‘नवजात’ पेरिसक्रान्ति स्वतःस्र्फूत भए पनि सशस्त्र थियो । नेतृत्व कम्युनिष्ट पार्टीको नभएर श्रमिक र सर्वहारा वर्गको थियो । ‘बाल’जनयुद्ध योजनाबद्ध र सशस्त्र दुवै थियो र नेतृत्व कम्युनिष्ट पार्टी माओवादीको । योजना भनेपनि आकांक्षा भने पनि दुवैका गन्तव्य जनवाद, समाजवाद र साम्यवाद थिए । युद्धशैली एउटाको सशस्त्र कब्जा र अर्काको दीर्घकालीन जनयुद्ध । पेरिस क्रान्ति जनकम्यूनहरुलाई अभ्यासमा (प्रयोगमा) ल्याएपछि ७२ दिन मै पराजित भयो, जनयुद्ध स्थानीय जनसत्ता र कम्यूनका नमुना स्थापित गरेर १० वर्षमा जनवादको मुखै नदेखी समाप्त भयो ।
पेरिस क्रान्ति श्रमिक र सर्वहारा वर्गको पुँजीवादको मेरुदण्डमै प्रहार र विजयको घटना थियो भने जनयुद्ध राज्यका स्थानीय एवं सैनिक अखडाहरुमाथिको आक्रमण र जित–हार दुवै घटना थियो । पेरिस क्रान्तिले क्रान्तिको उपलब्धि र श्रमिक–सर्वहारा चेतनालाई सम्बद्र्धन र संरक्षण गर्न सकेन तर जनयुद्धले भने सामन्तवादका अवशेषहरुलाई नष्ट गर्दै क्रान्तिचेत तिखार्दै गयो ।
पेरिस क्रान्तिले सरकार प्रमुख थिएरलाई विस्थापित गरेर पेरिसका कम्यूनहरु बनाउन सफल रह्यो भने जनयुद्ध राजा ज्ञानेन्द्रलाई कहिले विस्थापित गर्ने कहिले उपयोग गर्ने द्वैध नीतिमा अल्मलियो । आखिर उपयोगको नीति विफल भएपछि जनआन्दोलनलाई साथमा लिएर, नेपाली काँग्रेस र एमालेलाई मनाएर, राजतन्त्र ढाल्ने मुख्य शक्ति बन्यो ।
पेरिस क्रान्ति सर्वहारा वर्गको अधिनायकत्वको विश्वको पहिलो राज्यमात्र बनेन अन्तर्राष्ट्रवादको प्रेरेक केन्द्र पनि बन्यो । यो श्रमिकहरुको आर्थिक मुक्तिको अपार स्रोत बन्यो । यत्ति मात्र होइन, यो भावी साम्यवादी समाजको प्रेरणाको निधि समेत बन्यो तर जनयुद्ध प्रारम्भ र पूर्वाद्धमा किसान मजदूर र उत्पीडित वर्गको उत्साह र आशाको किरण बने पनि उत्तराद्र्ध र अन्त्यमा निराशा र दुःखको अन्धकार बन्यो ।
सन् १८७१ को पेरिस क्रान्ति क्रान्तिकारी सिद्धान्तभन्दा भावनात्मक वलिदानबाट ओतप्रोत भएकाले त्यसले क्रान्ति र कम्यूनहरुलाई समृद्ध र सवल बनाउन त सकेन–सकेन, किन्तु बचाउन पनि सकेन । पुँजीपतिहरुले प्रतिक्रान्ति गरेर त्यसलाई उल्ट्याई नृशंस र विभत्स किसिमले क्रान्ति र कम्यूनहरुका संस्थापक र हजारौँ सर्वहारा श्रमिकहरुको सामूहिक हत्या गरे । वन्दी, क्रान्ति र कम्यून पक्षधरहरुको पनि त्यसरी नै हत्या गरे । विद्रोहीहरुलाई अपराधीको रुपमा मुद्दा लगाई चरम यातना दिई यातनालयहरुमा राखे । जनयुद्धको वेलामा राज्य र विद्रोही दुवैपक्षले एकअर्काका सेना, प्रहरी, कर्मचारी, राजनीतिकर्मी, समर्थक, सर्वसाधारण हजारौँ मानिसहरुलाई हत्या, वेपत्ता, घाइते आदि कुकर्मको शिकार बनाए । परस्परमा पाशविक हत्याहरु गरिए । तुलनात्मक रुपले विद्रोहीभन्दा राज्य अमानवीय र क्रूर बन्यो । पेरिस क्रान्तिको बेलामा श्रमिक–सर्वहाराहरु पुँजीपतिप्रति उग्ररुपले क्रूर भएनन् तर पुँजीपतिहरु प्रतिक्रान्ति गर्दा यतिसम्म क्रूर भए कि दिनदाहाडै विद्रोहरुलाई छुरी हानेर मार्दै तिनीहरुको रगतले छ्यापाछ्याप गरेर समेत हिँडे । पेरिसका पुँजीपतिहरुले त्यहाँका श्रमिकप्रति त्यो बेला जति उग्र र लज्जास्पद प्रतिशोध साधना गरे, त्यो ‘न भूतो न भविष्यति’ प्रतिशोध जस्तो थियो ।
