के क्रान्तिभित्र क्रान्ति विरोधीहरु हुन्छन् ? यो एउटा गम्भीर प्रश्न हो । र, यस्को उत्तर वर्तमान विश्व कम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिष्ट आन्दोलनमा स्पष्टसित बाहिर आएको छ । क्रान्ति र त्यो पनि सर्वहारावर्गीय क्रान्तिका कुरा गर्दा माक्र्स, ऐगेल्स, लेनिन, स्तालिन र माओ क्रान्तिको चम्किलो शिखर चुम्न सफल नेताहरु हो । कार्ल माक्र्सले भन्नुभएको छ “विज्ञानमा राजसी बाटो हुँदैन् ।” माक्र्सवाद एउटा विज्ञान हो, त्यसैले साँचो अर्थमा माक्र्सवादी हुनु भनेको पनि राजसी बाटोमा लाग्न खोजेर सम्भव छैन । त्यसमा अझ जोड दिंदै उहाँले भन्नुभएको छ, “र, तिनीहरूका लागि मात्रै चम्किलो शिखरमा चुम्न सम्भव छ, जसले नथाकिकन यसको ठाडो उकालो चढ्ने कामदेखि डराउदैनन् ।” यसलाई अझ व्याख्या गर्दै जाँदा र सरल भाषामा उहाँले भन्नुभएको छ, “सर्वहारा वर्गका क्रान्तिकारी नेताहरू जसले उहाँहरूको सम्पूर्ण जीवन माक्र्सवादी सिद्धान्तको स्थापना र विकासका लागि खर्च गनु भयो । उहाँहरूको चम्किलो तथा गौरवमय उदाहरणको अनुसरण गरेर साम्यवादलाई विश्वव्यापी रूपमा प्राप्त गर्न सकिन्छ ।”
माक्र्सका यी उल्लेखित विज्ञानसम्मत भनाइहरूले के संकेत गर्छ भने सर्वहारा वर्गको क्रान्तिकारी नेता बन्नका लागि दुई चार वर्षको या केही दशकको त्याग, तपस्या वा वलिदान मात्रै काफी छैन । सर्वहारा वर्गको क्रान्तिकारी नेता बन्न प्रथम माक्र्सवादी सैद्धान्तिक हतियारको अध्ययन र त्यसमा विशेषज्ञता प्राप्त गर्नैपर्छ । द्वितीय माक्र्स, लेनिन र माओद्वारा गरिएका कार्यहरूको चम्किलो तथा गौरवमय उदाहरणको अनुसरण गर्ने कोशिस गर्नैपर्छ । त्यसैले कुनै मानव निर्मित हतियारभन्दा ठूलो हतियार भनेको माक्र्सवादी सैद्धान्तिक हतियार नै हो । अनि मात्रै माक्र्सले भनेझै साम्यवादलाई विश्वव्यापी रूपमा प्राप्त गर्न सकिन्छ ।
यो सैद्धान्तिक हतियारभित्र माक्र्स, लेनिन र माओद्वारा गरिएका कार्यहरूको गहन अध्ययन बलियो गरी जोडिएको छ । यहाँ कार्यहरू भन्न्नाले उहाँहरूले देखाएका व्यवहारलाई पनि संगसंगै अनुसरण गर्नु हो, दैनिक जीवनमा तिनीहरुलाई लागु गर्न कोशिस गर्नु हो । यसका लागि धेरै वाङगा टिङगा मोडहरू, विजय र हारहरूका बीचबाट अघि बढ्नु आवश्यक छ, जबसम्म विश्वका जनताले फेरि फेरि मानवजातिमा लगायतका जंजीरहरूलाई एक पटक र सदाका लागि ध्वस्त पार्दैनन् ।
त्यसकारण समाजवादी देश निर्माणको अभियानमा लागेका कम्युनिष्टहरू, जहाँ सबै निर्णयहरूका लागि आधार “जनताको सेवा गर” भन्ने मानिन्छ तर तिनै कम्युनिष्टहरू जब “धनी बन्नु गौरवको विषय” भन्ने तर्फ आकर्षित हुन थाल्दछन्, अनि कम्युनिष्ट पार्टीभित्र पुँजीवादी पन्थीहरूको बोलवाला नभए र के हुन्छ त ? जब एउटा कम्युनिष्ट पार्टीभित्र पुँजीवादी पन्थीहरूको बोलवाला बढदै जान्छ अनि व्यक्तिगत सुख सुविधा, मोजमस्ति, विलासिताको जीवन, पद, पैसा र व्यक्तिगत प्रतिष्ठाको लागि मरिहत्ते गर्ने प्रवृत्ति बढ्न थाल्नुमा कुनै अचम्म मान्नै पर्दैन । किनभने, जसरी पनि सरकारमा जानु, पैसा कमाउनु, धनी बन्नु उनीहरूका लागि गौरवको विषय बन्न जान्छ अनि जनताको सेवा गर भन्ने उनीहरूको