तेस्रो विश्वका देश तथा क्यास्ट्रो र चाभेजको महत्व

तेस्रो विश्वका देश तथा क्यास्ट्रो र चाभेजको महत्व

Castro and Chavezराजनीतिको विकल्प राजनीति नै हो । बरु खराब राजनीतिका विरुद्ध असल, सत्ता केन्द्रित भन्दा जनता केन्द्रित, साम्राज्यवादी दलाल राज्य प्रणाली भन्दा समाजवादी, साम्यवादी राजनीतिक प्रणालीतर्फ लम्किन सक्नु चाँहि फाइदजनक हो ।

विश्वभरका क्रान्तिकारीका लागि प्रेरणादायक व्यक्ति अर्नेष्टो चे ग्वेभारासँग मेक्सिकोमा भेट भएर अमेरिकी साम्राज्यवादको नाकैमुनी कम्युनिष्ट सत्ता स्थापना गरेका फिडेल क्यास्ट्रो ठीक एक साताअघि ९० वर्ष पूरा भए । तर, उनको अमेरिकी साम्राज्यवादविरुद्धको घृणा र सर्वहारा वर्गीय जनताप्रतिको विश्वास र माया अझै कुनै तन्नेरी पुस्ताको भन्दा कम छैन ।

उनले सत्ताको सम्पूर्ण बागडोर भाई राहुललाई सुम्पिइसकेका छन् तर उनीप्रतिको जनताको मोह घटेको छैन । अमेरिकाले ६ पटकसम्म हत्या गर्ने असफल प्रयास गरेको तिनै वयोवृद्ध कम्युनिष्ट नेतालाई क्युवालीहरुले राष्ट्रपिताका रुपमा सम्बोधन गरे । अमेरिकाको नाकैमुनी कम्युनिष्ट शासन स्थापित गर्दा सायद उनले जति भुक्तमान कमै नेताले भोगेका होलान् । झण्डै आधा शताब्दी क्युवालाई नेतृत्व प्रदान गरेका र संसारकै ध्यान खिच्न सफल भएका क्यास्ट्रो आफ्नो जन्मदिनमा आफ्ना भाई वर्तमान राष्ट्रपति राहुल क्यास्ट्रो र भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोको बिचमा ट्याक सुट र हरियो सर्टमा देखिए । यो नै उनको सादगीपूर्ण जीवनको बयान गर्न काफी छ ।

क्यास्टोले स्वास्थ्यका कारण सत्ता भाईलाई सुम्पिएर सार्वजनिक जीवनबाट टाढा भएपनि उनी सम्पूर्ण क्युवालीको अभिभावकका रुपमा सम्मानित छन् । त्यसअघि अप्रिल १९ मा क्युबाली कम्युनिष्ट पार्टीको महाधिवेशनको क्रममा देखिएका उनले अमेरिकासँग सम्बन्धको हात अघि बढाउने आफ्नै भाईको समेत आलोचना गर्नुले उनी साम्राज्यवाद र त्यसका दुर्गन्धित नीतिको विराधेप्रति कतिसम्म दृढ छन् भन्ने प्रष्ट्याउँछ ।
स्पेनबाट गएको उखु किसानको परिवारमा जन्मिएर सिंगो क्युवालाई नेतृत्वमात्रै प्रदान गरेनन् उनले अमेरिका समर्थिन फुल्गेसिया बाटिस्टा नेतृत्वको सत्तालाई उखेलेर फालेर १९५९ मा कम्युनिष्ट शासन स्थापना गर्न पुगे ।

उनको सफलतापति हाल ल्याटिन अमेरिकी देशहरु भेनेजुएला, बोलिभिया र निकारागुवामा कम्युनिष्ट शासन छ । क्यास्ट्रो विश्व कम्युनिष्टका महागुरु कार्ल माक्र्सदेखि एंगेल्स, लेलिन स्टालिन, माओ, होचि मिन्हजस्ता सम्मानित नेताजस्तै सम्मानित छन् । विश्वमा कम्युनिष्ट आन्दोलनलाई परास्त गर्ने र साम्राज्यवादी हालिमुहाली चलिहेका बेला कम्युनिष्ट शासन स्थापना गर्दै बहादुरी पूर्वक सफल बनाउनुले पनि उनको नाम दक्षिण अमेरिकी कम्युनिष्ट आन्दोलनका नेताको सूचीको अग्रपंक्तिमा सामेल छ ।

