
नेपाली समाज बिगत दुई दशकदेखि उथलपुथलका बीचबाट गुज्रिरहेको छ । यसलाई दुई भागमा बाँडेर अध्ययन गर्दा उचित हुनेछ । सम्वत् २०५२ सालदेखि २०६२ सम्म जनयुद्धको वा जनक्रान्तिको काल र २०६२ देखि प्रारम्भ भएर अहिलेसम्म आईपुग्दाको प्रतिक्रान्तिको कालखण्ड । क्रान्ति र प्रतिक्रान्तिलाई प्रत्यक्ष रुपमा अनुभूत गर्नेको संख्या यहाँ पर्याप्त छ ।
यतिखेर मुख्य कुरा यी क्रान्ति र प्रतिक्रान्तिका घटना–शृंखलाको वैचारिक र राजनीतिक विश्लेषण र संश्लेषण कसरी गर्ने भन्ने प्रश्न हो । वैचारिक, राजनीतिकरुपमा स्खलित भएकाहरुले, खासगरी नवसंशोधनवादीहरुले यो चुरो कुरालाई बुझेर पनि बुझ पचाइरहेका छन् । तिनीहरु प्रतिक्रान्ति भएको कुरालाई ढाँट, छल गरेर बङ्ग्याउन खोज्दछन् । नवसंशोधनवादी कित्तामा पुगेकाहरु प्रतिक्रान्तिलाई नै क्रान्ति हो भन्नेजस्ता कुतर्क प्रस्तुत गर्नसम्म पनि हिच्किचाउँदैनन् ।
मोदी सरकारले नेपाली कांग्रेसलाई मिलाएर बनाइदिएको प्रचण्ड नेतृत्वको यो नौ महिने म्यादी सरकारले पश्चगामी संविधानको वार्षिकोत्सव दीपावलीसहित तीन दिनसम्म मनाउने निर्णय गर्नुको दुईवटा अर्थ हुन सक्दछ : प्रथम, माओवादी केन्द्र (संक्षिप्तमा माके)को प्रतिक्रियावादी कित्तामा प्रवेशको सार्वजनिक घोषणा । माके अब क्रान्तिकारी कित्ताको शक्ति रहेन, प्रतिक्रियावादी कित्ताभित्रको एउटा संगठन बन्न पुग्यो भन्ने कुराको सार्वजनिक स्वीकारोक्तीले नेपाली जनतामा लामो समयदेखि रहँदै आएको माकेप्रतिको “माओवादी” र “क्रान्तिकारीता”को भ्रम अब समाप्त हुँदै जानेछ । द्वितीय, क्रान्तिकारी शक्तिहरुलाई नवसंशोधनवादीको खुला चुनौती । यसले क्रान्तिकारीहरुको नव संशोधनवादीहरुप्रतिको तीब्र घृणा पैदा गराउने छ र क्रान्तिकारीहरुको सक्रियतामा बृद्धि हुनेछ । यसले अन्ततः नेपाली क्रान्तिको पक्षमा नै भूमिका खेल्ने छ ।
यो संविधानलाई हाम्रो पार्टीले र नेपाली जनताको एउटा महत्वपूर्ण हिस्साले पश्चगामी संविधान घोषणा गरेर सार्वजनिक रुपमा जलाउँदै आएका छन् । प्रतिक्रियावादी वर्गले बोकाएको त्यही पश्चगामी संविधानको भारी बोकेर, त्यसलाई जसरी भएपनि लागू गर्नुपर्छ भन्दै तिनीहरु जनतासँग भिड्न जाने तयारी गरिरहेका छन् । यसप्रकार यतिखेर तिनीहरुको व्यवहारिक भूमिका क्रान्तिकारीहरुको नभएर भिजिलान्तेको हुन जाने कुरा प्रष्टसँग देख्न सकिन्छ ।
नेपालको जनयुद्ध कसरी अगाडि बढ्यो र जुन तीब्रताका साथ अघि बढ्यो, त्यसबारे धेरैलाई थाहा छ । प्रस्तुत लेखमा यसबारे धेरै चर्चा गरिने छैन । क्रान्तिपछि जसरी सुक्ष्म रुपमा प्रतिक्रान्तिकारी घटनाका शृंखला अघि बढे, खासगरी तिनलाई नवसंशोधनवादी गुटले यसलाई “क्रान्ति”का नाममा जसरी अघि बढायो, यसले नेपालको वामपन्थी राजनीतिमा ठूलै भ्रम सिर्जन गर्यो ।
