म क्रान्तिकारी संयुक्त मोर्चा, आर्थिक व्यवस्थापन र अन्तर्राष्ट्रिय विषयमा तपाईहरूसँग केही कुरा गर्न चाहन्छु । संयुक्त मोर्चा सम्बन्धी पार्टीले निर्णय गरेको छ । यो जनयुद्ध लडिसकेको पार्टीका लागि धेरै नयाँ कुरा त होइन । तथापि शान्ति प्रक्रियामा प्रवेश गरेपछि युद्धकालमा बनेको संयुक्त मोर्चा विघटन गरियो । यो आन्तरिक छलफलको विषय मात्र बनेको छ । यो संयुक्त मोर्चाको राष्ट्रिय भेला आउँदो २५ र २६ गते हुँदैछ । यो संयुक्त मोर्चाको सङ्गठन निर्माण हुन्छ ।
संयुक्त मोर्चाको महत्व बुझ्नु जरुरी छ । मोर्चा निर्माण चुनावी हो कि भन्नेसम्म सुनेको छु । संयुक्त मोर्चा त्यतिका लागि होइन । एउटा कुरा के सत्य हो भने हाम्रो पार्टी निर्वाचन आयोगमा दर्ता हुँदैन । यदि निर्वाचनमा जानु नै पर्ने भयो भने संयुक्त मोर्चा मार्फत् जान्छौँ । हामीले दोस्रो संविधानसभाको चुनावको बहिस्कार ग¥यौँ । हरेक दुई चार वर्षमा संविधानसभा हुँदैन । नेपालमा संविधानभा निर्वाचन दुई चोटी भयो । अब संविधानसभा तीन चाही हुँदैन । त्यसैले अब हुने चुनाव भनेको स्थानीय वा संसदीय चुनाव हो । संसदीय चुनावमा भाग लिने कि नलिने भन्ने प्रश्न क्रान्तिकारी कम्युनिस्ट पार्टीका लागि कार्यनीतिको प्रश्न हो । चुनाव वहिस्कार गर्ने वा उपयोग गर्ने भन्ने कुरा तात्कालिन परिस्थितिमा आधारित हुन्छ ।
यो मोर्चा पार्टीको नेतृत्वमा स्थापित संयुक्त मोर्चा हो । यसको आवश्यकता के हो भने माओले प्रष्टसँग भन्नुभएको छ तीन जादुगरी हतियार क्रान्तिका लागि आवश्यक पर्छन् । एउटा कम्युनिष्ट पार्टी, जनसेना र संयुक्त मोर्चा । यी तीन जादुगरी हतियारहरू प्रयोग गरेर चीनमा क्रान्ति सम्पन्न भयो । यो माओवादको निर्देशन हो । त्यसैले क्रान्तिका लागि तीन जादुगरी हतियारहरू निर्माण गर्ने प्रक्रियामा नै यो संयुक्त मोर्चा बनाएको हो । यसको अभ्यास संसारैभरि भएको छ । जर्मन साम्राज्यवाद, जसको नेतृत्व गरेको थियो हिटलरले । संसारलाई फासिवादबाट जोगाउनका लागि एउटा संयुक्त मोर्चाका आवश्यकता प¥यो । फासिवादलाई रोक्न स्टालिनले नेतृत्व गर्नुभयो । त्यसैले स्टालिन संसारभरि चिनिनुभयो । नाजिवादका विरुद्ध स्टालिन विजयी हुनुभयो । नाजिवाद एकछत्र र अपराजेयझैँ बनिरहेको थियो ।
