“युवाहरु भविष्यका कर्णाधार हुन्” कतिपयले यो कुरालाई युवालाई फुक्र्याएको, पार्टीहरुले आफ्नो झोला बोकाएको, विचार लादेको, उनीहरुको क्यारियर बिगारेको र उपयोग गरेको भन्नेजस्ता आरोप लगाउने गर्छन् । के कुरा त्यही हो त ? कसैले आफ्नो विचार, दर्शन, सिद्धान्त र राजनीतिअनुसार मानिसलाई डोर्याउनु, हिडाउनु र आफ्नो अविछिन्न उत्तराधिकारी तयार पार्नु त हरेक मानिसको इच्छा, चाहना, जिम्मेवारीबोध हो । युवाहरुलाई भड्काएको, राजनीतिमा लगाएको र जुझारु संगठन र संघर्षमार्फत् शासकहरुको निद्रा हराम बनाएकोले यो त शासकहरुको विचार हो ।
हिजो आज नेपालमा प्रतिक्रान्ति भएको छ । क्रान्तिकारी सपना र आशावादिता मरेको छ । निराशा, पलायन, कुण्ठा, आत्महत्या र अश्लिलताले ठाउँ लिएको छ क्रान्तिको ठाउँ । थोरै महंगी बढ्दा पनि जुलुश, हडताल, तोडफोड र रेलिङ भाँच्ने युवा विद्यार्थी गच्छेअनुसार अमेरिका, युरोप, खाडी देश र भारत गएर कष्टसाध्य काम गर्ने, पढ्ने काम गरिरहेका छन् । एक महिनामा चिनीमा १ किलोमा २० रुपैंया बढ्दा पनि विरोधमा जुलुश निस्कँदैन आजकल ।
आजकल दिनमा ५ वटाभन्दा बढी बन्द बाकसमा विदेशबाट युवाहरुको लास आउँछ र विमानस्थलमा आँशुको भल बग्दा शोषक वर्गका कुनचाहिँ प्रतिनिधिले हरेक ५ वर्षमा संसदमा गएर जनता लुट्ने व्यवस्थाको नाम संसदीय व्यवस्था हो भनेर युवाहरुलाई भन्छ र ? संसदीय व्यवस्थाको भ्रममा नपरौं, नयाँ जनवादी क्रान्तिको तयारी गरौं भनेर जनयुद्धको उद्घोष गर्ने प्रचण्डहरु “यो व्यवस्था संसदीय व्यवस्था हो” भनेर संविधान बनाउन पुगे । नयाँ जनवादी क्रान्ति पूरा भयो भन्दै संसदीय व्यवस्थाको सर्वोच्च पद प्रधानमन्त्रीको कुर्सीमा विराजमान भएर भूतपूर्व क्रान्तिकारीहरुले जीवनको बाजी लगाएर पठाएको रेमिटेन्सको पैसामा मोजमस्ती गर्दै मात्र शान्ति, जय नेपाल गर्न पुगेका छन् ।
आफ्नो मूल्य मान्यता र आदर्शको लागि क्रान्तिकारी युवाहरुले यो देशमा आँशु, रगत र पसिना बगाएका छन् । मानिसको सबैभन्दा अमूल्य सम्पत्ति हो जीवन । त्यो पनि देश, जनता र पार्टीको लागि समर्पित मात्र नभएर सहिद भएका छन् । घरायसी बन्धन र परिवारलाई दुःखमा छोडेर सबैभन्दा कठिन जिल्ला, गाउँ र ठाउँमा गएर कुनै आड बनाएर आफ्नो पेशा व्यवसाय जागिर सम्पूर्ण पार्टी र संगठनमा लगाउँदै संगठन बनाएका छन् । ती सबै मूल्य मान्यता आदर्श र सपनाको आज हत्या भएको छ, प्रतिक्रान्ति भएको छ । आज चिया चौतारा सार्वजनिक स्थल र बहसहरुमा नेता र पार्टीहरुलाई गाली गर्ने, यी सबै खत्तम छन्, यिनले केही गर्दैनन्, कस्तो देशमा जन्मिइएछ भन्दै धारे हात लगाउँदै सरापेको सुन्न पाइन्छ ।