नेपालमा प्रतिक्रान्तिका शृंखलालाई नवसंशोधनवादी मण्डलीले “नयाँ छलांग”, “नयाँ किसिमले क्रान्तिलाई सफल पार्ने”, “विदेशी प्रभुसँग नझुक्ने”, “सत्ता कब्जा गर्ने”, “नागरिक सर्बोच्चताकालागि लड्ने” भन्दाभन्दै लगेर कदम कदम गर्दै जनसरकारको विघटन, जनसेनाको विघटन, पहिलो निर्वाचित संविधानसभाको विघटन, क्रान्तिकारी विचारको विसर्जन, क्रान्तिकारी नीतिको बिसर्जन गरिदिए ।
यो प्रकृयालाई यहाँसम्म ल्याइपुर्याउन नवसंशोधनवादी गुटलाई झण्डै दशवर्ष जतिको समय लाग्यो । यस अवधिमा देशी, विदेशी प्रतिक्रियावादीहरु र नवसंशोधनवादीहरुको प्रतिक्रियावादी व्यवस्थाको पुनस्र्थापना गर्ने योजना अझै पूरा हुन भने सकेको छैन । तिनीहरुले एकथान पश्चगामी संविधान त जारी गरिसकेका छन् । तर त्यसको कार्यान्वयन तिनीहरुका लागि फलामको च्यूरा चपाउनु जत्तिकै कठिन सावित हुन पुगेको छ ।
माथि दशवर्षे जनयुद्धको नेतृत्व गर्दै आएको तात्कालीन नेकपा (माओवादी)को प्रमुख नेतृत्वलगायत पार्टीको एक हिस्सा कसरी नवसंशोधनवादमा पतन हुँदै प्रतिक्रियावादीकरणको बाटोमा गयो भन्ने कुराको चर्चा गरिसकिएको छ । तर यो त विषयको एक पक्ष वा एक पाटो मात्र हो । यसको अर्को उज्वल पक्ष पनि छ । उक्त नवसंशोधनवादका विरुद्ध दुईलाइन संघर्ष पनि त्यतिबेला देखि नै चल्दै आएको छ । यस सन्दर्भमा स्पष्ट पार्नका लागि यो उद्धरण सान्दर्भिक हुने ठानेर यहाँ प्रस्तुत गरिएको छ : “दशवर्षको महान् जनयुद्धको नेतृत्व गर्दै, १९ दिने ऐतिहासिक जनआन्दोलनमा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्दै, नेपालको राजनैतिक आन्दोलनलाई नयाँ दिशा दिँदै, आएको नेकपा (माओवादी)लाई साम्राज्यवादी, विस्तारवादी, प्रतिक्रियावादीहरुले पभिाषित गरेको “संसदीय मूलधार”मा ल्याउने कसरत भइरहेको छ । यसो गरेर तिनीहरु नेकपा (माओवादी)लाई नेपाली कांग्रेस र एमाले जस्तै संसदीय पार्टी बनाउन चाहन्छन् । यसप्रकार, उनीहरु नेपाली समाजको क्रान्तिकारी रुपान्तरणलाई रोक्न र यथास्थितिमा कायम राख्न चाहन्छन् ।” (२०६५ साल साउनमा प्रकाशित, सीपी गजुरेल ‘गौरव‘द्वारा लिखित पुस्तक ‘नेपाली क्रान्तिका राजनीतिक पहलूहरु’को भूमिकाबाट) ।
त्यतिखेर पार्टीमा दुईलाइन संघर्ष त चलेको थियो, तर पार्टी विभाजन भै सकेको थिएन । पार्टी विभाजन नभएकै बेलामा पनि सार्वजनिक रुपमा प्रकाशित पुस्तकमा यी विचार व्यक्त हुनुले त्यतिखेर पार्टीमा दुईलाइन संघर्ष कति भीषण रुपमा चलिरहेको रहेछ भन्ने कुरा बुझ्न निकै मद्दत पु¥याउन सक्नेछ । यसलाई एउटा सुखद् संयोग नै मान्नु पर्दछ कि उक्त भूमिकामा लेखिएजस्तै आज नेकपा (माके) “संसदीय मूलधार”मा बडो आनन्द र गर्वका साथ प्रवेश गरिसकेको छ र त्यो संसदीय फोहोरी आहालमा चुर्लुम्म डुबिसकेको छ ।
संसारमा हरेक चिज गतिशील हुन्छन् । साम्राज्यवादले कम्युनिष्ट क्रान्तिकारीहरुसँग लड्ने तरिका पनि परिवर्तित परिस्थिति अनुसार नै नयाँ ढंगको बनाउने गर्दछ । अहिलेको विश्वमा क्रान्तिलाई कसरी प्रतिकृयावादीहरुले प्रतिक्रान्तिमा बदल्ने गर्दछन् भन्ने कुराको बदलिएको परिस्थितिकै सापेक्षतामा अध्ययन गर्नु आवश्यक हुन्छ । यसबारे क्रान्तिको नेतृत्व गर्ने कम्युनिष्ट पार्टीका नेता र कार्यकर्ताले बुझ्नु झन् बढी आवश्यक छ ।
