नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ अहिले निकै फेरिएका छन् । उनी समयअनुसार परिवर्तन हुन जान्ने नेता हुन् । माओवादी नेताहरु सबैले भन्ने गरेको उनी डाइनामिक नेता पनि हुन् । आफू पहिले भन्दा निकै फरक रहेको आफैले भनेका छन् । आठ वर्षअघि प्रधानमन्त्रीको पदमा आसिन हुँदा जुन अवस्थामा म थिएँ, अहिले त्यो अवस्थामा छैन भनेर प्रचण्ड स्वयंले भन्दै आएका छन् ।
तिनै प्रचण्ड जो एक समय भारतविरुद्ध सुरुङ युद्ध छेड्ने अभिब्यक्ति दिएका थिए । भारतलाई मुख्य दुश्मन ठान्ने भारतविरुद्ध सुरुङ युद्धको सपना देखाउने प्रचण्ड अहिले सुरुङ युद्ध छेड्ने होइन, मुलुकलाई आर्थिक क्रान्तिमा छेड्ने बताउन थालेका छन् । मानौं मुलुकलाई समृद्धिको दिशातर्फ लैजाने बाटोमा उनी लागिसकेका छन् ।
प्रसंग हो संविधानसभाबाट संविधान जारी भएको दिनको एक वर्ष अर्थात पहिलो संविधान दिवसको । संविधान जारी भएको एक वर्षको दिन सरकारले संविधान दिवस मनाउँदै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सैनिक मञ्च टुँडिखेलमा सेता परेवा उडाए । राष्ट्रपति विद्यादेवी भण्डारीसँगै मिठो मुस्कान छर्दै प्रचण्डले शान्तिको प्रतिक मानिने सेतो परेवा उडाए । गैरक्रान्तिकारीहरुका लागि यो शुभ लक्षण होला । तर माओवादी वृत्तमा भने पक्कै पनि यसले संशय पैदा गरिदिएको छ ।
गत वर्ष असोज ३ गते तत्कालीन संविधानसभा भवनबाट पूर्व राष्ट्रपति डा.रामवरण यादवले नेपालको संविधान जारी गरेका थिए । संविधान जारी गरिएसँगै त्यस दिन घरघरमा दीपावली गर्न सरकारले निर्देशन जारी गर्यो । सरकारको निर्देशनअनुसार राजधानी लगायत कतिपय ठाउँमा भब्य दीपावली गरियो, कसै कसैको घरघरमा दीपावली गरियो ।
सयौं वर्षअघिदेखिको जनताको संविधान जनताले लेख्न पाउनुपर्छ भन्ने मान्यताअनुसार नै संविधानसभा गठन गरिएको थियो । पहिलो संविधानसभाले शून्य नतिजा दिएपछि दोस्रो संविधानसभाको निर्वाचन गरिएको थियो । पहिलो संविधानसभाजस्तै दोस्रो संविधानसभामा आम नागरिकको उत्साह देखिएन ।
संविधानसभाको एजेण्डालाई जनतामाझ लगेको माओवादी नै दोस्रो संविधानसभामा विभाजित भएको थियो । माओवादी जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसरी पनि दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न गर्ने अभियानमा लागे भने प्रचण्डकै गुरु मानिने सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’ संविधानसभाको चुनाव जसरी पनि असफल पार्नुपर्छ भन्ने अभियानमा लागे । पहिलो संविधानसभामा उत्साहित भएर लागेको त्यही माओवादीबीच दोस्रो संविधानसभा एउटा यस्तो औचार बन्न पुग्यो । जसले एउटा समूहलाई संसदवादी धारमा उभ्याइदियो भने अर्कोलाई सडकमा अर्थात संसद विरोधी धारमा ।