लागि असान्दर्भिक विषय बन्न जान्छ । र, श्रमजीवि वर्ग, जसको सैद्धान्तिक नेतृत्व स्वीकार गर्ने कुरा हामी कम्युनिष्टहरु गर्दछौ तर स्वयम् श्रमजीवि वर्ग कम्युनिष्ट पार्टीभित्रै त्यसबारे बेखबर बन्दै जान्छ । यस्तो पार्टीले र त्यसका नेताले क्रान्तिका कुरा गर्नु माक्र्सवादप्रति, सर्वहारावर्गप्रति र सर्वहारावर्गीय क्रान्तिप्रति विश्वासघात नै हो । जब सर्वहारावर्गीय क्रान्तिप्रति विश्वासघात हुन थाल्दछ, अनि श्रमजीवी वर्ग जब कम्युनिष्ट पार्टीभित्रै वेखबर बन्दै जान्छ, यस्तो गैर सर्वहारावर्गीय चिन्तन र प्रवृत्ति भएका नेताहरू सत्ता र सरकारमा जानु वा नजानुमा श्रमजीवी वर्ग र किसानहरूका लागि खासै फरक अनुभूति रहँदैन । श्रमजीवि वर्ग समाजको मालिक बन्ने कुरा उनीहरूका लागि भाषणमा मात्रै सीमित बन्न थाल्छ । उनीहरू सत्ता वा सरकारमा गए तापनि श्रमजीवी वर्ग आफ्नो मातहतको प्रशासनिक सत्ताका सबै(सम्भव भए जति पनि) तहमा उनीहरूलाई भर्ना गर्ने र देशको भविश्य कता लैजाने भन्ने निर्णय गर्नेबारे, अध्यन गर्दा, बहस र छलफलगर्दा महत्व दिने गरिदैन । किसानहरू झन्झन् गरीब बन्दै जाने, अपहेलित बन्दै जाने, करको भारीले दबाइनु र भएको जग्गा जमिन पनि हडपिदै जानु । शहरको विकासमा गाउँ वस्तिका स्रोत साधनको अपहरण हुँदै जानु । मध्यमवर्ग कमजोर बन्दै जानु, अर्थपूर्ण जीवनबाट बेदखल बन्दै जानु । पार्टीभित्र र बाहिरका फोहोरी धनीहरू रमाउदै जानु यस्तो सरकारको लक्षण हुन जान्छ ।
१९७६ मा माओको मृत्युपछि जब चीनमा प्रतिक्रान्ति भयो र सर्वहारा साँंस्कृतिक क्रान्तिका नेता तथा समर्थकहरूमाथि दमन हुन थाल्यो, अनि चिनियाँ क्रान्तिकारीहरूले उहाँहरूको अन्तिम लडाईंका दौरानमा भन्नुभएको थियो, “अहिले आफूलाई कम्युनिष्ट भन्नेहरूले ‘साँस्कृतिक क्रान्तिका ज्यादतीहरू’ भन्ने गर्दछन् । तर अहिले चीनमा जे जसरी पुँजीवादको विकास भइरहेको छ, त्यसले के सिद्ध गर्दछ भने कम्युनिष्ट पार्टीभित्रका पुँजीवादी पन्थीहरूको जोड जे जसरी हुन्छ, समाजवादको अन्त्य गरी पुँजीवादको स्थापना थियो जसका लागि ‘साँस्कृतिक क्रान्ति एउटा बाधक बनेर आएको थियो ।’ जसरी चिनियाँ क्रान्तिकारीहरूले उहाँहरूको अन्तिम लडाईंका दौरानमा भन्नुभएको थियो, जो अहिले चीनमा सावित भएको छ । त्यसैगरी नेपालका कम्युनिष्टहरूमध्ये केहीले शान्ति र संविधानलाई नेपालको जनवादी क्रान्तिका आधारभूमि तयार गर्नका लागि एउटा जादुगरी हतियार भनेर अहिले भनि रहेका छन्, त्यसका पछाडिको वास्तविकता के हो भन्ने पत्ता पाउन नेपाली जनताले पनि चीनमा जस्तै लामो समयको प्रतीक्षा गर्नै पर्दैन । र, मुखले उनीहरुले क्रान्ति क्रान्ति त भन्दै छन् र सारमा उनीहरुका लागि क्रान्ति अब घेरै टाडाको विषय बन्दै गएको छ ।
