काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका विषयमा परराष्ट्रविद तथा व्यापारीसँग छलफल गरेका छन् ।
छलफलका क्रममा परराष्ट्रविद तथा व्यापारीहरुले भारतसँगको सम्बन्ध सुधार र विगतका सम्झौता कार्यान्वयनका पक्षमा भारतसँग कुराकानी गर्न सुझाव दिएका छन् ।
भारत भ्रमणका विषयमा उनले परराष्ट्रविद् र व्यापारीसँग बेग्लाबेग्लै छलफल गरेका हुन् । प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणका विषयमा शंका गरिएको भन्दो अनावश्यक शंकाको दृष्टिले नहेर्न आग्रह गरेका थिए ।
भारत भ्रमणमा जाँदा आशंका गर्ने प्रवृत्ति त्याग्नुपर्ने उनको भनाई थियो । पटक पटक नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा राष्ट्र हितविपरीतका सन्धि सम्झौता हुने गरेकाले पनि आशंकाहरु उब्जनु स्वभाविक भएको परराष्ट्रविद्हरुले धाराणा राखेका थिए ।
प्रधानमन्त्री दाहाललाई उनीहरुले संविधान संशोधन लगायतका आन्तरिक विषयमा भारतसँग छलफल गर्न जायज नहुने सुझाव दिए ।
पूर्वपरराष्ट्रमन्त्री डा. रमेशनाथ पाण्डेले भारत जानु पहिले नै संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्न सुझाव दिएका थिए ।
संविधान संशोधन नेपालको आन्तरिक मामिला भएकाले संशोधन प्रस्ताव संसदमा पेश गरेर जाँदा यस विषयमा भारतले सुझाव दिन नपाउने र प्रधानमन्त्रीमाथि शंका पनि नहुने उनले बताए ।
यस्तै, परराष्ट्रमामिलाका जानकार तथा पूर्वपराष्ट्रमन्त्रीसमेत रहेका डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री दाहाललाई दुई देशबीचको अविश्वास पैदा हुने अवस्था आउन नहुने सुझाव दिएको बताए ।
भारतको प्रस्तावमा प्रधानमन्त्री दाहाल आगामी भदौ ३० गते भारत भ्रमणमा जाने तयारीमा छन् । उनको भ्रमणबारे मन्त्रिपरिषद्ले औपचारिक निर्णय भने गरेको छैन ।