यसैगरी दैनिक १५ सयको दरले देशलाई सराप्दै विमानस्थलबाट जोखिमपूर्ण कामको लागि विदेशिन्छन् । अरु त अरु सरकारी पदको सबैभन्दा उच्च तह सचिवहरु समेत मौका पाए भने डिभि चिट्ठा, ग्रिन कार्ड र पिआर लिएर विकसित देशतिर हानिन्छन् । सबैभन्दा ठूलो र डरलाग्दो कुरा हो सपनाको मृत्यु, मानिसको सपना म¥यो भने उसले केही गर्न सक्दैन । लेनिनले– “साथीहरु हो ! सपना देख्नुपर्छ ।” भन्नुभएको थियो । यो विषयको एउटा पाटो मात्र हो यो अँध्यारो पाटो मात्र हो ।
घनघोर कालो अँध्यारो जङ्गलमा हराइयो भने टाढा कतै कुकुर भुकेको र पिलपिल बत्ति बलेको दिशातिर नथाकिकन निरन्तर हिंडिरह्यो भने गाउँ भेटिन्छ । मध्यरातको निष्पट अन्धकारपछि पनि भोलि स्वर्णिम विहान हुनेछ भनेर मानिस पर्खेर बस्छ । हिजो पनि यस्तो थिएन र भोलि पनि यस्तो हुनेछैन । वर्तमान निराशाका विरुद्ध धैर्यतापूर्वक पर्खेर संघर्ष गर्दै भोलिको सुनौलो भविष्यका लागि कुर्नुपर्छ । हिजो विशिष्ट श्रेणी ल्याएर विदेशमा छात्रवृत्ति पाउँदा पनि त्यसलाई छोडेर यहींको आन्दोलनमा समाहित हुने, देश, जनता, पार्टी र क्रान्तिको कामलाई प्राथमिकतामा राखेर विदेशबाट आफ्नो महत्वपूर्ण पेशा, व्यवसाय र पढाई छोडेर आएका क्रान्तिकारी उदाहरण हाम्रा अगाडि छन् ।
देश नै विरामी भएको बेलामा मानिसको के उपचार गर्ने भनेर डाक्टर पढाई छाडेर जापानबाट आफ्नो देशलाई मुक्त गर्न लु–सुन आएको र चीनलाई मुक्त बनाउँदै विश्वको उत्कृष्ट प्रगतिशिल साहित्यकार भएको कुरा हामीले चिनियाँ इतिहासबाट थाहा पाउँछौं । नेपालीहरुको विरासत पनि अत्यन्तै राम्रो छ । दोस्रो विश्वयुद्धमा भाडाका सिपाहीको रुपमा विदेशमा गएका युवाहरुले अन्यायी शासकहरुका विरुद्ध लड्ने चेतना लिएर आए र २००७ सालको राणा विरोधी आन्दोलनमा सहभागी भएर राणा शासन ढाल्न महत्वपूर्ण भूमिका खेले । अहिले पनि नेपालीहरुले विश्वमा सूचना–सञ्चार, व्यापार, व्यवसायमा विश्वकै उत्कृष्ट स्थानमा आएका छन् ।
नासाजस्तो अन्तरिक्षमा समेत नेपालीहरुले काम गरेका छन् । विदेशी ज्ञानलाई स्वदेशी सेवामा लगाएर देश, जनता, पार्टी र क्रान्तिमा लगाउँदा त्यो धेरै महत्वपूर्ण बन्नेवाला छ । अहिलेसम्म प्रत्यक्ष कसैको पनि उपनिवेश नबनेको हाम्रो देशमा विश्वको जुनसुकै कुनामा बसेर पनि देशको सेवामा लगाउन सकिन्छ । विगत भारतीय नाकाबन्दीमा बेलायतमा बस्ने नेपालीहरुले मोदीको सातो खाँदै इन्डिया घर फर्कको प्लेकार्ड मार्फत् बेलायत नै हल्लाउने गरी गरेको प्रदर्शनले नेपालीहरुको शीर ठाडो पारेको थियो र खुशीले शरिरका रौं ठडिएर जिउमा काँडा उम्रिएको थियो ।
निराशा र आशा द्वन्द्वात्मक कुरा हो । आफ्नो, सिद्धान्त, आदर्श, मूल्य मान्यता अनुसारको व्यवस्था आएपछि सम्बन्धित पार्टीहरुमा आशा, खुशीयाली हुन्छ र यथास्थितिलाई बचाउने प्रगतिशील र अग्रगामीहरुलाई दमन गर्ने गरिन्छ । शुरुमा हरेक सत्य कुरा असम्भव जस्तो लाग्छ र हरेक सत्य कुराको पछि लाग्ने २–४ जना मात्र हुन्छन् । पञ्चायतले आफ्ना युवा विद्यार्थीहरुलाई संगठित गरी विरोधीहरुलाई दमन, कुटपिट गरेर तर्साउन राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल बनाएको थियो । कालान्तरमा मण्डले भनेर सत्ताधारीहरु बदनाम भएर यो गाली गर्ने शब्द बन्यो ।
