काठमाडौं । रेफ्रीको गलत निर्णयको शिकार बन्दा इङलिस प्रिमियर लिगको दाबेदार टोली चेल्सी स्वान्सी सिटीसँग बराबरीमा रोकिन पुगेको छ ।
आइतबारराति भएको खेलमा स्वान्सीका लिरोह फेरले चेल्सीका डिफेन्डर ग्यारी काहिललाई लडाएर गरेको गोललाई रेफ्रीले मान्यता दिएपछि चेल्सी बराबरीमा रोकिन पुगेको हो ।
खेलको १८ औं मिनेटमा नै चेल्सीका डिएगो कोष्टाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा चेल्सीका गोलकिपरले विपक्षी खेलाडीलाई डिबक्स एरियामा लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै सिगुर्डसनले खेललाई बराबरीमा ल्याएका थिए ।
त्यसको दुई मिनेटपछि नै फेरले काहिललाई फल गर्दै गरेको गोलले मान्यता पाएपछि चेल्सी २–१ ले पछि परेको थियो । खेलको ८१ औं मिनेटमा चेल्सीका लागि कोष्टाले दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेलमा कुनै गोल हुन सकेन र चेल्सीको विजयी यात्रामा पूर्णविराम लाग्यो । खेलपछि काहिलले स्वान्सी सिटीको दोस्रो गोललाई मान्यता दिन नहुने बताएका छन् ।
फल भएकाले त्यो गोललाई मान्यता दिन नहुने डिफेन्डर काहिलले बताएका हुन् । डिफेन्डर काहिलले आफूमाथि भएको फल चन्द्रमाबाट पनि देखिने भन्दै मैदानमै रहेका तीन जना रेफ्रीले नदेखेको टिप्पणी गरे ।
स्वान्सीका मिडफिल्डर लिरोय फेरले ६२ औं मिनेटमा काहिललाई लडाएर गोल गरेका थिए । तर रेफ्रि आन्द्रे म्यारेनाले त्यसलाई गोलको मान्यता दिए ।