नेपालमा देशभक्त,बामपन्थी र प्रगतिशील शक्तिबीचको एकताको विषय लामो समयदेखि राजनीतिक बहसको केन्द्रमा रहँदै आएको छ । तर ब्यवहारिकरुपमा त्यस्तो गठबन्धन बन्न सकिरहेको पनि छैन र कुनै पार्टी एबं शक्तिले त्यस्तो गठबन्धन बनाउने प्रयास पनि गरिरहेको छैन । हालैमात्र क्रान्तिकारी कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठकपछि उपरोक्त नारालाई अगाडि ल्याइएको छ । तर सो नारा अमूर्त भएकाले गोलबन्द हुने कुनै स्पष्ट बाटो पनि देखिएको छैन । गत भदौ २३ र २४ को घटनापछि बनेको नेपाली कम्युनिष्ट पार्टीले पनि देशभक्त, बामपन्थी र प्रगतिशील शक्तिहरुबीचको एकतामै जोडदिएको पाइन्छ । तर त्यसलाई सार्थक बनाउनभने कुनै पहल भैरहेको छैन । यस सन्दर्भमा टिप्पणीगर्दा सर्बप्रथम देशभक्त र बामपन्थी शब्दको अर्थ कसले कसरी प्रयोग गरिरहेको छ ? भन्ने बुझ्न आवश्यक हुन्छ । देशभक्त भनेको आफ्नो देश, माटो र जनताप्रति समर्पित र निष्ठावान् व्यक्ति वा समूह हो । सच्चा देशभक्तले देशको राष्ट्रिय अखण्डता र सार्वभौमिकताको सम्मान गर्छन् । अन्धभक्त भएर गलत कुराको समर्थन गर्नुभन्दा पनि देशमा हुने भ्रष्टाचार, अन्याय र बेथितिहरुका विरुद्ध सचेतभई आवाज उठाउनुनै आजको युगमा देशभक्ति हो । देशभक्तिका मुख्य विशेषताहरुमा आफ्नो राष्ट्र र संस्कृतिप्रति गर्वगर्ने । देशको हित नचाहने र गलत क्रियाकलापहरुको निडरताकासाथ आलोचनागर्ने क्षमता राख्ने । राष्ट्रलाई आर्थिक विकास र समृद्धिको मार्गमा लैजान मद्धतगर्ने । सत्ताको निरन्तरताभन्दा पनि आम नागरिकको हितलाई प्राथमिकता दिने मानिन्छन् । कतिपय देशलाई मायाँगर्नेहरुले राष्ट्रवादी शब्दको पनि प्रयोग गरेको पाइन्छ । यस्तो अवस्थामा देशभक्त र राष्ट्रवादीबीचको भिन्नतालाई समेत छुट्याउनुपर्ने हुन्छ । आफ्नो देशलाई मायागर्ने र रक्षागर्न तत्पर रहने व्यक्तिलाई देशभक्त मानिन्छ । जसमा देशको सेवा र नागरिकको कल्याण केन्द्रित हुन्छ ।
त्यसैगरी देशलाई अन्य राष्ट्रभन्दा श्रेष्ठ देखाउने भावना राख्नेलाई राष्ट्रवादीभन्ने चलन छ । जसले आवश्यकपर्दा राष्ट्रका लागि जुनसुकै योगदानगर्न पनि तयार हुनुपर्दछ । कतिपयको तर्क के छभने नेपालजस्तो सानो र भूराजनीतिक रुपमा संवेदनशील देशमा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र बाह्य हस्तक्षेपको विरोधगर्ने शक्तिहरुबीच सहकार्य हुनसक्छ । खासगरी नेपालको कम्युनिष्ट आन्दोलनको ठूलो भागले ऐतिहासिकरुपमा राष्ट्रवाद, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायलाई एकसाथ जोडेर हेर्नेगरेको पाइन्छ । अर्को धारलेभने देशभक्तिलाई कुनै एक विचारधाराको एकाधिकार मान्न मिल्दैनभन्ने गरेको छ । उनीहरुको दृष्टिमा लोकतान्त्रिक, समाजवादी, उदारवादी वा अन्य राजनीतिक शक्तिहरु पनि देशभक्त हुनसक्छन् । देशभक्त र बामपन्थी शक्तिहरुबीच गठबन्धन बन्न सकेको खण्डमा राष्ट्रिय हितका मुद्धामा साझा अडान बनाउन सकिने हुन्छ । आर्थिक आत्मनिर्भरता, उत्पादन वृद्धि र सामाजिक समानताका कार्यक्रम पनि अघि बढाउन सकिन्छ । बाह्य शक्तिहरुको प्रभावबारे साझा दृष्टिकोण विकासगर्न सकिन्छ भन्ने हो । तर कतिपय अवस्थामा देशभक्तिको परिभाषामै मतभेद पनि हुनसक्छ ।
