वृद्ध र युवा कमरेडहरुको मेलबारे

प्रकाशित मिति : २०७३ भाद्र १३

- कृष्णदास श्रेष्ठ

krishnadas-shresthaपुराना र नयाँ पुस्ताहरु, अर्थात् वृद्ध र युवा पुस्ताहरुको सम्बन्धलाई लिएर समाजमा निरन्तर रुपबाट छलफल र विवाद चलेर आएको छ । सामान्यतः कस्तो कुरा देखिनमा आएको छ भने पुराना र नयाँ पुस्ताहरुबीच, बाबुआमा र छोराछोरीका बीच, ज्येष्ठ र कनिष्ठहरुका बीच सोंच, दृष्टिकोण वा कार्यशैलीमा बेमेल, द्वन्द्व वा तनाव रहने गर्छ । खासगरी वृद्ध र युवा पुस्ताहरुमाझ सामञ्जस्य वा आपसी समझदारीमा केही अवरोधहरु रहने गरेको पाइन्छ । यसो हुनाका विभिन्न कारणहरु हुनसक्छन् । तिनमा एउटा प्रमुख कारण उपरोक्त दुई पुस्ताहरु रहने गरेर आएका जीवन र सामाजिक वातावरणका बदलिंदा अवस्थाहरु हुन्, जसले गर्दा पहिलेका र अहिलेका पुस्ताहरुले भिन्ना–भिन्नै ढङ्गबाट प्रौढावस्थामा प्रवेश गरेका हुन्छन् र तिनीहरुले आफ्नोसामु रहेका समस्याहरुलाई भिन्ना–भिन्नै ढङ्ले हेर्ने र समाधान गर्न खोज्ने हुन्छन् । उमेरको भिन्नताले त्यसमा केही प्रभाव पार्न सक्छ, तर वृद्ध र युवा पुस्ताहरुमाझ बेमेल वा असमझदारी कति हदसम्म हुन सक्छ भन्ने कुरा समाजिक परिवर्तन कुन गतिमा भइरहेको छ र सो परिवर्तनबाट उत्पन्न चुनौति र सम्भावनाहरु के कस्ता छन् आदिमा निर्भर गर्दछ । उमेरको कारण गर्दा कुनै व्यक्तिले आफूले अपनाई आएको सामाजिक आदर्शलाई परित्याग गर्नुपर्छ भन्ने होइन, बरु उमेरको कारणले उसलाई सामाजिक आदर्शलाई भिन्नै ढङ्गबाट बुझ्न र व्यक्त गर्न लगाउन सक्छ ।
वृद्ध र युवा पुस्ताहरुमा पूर्ण मेल वा पारस्परिक समझदारीको लागि एउटा स्पष्ट अवरोधको रुपमा हामी तिनका बीच बोधसम्बन्धी अवरोध पाउँछौं । पचास वर्षअघि प्राप्त ज्ञानको मात्रा र सूचनाको उपलब्धिभन्दा अहिलेको ज्ञानको मात्रा र सूचनाको उपलब्धि निकै विस्तृत र बढेको छ र वृद्ध पुस्ताले आफ्नो युवावस्थामा जुन ज्ञान र सूचना प्राप्त गर्न सकेको हुँदैन, ती आजको युवा पुस्ताको निम्ति सुलभ छन् । यसको अर्थ के हो भने अहिलेको युवा पुस्ता र वृद्धहरुको माझमा अनिवार्यरुपमा थोरबहुत समझदारीको खाल्डो र विचार–सञ्चारको जटिलता सिर्जना हुन जान्छ ।

यहाँ हामी नेपाली कम्युनिस्टहरुका वृद्ध र युवा पुस्ताहरुमाझ विद्यमान सम्बन्धमा देखापरेका समस्याबारे संक्षिप्तमा चर्चा गर्न गइरहेका छौं ।

