सदस्य फुर्नाम्गेल लामा, शारदा महत, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेल, कर्ण विसी, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सचिवालय सदस्य रनसुर महतरा, दीपक भट्टराई, भीम सुर्खेती, मंगल तामाङ, मणिक महर्जन, फोटो पत्रकार जय दाहाललगायत दर्जनौ रहेका छन् ।
पक्राउ परेका नेताहरुलाई भृकुटी मण्डपको पुलीस क्लवमा राखिएको छ । उपत्यकाको अन्य ठाउँबाट पनि नेता कार्यकर्ताहरु गिरफ्तार गरिएको समाचारहरु प्राप्त भएका छन् ।
दाहाल नेतृत्वको सरकारको यस्तो फासिवादी चरित्रका विरुद्ध गिरफ्तार परेका नेताहरुले प्रहरीको भ्यानभित्रै नाराबाजी गरेका थिए । नेता कार्यकर्ताको रिहाइको माग गर्दै क्रान्तिकारी माओवादीले भोली सिठ्ठि जुलुस राखेको छ भने ९ गते उपत्यका बन्दको घोषणा गरेको छ ।