माओले सांस्कृतिक क्रान्ति सुरू गर्दा प्रष्ट देख्नु भएको थियो कि सोभियत संघ र चीनमा पनि कम्युनिष्ट पार्टीभित्र नयाँ पुँजीपति वर्गको उदय भइरहेको थियो । तिनीहरूका लागि, अब उनीहरू शक्ति र सत्तामा थिए, क्रान्ति अब घेरै टाडाको विषय बन्दै गएको थियो । पार्टीभित्रका यिनै भावी अधिपति तथा सामन्तबाट क्रान्ति अगाडि बढ्न सकिरहेको छैन भन्नेमा माओ विश्वस्त हुनुहुन्थ्यो । त्यसकारण माओले पार्टीका माथिल्लो नेतृत्वका विरूद्ध पार्टी सदस्यहरू र जनतालाई “हेडक्वार्टरमाथि बमवार्ड गर” भनेर आव्हान गर्नुभयो । यो आव्हानद्वारा उहाँले चीनलाई पुँजीवादी बाटोतर्फ लैजान कोशिस गरिरहेका ती पार्टी नेताहरूको आलोचना गर्दै र तिनलाई सत्ताच्युत गर्दै, समाजवादी नयाँ कार्यहरूको निर्माण गर्ने पहलकदमी लिन चाहानु हुन्थ्यो । किनभने माओका लागि चिनियाँ समाजलाई क्रान्तिकारी दिशामा अगाडि बढाउनु थियो । यसका लागि माओले माक्र्सवादको गहिरो अध्यन गर्न र त्यसलाई गहिरो गरि बुझ्न आम पार्टी पङक्तिलाई आव्हान गर्नुभएको थियो ताकि माक्र्सवाद र संशोधनवादबीचको भिन्नताबारे उनीहरूले राम्ररी बुझ्न सकून् र समाज सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्न कैयौ संख्यामा जनतालाई लगाउन सकियोस् ।
त्यसका लागि माओले “क्रान्तिभित्र क्रान्ति”भन्ने विश्व कम्युनिष्ट आन्दोलनमा त्योभन्दा अघि कहिल्यै नसोचिएको अभियानको सञ्चालन गर्नु प¥यो । जब पार्टी एउटा अत्यन्त जोखिमपूर्ण अवस्थामा थियो र यसका केही नेताहरूलाई सत्ताच्युत गर्नु थियो, सर्वहारा क्रान्तिको कठिन संघर्षहरूलाई मार्गनिर्देशन गरिनुपर्ने खाँचो थियो र संश्लेषणको आवश्यकता थियो र यसकै दौरानमा पार्टीलाई पुनर्निमाणको आवश्यकता थियो, अथवा यसो नगरेमा पुँजीवादी बाटोमा लागेकाहरूको यात्रालाई रोक्न सकिने अवस्था थिएन । त्यसका लागि माओका अगाडि “चौतर्फीरूपमा र तलैबाट सत्ता खोस्ने” अभियानलाई तेज पार्नुको विकल्प थिएन ।
विश्व कम्युनिष्ट आन्दोलनले के सिकाएको छ भने समाजवादी समाजमा सबैभन्दा महत्वपूर्ण टक्कर आफ्नै पार्टीभित्रका नयाँ पुँजीवादीपन्थीहरु(बुर्जुवाजी)का इच्छाहरूको प्रतिनिधित्व गर्ने नीतिहरू र विचारहरू प्रोत्साहन गर्नेहरूका बीचमा र सर्वहारावर्गका, श्रमिकवर्गका प्रतिनिधिहरू जसले विश्वभरका जनताबीचका सबै सम्वन्धहरूलाई क्रान्तिकारीकरण नगरीकन आफैलाई स्वतन्त्र गराउन सकिदैन् भन्नेका बिचमा हुन्छ । यो पार्टीभित्रका दुई राजनीतिक र वैचारिक लाइनहरूबीच, दुई आपसमा टक्करभइरहेका विश्वदृष्टिकोण र लक्ष्यहरू, रणनीतिहरू र नीतिहरू जसले समाजलाई विपरीत दिशातिर लैजान्छ । परिणाम पार्टी स्वयम् आन्तरिक संघर्षमा केन्द्रीत बन्न जान्छ ।
माओले आफ्नो मृत्युभन्दा केही समय अगाडि भनेका निम्न भनाइहरु नेपालको वर्तमान माओवादी आन्दोलनका सन्दर्भमा पनि सान्दर्भिक छन्, जसमा उहाँले भन्नुभएको थियो, “तिमीले समाजवादी क्रान्ति गरिरहेका छौ र तै पनि तिमीलाई थाहा छैन पुँजीवादीपन्थीहरु(बुर्जुवाजी) कहाँ छन् ? यी कम्युनिष्ट पार्टीभित्रै छन्, र ती अहिले सत्तामा छन्, जसले पुँजीवादी बाटो लिइरहेका छन् । नेपालको सन्दर्भमा पनि माओवादी जनयुद्धलाई पराजित गराइएको छ र यसको नेतृत्व पनि माओले भनेझै अहिले सत्तामा जो छन् तिनैबाट भएको छ र जसले पुँजीवादी बाटो लिइरहेका छन्, तिनैद्वारा माओवादी जनयुद्धलाई पराजित गराइएको छ । ढिलो चाडो यो स्पष्ट बन्ने छ कि आखिरमा जे जसरी भएपनि सरकारमा जान चाहनेहरु र सत्तामा बसेकाहरूले क्रान्तिका कुरा जति गरे पनि कालान्तरमा क्रान्ति विरोधी ठहर्ने छन् ।