समाजमा विद्यमान माथि उल्लेखित परिघटना कम्युनिस्ट आन्दोलनभित्र धेरथोर प्रतिबिम्बित हुनु स्वाभाविक छ, र हाम्रो कम्युनिस्ट आन्दोलनमा पनि उपरोक्त दुई पुस्ताहरुमाझ बेमेल वा आपसी समझदारीको कमी रहेको पाइन्छ । आन्दोलनभित्रका पाका कमरेड र युवा कमरेडका बीच पारस्परिक समझदारीको विकासमा नकारात्मक प्रभावजन्य केही कुराहरु देखिएका छन् । त्यसको एउटा प्रमुख कारण त हाम्रो सामाजिक जीवनको बढ्दो जटिलता, सामाजिक परिवर्तनको बढ्दो गति, काम गर्ने परिवेशमा भिन्नता आदि हुन् । एउटा सुस्पष्ट यथार्थ तथ्य के छ भने जुन सामाजिक तथा राजनैतिक परिवेशमा पहिलेका कम्युनिस्टहरु कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका थिए, त्यो अहिलेका युवा कम्युनिस्टहरुसामु रहेको परिवेशभन्दा एकदमै भिन्न थियो । भिन्नता निम्न तथ्यहरुमा रहेको छः पहिलो कुरा, पहिले सामाजिक तथा राजनैतिक परिस्थिति त्यति जटिल थिएन, जति अहिले यता आएर विकासको फलस्वरुप निकै जटिल भएको छ, जसले गर्दा युवा कमरेडहरुले नयाँ चुनौति र सम्भावनाहरुसामु आफूलाई पाउँछन्; दोस्रो कुरा, पहिले कम्युनिस्ट आन्दोलन विभाजित थिएन, एकीकृत थियो । तुलनात्मक रुपले साँघुरो भएपनि त्यो एउटै पार्टीमा सङ्गठित रहेको थियो, तर अहिले उक्त आन्दोलन निकै व्यापक भएपनि त्यो अनेकौं समूह तथा उपसमूहहरुमा विभाजित छ, र त्यो सारा स्थितिको प्रभाव युवा कम्युनिस्टहरुमा स्वाभाविक रुपमा पर्दछ; तेस्रो कुरा, हाल यता आएर कम्युनिस्ट आन्दोलनमा व्यापक रुपमा गैर–सर्वहारा, गैर–कम्युनिस्ट प्रवृत्ति, भावना र आचरणले प्रभाव पारेको छ, जसले गर्दा युवा कम्युनिस्टहरुले कुन ठीक कुन बेठीक, कुन माक्र्सवादी, कुन अमाक्र्सवादी भनेर छुट्टयाउन बढी दिमागी कसरत गर्नु परेको छ । जुन कुरा पहिले प्रवेश गर्नेहरुले त्यति गर्नुपर्ने स्थिति रहेको थिएन; चौथो कुरा, अहिले ज्ञान र सूचनाको प्रवाह तीव्रतर गतिमा भइरहेको छ । आन्दोलनभित्र माक्र्सवादी, माक्र्सवादी भनिने र माक्र्सवादसित सम्बन्धित ज्ञानको मात्रा निकै बढेको छ, जुन कुरा पहिलेकाहरुका लागि पहिले उपलब्ध र सुगम थिएन । उपरोक्त र त्यस्तै अन्य कारणहरुले गर्दा वृद्ध कम्युनिस्ट र युवा कम्युनिस्टहरुका माझ समझदारीको बोधको सम्बन्धमा नमिल्दोपन र अवरोध रहन गएका छन् । यसको फलस्वरुप तिनका बीच प्रत्यक्ष वा अप्रत्यक्ष, इरादाबस वा विनाइरादा कम या धेरै दुरी तथा असमझदारी देखिनमा आएका छन् ।

