एजेन्सी । गरिबका लागि काम गर्ने मदर टेरेरसालाई भ्याटिकनमा भएको एक समारोहमा ‘सन्त’को उपाधि प्रदान गरिएको छ ।
आइतबार भ्याटिकनको सेन्ट पिटर स्क्वायरमा पोप फ्रान्सिसले उनलाई सन्तको उपाधि दिएका हुन् । मदर टेरेसालाई सन्तको उपाधि दिने कार्यक्रममा सहभागी हुन दसौं हजार सर्वसाधारण सहभागी थिए ।
भारतीय विदेशमन्त्री सुस्मा स्वराज, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, बंगालकी मुख्यमन्त्री ममता बनर्जीसमेत कार्यक्रममा सहभागी हुन भ्याटिकन गएका थिए ।
मदर टेरेसाको सन् १९९७ मा ८७ वर्षको उमेरमा निधन भइसकेको छ । तर, उनको नामबाट दुई बिमारीको चामत्कारिक ढंगले ठीक भएपछि भ्याटिकनले उनलाई सन्तको उपाधि दिएको हो ।
सन्त उपाधि पाउन कम्तीमा पनि दुई चामत्कारिक काम गर्न आवश्यक छ । भ्याटिकनका अनुसार सन् २००२ मा मदर टेरेसाको नाममा प्रार्थना गरेपछि एक भारतीय महिला मोनिका बेसराको पेटको ट्युमर चामत्कारिक रूपमा निको भएको थियो भने ब्राजिलमा २००८ मा एक महिलाको ब्रेन ट्युमर निको भएको थियो ।
यसलाई फ्रान्सिसले दोस्रो चमत्कारका रूपमा मान्यता दिएका थिए । मदर टेरेसालाई कोलकाताको झुग्गी बस्तीमा गरिब जनताका लागि काम गरेबापत नोबेल शान्ति पुरस्कार प्राप्त छ ।
उनले सन् १९५० मा मिसिनरिज अफ च्यारिटीको सुरुवात गरेकी थिइन् । कोलकातामा सोही अवसरमा मिसिनरिज अफ च्यारिटीको उत्सवसमेत मनाइएको छ ।
मदर टेरेसाले कुष्ठरोगी, गरिब आदिका लागि खाना, आश्रम, स्कुल, अनाथ बच्चाका लागि घर आदिजस्ता सेवाको सुरुवात गरेकी थिइन् । उनका अहिले पनि हजारौं अनुयायी रहेका छन् ।