भाद्र २७, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाली क्रान्तिलाई पूर्णता दिने सबैभन्दा महत्वपूर्ण साधन भएको बताएका छन् । क्रान्तिका मुख्य तीन जादुगरी हतियारमध्ये देशभक्त जनगणतान्त्रिक मोर्चा एक भएको उनकाे भनाई थियो ।
मोर्चाको पहिलो राष्ट्रिय भेलाको आइतबार राजधानीमा उद्घाटन गर्दै अध्यक्ष किरणले नेपाली क्रान्तिमा रहेका अवसरवादी तत्वहरु पार्टीबाट बाहिरिएको उल्लेख गर्दै नेपाली क्रान्तिलाई पूर्णता दिन बाँकी रहेको पार्टी पंक्तिले इमान्दारितापूर्वक पहल लिन आवश्यक भएकोमा जोड दिए ।
रुसी क्रान्तिमा काउत्स्किलगायतका नेताहरुले क्रान्तिलाई छाडेर संसदवादमा फँसेको उदाहरण दिँदै उनले नेपालमा पनि प्रचण्डसहितका नेताहरु क्रान्तिलाई छाडेर प्रतिक्रान्तिकारी कित्तामा उभिएको उल्लेख गरे ।
नेपालमा क्रान्ति पूर्णताको दिशा तिर गइरहेका बेला क्रान्तिको ठूलो पंक्ति पलायन भएको उल्लेख गर्दै उनले यसले नेपालको क्रान्तिलाई पनि २०४७÷०४८ सालतिर फर्काएको उनको भनाई थियो ।
नेपालमा जारी भएको प्रतिक्रियावादी संविधानलाई समेत कार्यान्वयन हुन नदिनका लागि देशी विदेशी षढयन्त्र अहिले नै छर्लङ्ग रुपमा देखिएको उल्लेख गर्दै उनले यो संविधान लागु हुन नसक्ने उल्लेख गरे । उनले संविधान संशोधन गर्नका लागि संसदको दोस्रो ठूलो दल नेकपा एमालेलाई फुटाउन पनि देशी विदेशी शक्ति लागिपरेको उनको भनाई थियो ।
अहिलेको संविधानमा संघीयता, धर्मनिरपेक्षता, समावेशीता जस्ता शब्द समावेश हुनु आंशिक सकारात्मक भएपनि यसको सारतत्वमा पुरानो संविधानभन्दा खासै फरक नरहेको उल्लेख गरे । उनले अहिलेको सन्दर्भमा नेपालको क्रान्तिलाई पूर्णता दिनका लागि सबै वर्ग, जाति क्षेत्र, लिंग र वर्गका जनतालाई समावेश गरेर क्रान्तिको मुख्य साधनको रुपमा मोर्चा अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।
इतिहास दोहोरिदैन भनिएपनि इतिहास अन्ततः अली अली दोहोरिने जस्तो देखिने भन्दै उनले द्वन्द्ववादमा निषेधको निषेश नियम हुने कुुरा बताए । उनले मकैको गेडाबाट बोट हुँदै नयाँ मकैले बोटलाई प्रतिस्थापन गरेपनि त्यो मकै पुरानो नभएर नयाँ नै हुने बताए ।
‘विश्व कम्युनिष्ट आन्दोलनको दौरानमा पहिलो अन्तर्राष्ट्रिय अत्यन्त जिकज्याकका बीचबाट अघि बढेको र अन्तत विघटन समेत गर्नुपरेको थियो,’ उनले भने, ‘ त्यसपछि दोस्रो अन्तर्राष्ट्रिय गठन भयो, त्यस्तै क्रान्ति पनि गरिदै आइयो आइयो र फेरि मासिदै मासिदै गयो ।’
कार्यक्रममा पार्टीका वरिष्ठ नेता तथा मोर्चा संयोजक सीपी गजुरेलले मोर्चा गठनको सुरुवात शानदार भएको उल्लेख गर्दै यसले प्रतिक्रियावादी कित्तामा आतंक सिर्जना गरेको बताए ।