दुई पुस्ताबीच समझदारीको कमी कुन रुपमा अभिव्यक्त हुने गरेको छ, हामी हेरौं ।

लामो समय सङ्घर्षमा बिताएका पाका कमरेडहरु सामान्यतः कस्तो सोच्छन् भने आफू पहिले जसरी हिंडेका थिए, आफूले जे जस्तो ढङ्गबाट व्यवहार र आचरण गरेका थिए, जुन बाटोमा हिंडेका थिए, अब युवा कमरेडहरु पनि त्यसै ढङ्गबाट त्यसरी नै हिंड्नु र काम गर्नु पर्दछ । र, युवा कमरेडहरुले त्यस रुपमा काम नगरेको र नहिंडेकोमा बरिष्ठहरु तिनीहरुप्रति गुनासो गर्छन् र कस्तो ठान्छन् भने युवाहरु गलत बाटोमा लागेका छन् । वृद्ध कमरेडहरुको उपरोक्त खालको सोंच र दृष्टिकोण बिल्कुल गलत र अनुचित छ र यहाँ उनीहरुले कुन तथ्यलाई मनन गर्न नसकेको लाग्छ भने पुराना र नयाँ कम्युनिस्ट पुस्ताहरुको बीचमा उमेरको भिन्नता छ, अनुभव अनुभव र परम्परा निर्वाहको सम्बन्धमा भिन्नता छ, राजनैतिक जीवनमा प्रवेश गर्दा छानेका बाटाहरुको भिन्नता छ र अझ बढी महत्वको कुरा के छ भने काम गर्ने परिस्थिति र सामुका चुनौति र सम्भावनाहरुका विशेषताहरुमा भिन्नता छ । सम्बन्धित सवालहरुबारे सोच्दा, सबैले उपरोक्त तथ्यलाई बुझ्नु र मनन गर्नु पर्छ र यही तथ्यलाई ध्यानमा राखेर लेनिनले भन्नुभएको छः “युवाहरुले आवश्यकीयरुपबाट आफ्ना पूर्वजहरुले भन्दा भिन्नै तरिकाले, भिन्नै बाटाहरुबाट, भिन्नै परिस्थितिमा समाजवादतर्फ अघि बढ्नु परेको छ ।”


अर्कोतिर, युवा कमरेडहरुमा सामान्यतः कस्तो धारणा पाइन्छ भने पुराना वृद्ध कमरेडहरु समय नसुहाउँदा भएका छन्, अहिलेको स्थितिमा तिनीहरु खास भूमिका खेल्न सक्दैनन्, तिनीहरुको जमाना गइसकेको छ, तिनीहरु चुप लागेर बसे हुन्छ, आदि । युवाहरुको आफ्नो जोश र जाँगरमा गर्व गरेर वरिष्ठ कमरेडहरुप्रति उदासीन रहने गर्दछन्, तिनलाई पन्छाउन योग्य ठान्दछन् । कसै–कसैले वृद्ध कमरेडहरुलाई “बूढो गोरु”को संज्ञासमेत दिई तीप्रति उदासीनता र घृणा फैलाउने पनि गरेका छन् । हाम्रा धेरैजसो समूहहरुमा वृद्ध कमरेडहरुलाई “सल्लाहकार” बनाएर राख्ने गरिन्छ । सम्मानको रुपमा त्यसो गरिएको देखिए पनि जुन ढङ्गबाट र जुन स्थितिमा तिनलाई सल्लाहकारको पदमा आसीन गराइन्छ, त्यसमा सम्बन्धित कमरेडको न कुनै जिम्मेदारी रहन्छ, नत उसको कुनै निश्चित भूमिका । धेरैजसो मामिलामा सल्लाहकार बनाउनुको अर्थ उक्त व्यक्तिलाई पन्छाउनु वा थन्को लगाइदिनु मात्र रहन्छ । त्यस्ता सल्लाहकारहरुको कुरालाई न कसैले मान्छ, न कसैले ध्यानसम्म पनि दिन्छ । वरिष्ठ कमरेडहरुलाई सम्मान गरेजस्तो गरी गरिने त्यसप्रकारको व्यवहार वास्तवमा सम्मान नभई एकप्रकारको अवहेलना हो, वरिष्ठहरुबाट सिक्नुपर्छ भन्ने मान्यताको उपहास हो, सम्बन्धित विषयमा लेनिनवादी शिक्षाको खुला उल्लङ्घन हो । त्यससम्बन्धमा लेनिनको शिक्षा यसप्रकारको रहेको छः “ … … युवा कार्यकर्ताहरुका लागि उत्पीडन तथा शोषणका विरुद्ध लडेका त्यस्ता वरिष्ठ योद्धाहरुको अनुभव चाहिन्छ, जसले धेरै हड्तालहरुको सङ्गठन गरेका छन्, जसले कैयन क्रान्तिहरुमा भाग लिएका छन्, जो क्रान्तिकारी परम्पराहरुमा बुद्धिमान् छन् र जसको फराकिलो राजनैतिक दृष्टिकोण छ ।”