आज एउटा बहस सामान्य रुपमा उठ्ने गरेको छ । के गरिबलाई सशक्तिकरण गर्ने र राज्यको मूल प्रबाहमा ल्याउने भनेको धनीहरुलाई अलग थलग गर्ने हो ? किताबी सिद्धान्तले यसो भन्दैन तर, जबरजस्ती रुपमा बाहिर बहसमा आउने गरेको छ । तर, यसको जवाफ भेनेजुएलाका पूर्व राष्ट्रपति ह्युगो चाभेजभन्दा उत्कृष्ठ तरिकाले कसले दिन सक्छ होला ।

चाभेज संसारमा समाजवाद, बोलिभारियन क्रान्ति (सिमोन बोलिभार, जसले स्पेनको शासनबाट केही ल्याटिन अमेरिकी देशलाई १९ औं शताब्दीमा मुक्त गराएका थिए) र इसाइयत (गरिब प्रति न्याय र करुणाको चेतना) जगाउँदै भेनेजुएलालाई अमेरिकी प्रभावबाट बचाउँदै समुन्नत राष्ट्रको दिशामा लैजान सफल भए । गरिबका लागि सस्तो तरमा खाना र आवास तथा शिक्षा र स्वास्थ्यसम्म पहुँच बढाउने उनको नीतिले उनलाई चार पटकसम्म भेनेजुएलाको राष्ट्रपति बनायो ।

पछिल्लो पटक सन् २०१२ मा उनले ५४ प्रतिशत भोट ल्याएर राष्ट्रपतिमा चौथो पटक निर्वाचित भएका थिए । भलै उनको स्वास्थ्य अवस्थाले साथ दिएन र ५ मार्च २०१३ मा ५८ वर्षको उमेरमा मृत्युवरण गर्न पुगे । आज उनकै उपराष्ट्रपति निकोलास मादुरो निर्वाचित राष्ट्रपतिको रुपमा भेनेजुएरालालाई नेतृत्व प्रदान गरिरहेका छन् ।

सामाजिक न्याय अर्थात सर्वहारा वर्गका लागि उनले ल्याएको नीतिकै कारण उनलाई अमेरिका, अन्तर्राष्ट्रिय वित्तीय संस्था र पश्चिमा तेल कम्पनीहरुले व्यवधान खडा गरिरहे । चाभेज सत्तामा आउनु भन्दा अघि भेनेजुएलाका विशाल तेल खानीमा उनीहरुले नै रजाई गरिरहेका थिए, जसले उनको जीवनकालभरी नै सत्ताबाट हटाउने षढ्यन्त्र गरे र उनको मृत्युपछि पनि मादुरो सरकारलाई असफल बनाउने उत्तिकै प्रयन्त गरिरहेका छन् ।

चाभेजले पश्चिमा शक्तिहरुको भेनेजुएलाको तेलमाथिको वर्चश्व अन्त्यमात्रै गरेनन् तेलको उचित मूल्यपनि लिए । कुनै दिन संसारकै सबैभन्दा बढी तेल कुवा भएको देश साउदी अरबभन्दा पनि बढी भेनेजुएलाले तेल व्यापार गर्न सक्यो । उनले करोडौं जनताको मन जित्न सफल भए । आज पनि भेनेजुएला संचित तेल सम्पदामा पाँचौं देश हो ।

अमेरिकाले कराकसमा सत्ता पल्टाउन गरेको पटक पटकको प्रयास असफल पारेका चाभेजले साम्राज्यवादसँग जित हासिल गरे तर मृत्यूले उनीसँग बेइमानी ग¥यो । उनको मृत्युलाई लिएर विश्वभरमा साम्राज्यवाद विरोधी खेमामा दुःख मनाइयो । आज पनि उनले कसरी सामाजिक न्याय र समुन्नत आर्थिक जीवनको आफ्नो लक्ष्य कसरी पुरा गरे भन्ने विषय तेस्रो विश्वमा मात्रै होइन अमेरिका समेत जान्नका लागि उत्साहित छ ।