माओले आफ्नै क्रान्तिमा तीन जादुगरी हतियार बनाएर सफल पार्नुभयो । भियतनाम एउटा सानो र गरिव देश हो । अमेरिकी साम्राज्यवादले विश्वयुद्धमा प्रयोग गरिएजस्तै अमेरिकाले वमहरू प्रयोग ग¥यो । त्यहाँका कम्युनिस्ट पार्टीले त्यही बेला संयुक्त मोर्चा निर्माण गरे । संसारभरिका जनतालाई भियतनामीले अपिल गरे । अमेरिकाले भियतनामका युवाहरूलाई भर्ति खोल्यो । भियतनाम नजाने सेनालाई जेल जाने कानुन बनायो । यो कानुन तोड्न अमेरिकीका युवाहरू तयार भए । प्रशिद्ध मुक्केबाजले भियतनाम नजाने पहिलो युवा आफू बन्न तयार भए । दुई वर्ष जेल बस्ने निर्णय गरे । उनले नाम फेरेर मोहम्मद अलि राखे । थुपै लेखक, कलाकार, प्राध्यापकहरू जेल बसे र भियतनामबाट अमेरिका फर्कियो । साम्राज्यवादलाई परास्त गर्न भियतनाम विजयी बन्यो । यो एकप्रकारको संयुक्त मोर्चा हो । यसैले जित्नका लागि चाहिन्छ । संयुक्त मोर्चा मुख्य दुश्मनलाई एक्ल्याउन र आफ्नो शक्तिलाई गोलबन्द गर्न चाहिन्छ ।
दुश्मनलाई कमजोर पार्न, दुश्मनलाई मन नपराउने र क्रान्तिकारीहरूलाई पनि सहयोग नगर्नेहरूलाई नजिक ल्याउनु संयुक्त मोर्चा चाहिन्छ । यदि हामीसँग संयुक्त मोर्चा छैन भने हामी मित्रलाई दुश्मन बनाउँछौँ, दुश्मनलाई एक्ल्याउन सक्दैनौँ । यदि क्रान्ति सफल पार्नु नै छ भने संयुक्त मोर्चा कसको विरुद्ध लक्षित छ भन्ने बुझ्नु पर्छ । यदि सारा सङ्घर्षका कार्यक्रमहरू बुझ्नु पर्छ । त्यसैले वर्गविश्लेषण गर्दा माओले सामान्तवादलाई ताक्नु भएको छ तर धनी किसानलाई प्रहार गर्नुभएको छैन । यसको अर्थ हो धनी किसानलाई पनि आफ्नो मित्र बनाउनु पर्छ । लडाइँको निशाना प्रष्ट हुनुुपर्छ । मुख्य शत्रु को हो ? त्यसलाई एक्लो पार्ने र सबैतिरबाट प्रहार त्यसैमा केन्द्रित गर्ने हो । हाम्रो सन्दर्भमा भारतीय विस्तारवाद विरोधी शक्तिलाई चिन्नु पर्छ । विस्तारवाद विरोधी सबैभन्दा नजिकको मित्र भनेको भाकपा (माओवादी) नै हो । उनीहरूसँग हाम्रो मित्रता हुनुपर्छ । थुपै भारतीय विसतारवाद भन्ने क्रान्तिकारी शक्तिहरू छन् । तिनीहरूलाई गोलबन्द गर्नु पर्छ ।
हाम्रो संयुक्त मोर्चाको उद्देश्य पछिल्लो योजनासँग पनि जोडिएको छ । हाम्रो राजनीतिक लाइनमा आधारित छ । भ्रमको भण्डाफोर गर्ने कार्य पनि संयुक्त मोर्चाको कार्य हो । लेनिनले त सर्वहारावर्गका निम्ति सङ्गठन बाहेक अर्को कुनै शक्ति छैन भन्नु भएको थियो । यदि हामीसँग सङ्गठन नभैदिएको भए एकताको नाममा क्रान्तिकारीहरूको सङ्गठन समाप्त पार्ने योजना रहेछ । हाम्रो विचारको आधारमा जोगिएको सङ्गठनलाई विस्तार गर्न पनि संयुक्त मोर्चा चाहिन्छ । मोर्चा सङ्घर्ष र सत्ताको साधन हो । वैधानिक सङ्घर्षका कार्यक्रमहरूको नेतृत्व संयुक्त मोर्चाले गर्छ । यो तल्लो तहसम्म विस्तार गर्न सकिन्छ । यो सत्ताको साधन हो । सत्ता जहाँसम्म फैलिएको छ, मोर्चा त्यहाँसम्म फैलिनु पर्छ । यो गर्न समय लाग्छ ।