यहाँ एउटा कुराको उल्लेख गर्नु प्रासङ्गिक देखिन्छ । क्रान्तिकारी काम र सङ्घर्षमा जीवन बिताएका वृद्ध कमरेडहरुको यदाकदा सम्मान गर्ने काम भएर आएको छ, जुन कुरा जस्तोसुकै नियतबाट गरिएको भएपनि ठीक र उचित नै छ, किनभने त्यस्ता कमरेडहरु निश्चय पनि सम्मानयोग्य छन् ।

वृद्ध कमरेडहरु, जसले विभिन्न आन्दोलन र सङ्घर्षहरुमा आफ्नो सहभागिताद्वारा ज्ञान र अनुभव प्राप्त गरेका छन्, उनीहरु आफ्नो वृद्धावस्था आन्दोलन र स्वास्थ्यको कारण पहिले झैं दौडधुप र सक्रियताका साथ सङ्घर्षमा लाग्न स्वाभाविकरुपले सक्दैनन् र यस मामिलामा उनीहरु निश्चय पनि युवा कम्युनिस्टको तुलनामा बेफाइदामा छन् । तर उनीहरु काम नलाग्ने वा पन्छाउन योग्य कदापि छैनन् । आफ्नो लामो राजनीतिक जीवनयात्रामा लागेर उनीहरुले जुन ज्ञान र अनुभव प्राप्त गरेका छन्, ती हाम्रो कम्युनिस्ट आन्दोलनका लागि कम उपयोगी र कम महत्वका छैनन्, र उनीहरुले सो ज्ञान र अनुभवलाई युवा कम्युनिस्टहरुमा छरेर तथा स्थानान्तरण गरेर तिनीहरुलाई प्रवुद्ध तथा फराकिलो मनधारी बनाउनमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।

उपरोक्त कुराको सन्दर्भमा वृद्ध कमरेडहरुको तर्फबाट एउटा कुराप्रति ध्यान जानु जरुरी देखिन्छ । हामीले कुनै क्रान्तिकारी परिवर्तन देख्न पाउने हैन, त्यसैले किन काम गर्ने , वा मैले वा हामी केहीले काम नगर्दैमा के बिग्रन्छ र, गर्नेहरु त्यत्रा जमात छँदैछन् भन्ने जस्ता कुरा सोच्नु र भावना लिनु उनीहरुले कदापि हुँदैन र त्यस्तो सोंच र भावना एकदमै गलत छ । कुन कुरा साँचो हो भने सङ्गठित प्रतिक्रियावाद र त्यसका संरक्षक संस्थाहरुको विरुद्ध एक्लो रुपमा कोही व्यक्ति उभिंदैमा स्थिति कदापि फेरिंदैन, तर म एकजना नभएर के हुन्छ भनेर सबैले हात बाँधेर बस्ने हो भने प्रतिक्रियावादको विरुद्ध सशक्त तथा सङ्गठित सङ्घर्षको निर्माण र विकास हुन सक्दैन । सत्य र न्यायको विजय भइहाल्छ नि भनेर एक–एक गरी सबैजना हात बाँधेर बस्ने हो भने त्यसको विजय कहिले पनि हुँदैन, किनभने असत्यमाथि सत्यको विजयले, अन्यायमाथि न्यायको विजयले सत्य र न्यायका पक्षधर शक्तिहरुको तर्फबाट सङ्गठित सङ्घर्षको अपेक्षा गर्दछ । यस सङ्घर्षमा हरेक व्यक्तिको क्रियाशीलताको महत्व र भूमिका रहन्छ, र व्यक्तिहरुको सामथ्र्य तथा योग्यता फरक–फरक होलान्, तर सबैको योगदानको अवश्य पनि भूमिका छ । जब वरिष्ठ योद्धाहरु आफूले प्राप्त गरेको ज्ञान र अनुभवद्वारा कम्युनिस्ट आन्दोलन र युवा योद्धाहरुलाई सहयोग र मद्दत गरिरहेका हुन्छन्, उनीहरुले साँच्चिकै महत्वपूर्ण योगदान गरिरहेका हुन्छन् । लामो समयको सङ्घर्षमा क्रान्तिकारी परम्परामा विकसित भएका र समृद्ध अनुभव प्राप्त गरेका वृद्ध कमरेडहरुले युवा कमरेडहरुका लागि र सम्पूर्ण आन्दोलनका लागि प्रेरणा, अनुभव र ज्ञान प्रदान गरेर र यसरी तिनको गुणस्तरलाई माथि उठाएर निकै उपयोगी काम र योगदान गर्न सक्छन्, र सो काम उनीहरुले गर्नुपरेको छ ।

