मने, कस्तो भूतले खाजा खानेबेला प्रमको कुर्ची प्राप्त भयो । नखाऊँ त जिन्दगीभरको शिकार, खाउँ भने आफ्नै टाउकाको मोल तोक्नेको अनुहार । मेरो कुर्ची र अक्करमा फलेको तरुल दुबै उस्तै लाग्चन् । जुन दिन कुर्चीमा बसियो त्यसैदिनदेखि दिन गन्ती सुरु भो । सुत्दा पनि राम्ररी निद्रै लाग्दैन । सोच्छु कहिले त उज्यालै नभइदिए हुन्थ्यो भन्ने लाग्च । आफ्नै तरिकाले चल्न पनि नपाइने । अघिल्लो पटक त्यत्रो पावर थियो र त केही नगरी पदै खुस्कियो, ऐले त झन् दिन गनेर बसेको कुर्चीबाट के काम गर्नु । गर्न खोजे पनि क्यै गर्न दिने हैनन् । मेरो मनले त उखानप्रसादलाई नछोडौँ भन्ने नै लाग्या’थ्यो । उनीसँग कैयौँचोटी भनेको पनि थिएँ कि अब तपाइँ हाम्रा बिचमा धेरै टाढाको सम्बन्ध छैन भनेर । घुम्दै फिर्दै हामी पनि उनकै बाटोमा त आ’का थ्यौँ । उनले पनि हो मा हो मिलाएकै थिए । मान्छे त असाध्य खराव पो रहेचन् । भिमदत्त पन्तका मित जस्ता । अष्ट्रेलिया प्रकरणमा धन्नै सिध्याइसकेका थिए । गएको भए त सिध्याउने नै रैचन् । धन्न भाग्यले गर्दा बचियो बा । त्यसैले त नचाहेर पनि उनको साथ छोड्नु प¥यो । खुरुक्क भद्र सहमति लागू गरेको भए तिनका बाउको के जाने थियो ? सत्ता भनेको मिलिजुली खाने कुरा त हो । एक्लै हसुर्न खोज्ने हाँडिघोप्टे पो रहेचन् बा यी उखानटुक्के त । सल्लाह गरेर हसुरेको भए पनि हुन्थ्यो, षड्यन्त्र गरेर पो हसुर्न खोजे ।
मने, कमसेकम हिज उखानेसँगको सङ्गतका बेला राष्ट्रवादीको पगरी लाउन त पाइयाथ्यो । ऐले त त्यो पनि खुस्क्यो । राष्ट्रवादी बन्न यी डेउडापतिले मरेकाटे दिनेवाला छैनन् । खाँट्टी आइसी दारीवाललाई गार्ड बनाएर पठाइद्या छन् । बायाँ फर्कन खोज्यो कि भालाले घोचिहाल्छन् । सुत्दा पनि बायाँ कोल्टे नसुत्ने आदेस छ । कस्तो फसाद प¥यो बा उस्स्स्स्स्स् !
उता रैतीहरूले पनि लौ है उखानेले गरेका उत्तरतिरका काम अगाडि बढाऊ भन्चन् । यता आपूmलाई समर्थन् गरेका भैयाहरूले दख्खिनतिरको जे आदेस हो त्यसबाट दायाँबायाँ गर मात्रै, भनेर थर्काउँचन् । सुरुमै सहिदको फाइल तेस्र्या छन् । फाइलमा भा’जति सबैलाई सहिद घोषणा गर्नु पर्ने रे । ददशलाख रुप्पे पनि सबैको एकमुष्ट भैयाहरूको खातामा हाल्दिनु पर्ने रे । परिवारलाई सिधै दिन पनि नपाइने रे । कस्तो अप्ठ्यारो शर्त । मुखमा हालेको तातो पिँडालु जस्तो । निल्नु न ओकल्नु । अब त बसबाट खसेर मरे पनि सहिद, करेन्ट लागेर मरे पनि सहिद, अंशबण्डामा भाइझगडा परेर मारे पनि सहिद, जारले काटे पनि सहिद, सर्पले टोके पनि सहिद हुने भए बा । हुँदाहुँदा पुलिस सेना पनि सहिद हुने भए । कस्तो परिभाषा आयो । जनयुद्धका