केही वर्षअघि देखिएको आर्थिक मन्दी र वालस्ट्रिट आन्दोलनले अमेरिकीलाई धेरै पाठ पढायो । तर, तेस्रो विश्वमा उसको हस्तक्षेप र दादागिरी अन्त्य गर्न र असल मित्रको भूमिका खेल्न सिकाएन । आफ्नो १७ वर्षे किशोरावस्थामा नै भेनेजुएलान एकेडेमी अफ मिलिटरी साइन्सेजमा अध्ययन गरेका उनले राजधानी कराकसमा रहँदा नै आर्थिक समस्याको सामना गरिरहेका भेनेजुलाली जनालाई सामाजिक न्याय दिलाएरै छाड्ने दृढ संकल्प गरेका थिए ।

अन्ततः उनी प्रतिरोध, बहाली र पुनर्निर्माणको प्रतिकका रुपमा आफूलाई उभ्याउन सफल भए । उनको यो यात्रा आज भेनेजुएला मात्रै होइन शान्ति र स्थिरताको पर्खाइमा रहेको मध्यपूर्व, अफ्रिका र विकासको मार्ग खोजिरहेको ल्याटिन अमेरिकालाई समेत गतिलो उदाहरण बनेको छ । कतिपय देशमा प्रजातन्त्रको खोल ओडेर पश्चिमा शक्तिले गरिरहेको अत्याचारको मुखुण्डो समेत उदांगो बनेको छ ।

पोएब्लो ई लुचा दे ला क्वार्तो गेहा मुन्जियाओ (भेनेजुएला–बोलिभारियन जनता र चौथो विश्वयुद्धको संघर्ष) नामको फिल्मका निर्माताका अनुसार संसारका मानिस फेरि विश्वस्तरमा जारी चौथो विश्वयुद्धको हिस्सा हुन् र यो युद्ध नवउदारवादी पूँजिवाद र वैश्विकरणको विरुद्धमा हुनेछ ।

सन् १९९० को दशकमा भेनेजुएलामा तीव्र वर्ग अन्तरविरोध र संघर्षहरु चर्किए । यो आन्दोलन इन्धन र खाद्यवस्तुको मूल्य चर्को रुपमा बढाइएपछि १९८९ को फेब्रुअरीमा सुरु भएको थियो । यस क्रममा केही सर्वसाधारण मारिएका थिए । करिब एक दशक लामो अस्थिरतापछि सन् १९९८ मा पूर्व लेफ्टिनेन्ट कर्णेल ह्युगो चाभेज राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यसबेला नै उनले संविधानमा सुधार, भ्रष्टाचार र महंगी नियन्त्रण गर्ने बाचा गरेका थिए । उनले आफ्नो जीवनकालभरी त्यसलाई पूरा गर्नका लागि लागि नै रहे ।

अभैपनि भेनेजुएलामाथि विश्वव्यापिकरण, अन्तर्राष्ट्रिय आर्थिक तथा राजनीतिक र साम्राज्यवादी खतरा छँदैछ । तर, यो समयसम्म भेनेजुएलाका जनताका संघर्ष नवउदारवादी पूजीवादविरुद्धको एक अन्तर्राष्ट्रिय आन्दोलनका रुपमा परिरिचत भइसकेको छ । सधैं अमेरिकी साम्राज्यवादलाई खुसी बनाउन लागिपरेका तेस्रो विश्वका शासकवर्गलाई बोलिभारियान क्रान्ति अर्थात ल्याटिन अमेरिकी देशको आन्दोलन र संसारभर देखिएको समाजवादी आन्दोलनलाई समर्थन गर भन्न नसकिएला तर हामी यति भन्न सक्छौं कि तेस्रो विश्वका सबै देशका जनताको लक्ष्य आफ्नो देशका शासक वर्गलाई नवउदारवादको खतराको नजिक जानबाट रोक्नु भने अवश्य हुनुपर्नेछ ।

