‘शक्ति बन्दुकको नालबाट जन्मन्छ’

‘शक्ति बन्दुकको नालबाट जन्मन्छ’

काठमाडौं । पार्टी कार्यालयमा भेट्न आएको एक चिनियाँ टोलीसँग कुराकानी गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले आफ्नो पार्टी माओको ‘शक्ति बन्दुकको नालबाट जन्मछ’ भन्ने भनाइमा विश्वास राख्ने पार्टी भएको बताएका छन् । द एकाडेमी अफ चाइना एण्ड वल्र्ड एजेण्डाजका डेप्युटी डिन डा. सुन लिजोङ नेतृत्वको प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै अध्यक्ष किरणले नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्न सशस्त्र संघर्षको विकल्प नरहेको कुरा बताए ।

baaidya-chinese-moolbato
    इन्स्टीच्यूट अफ हिमालय स्टडिजका इक्सक्यूटिभ डाइरेक्टरसमेत रहेका लिजोङले राखेको जिज्ञासाको जवाफ दिंदै अध्यक्ष किरणले प्रचण्ड–बाबुरामले पार्टीको नीति र एजेण्डा छाडेकाले आफूहरुले अलग पार्टी निर्माण गरेको बताउँदै प्रचण्डहरु संसदीय व्यवस्थामा विलिन भए तर आफूहरु संसदीय व्यवस्थाका विरुद्ध नेपालमा नयाँ जनवादी व्यवस्था स्थापित गर्ने आन्दोलनमा लागिरहेको बताए ।

    आइतबार कुराकानीको क्रममा चीनमा माओले च्याकाइसेकसँग सम्झौता गर्दा क्रान्तिलाई सफल बनाउने उद्देश्य राखेर गरेको र आफ्नो शक्तिलाई इनट्याक राखेर मात्र कार्यनीतिक रुपमा सम्झौता गरेको प्रसंग कोट्याउँदै अध्यक्ष किरणले प्रचण्ड–बाबुरामले भने आफ्नो सेना, सत्ता, आधारइलाका सबै प्रतिक्रियावादीसत्तालाई बुझाएर पूरै आत्मसमर्पण गरेकाले आफूहरु प्रचण्डहरुसँग अलग भएको बताए । उनले सो अवसरमा क्रान्तिको आवश्यकता अनुसार संसद र सरकारलाई उपयोग गर्न सकिने भन्दै नेपालमा नामका कम्युनिष्ट धेरै भए पनि कामका कम्युनिष्ट थारै रहेको उल्लेख गरे ।

    यसैबीच, पार्टीको पश्चिमी कमाण्डको बाँकेको नेपालगंजमा १० भदौमा सम्पन्न कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष किरणले सच्चा माओवादीहरु जनवादी क्रान्तिकै लागि लडिरहेको बताएका छन् । सामन्तवादको अन्त्य गर्ने र राष्ट्रिय स्वाधीनता हासिल गर्ने नयाँ जनवादी क्रान्तिको दुई कार्यभार रहेको भन्दै अध्यक्ष किरणले चीनमा १९११ मा राजतन्त्र उन्मुलन भएपनि सामन्तवादको अन्त्य नभएको प्रसंग कोट्याए । भारतमा पनि लोकतान्त्रिक गणतन्त्र भएपनि त्यहाँका सच्चा माओवादीहरू नयाँ जनवादी क्रान्तिकै लागि लडिरहेका बताए । सामन्तवाद राजतन्त्रको अन्त्यपछि अलिकति कमजोर भएको तर पुँजीवादको विकास प्राविधिक दृष्टिले भएको भएपनि अहिले नेपालमा वैदेशिक प्रतिक्रियावादले शासन सञ्चालन गरिरहेको उल्लेख गरे । उनले भने, “यो नवउपनिवेशिक स्थिति हो । दलालहरू मार्फत् शासन चलिरहेको छ । एमाओवादीकै कुरा गर्दा पनि भारतको विरद्व सङ्घर्ष गरेर संविधान बनायौँ भनेर राष्ट्रवादको हौवा चलाइयो । यो सबै ढोँग मात्र हो । संविधान बनाउने बेला मोदीको समर्थन नभएपनि कांग्रेस आइ र अमेरिकीहरूको समर्थन थियो ।” अहिले वैदेशिक प्रतिक्रियावाद असाध्यै तीव्र बन्दै गएकोले राष्ट्रियताका समस्याहरू हल गर्न असमान सन्धि सम्झौताहरू खारेज गर्नुपर्ने आवश्यकतामाथि अध्यक्ष किरणले जोड दिएका थिए ।

यसअघि अर्थात् ८ भदौमा मध्यमश्चिम कमाण्डको प्रशिक्षण बुटबलमा सम्पन्न भएको थियो । पार्टीको पछिल्लो विभाजन पछि क्रान्तिकारी माओवादीले पार्टीभित्रको वैचारिक–राजनीतिक, सांगठानिक र आर्थिक व्यवस्थापनको कामलाई मुख्य जोड दिंदै आएको छ । देशैभरका अगुवा कार्यकर्ताहरुलाई कमाण्डस्तरमा जम्मा गरेर क्रान्तिकारी माओवादीले वैचारिक, राजनीतिक, सांगठानिक, संघर्षलगायतका विषयमा प्रशिक्षित गरेको छ । यो वैचारिक राजनीतिक प्रशिक्षणबाट कार्यकर्ताहरुमा र जनतामा समेत रहेका धेरैखाले भ्रमहरु चिरिएको र पार्टीपंक्तिलाई साँगठानिक रुपमा सुदृढ बनाउन निकै ठूलो भूमिका खेलेको नेताहरुले दावी गरेका छन् । पार्टी नेतृत्वले देखाएको सक्रियता र कार्यदिशा विकासका लागि अघि सारेका प्रस्तावनाहरुबाट कार्यकर्तापंक्ति पनि उत्साहित बन्दै आएका छन् ।