वृद्धहरुले गर्नसक्ने र गर्नुपर्ने कामको सम्बन्धमा अलेक्जेण्डर र हर्जनले व्यक्त गरेका विचार ध्यानयोग्य छन् । उनले भनेका छन्ः
“प्लेस द वेन्दोममा रहेका बूढो मानिसले झैं, जसले साँझमा आफ्नो दूरदर्शक यन्त्र दिन्छ, जसले गर्दा उनीहरुले ताराहरुको सराहना गर्न सकोस् ।”

“तिम्रो तुलना उपयुक्त छ; तिमीले गर्नुपर्ने काम त्यही हो, आउने प्रत्येक मानिसलाई कसरी प्रतिकारका उठ्दा छालहरु झन्झन् निकट आउँदैछन् भन्ने कुरा देखाऊ । उसलाई क्षीतीजमा मुस्किलले देखिने नौकाको सेतो पाल पनि देखाइदेऊ । यहाँ नै तिम्रो काम छ ।”
अर्को ठाउँमा उनी भन्छन्ः “हामी निर्माण गर्दैनौं, हामी विध्वस्त पार्छौं, हामी नयाँ आविष्कारहरुको घोषणा गर्दैनौं, बरु पुराना फट्याईंहरुलाई पन्छाइदिन्छौं । … … … किनारमा पछाडि परेर नबस । प्रतिक्रियावादको भिक्षा गृहमा सुरक्षा खोज्नुभन्दा क्रान्तिसँगै समाप्त हुनु बेस छ ।”


कम्युनिस्ट आन्दोलनको पङ्क्तिमा रही लामो समयसम्म कार्यरत र सङ्घर्षरत भई अमूल्य व्यावहारिक ज्ञान र अनुभव प्राप्त गरेका कमरेडहरुले सङ्घर्षप्रति उदासीन भएर किनारामा बसी तमासे बन्नु वा निराश भएर आफ्नै साँघुरो स्वार्थमा आफूलाई सिमित राख्नु एकदमै अनुचित कुरा हो । त्यस्तै, प्रतिक्रियावादी सत्ताको कृपामा आफूलाई समर्पण गर्नु वा त्यसले खाएर फालेको हाडको टुक्रामा रमाउनु वा प्रतिक्रियावादको संरक्षणमा सन्तुष्ट भएर रहनु त झनै घिनलाग्दो, नीच तथा पतीत कार्य हो ।
यस सम्बन्धमा अलेक्जेण्डर ब्लकको एउटा कविताका दुई पङ्क्ति तिनीहरुको लागि एउटा निर्देशन बन्न सक्छ । ती पङ्क्ति हुन्ः

“Though you may not behold the morrowSay to the present – firmly : No !”