मजदुर र सर्वहारा वर्गका जनताबीच लोकप्रिय रहेका चाभेजले मध्यमवर्ग र उच्च वर्गमा केही दुश्मनी पैदा गरेकै थियो, किनकी यो वर्ग कहिल्यैपनि तेल निर्यातबाट आएको पैसा कमजोर वर्गका जनतालाई नबाँडुन भन्ने चाहन्थे । सेप्टेम्बर २००१ मा आयरल्याण्डका दुईजना फिल्म निर्माता किम बार्टले र डोनाशा ओब्राउन चाभेजको जीवनीलाई लिएर फिल्म बनाउन गएका थिए ।

उनको छवी एक चामत्कारिक नेताको थियो, उनी जनताको नेता, लोकप्रिय, विचारक र बौद्धिक विमर्शकारका रुपमा समेत परिचित थिए । उनी एक राष्ट्रवादी सिपाही त छँदै थिए । जसको उदेश्यलाई सम्पूर्ण ल्याटिन अमेरिका नतमस्तक थियो । तर सोही समयमा सन् २००२ अप्रिल ११ मा ती फिल्म निर्माताहरु कराकसमै रहेका बेला दक्षिणपन्थीले गरेको सत्तापलटमा उनको सरकार ढल्यो । उनीहरु त्यही फस्न पुगे ।

उनको सत्ता ढल्नुमा सेनाको एउटा हिस्सा र दक्षिणपन्थीको ठूलो हिस्साले मात्रै भूमिका खेलेन । ठूलै षढयन्त्रबाट यो वातावरण सिर्जना गरिएको थियो । तर, जादुमयी तरिकाले करिब ४८ घन्टापछि सेना र भेनेजुएलाका जनताको साथले उनी पुनः सत्तामा फर्किए । यो फिल्म ‘द रिभोल्युसन विल नट बी टेलिवाइज्ड’ मा यो छोटो अवधीमा भएका सबै नाटकीय मोडलाई कैद गरिएको थियो ।

विद्रोहीको विजयीभाव भाषण, उनको विरुद्ध सेनाको विद्रोह र चाभेजको सत्तामा पुनरोदय यो नाटकीय अनुभवको उत्कर्षको क्षण हो । निजी स्वामित्वका टेलिभिजनले सत्तापलटको समर्थन गरेका थिए, जस्तोकी सञ्चारमाध्यमले सधैंजसो धनी वर्ग र शक्तिशालीकै पक्षमा आवाज उठाउछन् । चाभेजका विरुद्ध त्यसबेला सञ्चारमाध्यममा ठूलै प्रचार भयो र प्रतिक्रान्तिका एजेन्टका रुपमा उनलाई व्याख्या गरियो, जसरी निकारागुवाको माक्र्सवादी सैन्दिनिस्ता सत्तामा आउनुभन्दा अघि पश्चिमा देशले राजधानी मानागुवाका सबैभन्दा ठूला पत्रिकामा उनीहरुका विरुद्ध प्रचार अभियान चलाएका थिए ।

जस्तो कि मिडियाबाट यस्ता प्रकारका झुठले काम नगरेपछि अमेरिकामा प्रशिक्षित र अनुदान प्राप्त भाडाका कोन्ट्रा विद्रोहीलाई निकारागुवामा लोकतान्त्रिक तरिकाले निर्वाचित सैंदिनिस्ता सरकार ढलाउनका लागि होण्डुरसबाट घुसाइएको थियो । त्यसकारण अहिले पनि जब अमेरिकाले लोकतन्त्र, मानवअधिकार, स्वतन्त्रता शब्द उच्चारण गर्छ, तब उसले ख्यालठट्टा गरेजस्तो लाग्छ । किनकी संसारमा धेरैजसो देशमा अमेरिकामा भन्दा बढी लोकतन्त्र, मानवअधिकार, स्वतन्त्रता बहाली भएको छ ।

करिब ४२ वर्षअघि लोकतन्त्रका प्रतिक चिलीका राष्ट्रपति साल्भाडार अल्याण्डेलाई अमेरिकाले जे गरेको थियो, सायद इतिहासका विद्यार्थीले भुल्न सक्दैनन् । उनको अपराध यतिमात्रै थियो कि उनले देशको तामा उद्योगलाई राष्ट्रियकरण गरेका थिए । ताकि देशका मजदुरको जीवन सुखमय बनाउन सकियोस, यो सम्पत्ति अमेरिकी बहुराष्ट्रिय कम्पनी एनाकोण्डा, केनेकट र सेरोको हातको लुटबाट बचाउँन सकियोस ।