सहिद जति अपराधी रे धनयुद्धमा मर्नेहरू सहिद हुने भए । त्यो पनि मेरै हातबाट । उस्स्स्स्स ! के घाँडो आइलाग्यो । यो फाइल पास गर्ने वित्तिकै एक मधेस, नागरिकता दिने, जनसङ्ख्याको आधारमा सीट तोक्ने शर्त पनि आउनेवाला छ । यो मैले राम्ररी बुझेको छु । गुजरातीले जेजे आदेश ग¥या छन् ती सबै शर्त तेस्र्याउने छन् । उफ ! सोच्दासोच्दै डिप्रेसन होला जस्तो भैसक्यो ।
उत्तर दख्खिनतिर ठूलठूला शक्तिहरू छन् । आफ्नो भित्री मन दख्खिनतिर मिले पनि लगाएको कपडाको रङ त उत्तरतिरकोसँग मिल्च । कपडाको रङ फेर्न पनि सकिया छैन । यति छिटै फेर्नु पनि भएन । उखानेहरूले त फे¥या छैनन् । डाक्टरले त समयमै बुद्धि पु¥याएर रङ फेरिहाले । यी दुईटा शक्तिलाई मिलाएर बिचमा उभिन आपूmलाई जनयुद्धमा भन्दा हजार गुणा सकस प¥या छ । जनयुद्धमा त सजिलो थियो । दख्खिनतिरका सहर फेरिफेरि बसिन्थ्यो, उतैबाट वक्तव्य फालिन्थ्यो र योजना पठाइदिएपछि यता ठिटाठिटीहरूले ज्यान फालिहाल्थे । गुरुलाई समातेपछि मात्रै डर लाग्या हो । नत्र त कति आनन्द थियो । यताबाट जति भने पनि खर्चपर्च पठाइदिएकै थिए । ऐले त खर्चपर्च पनि आफै जुटाउनु प¥या छ । अनेक रङका मान्छेसित सङ्गत गर्नु प¥या छ । उनीहरूले भनेअनुसार हिँड्नु प¥या छ । कति सकस । यो कुरा कस्ले बुझिदेला ? पीर छ छ, मनैमा छ । दुईटै शक्तिले आआफ्नै पोल्टातिर तान्न खोज्या छन् । कस्तो चपेटा हो यो । एकातिरको तन अर्कातिरको मन जोडेर बाँच्न त निकै गह्रो पो हुँदो रैच ।
सकेसम्म दुईटै शक्तिलाई मिलाएर साथ लिनु प¥यो भन्ने सोचेर दुईजना दूतलाई कुरा मिलाउन पठाएकै छु क्यारे । कुरा मिलाई त हाल्लान् । उनीहरूकै जातभात मिल्ने, कपडाको रङ र आनिबानी मिल्ने मान्छेलाई दूत बनाएर पठाएकै छु । गुजरातीले दारी पाल्ने भएकाले दूत पनि दारीवाला नै पठा’छु । उत्तरतिरकाको दारीजुङ्गा नहुने भएकाले दूत पनि दारीजुङ्गा नभएकैलाई पठाइया छ । दख्खिनतिर त भैयाकै भाषा मिल्ने भैया नै दूत प¥या छन् । उत्तरतिरकाको अङ्ग्रेजी टाक्कनटुकन हुने भएकाले दूत पनि अङ्ग्रेजी टाक्कनटुकन बोल्ने नै प¥या छन् । यसरी सबै बान्की मिलाएर पठाएपछि त सन्तुष्ट हुनै पर्ने हो ।
आपूmलाई उत्तरतिरबाट भन्दा दख्खिनतिरबाट बढि प्रेसर आउँच । यसपटक गएका दूत उतैका परे । केके गरेर आउने हुन् कुन्नी । आफ्नो कोटरीका पनि परेनन् । कमसेकम अप्ठ्यारो पार्ने काम नगरिदिए हुन्थ्यो । सकेसम्म कलङ्क नलाग्ने काम गर्नु पर्ला भन्ने सोचेको छु । सकिएन भने डेउडापतिलाई छोडिदिनु पर्ला । उनको पालामा जेसुकै गरुन् । आफू मरे कुत्तै राजा । खै अर्कोपटक चुनावमा पनि क्या हो क्याहो ।
२ भदौ २०७३