देशभरि नै क्रान्तिको तयारी राम्रो गरेर जानु पर्छ । विचार राम्रो छ, भनिरहेका छन् हाम्रा सुभेच्छुकहरूले । विचार र राजनीति राम्रो छ भन्दाभन्दै पनि कयौँ कमरेडहरू माकेमा गएका छन् । उनीहरूले हामीलाई इमान्दार छन् तर आन्दोलन गर्दैनन् भनिरहेका छन् । यदि देश परिवर्तन भएन भने इमान्दार भएर के गर्ने भनेर भनिएको छ । यो सङ्घर्ष हाम्रो इच्छामा भर पर्दैन । सङ्गठन क्षतविक्षत भएको बेला अहिले आन्दोलन सानो स्तरको हुन्छ । सबभन्दा पहिले क्रान्तिकारी विचारको रक्षा र क्रान्तिकारी विचारसहित पार्टीको निर्माण जरुरी छ । त्यसपछि मात्रै क्रान्तिकारी आन्दोलन हुन्छ । त्यसैले विचारको रक्षाको ड्युटी हामीले पुरा गरेका छौँ । रक्षा नै ठूलो कार्य हो भनेर सन्तुष्टि लिनु भएन । यो सिद्धान्त भनेको त परिवर्तनको, प्रयोगको सिद्धान्त हो । हामीले जे योजनाहरू प्रस्तुत गरेका छौँ, त्यो पनि प्रयोगकै लागि हो । मालेमाको प्रयोग विना विचारको रक्षा हुँदैन । वर्गसङ्घर्षमा केही भूमिका खेल्न सकेनौ भने पर्खेर हेर्न सक्दैन । त्यो विचारको प्रयोग गर्ने सङ्गठन संयुक्त मोर्चा हो । त्यसको माध्यमबाट पार्टीले विचारहरूको परीक्षण गर्छ ।
धेरैले कमजोर सङ्गठन भनेर निराश बनाउँछन् । हाम्रो आर्थिक स्थिति पनि डामाडोल छ । कसरी चल्ने भनेर मानिसहरूलाई सकस छ । वहिस्कार गर्दा हामी सफल भयौँ । वहिस्कार गर्दा बैकल्पिक शक्तिका रूपमा स्थापित भएका थियौँ । वहिस्कार लगत्तै विप्लवहरू फूटे । अहिले पनि क्रान्तिकारी विकल्प हामी नै हौँ । अब भौतिक रूपले नेपालको एक मात्र क्रान्तिकारी विकल्पको रूपमा वर्गसङ्घर्षबाट नै स्थापित हुन जरुरी छ । त्यसकारण भविष्य हाम्रो छ । प्रतिक्रान्तिको कित्तामा गएकाहरूको भविष्य छैन । क्रान्तिका वाहक हामी नै हौँ । क्रान्तिलाई अगाडि बढाउने शक्ति भनेको हामी नै हौँ ।
अर्को आर्थिक विषयमा सबैलाई थाहा छ, सर्वत्र पार्टीमा सङ्कट छ । तलदेखि माथिसम्म कमसेकम केही न केही चाहिन्छ । पेशेवर क्याडर नभएको पार्टीले क्रान्ति गर्दैन । खान र लाउन पनि ग्यारेन्टी नभएपछि पूर्णकालिन कार्यकर्ता हुँदैनन् । पूर्णकालिन कार्यकर्ता नभए पनि क्रान्ति हुँदैन । कार्यकर्ता थेग्नका लागि जोखिम मोल्नु पर्छ । यस्तो अवस्थामा समस्या समाधान गर्न एकदम ध्यान दिनु जरुरी छ कि लेवी बुझाउने, चन्दा दिने नियमित जस्तै ऐजेन्डा बने । जनयुद्धमा दुईटा कुरा अपनायौँ दुश्मनको आर्थिक स्रोत कब्जा गर्ने र दोस्रो ट्याक्स लिने । ट्याक्स नबुझाए कारवाही गर्ने धम्की दिएपछि झोलाभरि लिएर आउँथे । ट्याक्सको कुरा गर्ने वित्तिकै पुलिसलाई खबर गर्ने कुरा गर्छन् अहिले । युद्धकालीन आम्दानीका स्रोतहरू समाप्त भएका छन् ।
