काठमाडौं । अमेरिकी नागरिक बज अल्ड्रिन, जसले चन्द्रमामा पहिलो पटक पाइला टेकेका थिए, आज पहिलोपटक काठमाडौं आइपुगेका छन् । उनले नेपाल आउनु अघि अमेरिकाबाट ट्वीट गर्दै कहिल्यै नपुगेको देश जाँदैछु भनेका थिए । ८७ वर्षे बज एभरेस्ट साइन्स सेन्टरको आमन्त्रणमा नेपाल आएका हुन् । ६ सदस्यीय टोलीसँगै आएका बज २४ गतेसम्म नेपालमा रहने छन् ।
उनले मंगलबार सुनसरी अमाहीबेल्हा सीतागञ्ज पुगेर एभरेष्ट साइन्स सेन्टरको अवलोकन गर्ने छन् भने अन्तरिक्ष यात्राको अनुभवबारे पनि बताउने छन् । यसैगरी बुधबार र बिहीबार काठमाडौंको प्रज्ञा भवनमा हुने अन्तक्र्रिया कार्यक्रममा पनि उनी सहभागी हुनेछन् ।
बजको सुरक्षार्थ झण्डै साढे दुई सय प्रहरी परिचालनको तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ । बजका साथमा उनका छोरा डा. एन्डी, बुहारी क्रिस्टिना, नासाका एलिजाबेथ लेवलन्स र जोसेफ लेवलन्स छन् । सन् १९६९ जुलाई २० मा निल आर्मस्ट्रङसँगै चन्द्रमामा पहिलो पटक पाइला टेकेका बज अमेरिकाको एयर फोर्सका सेवा निवृत्त पाइलट हुन् । बज चन्द्रमामा जाँदा प्रयोग भएको यान एपोलो–११ का पाइलट थिए ।