यस विषयलाई स्पष्ट पार्नका लागि एउटा लामो तर सान्दर्भिक उद्धरण यहाँ प्रस्तुत गरिएको छ : “अहिलेको समकालीन विश्वमा कम्युनिष्ट पार्टीहरुको नेतृत्वमा अघि बढेका नयाँ जनवादी क्रान्ति समाप्त पार्नका लागि उनीहरुले यी विविध तरिकाहरु अपनाएको पाइन्छ । पहिलो प्रकारको नीतिको उनीहरुले दशवर्ष (सम्वत् २०५२–२०६२) सम्म अघि बढेको जनयुद्धका सन्दर्भमा पनि सफलतापूर्वक प्रयोग गरेका छन् । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बेलामा नेपालमा अघि बढेको नेपालको जनयुद्धलाई विश्वभरिका क्रान्तिकारीहरुको नैतिक समर्थन प्राप्त भएको थियो । यो जनक्रान्ति पूर्णरुपमा सफल हुने ठूलो सम्भावना थियो ।
विश्व इतिहासमै यो एउटा ऐतिहासिक क्रान्ति हुनसक्ने सम्भावना थियो । यसलाई दमनद्वारा समाप्त पार्ने धेरै प्रयास भए, जसका लागि प्रतिक्रियावादी सरकारले सेनाकै कमाण्डमा समग्र सुरक्षाशक्ति परिचालन गरेको थियो । पछिल्लो चरणमा विदेशी सेना प्रत्यक्ष रुपमा जनयुद्धमा सामेल भएका तथ्यहरु पनि सार्वजनिक रुपमा आइरहेकै थिए । तर ती सबै व्यर्थ सावित भए । अन्त्यमा उनीहरुले क्रान्तिकै नेतृत्व गरिरहेका नेताहरुलाई आफ्नो पक्षमा ल्याए र उनीहरुकै माध्यमबाट उक्त जनक्रान्तिलाई समाप्त पार्न लगाउने नीति लिए र उनीहरु यसमा चाहिँ धेरै हदसम्म सफल भए ।
नेपाली क्रान्तिका विरुद्ध भएको त्यस प्रकारको विश्वासघातका विरुद्ध, उनीहरुमा देखापरेको नवसंशोधनवादी भड्काउका विरुद्ध विद्रोहको झण्डा उठाउँदै पार्टीको पुनर्गठन गरेर नेकपा–माओवादीको स्थापना गरिएको कुरा त सर्वविदितै छ । प्रतिक्रान्तिका बाँकी रहेका कामहरु पनि तिनै वर्गीय र राष्ट्रि«य आत्मसमर्पणवादीहरुबाटै पूरा गराउन देशी र विदेशी प्रतिकृयावादी शक्तिहरु कसरत गरिरहेका छन् । पश्चगामी संविधान बनाउन र जारी गर्न कथित चार दलका शीर्ष नेताले गरेको “१६ बूँदे सहमति” र यिनैको निर्णयअनुसार तयार गरेर प्रस्तुत गरिएको प्रतिगामी मस्यौदा र जारी गरिएको पश्चगामी संविधान यसैको एउटा ठोस रुप हो । “(२०७२ साल माघमा अक्सफोर्ड इण्टरनेशनल पब्लिकेसनद्वारा प्रकाशित, सीपी गजुरेल ‘गौरव”को “क्रान्ति र प्रतिक्रान्तिका शृङ्खला” शीर्षक पुस्तकको भूमिकाबाट) ।
नेपालको राजनीतिमा अहिलेसम्म देखा परेका पलायन, कुण्ठा, निरासाको मुख्य कारण प्रतिक्रान्ति हो भन्ने कुरा बुझाउनु अझै आवश्यक भएको हुनाले हाम्रो पार्टी केन्द्रीय समितिले नवसंशोधनवादीहरुको भण्डाफोरमा जोड दिएको छ । यसैलाई ध्यानमा राखेर प्रतिक्रान्तिका विषयमा यहाँ पुनः चर्चा गरिएको हो ।