राजा, सामन्तवाद र प्रतिकृयावादी पार्टी–संगठनहरुलाई एकैचोटी हमला गरेर त्यसमाथि विजय हासिल गरी जनवाद लागू गर्ने लडाईं सम्भव नभएपश्चात् जनयुद्ध राजालाई मात्र ढाल्ने योजनाले सशस्त्र सङ्घर्षबाट शान्तिपूण संघर्ष, संसदीय–पार्टी एकता गर्न अभिमुख भयो तर पेरिस क्रान्ति यस्तो थिएन, त्यसले त आकस्मिक र आश्चर्यजनक रुपले पेरिसका सत्ताधारी र पुँजीपतिहरुमाथि हमला र विजय गरी कम्यून स्थापना गर्न सकेको थियो तथापि अनुभवको कमीले गर्दा क्रान्ति र कम्यून गुमाउन परेको थियो । नेपाल र जनयुद्धबारे कुरा वेग्लै थियो । जनयुद्धले दीर्घकलीन क्रान्ति वीचमै तुहाइ संसदीय पार्टी र क्रान्तिविरोधी वैदेशिक शक्तिको पोल्टामा आफ्नो संघर्षलाई हालेको थियो र सत्ता, शक्ति र सुखको स्वर्गमा पुग्ने आकाँक्षा राखेको थियो । भोलि प्रत्युत्पादक हुने आभास आज पाइए पनि त्यो ‘स्वर्ग’को उपभोगमा माओवादी नेताहरु रमाइरहेका छन् । यी यथार्थहरुको अवलोकन गर्ने शोषित र दलित जनताहरु भन्छन्– ‘वास्तवमा जनयुद्ध बाहना रहेछ ।’ त्यो अक्टोवर क्रान्ति र चिनियाँ जनक्रान्ति जस्तो रहेनछ ।’ उनीहरु भन्छन्– ‘जनयुद्ध’का पदचिन्ह तथा त्यसका बलिदानीहरुलाई कुल्चिएर हिंड्ने कमाण्डरहरुलाई ‘जनयुद्ध’ पदावली दोहो¥याइरहने हक छैन ।’
क्रान्तिका शुभचिन्तकहरुका मनमा एउटा जिज्ञासा र पीडा उठिरहेको छ– ‘क्रान्तिका मुख्य औजार क्रान्ति, सिद्धान्त, पार्टी, सेना र संयुक्त मोर्चा समान किसिमले सवल नहुने पेरिस क्रान्ति त विफल भयो, भइहाल्यो तर यी सबै सशक्त्त हुने जनयुद्ध किन आत्मसमर्पणमा परिणत भयो ? ‘माक्र्सवाद थुक्तै’ र कमिजबाट सहिदहरुको रगत पुछ्दै बावुराम कहाँ गए ? प्रचण्डले ‘सैन्य युनिफर्म’ कहाँ फाले ? युद्ध र पार्टीका नेतृत्वहरुको जीवन रक्षार्थ जनयुद्ध विसर्जन गरिएको हो’ भन्ने कुरा पत्यार गर्न उनीहरुका क्रियाकलापले नै दिदैनन् ।
पेरिस क्रान्ति र जनयुद्धका जस्तोसुकै सफलता विफलता भए पनि तिनले हामीलाई छाडेर गएका सन्देश र शिक्षाहरु के हुन सक्लान् त ? पेरिसका जनताले पेरिस क्रान्ति गरेपछि कम्यून भोग गर्न नपाए पनि पेरिस कम्यून सर्वहारा वर्गको सदा प्रकाशस्तम्भ भएर उभिएको छ र यसैको उज्यालोमा संसारका ठूल्ठूला जनक्रान्ति भए र हुँदैछन् । पेरिस क्रान्ति र कम्यूनका वीर वीराङ्गनाहरु (Louis Rossel / Phiers_का पराक्रमहरुले क्रान्तिकारीहरुलाई सँधैँ प्रेरणा दिइरहने छन् । अझ महिलाहरुको योगदान चीस्मरणीय रहेको छ । क्रान्ति पूर्ण तयारी र कुशल व्यवस्थापनविना ‘क्रान्तिको भात पकाउने’ भान्छाघर होइनरहेछ । जनयुद्ध विसर्जन गरे पनि त्यसका आदर्श, सुखद् परिणाम, सुदृढ आधारक्षेत्र, क्रान्तिकारी कार्यकर्ता, अविचल नेतृत्व आदि ‘सम्पत्ति’हरुले हामीलाई लुकाइरहने थिए । एउटा जनयुद्धको प्रकाशस्तम्भ ९ीष्नजत जयगकभ० ढले पनि नेकपा (क्रान्तिकारी माओवादी)को प्रकाशस्तम्भ र अरु स–साना स्तम्भ (Pillor)हरु खडा छन् । धरहरा ढले पनि अर्को धरहरा उभ्याउन सकिन्छ ।
विजयलेभन्दा पराजयले बढ्ता र महत्ववान् कुराहरु सिकाउँछ ।
७ भदौ ०७३, भरतपुर, चितवन