बामपन्थी समूहहरुका बीचमै पनि वैचारिक र रणनीतिक विभाजन हुनसक्छ । जस्तो नेपालमा भैरहेको पनि छ । यस सन्दर्भमा देशभक्त र बामपन्थीहरुका बीचमा कार्यगत एकता कि सहकार्य ? भन्ने कुराहरु पनि आउँछन् । गठबन्धन केवल सत्ता प्राप्तिको माध्यम बन्योभने जनताले विश्वास नगर्न पनि सक्छन्। नेपालमा गठबन्धन बन्ने र भत्किने राजनीतिक संस्कृतिले बदनामी कमाएको अवस्था छ । खासमा भन्ने होभने देशभक्ति र बामपन्थी विचारबीच कुनै फरक छैन । राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, आर्थिक विकास र सुशासनलाई केन्द्रमा राखेर बनेको गठबन्धन सकारात्मक हुनसक्छ । तर यदि देशभक्ति केवल नारामा सीमित रह्यो वा बामपन्थ केवल सत्ता साझेदारीको साधनमात्र बन्योभने त्यस्तो गठबन्धनले दीर्घकालीन परिणाम नदिन सक्छ । देशभक्तले सामान्यतया सकारात्मक अर्थ दिन्छ । विभिन्न सकारात्मक भावनाहरु, मनोवृत्तिहरु र आफ्नो देशलाई मायागर्नेमात्र होइन समस्त मानव जातिको भलाइको निम्ति गरिने कार्यहरुका लागि देशभक्त शब्दको प्रयोग गर्नेगरिन्छ । त्यसैगरी राष्ट्रवाद भनेको आफ्नै राष्ट्रको हितलाई अन्य राष्ट्रहरुको हित वा सबै राष्ट्रहरुको साझा हितहरुबाट अलग ठानिने नीति वा सिद्धान्त हो । छोटकरीमा राष्ट्रवाद एक प्रकारको अत्यधिक आक्रामक देशभक्ति पनि हो । आधुनिक राष्ट्रवादको जरा केही हदसम्म फ्रान्सेली क्रान्तिहरुमा पाइन्छ ।
जसले राजतन्त्रविरुद्ध आफ्ना जनताको सार्वभौमसत्ताको लागि लडेको थियो । त्यसैले ऐतिहासिक राष्ट्रवादलाई सामान्यतया पश्चिमी उदारवादको अनुकूलतामा पनि हेरिन्छ । राष्ट्रवाद पनि कहिलेकाहीँ अतिवादमा परिणत हुनसक्छ र पृथकतावादलाई निम्त्याउन पनि सक्छ । अन्तर्राष्ट्रियरुपमा सहिष्णु हुन अस्वीकार गरेर आफ्नो देशलाई अन्य राष्ट्रहरुको मामिलाबाट अलगगर्ने सिद्धान्त राष्ट्रवादकारुपमा लिइन्छ । देशप्रतिको साँचो माया राष्ट्रवादमा झण्डा फहराउने र नाराबाजीमा हराउँछ । राष्ट्रवादले देशको कुनै गल्ती छैनभनी दाबी गर्छ । तर, देशभक्तिले गल्ती स्वीकारेर पनि देशलाई माया गर्छ । देशलाई मायागर्ने व्यवहारिक दृष्टिकोण राख्नेलाई देशभक्ति मानिन्छ । कुनैपनि नेपालीलाई स्वास्थ्य उपचार, गाँसबासको दुःख नपरोस्भन्ने कुरा सुनिश्चित गर्नुलाई देशभक्ति मान्न सकिन्छ । आर्थिकरुपमा अशक्तहरुलाई सहयोगगर्न इच्छुक हुनु पनि देशभक्ति हो । देशलाई बलियो बनाउन प्रतिभा, सीप र शिक्षित आप्रवासीहरुलाई स्वीकारगर्ने कार्यलाई पनि देशभक्ति मान्न सकिन्छ । अन्य राष्ट्रहरुका शरणार्थीहरुलाई स्वीकारगरी अन्तर्राष्ट्रिय भावना जगाउनु पनि एक प्रकारको देशभक्तिनै हो । देशको अर्थतन्त्र