यतिखेर पार्टीले मेरै संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति बनाएको छ । केही समयमा पार्टीले नयाँ उपायहरू खोज्नु पर्छ भनेको छ । यसका लागि उत्पादन नै पहिलो हतियार हो । श्रमबाट बस्तु तयार हुन्छ । श्रमबाट नै मूल्य तयार हुन्छ । श्रमसँग जोडिने ठाउँ चाहियो । हामी श्रमचोरहरूको विरोधी हौँ । हाम्रो श्रम जोडिने उत्पादनमुलक कार्य गर्न जरुरी छ । हाम्रा उद्योगहरू पन्चानब्बे प्रतिशत असफल भएका छन् । लेवी तिर्ने मानिससँग पनि पैसा हुनुप¥यो । उत्पादनमा हाम्रा केही सफल प्रयोग पनि भएका छन् । कमसेकम कार्यालय संचालन गर्ने पैसा ग्यारेन्टी भयो भने पनि हामीलाई सहज हुन्छ । आर्थिक योजनासँग जोडेर लागू गर्नुपर्छ । कतै अनुदान लिनु पनि पर्छ ।
अन्तर्राष्ट्रिय विषयमा के छ भने रिम हाम्रै साथीहरू स्टाफ हुनुहुन्थ्यो । धर्मेन्द्र वास्तोला, वसन्त जी, प्रताप जी र म थियौँ । त्यो सङ्गठनमा मुख्य भूमिका हामीले खेलेका थियौँ । नवसंशोधनवादको सेवा गर्नका लागि रिमको आवश्यकता रहेन । आरसिपी अमेरिकाले बौद्धिक रूपले ठूलै भूमिका खेलेको थियो । त्यसले न्यू सेन्थेसिसको अवधारणा ल्याए । त्यो न्यू सेन्थेसिससँग जोडिएर मात्र रिम बन्ने हो भने हामीले गर्न सक्ने कुरा भएन । पहिले रिममा रहेका पार्टी र सङ्गठनहरूसँग एउटा प्रस्ताव राखिएको छ । उनीहरूले गम्भीर र उत्साहप्रद प्रतिक्रिया दिएका छन् । आन्तरिक सङ्गठनमा बढि व्यस्त हुनु परेकोले, अन्तरसङ्घर्षमा बढि जोड दिनुपरेकोले रिमलाई अघि बढाउन सकिएको छैन । मूलबाटोमा एउटा अंग्रेजी सेक्सन बनाइएको छ । माओइस्ट आउटलुक प्रकाशित गरिरहेका छौँ ।
अन्तर्राष्ट्रिय रूपले हाम्रो पार्टीलाई प्रचार प्रसार गर्ने कार्य गरिरहेका छौँ । अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने सम्भावना निकै राम्रो रहेको छ । यो पार्टीलाई कसरी सुदृढ गर्ने, भौतिक शक्तिमा फर्ने र वास्तविक क्रान्तिकारी विकल्पका रूपमा लैजाने चुनौती रहेको छ । हाम्रो पार्टी सवैभन्दा तल पुगेको भनेको जिल्लासम्म हो । गाउँ कमिटि र एरिया कमिटि निर्माणको लहर सिर्जना गर्नुपर्छ । हामीले पार्टीलाई जालझैं विस्तार गर्नुपर्छ । हामी कुनै पनि किसिमको भ्रमको शिकार नबनौं । यो वैचारिक र सैद्धान्तिक ढङ्गले स्थापित भएको छ, त्यसलाई भौतिक शक्तिमा फेरौँ । नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने अर्को कुनै शक्ति नेपालमा छैन । हामी नै क्रान्तिकारी विकल्प हौँ ।
(नोटः भाद्र १० गते पश्चिम कमाण्डका कार्यकर्ता प्रशिक्षणमा व्यक्त विचारको सम्पादित अंश । – सम्पादक)