उनले राष्ट्रिय आवश्यकताको कारणले नै मोर्चा गठन गर्नुपरेको उल्लेख गर्दै उनले नेपाली क्रान्तिले पूर्णता नपाउँदै एउटा पंक्तिले गद्धारी गरिसकेपछि क्रान्तिको बाँकी र अधुरो कार्य पूरा गर्नका लागि मोर्चा गठन भएको बताए । समाजमा भएका अन्य क्रान्तिकारी तप्काहरुलाई समेत एकताबद्ध गरी नेपालमा नयाँ ढंगले क्रान्ति सम्पन्न गर्नका लागि यो मोर्चा निरन्तर अघि बढ्ने बताए ।
माओले भनेझै तीन जादुगरी हतियार मध्ये यो मोर्चा क्रान्ति सम्पन्न गर्नका निम्ति नेकपा क्रान्तिकारी माओवादीको नेतृत्वमा गठन भएको यो मोर्चा सामन्तवाद र साम्रज्यवाद विरोधी मोर्चा भएको उनको भनाई थियो ।
प्रचण्डले तत्काल गर्न लागेको भारत भ्रमण पुनः राष्ट्रघाती सन्धी सम्झौता गर्नका निम्ति भएको उल्लेख गर्दै उनले हस्ताक्षर गर्ने सबै दस्तावेज तयार भइसकेको तर हस्ताक्षर गर्ने ठाउँमात्रै खाली भएकोले प्रचण्ड दिल्ली जान लागेको उनले बताए ।
प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीको निदहरण गरी नेपालमा उथलपुथल मच्चाइदिने उल्लेख गर्दै उनले आत्मगत शक्तिलाई पनि क्रान्ति र संघर्षकै माध्यमबाट मजबुत बनाउले दृढता व्यक्त गरे ।
उनले आफूहरु नै जित्ने शक्तिको रुपमा उदाउने उल्लेख गरे । यो मोर्चा संघर्ष र सत्ताको साधन भएको बताउँदै उनले निरीह भएर बसेका जनतालाई गाउँगाउँमा गएर जगाउँदै समानान्तर सत्ताको रुपमा भूमिका निर्वाह गर्ने गजुरेलको भनाई छ ।
क्रान्ति सम्पन्न गर्ने जिम्मा आफूहरुको काँधमा आएकोले सारा शोषित उत्पीडित जनतालाई संगठित गरी प्रतिक्रियावादी र साम्राज्यवादीका विरुद्ध समेत आगो बाल्ने बताए ।
कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक इश्वर तिमल्सिना, अखिल नेपाल किसान संघ क्रान्तिकारीका अध्यक्ष भूमिश्वर कँडेल, अखिल नेपाल महिलासंघ क्रान्तिकारीका तर्फबाट अम्बिका मुडभरी, नेपाल दलित मुक्ति मोर्चाका संयोजक अमर परियार, मधेसी राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीका अध्यक्ष रोशन जनकपुरी, अखिल नेपाल आदिवासी जनजाति महासंघका तर्फबाट कमल चौधरी, क्रान्तिकारी युवा लिगका संयोजक अमिर महर्जन, अनेरास्ववियु क्रान्तिकारीका संयोजक सेवन्तराज भण्डारी, राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी संगठनबाट हुकुम बहादुर सिंह, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष इश्वरचन्द्र ज्ञवाली, अखिल नेपाल प्रगतिशील शिक्षक संगठनका अध्यक्ष विजयरत्न बज्राचार्य, राष्ट्रिय उद्योग व्यापार महासंघका तर्फबाट हरिकृष्ण उपाध्याय, नेपाल राष्ट्रिय प्राध्यापक संघबाट अध्यक्ष जगदिशचन्द्र भण्डारी, जनक्रान्तिका घाइते, अपांग योद्धा संघको तर्फबाट भक्तराज थापा, क्रान्तिकारी पत्रकार महासंघको तर्फबाट महासचिव केशरमणि कटुवाल, प्रगतिशील कानुन व्यवसायी संघको तर्फबाट रामबहादुर केसी, भेरी कर्णाली राष्ट्रिय मुक्ति मोर्चाबाट धनजीत शाहीले शुभकामना मन्तव्य राखेका थिए ।
मोर्चाको आज विहानबाट कुपण्डोल कार्यालयमा बन्दसत्र चल्दैछ ।