मोदी सरकारले सबैले देख्ने र बुझ्ने गरी देउवा–प्रचण्डको लगनगाँठो गाँसेर ९ महिने म्यादी सरकारको प्रधानमन्त्री प्रचण्डलाई बनाइदिएको सन्दर्भमा हुन लागेको प्रचण्डको दिल्ली भ्रमणमा भारत सरकारलाई तिनले नेपालका कुन–कुन प्राकृतिक श्रोतहरु बुझाउने हुन् भन्नेबारे नेपालका देशभक्त शक्तिहरु र व्यक्तिहरुमा एकप्रकारको आतंक छाएको छ । नेपाली संचार माध्यम त्यही आशयका अभिव्यक्तिले भरिने गरेका छन् । नेपाली राजनीतिमा एउटा नयाँ मोड आउँदैछ भन्ने संकेत यत्र तत्र देख्न सकिन्छ । हिजो जनयुद्धप्रति विश्वासघात गरेकोमा र संसदीय मूलधारमा सामेल भएकोमा प्रचण्डलाई “व्यवहारिक राजनीति गरेको” भनेर बधाई दिनेहरु संजालमार्फत् प्रचण्डको धज्जी उडाइरहेका छन् ।
यहाँ केही सान्दर्भिक उद्धरणहरु प्रस्तुत गरिएका छन् : “प्रचण्डको आसन्न भ्रमणप्रति सर्वसाधारणमा मात्र नभई उनको आफ्नै दलभित्र समेत आशंका बढाएको छ ।” “तर उनको अस्थिर मनस्थिति र अविश्वसनीय चरित्रको कारण अवसरवाद नै उनको व्यावहारिक नीति अनि आचरण हुँदा असंगत निर्णय लिनसमेत उनी चुक्ने छैनन् भनी धेरैले विश्वास गरेका छन् ।”
“उनको क्रान्तिकारी छवि पूर्णतया दक्षिणपन्थी धापमा जाकिएको तथ्य त उनको मन्त्रिपरिषद्को नितान्त असमावेशी संरचनाले नै पुष्टि गर्छ ।” (कान्तिपुरमा प्रकाशित ध्रुव कुमारको, “सद्भाव, आश्वासनको तृष्णा र भ्रमण” शिर्षकको लेख, १७ भदौ २०७३)
केही समय अघिसम्म नवसंशोधनवादीहरुव्दारा गरिएको प्रतिक्रान्तिप्रति निम्न पुँजीवादी वुद्धिजीवी, शहरीया मध्यमवर्गको त्यत्ति चासो अभिव्यक्त भएको पाइँदैनथ्यो । तर यो प्रतिक्रान्तिले यतिखेर आएर जब नांगो विदेशीको दलाली र राष्ट्रघातको रुप लियो, अहिले यो वर्ग सचेत बन्न थालेको छ र यसले नेपालमा राष्ट्रिय स्वाधीनताको संघर्षलाई थप उर्जा दिइरहेको छ । प्रचण्डको भारत भ्रमणपूर्व नै सम्भावित राष्ट्रघातको जुन सचेतनता नेपाली समाजमा देखा परिरहेको छ, यो सकारात्मक पक्ष हो ।
अहिलेसम्मको विद्यमान राजनीतिक स्थितिमाथि ध्यान दिँदा सहजरुपमा अनुमान गर्न सकिने कुरा के हो भने मोदीले निर्धारित गरेको सम्झौतामा प्रचण्डले सहिछाप ठोक्ने कुरा करिब तय नै छ । देशभक्त नेपालीहरुलाई विशेषतः बुद्धिजीविहरुलाई यसको आभास भएको हुनाले नै यो सरकारी भ्रमणप्रति यति साह्रै चिन्ता व्यक्त भएको हो । यस अवस्थामा प्रचण्डले कतिपय राष्ट्रघाती सम्झौताहरुमा हस्ताक्षर गर्ने तर तिनलाई गोप्य राखिने संभावना बढी देखिन्छ । जे होस्, यसबारे नेपाली समाजमा देखापरेको सचेतनताले भविष्यमा नेपालमा देशभक्तिपूर्ण आन्दोलन उठाउन महत्वपूर्ण भूमिका खेल्ने कुराको आशा गर्न सकिन्छ ।
बाबुराम प्रधानमन्त्री हुँदा उनको दिल्ली भ्रमणका बेलामा पनि ठीक यही प्रकारको आशंका सर्वत्र व्यक्त गरिएको थियो । आखिर उनले दिल्लीमा गएर जानी जानी राष्ट्रघाती “बिप्पा” सम्झौता गरेर “मैले जुवा खेलेर आएँ” भन्ने जस्तो घटिया बयान दिल्लीबाटै जारी गरेका थिए । प्रचण्डका सन्दर्भमा पनि त्यही कुरा लागू हुन सक्दछ भन्ने पूर्वानुमानलाई कुनै अतिशयोक्ति भन्न मिल्दैन । खराबभन्दा खराब स्थितिको सामना गर्न हामी तयार रहनु पर्दछ । आखिर जेसुकै भए पनि नेपाली जनता नै निर्णायक हुन् । नेपाली जनताको सचेतनता र एकताले नै सबै कुराको निर्णय गर्नेछ ।