अहिले नयाँ जनवाद, समाजवाद र साम्यावाद प्रगतिशील व्यवस्था हो । यसको विरुद्ध अर्थात् जनताको संघीय गणतन्त्रको विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरमा खुशीयाली र आशा छ । उनीहरुले अब राजनीतिक क्रान्ति पूरा भयो, आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने गर्छन् । हिजो पञ्चहरु आफ्नो व्यवस्था हुँदा त्यसै भन्थे । पञ्चायतको चाहना शान्ति र सृजना भनेर इतिहासको नियम नै यस्तो छ कि पुरानोको अन्त्य र नयाँको विकास हुने हुँदा जतिजति समय वित्दै जान्छ नयाँ चम्किँदै जान्छ र पुरानो ढल्दै मर्दै जान्छ ।
वर्तमान राज्यसत्ता दलाल, नोकरशाह र सामन्त वर्ग मिलेर बनेको राज्यसत्ता हो । यसको विरोधमा सामन्तवाद÷साम्राज्यवाद विरोधी नयाँ जनवादी व्यवस्था (जनताको संघीय गणतन्त्र) ल्याउनहरु प्रगतिशील शक्ति हुन् । हामीले यथास्थितिवादीसँग तुलना गर्नुहुँदैन । जसरी पञ्चायतको विरोधमा लड्दा युवा क्रान्तिकारीहरु दुःखकष्ट गरेर सत्ताधारीको कोपभाजनको शिकारलाई स्वीकार्दै दुर्गमभन्दा दुर्गम ठाउँमा जाने, खट्ने, संगठन बनाउने, देखाउनको लागि शिक्षक, पसल, साना जागिर खाएर त्यसको आम्दानी पार्टी र क्रान्तिकै काममा खर्च गरेर आधा पेट खाएर काम गरेको पञ्चहरुले थाहा पाएपछि दुःख दिने, कुट्ने, जागिरबाट निकाल्ने, स्थायी नबनाउने गर्दथे ।
ती सबै चुनौतिको सामना गर्दै पञ्चायत विरोधीहरुले संगठन बनाएर पञ्चायतको अन्त्य भएको इतिहास हाम्रो अगाडि ताजै छ । हाम्रा नौजवान युवाहरु जो भर्खर १५ वर्ष पुग्दै हुनुहुन्छ, वहाँहरुको अगाडि बहुदलीय संसदीय व्यवस्था पनि पुरानो भइसकेको छ । फेरि एकपटक दुःख कष्ट उठाउने सबभन्दा दुःख पाएका जनताका बीचमा जाने, भूकम्प, बाढी–पहिरो, भारतीय बाँधले खेत डुबान र कटान गरेर सुकुम्बासी बनाएकाहरुको बीचमा जाने र उनीहरुलाई सचेत र संगठित गर्दै र गराउँदै अगाडि बढ्न जरुरी छ ।
एकाथरि मानिसहरु अहिले विश्व फेरिएको, पदार्थमा पनि परिवर्तन आएको भनेर दुःखकष्ट गर्ने, कम घनिभूतका कामलाई रुढिवादी, परम्परावादी, जंगली युगको रुपमा परिभाषित गर्छन् । एकाथरि निम्न पुँजीवादीहरु त अब सर्वहारा वर्ग क्रान्तिको चालक शक्ति होइन मध्यम वर्गमा भर पर्नुपर्छ भनेर मालेमावादलाई नै पुरानो घोषणा गरेर साम्राज्यवादको स्याल हुइयाँमा स्वर मिलाउँदै मालेमावादलाई नै मृत घोषणा गर्ने तरखर गर्दैछन् ।
