काठमाडौं । माओवादी जनयुद्धको उद्गम थलो मानिएको रोल्पाको थवाङ्वासी स्थानीय निकाय पुनर्संरचना आयोगको प्रस्तावमा असहमत देखिएका छन् ।
स्थानीय तह पुनर्संरचना आयोगले मगर बाहूल्य बस्तीलाई अलग–अलग गाउँपालिका प्रस्ताव गरेको भन्दै थवाङवासीले असन्तुष्टि जनाएका हुन् । उनीहरुले रोल्पाका थवाङ, जेलवाङ, कुरेली, मिरुल, उवा र शेरम गाविस मिलाएर एउटै गाउँपालिका बनाउन र त्यसको केन्द्र थवाङलाई बनाउनुपर्ने उनीहरुको माग छ ।
पुराना माओवादी नेता बर्मन बुढा नेतृत्वको थवाङ्को प्रतिनिधि मण्डल शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न सरकारी निवास बालुवाटार पुगेको थियो ।
बर्मन बुढाको नेतृत्वमा प्रधानमन्त्री दाहाललाई भेट्न गएको १५ सदस्य टोलीले गाउाँपालिकाको केन्द्र थवाङ बनाउन माग गरे । राज्यकै राजधानी थवाङ् बनाउने आश्वासन दिएर गाउपालिकाको केन्द्रसमेत थवाङलाई बनाउन नचाहेको भन्दै थवाङवासीले दाहालसँग आक्रोश पोखे ।
‘जनयुद्धको बेला अजम्बरी गाउँ थवाङ जनसत्ताको केन्द्र थियो, अहिले हामीले गाउँपालिकाको केन्द्र मात्रै मागेका छौं’, बुढाले भने, ‘प्रधानमन्त्रीले थवाङ, जेलवाङ, कुरेली, मिरुल, उवा र शेरम मिलाएर एउटै गाउँपालिका बनाएर त्यसको केन्द्र थवाङलाई बनाउनु हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’
एउटै भाषा, संस्कृति, मनोभावना, साझा आर्थिक निर्भरता, आर्थिक स्रोत उपलब्धता, प्रशासनिक सुगमता जस्ता अनुकूलताका कारण ६ गाबिसलाई एउटै गाउँपालिका बनाउन प्रधानमन्त्री दाहाललाई थवाङवासीले आग्रह गरे ।
उनीहरुले थवाङलाई थप परिचित बनाउन, पहिचानको रक्षा गर्न र प्रशासनिक सुगमताका लागि पनि थवाङ नयाँ गाउँपालिकाको केन्द्र बन्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री दाहालले स्थानीय तह पुनर्संरचना समितिले काम गरिरहेकाले अन्तिम टुंगो लागिनसकेको भन्दै थवाङवासीलाई आश्वस्त पारे ।
यसअघि थवाङलाई मगराँत राज्यको राजधानी बनाउनुपर्ने प्रस्ताव गरेको माओवादी अध्यक्ष दाहालले गाउँपालिका केन्द्र बनाउँन पहल गर्ने भन्दै आश्वस्त पारेका थिए ।
पहिलाे संविधानसभामा माअाेवादीलार्इ जिताएका थवाङवासीले दाेस्राे संविधानसभा बहिष्कार गर्दै सून्य मत खसालेका थिए ।