नेपाली क्रिकेट टोलीको विमानस्थलमा यस्तो प्रतिक्रिया

नेपाली क्रिकेट टोलीको विमानस्थलमा यस्तो प्रतिक्रिया

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्यान्डस् संगको खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

नेपालले नेदरल्यान्ड्मा घरेलु टोलीसँग जारी लिगको चौथो चरणअन्तर्गत दुई खेल खेलेको थियो जसमा एक जित र एकमा हार बेहोरेको थियो ।
गत साउन २९ गते भएको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा १९ रनको रोमाञ्चक जित निकालेको थियो ।

च्याम्पियनसिप प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्ससहित हङ्कङ, पपुवान्युगिनी, स्कटल्यान्ड्स, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स (युएई) गरी आठ राष्ट्र सहभागी छन् ।

आठ टोलीमध्ये शीर्ष चार टोलीले बंगलादेशमा सन् २०१८ मा हुने आइसिसी विश्वकप छनोट खेल्ने अवसर पाउने छन् । विश्वकप खेल्ने महत्वपूर्ण खुट्किलोका रूपमा रहेको प्रतियोगितामा नेपाल छ अङ्कका साथ छैटौँ स्थानमा छ । नेपालले अब हङ्कङ, केन्या र युएईसँग खेल्न बाँकी छ ।

स्वदेश फर्किएलगत्तै नेपाली टोलीका ब्याट्सम्यान शरद भेसवाकरले युरोपको फरक मौसमको चुनौतीको सामना गर्नका बाबजुद नेपालले बलियो नेदरल्यान्ड्सलाई हराएको बताउँदै अबका खेलमा झन राम्रो प्रदर्शन गर्ने र नेपाललाई छनोट गराउने प्रतिबद्धता जनाए ।

नेपाल यसअघि स्कटल्यान्ड्स र पपुवान्युगिनीसँग भएका खेलमा पराजित भएको थियो भने नामिबियासँगका दुवै खेलमा जित निकालेको थियो ।