(भावार्थM तिमीले भोलिको दिन देख्ने सम्भव नभएपनि, वर्तमानलाई दरोसित नकारिदेऊ ।)
अर्कोतिर हाम्रा युवाहरुमा खास रुपले हाम्रा कम्युनिस्ट युवाहरुमा निहित अनेकौं राम्रा गुणहरुलाई हामीले व्यवहारिकरुपमा देखेका छौं । उनीहरुमा शोषण तथा उत्पीडनप्रति घृणा र विद्रोहको भावना, आमूल परिवर्तनको चाहना, क्रान्तिकारी जोश तथा उत्साह, त्याग र बलिदानको भावना, पराक्रमी काम गर्ने आकाङ्क्षा आदि अन्तर्र्निहित छन् । मुलुकमा समय–समयमा भएका प्रतिक्रियावादविरोधी मुठभेड र सङ्ग्रामहरुमा साम्राज्यवाद तथा विस्तारवादका विरुद्ध भएका सङ्घर्षहरुमा तिनका उपरोक्त गुणहरुले आफूलाई बडो स्पष्ट र शानदार रुपमा अभिव्यक्त गरेका छन् । जनमुक्तिको महान् तथा पवित्र लक्ष्यका लागि सङ्घर्षमा कम्युनिस्ट तथा कम्युनिस्ट समर्थक युवाहरुले प्रस्तुत गरेका त्याग र बलिदानका दृष्टान्तहरु हाम्रो कम्युनिस्ट तथा जनवादी आन्दोलनको इतिहासको गौरवशाली पाना रहेका छन् ।

तर, हाम्रा कम्युनिस्ट युवाहरुमा केही कमीकमजोरीहरु रहेको हामीले देखिरहेका छौं । होशभन्दा बढी जोश, आफ्नो लक्ष्य चाँडो प्राप्त गर्ने आतुरता, सैद्धान्तिक स्पष्टता र सुसङ्गतिको कमी, राजनैतिक सुझबुझको अभाव आदि केही ठूला कमीहरु हुन् । उक्त कमीहरु हटाउने सम्बन्धमा नै युवा कम्युनिस्टहरुको लागि अनुभवी वृद्ध कमरेडहरुको सल्लाह र सहायताको ठूलो आवश्यकता पर्दछ । युवाहरुले वरिष्ठहरुबाट सहायता लिनुपर्ने आवश्यकता र कारण के भने वरिष्ठहरुमा तिनीहरुले त्यस्ता आवश्यक कुरा पाउन सक्छन्, जुन अहिले तिनीहरुमा विकसित भइसकेको हुँदैन । ती कुरा हुन् – जीवन–अनुभव, अर्थात् सङ्घर्ष र क्रान्तिकारी परम्पराबाट प्राप्त अनुभव र फराकिलो राजनैतिक दृष्टिकोण । यथार्थ जीवनको अनुभव किताबहरुबाट पाउन सकिंदैन, त्यो त भोगेर पाइने कुरा हो । यो हो कि युवाहरुमा जोश, जाँगर, लडाकुपन, बलिदानी भावना आदि यथेष्ट मात्रामा पाइन्छ । तर सङ्घर्ष र सङ्ग्राममा ठोस उपलब्धि तथा विजय हासिल गर्न त्यति भएर मात्र पुग्दैन । उक्त गुणहरुलाई अनुभवसिद्ध ज्ञान र उपयुक्त दृष्टिकोणबाट परिपोषित, प्रज्वलित र निर्देशित गरिनु पर्छ र त्यसो गरेमात्र लडाकु भावना, जाँगर र शक्तिलाई क्रान्तिको वास्तविक सङ्ग्रामी शक्तिमा परिणत गर्न सकिनेछ । यहीनेंर नै युवा क्रान्तिकारीहरुलाई अनुभवी र वृद्ध कमरेडहरुको सल्लाह, सहयोग र निर्देशन कामलाग्दो र आवश्यक रहन्छ ।