बलियो हुँदैगएको देख्न चाहनेलाई पनि देशभक्तकारुपमा लिने गरिन्छ । अन्तराष्ट्रिय मान्यताअनुसार स्वभावैले कम्युनिष्टहरु देशभक्त हुनुपर्छ भन्ने रहेको छ । नेपालका कतिपय ठूला पार्टीका नेताहरुलेनै देशभक्त र राष्ट्रवाद शब्दलाई पर्यायवाचीकारुपमा लिएको पाइन्छ । यहाँ बामपन्थी र दक्षिणपन्थी छुट्याउने बिषयमा पनि अनेक बिवादहरु रहेका छन् । ०६३ को राजनीतिक परिवर्तनपछि शुरुभएको गठबन्धन संस्कृतिले बापन्थी र दक्षिणपन्थीका बीचमा भेद छुट्याउन असहज अवस्था सिर्जना गरेको छ । नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्र मिलेर सरकार बनाएको अवस्थामा माओवादी केन्द्रका अध्यक्षले नै एमाले भन्दा नेपाली कांग्रेस बढी बामपन्थीभन्ने अभिब्यक्तिदिँदा ठूलो बिवादको सिर्जना गरेको थियो । नेपालमा हालको अवसस्थामा कतिपयले नेपाली कांग्रेसलाईनै बामपन्थीकरण हुँदैगएको बताउने गरेका छन् । जसले समाजमा बिभिन्न किसिमका भ्रमहरुको सिर्जना गरेको देखिएको छ । जस्तो बामपन्थीहरुले पनि समाजवादको नारा दिने गरेका छन् । समाजवाद भन्ने शब्द नेपाली कांग्रेसको कागज, कलम, विधान र ०७२ को संविधानमा समेत उल्लेख छ । तर व्यवहारमा छैन । हालको अवस्थामा हेर्दा न कांग्रेस पार्टीमा समाजवाद बाँकी छ, न कांग्रेसीजनहरुमा समाजवादी चरित्र बाँकीरहेको छ । कतिपय कम्युनिष्ट समूहहरु पनि ब्यवहारिकरुपमा बामपन्थी देखिन सकेका छैनन् । दक्षिणपन्थीहरु कुनैपनि क्रान्ति वा परिवर्तनका लागि डराउँछन् र सधैँ इतिहासको गौरवगाथा गाउनमात्र मनपराउँछन् ।
नेपालका कतिपय दक्षिणपन्थीहरुले उग्रराष्ट्रवादको नारा दिएको पनि देखिने गरेको छ । कतिपय कांग्रेस समर्थकहरुले वामगठबन्धनले अधिनायकवादी हर्कतगर्ने गरेको बताउने गरेका छन् । अठारौँ शदाब्दीको उत्तराद्र्धमा फ्रान्समा राजतन्त्रविरुद्ध भएको राज्यक्रान्तिलाई सम्बोधनगर्न तत्कालीन राजाले बोलाएको बैठकमा देब्रेपट्टि बस्नेहरुलाई लेफ्टिष्ट अर्थात बामपन्थी र दायाँपट्टि बस्नेहरुलाई राइटिष्ट अर्थात दक्षिणपन्थी भनिएको थियो । त्यहीबाट बामपन्थी र दक्षिणपन्थी राजनीतिका भेदहरु शुरुभएका हुन् । त्यसैगरी प्रगतिशील शोचले समाजमा समानता, न्याय, शिक्षा, विज्ञान, मानवअधिकार र सकारात्मक परिवर्तनलाई प्राथमिकता दिन्छ । यसले पुराना परम्परा र संरचनाहरुलाई अन्धरुपमा स्वीकार नगरी तिनको समालोचनात्मक समीक्षागर्दै समयअनुकूल सुधारको पक्षमा वकालत गर्छ । यद्यपि, प्रगतिशील नीतिहरुको प्रभावकारिता, कार्यान्वयनको तरिका र परिवर्तनको गति सम्बन्धमा विभिन्न मतभेदहरु पनि हुनसक्छन् । त्यसैले बिभिन्न पार्टीले आफ्ना भनाईहरु सार्बजनिक गर्दा त्यसको ब्यवहारिक पक्षलाई पनि ध्यान दिनुपर्ने हुन्छ । हाल जो जसले देशभक्त, बामपन्थी र प्रगतिशील शक्तिका बीचमा एकताको नारा दिएका छन्, उनीहरुले त्यसको ब्यवहारिक पक्षलाई पनि यथा समयमै ध्यान दिनु जरुरी देखिएको छ ।





