हरेक दक्षिणपन्थीको एउटा समान विशेषता रहँदै आएको छ कि आफ्नो शक्तिलाई कम आँक्ने र दुश्मनको शक्तिलाई बढाईचढाई गर्ने र सूचना सञ्चार प्रविधिको विकासले अब क्रान्ति असम्भव छ भनेर खेती नै गर्छन् । आज पनि गाउँमा होइन, जंगलमा होइन, शहरमा समेत छापामार लडाईं भइरहेको हामीले सञ्चार माध्यममा सुनिरहेका छौं । भलै ती गलत तत्व, साम्प्रदायिक, साम्राज्यवादकै प्रयोजनमा, धार्मिक कट्टरतावादीहरुले नै किन नचलाएका हुन् ।
सही र क्रान्तिकारी उद्देश्यको लागि पनि संघर्ष गर्न सकिन्छ भन्ने उदाहरण पर्याप्त छ । हिजोको निरंकुश सामन्ती तत्वहरुका विरुद्ध संघर्ष गर्ने, जेलनेल यातना भोग्नेहरु अहिले सत्तामा छन् । केही युवाहरुलाई पुराना नेताहरुले प्रयोग गरेको भन्न मिल्छ ? इतिहासको गतिलाई स्वभाविक रुपमा अघि बढाउन हरेक संगठनमा युवाहरु आएकै हुन्छन् । भविष्यका कार्यकर्ता एवं नेता हुन्, समर्थक, शुभचिन्तकहरुबाट विकास गर्दै अगाडि बढाउनुपर्छ । आजको सबैभन्दा प्रगतिशील विचारधारा मालेमावाद हो ।
अर्धसामन्ती तथा नवऔपनिवेशिक वा अर्धऔपनिवेशिक देशमा गरिने क्रान्ति नयाँ जनवाद नै हो । नेपालमा नयाँ जनवादी क्रान्तिको ठोस कार्यदिशा अपनाउने पार्टी नेकपा (क्रान्तिकारी माओवादी) हो । अरु कतिपयले नयाँ जनवादी क्रान्तिको कुरा गरेपनि वर्तमान वर्तमान संविधानलाई मान्ने, प्रतिक्रियावादी राज्यसत्तामा मन्त्री हुनेहरुले नयाँ जनवादको कुरा गर्दैमा कसैले पत्याउने अवस्था छैन । सर्वहारा वर्गको नेतृत्व र किसान र मजदुरमा भर पर्नुपर्ने माओवादी मान्यता विपरीत मध्यम वर्गमा भर पर्ने सोचाई राख्नेहरुले कम्युनिस्टको कुरै नगरे हुन्छ । अझ लिखित रुपमा ‘जनवादी क्रान्ति’ भन्नेहरुले भित्री आत्मादेखि नयाँ जनवादलाई स्वीकार गरेको ठानिंदैन ।
नयाँ शब्द नथप्ने हो भने वा जनताको शब्द नथप्ने हो भने जनवादी क्रान्तिले पुरानो जनवाद ‘बुर्जवा प्रजातन्त्र’लाई नै जनाउँछ । राष्ट्रिय उत्पीडनमा परेकाहरुले राष्ट्रिय मुक्ति आन्दोलन, नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्ति आजको क्रान्तिको मूल प्रवाह हुन् । भावी विजय यही विचारधाराको हुनेवाला छ । युवाहरु तिनओटै धारामा भर्ती हुन्छन् तर पश्चगामी धारा यथास्थितिवादी धारामा कतिपय युवाहरु भ्रमवश प्रवेश गरेपनि सत्ताधारी पार्टीमा युवाहरु प्रवेश गर्नु भनेको नेपालको सन्दर्भमा प्रतिक्रियावादी धारा नै हो ।
‘म पहिला खाने’ भन्ने बाहेक सत्ताधारी पार्टीमा के नै हुन्छ र ? भविष्यको क्रान्तिको र देशको बागडोर सम्हाल्न युवाहरु क्रान्तिकारी विचार र पार्टीमा भर्ती हुनुपर्दछ । असल कार्यकर्ता र नेता हुन पार्टीमा आउने हो नकि कसैको प्रयोग हुन । नेकपा (क्रान्तिकारी माओवादी) मा एकैचौटी आउन त्यति सजिलो छैन । यसमा कम्तिमा १ वर्ष जनसंगठन वा समर्थक ग्रुपमा बसेकोले उम्मेदवार सदस्य बन्न सक्छ । उसको वर्गचरित्र हेरेर ६ महिनादेखि २ वर्षसम्म परिक्षणमा राखेर उतिर्ण भएपछि मात्र पार्टी सदस्य पाउने भएकोले ।