वृद्ध कमरेडहरुबाट सिक्ने भन्ने जहाँसम्म सवाल छ, त्यो सवाल भनेको तिनीहरुद्वारा प्राप्त ज्ञान र अनुभवलाई कम्युनिस्ट तथा जनवादी आन्दोलन र जनमुक्ति सङ्घर्षको हितमा प्रयोग गर्नु हो । ती कमरेडहरुबाट आफ्नो राजनैतिक जीवन–यात्रामा प्राप्त गरेका ज्ञान तथा अनुभवहरु उक्त आन्दोलनको इतिहासका अङ्ग हुन् र त्यसबाट सिक्नु भनेको इतिहासबाट सिक्नुजस्तै हो । त्यसबाट सिक्नु आवश्यक छ, जसले गर्दा वृद्ध कमरेडहरुबाट हुन गएका गल्तीहरु युवा योद्धाहरुबाट दोहोरिने स्थिति नरहोस् र उनीहरुको अनुभवलाई युवाहरुले निर्देशनको रुपमा लिएर ठीक ढङ्गबाट आफूलाई अघि बढाउन सकोस् । जो युवा कम्युनिस्टहरु कम्युनिस्ट सिद्धान्त र आदर्शप्रति, जनमुक्तिको महान् लक्ष्यप्रति इमान्दार र निष्ठावान् छन्, जो युवाहरु वर्तमान व्यवस्थाको ठाउँमा नयाँ सामाजिक व्यवस्थाको स्थापना गर्न साँच्चिकै लडिरहेका छन्, उनीहरुले वरिष्ठ कमरेडहरुको बहुमूल्य अनुभव र फराकिलो, परिपक्व दृष्टिकोण र त्यसबाट पोषित सल्लाह र सहयोगलाई कदापि पन्छाउन सक्दैनन् र पन्छाउँदैनन् पनि । कम्युनिस्टहरुका पुराना र नयाँ पुस्ताहरुमा विभिन्न कारणबश, समझदारी र बोधको सम्बन्धमा थोरबहुत भिन्नता रहेपनि आखिर लक्ष्य त एउटै हो, उद्देश्य एउटै छ, पुग्नुपर्ने ठाउँ उही छ । यस तथ्यले यी दुबै पुस्तालाई एक अर्कोको सहायक, एक अर्कोको निरन्तरता, एक अर्कोको परिपूरकको रुपमा रहनुपर्ने कुराको अपेक्षा गर्छ । यो कुरा जनमुक्तिको लक्ष्यका लागि सङ्घर्षरत योद्धाको रुपमा तिनीहरुको उद्देश्यको सिद्धीकरणको निम्ति एउटा आधारभूत पूर्वाधार हो ।
वृद्ध र युवा कमरेडहरुको वास्तविक मेल आन्दोलन र सङ्घर्षको क्षेत्रमा गएर युवा जोश, जाँगर, साहस तथा आत्मत्यागी भावना र परिपक्व चिन्तन तथा अनुभवको मेलमा अभिव्यक्त हुन्छ । अहिलेका हजारौं–हजार युवा कम्युनिस्ट योद्धाहरु र निरन्तरको लामो सङ्घर्षबाट ज्ञान र अनुभव पाएका तुलनात्मकरुपले थोरैजना वरिष्ठ योद्धाहरुको मेल निश्चयात्मकरुपले जनमुक्ति लक्ष्यको पक्षमा एउटा शक्तिशाली साधन बन्नेछ । त्यसरुपमा हुने बल र बुद्धिको मेलले अवश्य पनि ठोस सकारात्मक परिणामहरु पैदा गर्नेछ ।
(‘माओवादी’बाट)
सन्दर्भ समाग्रीः
१.    लेनिन, ‘सङ्कलित रचनाहरु’, भाग २३, पृष्ठ १६४
२.    कृष्णदास, ‘युवा कम्युनिस्टका कर्तव्य र पार्टीको दायित्व’ बाट उद्धृत ।
३.    अलेक्जेण्डर हर्जन, ‘छानिएका दार्शनिक कृतिहरु’, पृष्ठ ४१३, ३३६ ।