समयको चक्रजस्तै आफूलाई डाइनामिक भन्ने माओवादी नेताहरु साँच्चिकै डाइनामिक बन्दै गए अर्थात समयअनुसार रंग बदल्न जान्ने, परिस्थितिअनुसार भेष बदल्न जान्ने भएका छन् । त्यसैले दोस्रो संविधानसभालाई ध्वस्त बनाउन ह्यामर बोकेर हिडेका किरणका सहयात्री रामबहादुर थापा ‘बादल’ पनि अन्ततः त्यही संसदवादी धारमै विलिन हुन पुगेका छन् । जसलाई अहिले ती माओवादी नेताहरु कुम हल्लाइ हल्लाई घोक्रो सुकाइ सुकाइ भनिरहेका छन्, यो सबै समयको माग हो ।
‘समयले जनयुद्ध मागेको थियो जनयुद्ध भयो, समयले गणतन्त्र मागेको थियो गणतन्त्र आयो, समयले शान्ति र समृद्धि माग गरेको छ, त्यसैले अब शान्ति प्रक्रिया टुंग्याएर समृद्धिको दिशामा अघि बढ्नु पर्छ,’ कति सटिक छ, भूतपूर्व क्रान्तिका नायकहरुको जवाफ । खैर, माओवादी नेताहरुको परिवर्तनशील विचारहरुको आलोचना गर्ने समय पनि त होइन यतिबेला । त्यसैले अब के गर्ने त, अब हुन्छ त जनयुद्ध, अब हामी कहिलेसम्म यसरी क्रान्ति भनेर लागिरहने ? मोहन वैद्यले अब क्रान्ति गर्छन्, बहुरुपी बहुरंगी नेताहरुको कुरामा आत्मसाथ गर्दै कार्यकर्ताहरु कुण्ठा ओकल्न थालेका छन् । त्यसो हो भने प्रश्न उठ्छ, अब हामीले सबै पराजित भएका दुर्बल प्राणी भइसकेका हौं त ?
तर यसो भन्दै गर्दा माओवादी एकता घोषणामा दिएका प्रवचन पनि मित्या सावित भएका छन् । गत जेठ ६ गते विभिन्न माओवादी घटक समूहहरुबीच एकता हुँदै गर्दा क्रान्तिको अपरिहार्यताका लागि माओवादीबीचको मिलन भनिएको थियो । जुन कुरा माकेका अध्यक्ष प्रचण्डले बारंबार दोहो¥याएका थिए । त्यसपछिका भेला प्रशिक्षणहरुमा अध्यक्ष प्रचण्डदेखि एकतामा सामेल भएका रामबहादुर थापा, देव गुरुङ लगायतले क्रान्ति अझै पूरा नभएको बताउन छाडेका छैनन् ।
पछिल्लो समय भने आफू धेरै अनुभवी र भुक्तभोगी भएको मानौं संसदीय राजनीति पूरै जानेको छु भनेजस्तो गरी प्रचण्डले आफूलाई नेपाली राजनीतिका धुरन्धार खेलाडी भएको ठानेका छन् । त्यसको प्रकारान्तरमा केपी ओलीलाई धुलो चढाउँदै आफू प्रधानमन्त्रीमा आशिन हुन पुगेको प्रचण्डको बुझाइ छ । दश वर्षे शान्ति प्रक्रियामा संसदीय राजनीतिमा खारिदै गएका प्रचण्ड अब भारतविरुद्ध सुरुङ युद्धको कुरा गर्न छाडेर भारतको पक्षमा विश्वमै लबिङ गर्ने कसम खाएका छन् । जुनकुरा नेपाल–भारत २५ बुँदे संयुक्त विज्ञप्तिमा समेत उल्लेख छ ।
कुनै समय आफू विदेशी प्रभु सामु नझुक्ने हुँकार दिँदै पशुपतिमा नेपाली भट्ट राख्नेदेखि दरबारबाट पालितपोषित भएको भन्दै रुक्मांगत कटुवाललाई हटाउन खोज्दा सत्ता छाड्नुपरेको कुरा पनि प्रचण्डलाई पाठ भएको छ । प्रधानमन्त्रीको पदमा आसिन हुँदा भगवानको नाममा सपथ लिन अस्वीकार गर्ने अनि राष्ट्रिय पोशाकलाई दुत्कार्ने कुनै कालखण्डका युद्धका कमाण्डर प्रचण्डले पहिलो संविधान दिवसमा उज्यालो अनुहारमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानन्ययाधीस सुशीला कार्कीसँगै सेतो परेवा उडाउनुले प्रतिकात्मक अर्थ राखेको छ कि अब मेरो मानसपटलबाट नै क्रान्ति शब्दको अवशान भएको छ ।
(लेखक क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष हुन् ।)