युवाहरु क्रान्तिकारी युवा लिगमा भर्ती हुनुपर्छ । यो कम्युनिस्ट उत्पादन गर्ने कारखाना हो । देशभरि हजारौं हजार युवाहरुलाई संगठित गर्दै जुझारु संघर्षलाई अगाडि बढाएर मात्र युवाहरु वर्गसंघर्षको भट्टिमा खारिदै भविष्यको सुयोग्य कम्युनिस्ट बन्न सक्छन् । माओले भनेको कुराहरुलाई युवाहरुले गहिरो गरी मनन् गर्नुपर्छ ।
माओ भन्नुहुन्छ – “युवाहरु हो, यो संसार तिमीहरुको हो र हाम्रो पनि हो तर अन्तिममा युवाहरुको हो किनकि हामी त डाँडामाथिका घाम हौं ।” यो भनाईले पनि प्रष्ट पार्छ प्रौढ र बुढाहरुको ठाउँ युवाहरुले लिनुपर्छ– गाउँमा, समाजमा, देशमा र पार्टीमा । त्यसैले क्रान्तिकारी युवा साथीहरु आउनुहोस्, क्रान्तिकारी युवा लिगमा भर्ती हुनुहोस् । यही भाद्र १४ र १५ गते युवाहरुको दोस्रो राष्ट्रिय भेला हुँदैछ, त्यसमा सहभागी बन्नुहोस् ।
हामीले नकारात्मकतालाई सकारात्मकतामा बदल्नुपर्छ । आज युवाहरु नेपाल छाडेर संसारभरि गइरहेका छन् । संसार एउटा गाउँजस्तो भइरहेको छ । एउटा गाउँको खबर संसारभरि फैलिन्छ र संसारभरिको खबर एउटा गाउँमा तुरुन्तै पुग्दछ । यो विश्वव्यापी क्रान्तिको तयारीको लागि पनि प्रयोग गर्न सकिन्छ । माओले आफ्नो उत्तराद्र्धमा भन्नुभएको थियो– “कि क्रान्तिलाई विश्वयुद्धले रोक्छ कि विश्वयुद्धले क्रान्तिलाई जन्म दिनेछ ।”
आगामी ५०–१०० वर्ष उथलपुथलका वर्ष हुनेछन् । हामी तिनै वर्षमा बाँचिरहेका छौं । मरणासन्न संसदीय पुँजीवादी व्यवस्थाको ठाउँमा नयाँ जनवाद र समाजवादले लिंदैछ । साम्राज्यवाद पुँजीवादको मरणासन्न अवस्था हो । साम्राज्यवादले आफ्नो चिहान आफै खन्दैछ । अनुत्पादक क्षेत्रमा लगानी, वित्तीय पुँजीको शोषण र केन्द्रीकरण ८८ जना विश्व धनाढ्यको हातमा संसारको पुँजीको झण्डै ५०% संकेन्द्रणले यसको आफ्ना दुश्मनहरुलाई एकताबद्ध भएर लड्न भौतिक वातावरण बनाइरहेको छ ।
निभ्नेबेलामा बत्ति झ्याप्प बलेंझैं साम्राज्यवाद निभ्नेबेलाको बत्ती हो । जंगलको बीचमा सुकेको र मक्किएको रुख आफै ढल्दैन, आँधीको झोक्काले त्यसलाई ढालेझैं क्रान्तिकारी तुफान र आँधीको जरुरी छ । आउनुहोस् आसन्न विश्वव्यापी क्रान्तिको लहरलाई छोप्न आ–आफ्नो देशमा क्रान्तिकारी आन्दोलन संगठन र पार्टीलाई दह्रो बनाएर बसौं ।
क्रान्ति आफै हुँदैन । २७ वर्ष नयाँ जनवादी व्यवस्था हाम्रो उत्तरी ढोकैमा हुँदा पनि हामीले केही गर्न सकेनौं । माओले चाहेर पनि नेपालका कम्युनिस्टहरुलाई सहयोग गर्ने वातावरण बनेन । माओको मृत्युपछि संसारमा समाजवाद कहींपनि नभएको बेलामा अन्तिम विजय दिन नकसेपनि एण्डिज पर्वत र हिमालयबाट क्रान्तिको एउटा ठूलो सन्देश दिन सकिएको छ । गरे के हुँदैन र भन्ने कुरा हामीले देखाईसकेका छौं । भविष्यको क्रान्तिको लागि आजैदेखि जुटौं ।