सीआईएको षढ्यन्त्रबाट अगस्टो पिनासेले गरेको सत्ता कु मा राष्ट्रपति अल्यान्डेसहित हरेक क्षेत्रमा रहेका उनका हजारौं समर्थकको हत्या गरियो । शिक्षक, कलाकार, मजदुर नेता र किसान नेताको समेत हत्या भयो । गल्लीदेखि सडकसम्मका उनको राष्ट्रवादी विकासको मोडलको समर्थन गर्नु मृत्युपत्रमा हस्ताक्षर गरेसरह भयो । 

अल्यान्डोको मृत्यु तामाका कारण भयो, त्यसअघिका चिलीका राष्ट्रपति जोस म्यानुअल बाल्माचेदाको मृत्यु नाइट्रेड सम्पदातका कारण भइको थियो । अमेरिकाले भेनेजुएलासँग तेलका कारण रिसिइबी साँधेको थियो र तेलकै कारण इराकका राष्ट्रपति सद्दाम हुसेनले ज्यान गुमाउनु प¥यो । देशमा धेरै सुधार गरेका कर्णेल गद्धाफीको पश्चिमाको इशारामा नचल्दा नै हत्या भयो ।

भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलास मादुरोको व्यक्तित्व त्यति चामत्कारिक छैन जती चाभेजले घरेलु र अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो छाप छोड्न सकेका छन् । अहिले भेनेजुएलामा मादुरोलाई हटाउन विभिन्न प्रयासहरु भइनै रहेका छन् । सामाजिक आर्थिक व्यवस्थामा सुधार ल्याउँदै समतामूलक समाज निर्माण गर्ने चाभेजको नीतिका विरोधीले हमला गर्नका लागि यो नै सही समय ठानेका छन् । भेनेजुएला र क्युवाबीच अहिले पनि धेरै नजिकको सम्बन्ध रहेको छ ।

अमेरिकी साँढेका लागि लाल झण्डाको कुनै कमी छैन । भेनेजुएलाका विपक्षी नेता एनही कापिलेस राउंस्की जस्ताा नेता अमेरिकी मार्गदर्शनमा चलेका छन् भने क्युबामा ३० हजार डाक्टर र मेडिकल कर्मचारी गरिबका लागि काम गरिरहेका छन् । अब यिनीहरुको क्रान्तिकारीले समर्थन गर्ने कि विरोध ?

अमेरिकाको तेलबजारमा आफ्नो निर्भरता कम गर्नका लागि जे गर्नुपर्छ त्यही गर्छ । अमेरिका जति चाभेजको विरोध गर्दथ्यो, त्यती नै भेनेजुएलाका जनताको नजिक पनि जान्थ्यो । आज तेस्रो विश्वमा ठीक यही भइरहेको छ ।

चाभेज र क्यास्ट्रो पछिल्ला दुई दशकका दौरान क्रान्तिकारी ल्याटिन अमेरिकी देशका प्रतिक बनेका छन् । अमेरिकाको प्रभुत्ववादका विरुद्ध संघर्ष गरिरहेका तेस्रो विश्वका हरेक क्रान्तिकारीका लागि यो एउटा जान्नैपर्ने यथार्थ हो । ल्याटिन अमेरिकी देशहरु भेनेजुएला, क्युवा, बोलिभिया, इक्वेडर र निकारागुवामा वाम पार्टीहरुले सञ्चालन गरेको साझा बोलिभारियन क्रान्तिले अमेरिकी साम्राज्यवादको कुनै समयमा निन्द्रा विथोलिदिएको थियो ।

ब्राजील र अर्जेन्टिना भने अमेरिकी नीतिको खुलेर विरोध र समर्थन दुवै गर्न सक्दैनन् । पेरु अमेरिकासँग सतर्क रहँदै आएको छ । आज चाभेजको अनुपस्थितिमा उनको विरासत कमजोर बनेको छ । छोटो समयमा नै क्यान्सर लाग्नु उनको जीवनको बिडम्बना बन्यो । तर, उनले ल्याएका सामाजिक न्यायका नीति तेस्रो विश्वका हरेक व्यक्तिका लागि महत्वपूर्ण छन् ।